रुपन्देहीमा सकियो रविको बयान, सहकारीको बचत हिनामिना आरोप अस्वीकार | Khabarhub Khabarhub

रुपन्देहीमा सकियो रविको बयान, सहकारीको बचत हिनामिना आरोप अस्वीकार


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान रुपन्देहीमा सकिएको छ। जिल्ला सरकारी वकिल कार्यालय भैरहवामा मंगलबारदेखि जारी बयान बिहीबार अपरान्ह सकिएको हो।

प्रहरी स्रोतका अनुसार लामिछानेलाई मंगलबार मौखिक प्रश्न सोधिएको थियो । बुधबार र बिहाबार करिब ७० वटा लिखित प्रश्न सोधिएको छ ।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सरकारी अनुसन्धान अधिकृतहरूको टोलीले रविको बयान लिएका हुन् ।

बयानका क्रममा लामिछानेले आफू सहकारी ठगी प्रकरणमा संलग्न नभएको भन्दै आफ्नो बचाउ गरेका छन् । उनले गोर्खा मिडिया नेट्वर्कमा सहकारीको रकम आएकोबारे अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) लाई नै थाहा भएको बयान दिएका छन् ।

सुप्रिम सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेट्वर्कमा सारेर सहकारी कानुनविपरीत खर्च गरिएको आरोप रविमाथि छ।

बयानका क्रममा रविले सुप्रिम सहकारी संस्थाबाट गोर्खा मिडियाका नामा आफ्नो निजी खातामा आएको भनिएको एक करोड ९६ लाख रुपैयाँ कसले हालिदियो भन्ने थाहा नभएको बताएका छन् ।

उनले यो कुरा बुधबार पनि बताएका हुन् । बिहीबार पनि उनले अधिकांश आरोप अस्वीकार गर्दा खातामा रकम आएको कुरा भने सकारेका स्रोतले उल्लेख गरेको छ ।

उनले खातामा आएको पूरै १ करोड ९६ लाख रुपैयाँ आफूले चेक काटेर चलाएको पनि बताएका छन् । तर उनले आफू सुप्रिम सहकारी संस्थाको सदस्य नभएकाले बचत ठगी प्रकरणमा संलग्न भएको कुरालाई भने इन्कार गर्दै बयान दिएका छन् ।

रविले दुई दिन सोधिएका अधिकांश प्रश्नमा इन्कारी बयान दिएका छन्। तर सुप्रिम सहकारीबाट आफ्नो नाममा जम्मा भएको १ करोड ९६ लाख रुपैयाँ चलाएको कुरा उनले सकारेका छन् । उक्त रकम जम्मा रविको नाममा जम्मा गर्ने काम सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनी गुरुङले गरेकी थिइन् ।

रोशनीले गत असोज ४ मा सार्वजनिक ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’मा पनि बयानका क्रममा रवि लामिछनेको नाममा २ करोड रुपैयाँ जम्मा गरेको बयान दिएकी थिइन् ।

सहकारीका व्यवस्थापक सागर केसीको निर्देशनअनुसार आफूले उक्त रकम रविको खातामा जम्मा गरिदिएको उनले संसदीय समितिमा बयान दिएकी थिइन् ।

रोशनीले १ करोढ ९६ लाख रुपैयाँ रविको नाममा रहेको ग्लोबल आईएमई बैंकको खातामा जम्मा गरेको खुलिसकेको छ । यो कुरा संसदीय समितिको बयानमा पनि रोशनीले खुलाएकी थिइन् ।

सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका ४ जनामध्ये २०८१ वैशाख ७ मा धरौटी बुझाएर रिहा हुनेमा रोशनी पनि थिइन् । रुपन्देही जिल्ला अदालतको थुनछेक आदेशअनुसार दुर्गा चापागाईं पाण्डे, दीपक न्यौपाने, निता थापा मगर र रोशनी गुरुङ त्यसबेला सुप्रिमको ठगीमा मुछिएर धरौटीमा रिहा भएका थिए ।

समितिको प्रतिवेदनमा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनीले आफूले नै रविका नाममा सहकारीमा खाता खोलिदिएकोसमेत बयान दिएकी थिइन् ।

‘मलाई व्यवस्थापकले रवि लामिछानेको नाममा खाता खोल्न लगाउनु भयो, निर्देशनअनुसार खाता खोलेको थिएँ । उक्त खतावाला को थिए मलाई थाहा भएन’, उनले भनेकी छन्, ‘यस विषयमा समाचारमा रोशनी गुरुङले पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् प्रतिनिधि सभाका सदस्य रवि लामिछानेको खाता खोलेको भन्ने समाचार आएर मलाई साथीहरूले लिंक पठाउन थालेपछि के भएको भन्ने मलाई लाग्यो । संस्थामा व्यवस्थापक सागर केसीले भने अनुसार सबै काम गर्थ्यौँ ।’

सुप्रिम सहकारीका पनि अध्यक्ष गोर्खा मिडियाका अध्यक्ष जीबी नै थिए । उनले त्यसबेला गोर्खा मिडिया नेट्वर्कमार्फत खोलेर ग्यालेक्सी टेलिभिजन खोलेर ५ वटा सहकारीको पैसा हालेका थिए ।

यसअघि गत असारमा सर्वोच्च अदालतमा बहसका क्रममा रविको नाममा सुप्रिम सहकारीबाट रकम आएको कुरा उनका वकिलहरूले स्वीकारेका थिए ।

लामिछानेको नाममा सुप्रिम सहकारीबाट ग्यालेक्सी टेलिभिजनको मातृ संस्था गोर्खा मिडियामा रकम गएको खुलेपछि उनले भने जानकारी नभएको बताएृका थिए । तर रविको पक्षबाट अदालतमा बहस गरेकाहरू वकिलहरूले उक्त रकमलाई स्वेट सेयर भनेर सर्वोच्चमा स्वीकारेका थिए ।

रुपन्देहीमा बयान सकिएपछि लामिछानेलाई बिहीबार नै पोखरा लैजाने तयारी गरिएको छ। प्रहरी स्रोतका अनुसार मौसमको अनुकूलता भएमा बिहीबारै लामिछानेलाई विमानबाट पोखरा लगिन्छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोप छ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

प्रतिवेदन अनुसार बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ।

लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरिएको थियो भने पुनः दोस्रोपटक सात र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो।

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ।

प्रहरीले सहकारी ठगी मुद्दामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धीकरण मुद्दामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ६ : ५३ बजे

बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु

बेरुत – लेबनानको राजधानीमा भएको इजरायली हवाई आक्रमणमा शनिबार कम्तिमा

अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन

नुवाकोट – प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले समाजमा अशान्ति सिर्जना गर्न

भारतीय सेना प्रमुख पोखरामा, वीरता पुरस्कार विजेताहरुलाई सम्मान

काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल उपेन्द्र

चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा

काठमाडौं – गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो

स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते

भरतपुर – चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस