वडाध्यक्षमा एमालेका काकासँग कांग्रेसबाट भतिजा भिड्दै | Khabarhub Khabarhub

स्थानीय तहको उपनिर्वाचन

वडाध्यक्षमा एमालेका काकासँग कांग्रेसबाट भतिजा भिड्दै


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचन रोचक हुने देखिएको छ । साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले काका–भतिजालाई वडाध्यक्षका रुपमा अघि सारेकाले उपनिर्वाचन रोचक हुने भएको हो ।

आगामी मंसिर १६ हुने उपनिर्वाचनमा वडाध्यक्ष पदका लागि एमालेले बहादुर चन्द र कांग्रेसले प्रकाश चन्दलाई उम्मेदवार बनाएको छ। दुवैजना चुनावी प्रचार–प्रसारमा लागिसकेका छन् ।

एमाले उम्मेदवार बहादुर चन्द र कांग्रेस उम्मेदवार प्रकाश चन्द एकाघरका काका–भतिजा हुन् । कांग्रेस उम्मेदवार प्रकाशका बुवा धनबहादुर र एमाले उम्मेदवार बहादुर दाइभाइ हुन् ।

धनबहादुर र उम्मेदवार बहादुर प्रताप चन्दका छोरा हुन् । एमाले उम्मेदवार बहादुर सेवानिवृत्त शिक्षक हुन् । उनी केही समयअघि स्थानीय शान्ति निकेतन माविको प्रधानाध्यापकबाट सेवानिवृत्त भएका थिए । उनले उक्त स्कुलमा ४१ वर्षसम्म पढाएका थिए ।

कांग्रेसले अघि सारेका वडाध्यक्षका उम्मेदवार प्रकाश पार्टीका वडा सभापति हुन् । उनले भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट कांग्रेसको राजनीति गर्दै आएका छन् ।

नेविसंघ कञ्चनपुरको सचिव भइसकेका प्रकाश ०६४ सालमा महेन्द्रनगरको सिद्धनाथ बहुमुखी क्याम्पसमा स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) सभापतिका उम्मेदवार थिए ।

दाइका छोरासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका एमाले उम्मेदवार बहादुर चन्दले उपनिर्वाचनका लागि आफूहरू मात्रै पात्र भएको प्रतिक्रिया दिए । उनले श्रीमान–श्रमितीको समेत विचार अलग–अलग हुने तर्क गर्दै काका–भतिजाको उम्मेदवारीलाई स्वाभाविक रुपमा लिएको बताए ।

‘बहुदलीय प्रतिष्पर्धामा बाउ–छोराका विचारहरू अलग–अलग हुन्छन् । श्रीमान–श्रीमतीका विचार अलग हुन्छन् । भतिजोको विचार कांग्रेस तिर, मेरो कम्युनिस्टतिर,’ बहादुरले खबरहबसँग भने, ‘यो स्वाभाविक हो, वैचारिक झुकाव त भइहाल्छ । हामी त निर्वाचनका पात्रमात्रै हौं । हार–जीत कांग्रेस–एमालेको हुने हो । हामी घरको त काका–भतिजा नै हौँ त ।’

कांग्रेस उम्मेदवार प्रकाशले एमाले उम्मेदवार बहादुरलाई काकाभन्दा प्रतिस्पर्धीका रुपमा हेरेको बताए । उनले पार्टीले जिम्मेवारी दिएर पठाएपछि आफू उम्मेदवार बनेको पनि बताए ।

‘म राजनीतिक पृष्ठभूमिबाट आएको हुँ । मलाई काका लडे पनि वा अरु कोही लडे पनि केही छैन । उहाँ (बहादुर) अब काकाभन्दा पनि एमालेको उम्मेदवार हो,’ प्रकाशले खबरहबसँग भने, ‘घरको नाता छँदै छ, उम्मेदवार भइसकेपछि को लड्छ, के लड्छ भन्ने कुरो गौण हो । पार्टीका साथीहरूले मलाई अघि सार्नुभयो । पार्टीले जिम्मेवारी दियो । मैले पार्टीका तर्फबाट लड्ने हो ।’

गत पुस २५ गते राति वडाध्यक्ष महेन्द्र खड्काको सडक दुर्घटनामा मृत्यु भएपछि वडा नम्बर ६ मा उपनिर्वाचन हुन लागेको हो । खड्का वडा नम्बर ६ कै ऐंठपुरमा पर्ने महाकाली सिँचाइको नहरको बाटोमा पुस २६ गते बिहान म १ प ४८५२ नम्बरको मोटरसाइकलसँगै मृत भेटिएका थिए ।

०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा एमाले उम्मेदवार जनकराज अवस्थीलाई ४०४ मतले पराजित गर्दै खड्का कांग्रेसबाट वडाध्यक्ष भएका थिए ।

खड्का ११०२ मतसहित वडाध्यक्षमा निर्वाचित हुँदा निकटतम् प्रतिष्पर्धी अवस्थीले ६९८ मत ल्याएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ४८७ मतसहित तेस्रो हुँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार जितेन्द्रबहादुर चन्दले २३२ मत प्राप्त गरेका थिए ।

उपनिर्वाचन हुने वडा नम्बर ६ मा एमाले कांग्रेसको गढ भत्काउने प्रयासमा छ । उता कांग्रेस पुरानो विरासत जोगाउने कोसिसमा छ । यो वडामा सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलदेखि बहालवाला अर्थमन्त्री (आर्थिक मामिला) बहादुरसिंह थापाको गृहगाउँ हो ।

एकीकृत समाजवादीका प्रदेश सांसदहरू प्रकाश रावल र माया पन्तको पनि वडा नम्बर ६ मै मतदाता नामावली छ । प्रकाश रावलले सुदूरपश्चिम प्रदेशका सरकारका पूर्व आर्थिक मामिला मन्त्रालय र पन्तले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालिसकेका छन् ।

वडा नम्बर ६ घर भएका चारमध्ये दुई (बहादुरसिंह थापा र प्रकाश रावल) प्रत्यक्ष निर्वाचन प्रणालीतर्फबाट र दुई (राजेन्द्रसिंह रावल र माया पन्त) समानुपातिक प्रणालीबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य हुन् ।

यो वडामा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रबाट नानाराम कोली, एकीकृत समाजवादीले जितेन्द्रबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रामदत्त भट्ट मैदानमा देखिएका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ५ : १२ बजे

नेपाल अर्थोपेडिक्स अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं– नेपाल अर्थोपेडिक अस्पतालको संयोजन र फ्रन्टलाइन अस्पताल तथा दावाली

आजको तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी विकास समितिले आजका लागि कृषि

नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि

काठमाडौं– साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, हालसम्म ४७ जनाको मृत्यु पुष्टि

सियोल– दक्षिण कोरियामा विमान दुर्घटना भएको छ । कोरियाको योनहाप

चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन्

खोटाङ- खोटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस