आर्थिक शिथिलताको असर - दशैँमा रङ्गिएनन् घर | Khabarhub Khabarhub

बजार

आर्थिक शिथिलताको असर – दशैँमा रङ्गिएनन् घर

वार्षिक २० अर्बको पेन्ट्स कारोबार ३० प्रतिशतले घट्यो


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दु नेपालीहरूको महान पर्व दशैँ नजिकिँदै गर्दा घर तथा आवास रङयाउन प्रयोग गरिने पेन्टस् कारोबार घटेको छ ।

विगत वर्षको तुलनामा यस पटकको दशैँमा नयाँ घर नबनेको र उपभोक्ताले पनि त्यति घर रङरोगन नगर्दा पेन्टस्को कारोबार ह्वात्तै घटेको व्यवसायीहरू बताउँछन् ।

गत वर्षको दशैँको पूर्वसन्ध्यामा पेन्टस् तथा रङरोगनको कारोबार राम्रो भए पनि यसपालि भने कारोबार ३० प्रतिशतले घटेको नेपाल पेन्टस् उद्योग संघका अध्यक्ष विश्वप्रकाश शाखःले खबरहबलाई बताए ।

‘गत वर्षको दशैँ अघि पेन्टस्को कारोबार राम्रै थियो । तर, यसपालिको दशैँमा पेन्टस्को कारोबार तुलनात्मक रूपमा घटेको छ,’ उनले भने, ‘उपभोक्ताले नयाँ घर त्यति नबनाएको, मन्दीका कारण खर्च कटौती गरेकोले हुनसक्छ, रङरोगनको कारोबार ३० प्रतिशतले घटेको छ ।’

विगतमा वार्षिक २० अर्बको पेन्ट्स तथा रङहरूको कारोबार हुने गरेको थियो । संघका अनुसार, विगत वर्षका चाडपर्वमा वार्षिक कुल कारोबारको ४० देखि ४५ प्रतिशत पेन्टस् तथा रङरोगन खपत हुने गरेको थियो । तर, यसपालिको चाडपर्वमा भने कारोबार ३० प्रतिशतले घटेको हो ।

‘पेन्टस् तथा रङरोगनको वार्षिक कारोबार २० अर्ब रुपैयाँ बराबरको हुने गरेकोमा यसपालि कारोबार ३० प्रतिशत अर्थात कारोबार ६ अर्बले घटेको छ,’ शाखःले भने ।

विगतमा दशैँअघि नै उपभोक्ताले परम्परागत घरलाई कमेरोमाटो र रातोमाटोले पोतेर आकर्षण बनाउने गर्थे । नयाँ बनेका आधुनिक घर भने उपभोक्ताले विभिन्न रङका पेन्ट दलेर सजाउने गर्थे ।

घरको आकार, डिजाइन, स्थान तथा प्रयोजन अनुसार इन्टेरियर डेकोरेटरहरूले फरक–फरक रङ उपयोग गर्छन् । अहिले शहरी क्षेत्रमात्र नभए गाउँका घरमा पनि आधुनिक कलरिङ गर्ने प्रचलन बढेको छ । वि.सं. २०७२ सालको भूकम्पपछि निर्माण गरिएका सबैजसो घर सजाउन आधुनिक रङ नै प्रयोग गर्ने गरिएको छ ।

विगत तुलनामा यसपालिको दशैँमा आम उपभोक्ताले नयाँ घर बनाउने र रङरोगन नलगाएका कारण कारोबारमा मन्दी देखापरेको हो । आम उपभोक्ताले आर्थिक मन्दीलाई दृष्टिगत गरी खर्च कटौती गरेकाले नयाँ घर सजाउने रङरोगनको कारोबार नबढेको व्यवसायीहरूको भनाइ छ ।

अहिले नेपालमा स्वदेशी तथा विदेशी गरी ५० देखि ६० ब्राण्डका रङहरू उपलब्ध छन । यस्ता ब्राण्डका रङहरू नेपालमा वार्षिक २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने व्यवसायीहरू बताउँछन् । तर, व्यापारको ७० प्रतिशत खपत हिस्सा विदेशी ब्राण्डको रहेको संघका अध्यक्ष शाखःको भनाइ छ ।

नेपालमा वार्षिक एक अर्ब बराबरको रङ आयात हुने नेपाल रङरोगन संघले जनाएको छ । संघका अनुसार रङ आयात गर्दा भन्सार बढी लाग्ने भएकोले स्वदेशी उत्पादनसँग प्रतिष्पर्धा गर्न सक्दैनन् । सोहीकारण नेपालमा विदेशी रङको आयात कम छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारमा पाइने धेरै ब्राण्डका रङ उपलब्ध छन् । संघका अनुसार नेपाली रङ बजारमा स्वदेशी तथा विदेशी गरी ४५ भन्दा बढी ब्राण्डको उपस्थिति छ । एसियन, पशुपति, बर्जर, कान्साइ नेरोल्याक लगायतका ब्राण्ड चल्तीमा छन् ।

अहिले बजारमा बर्जर पेन्ट्स प्रतिलिटर ७०० देखि एक हजार रुपैयाँसम्म, एसियन पेन्ट्स २५० देखि एक हजार ५०० रुपैयाँसम्म, केएनपी जापान २०० देखि ९०० रुपैयाँसम्म र अपूर्व पेन्ट्स ८०० देखि एक हजार ३०० रुपैयाँसम्म पर्छ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ४ : ०८ बजे

चितवनमा तीन सय ८६ जनामा स्क्रब टाइफस पुष्टि

चितवन– यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय

जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच भेट

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’

अमेरिकी डलर बेचेर सरकारले किन्यो थप भारु

काठमाडौं – सरकारले भारतीय रुपैयाँ खरिद गर्न गत आर्थिक वर्षको

काम खोज्दै देश छाड्ने झन् बढे

काठमाडौं – गत आर्थिक वर्षको भदौको तुलनामा यो पटक वैदेशिक

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा

काठमाडौं– नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला