दशैँ खर्च जोगाउनुभयो ? आउँदैछन्‌ ३५ कम्पनीका आइपीओ | Khabarhub Khabarhub

दशैँ खर्च जोगाउनुभयो ? आउँदैछन्‌ ३५ कम्पनीका आइपीओ


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दशैँ लगायत चाडपर्वका बेला नेपालीहरूले साविकभन्दा बढी रकम खर्च गर्छन् । कारण – यी चाडमा आफन्त तथा साथीभाइ जमघट हुने र खानपिन गरी रमाउने मौका !

परिवार र साथीभाइसँग आवश्यक खर्च गर्नु त ठीकै पनि हुन्छ, तर चाडबाडकै बेलामा घुम्ने र बाहिर रमाउने पनि गरिन्छ । यो समयमा अनावश्यक खर्च हुने सम्भावना अधिक हुन्छ ।

चाडपर्वका बेला मदिरा सेवन र जुवातास खेल्नेजस्ता अनावश्यक कुरामा पनि नेपालीहरूले धेरै खर्च गरिरहेका हुन्छन् । तर, त्यस्ता खर्च कटाएर लगानी गर्दा त्यसले भविष्यमा ठूलो फाइदा दिन सक्छ ।

लगानी गर्ने उपयुक्त माध्यममध्ये एक हो – शेयर बजार । चाडपर्वमा गर्ने अतिरिक्त खर्च जोगाउन सक्नुभयो भने तपाईंले शेयर बजारबाट राम्रो प्रतिफल प्राप्त गर्न सक्नुहुन्छ ।

यहाँ हामी तपाईंलाई दोस्रो बजारमा लगानी गर्न भनिरहेका छैनौँ । दशैँपछि लगातार ३५ वटा कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओे) जारी हुँदैछ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) का निवर्तमान अध्यक्ष रमेशप्रसाद हमालको पदावधि सकिएपछि बोर्डमा सरकारले नयाँ अध्यक्ष चयन गरी पठाउन सकेन । बोर्ड लामो सयमसम्म अध्यक्षविहीन हुँदा आइपीओे निष्काशनमा पनि समस्या भएको थियो ।

तर, अब सरकारले बोर्डमा अध्यक्ष चाँडै नै नियुक्त गर्ने तदारुकता देखाएको छ । सेबोनमा अध्यक्ष नियुक्त गरे शेयरबजारले लय लिने र त्यसको जस सरकारले प्राप्त गर्ने हुनाले सके दशैँलगत्तै र ढिलामा तिहारसम्म बोर्ड अध्यक्ष नियुक्त गर्ने प्रयास सिंहदरबारभित्र भइरहेको छ ।

बोर्डमा अध्यक्ष नियुक्त हुनासाथ प्रकृयागत अन्तिम चरणमा रहेका ३५ कम्पनीको आइपीओ धमाधम जारी हुनेछ । ती कम्पनीको कूल १७ करोड तीन लाख ३४ हजार ४७ कित्ता आइपीओे हाल पाइपलाइनमा छ ।

धितोपत्र बोर्डका प्रवक्ता नवराज अधिकारीका अनुसार चाडबाड सकिएपछि आइपीओे निष्काशनको प्रक्रिया अगाडि बढ्ने र सर्वसाधारणको लागि खुला हुने छ ।

‘सार्वजनिक लेखा समितले रोक लगाएको बाहेकका आइपीओे तिहारपछि जारी हुन्छ’, अधिकारीले भने, ‘बोर्डमा अध्यक्ष नियुक्त हुनासाथ प्रकृयागत अन्तिम चरणमा रहेका कम्पनीका आइपीओ जारी हुन्छ ।’

बढी मूल्यका पाँच कम्पनी

साधारणतयाः आइपीओे १०० रुपैयाँ मूल्यमा आउने गर्छ । तर, पछिल्लो समय प्रिमियम र बुक बिल्डिङ विधिमार्फत् बढी मूल्यका आइपीओ निष्काशन निम्ति बोर्डले अनुमति दिन थालेको छ ।

चाडबाडपछि पाइपलाइनमा रहेका ३५ मध्ये पाँच कम्पनीले बढी मूल्यको आइपीओे ल्याउन अनुमति मागेका छन् । सबैभन्दा महँगो आइपीओे रिलायन्स स्पिनिङ मिल्सको रहेको छ । जसले ८२० रुपैयाँ ८० पैसा प्रतिकित्ताका दरले आइपीओे निष्काशन गर्न अनुमति मागेको छ ।

अनुमतिको अन्तिम चरण रहेको रिलायन्सको आइपीओे निष्काशनमा भने सार्वजनिक लेखा समितिले नै रोक लगाएको छ । तर, बोर्डमा अध्यक्ष आएमा रिलायन्सको प्रक्रिया पनि अघि बढ्नेछ ।

उत्पादन तथा प्रशोधन समूहतर्फ मारुती सिमेन्टले ३७७ रुपैयाँ प्रतिकित्ता, शौर्य सिमेन्टले २६४ रुपैयाँ ५१ पैसा र जगदम्बा स्टिलले ३०० रुपैयाँ प्रतिकित्ता दरमा आइपीओ जारी गर्न बोर्डसँग अनुमति मागेको छ ।

अन्य समूहतर्फ ह्याम्स हस्पिटलले प्रतिकित्ता २८८ रुपैयाँमा आइपीओे निष्काशन गर्न अनुमति कुरिरहेको छ । यी पाँच बाहेक अन्य ३० वटा कम्पनीले भने प्रतिकित्ता १०० रुपैयाँ दरमा आइपीओे जारी गर्ने धितोपत्र बोर्डले जनाएको छ ।

हाइड्रोको आइपीओ सबैभन्दा बढी

चाडबाडपछि सबैभन्दा बढी हाइड्रोपावर समूहको आइपीओे जारी हुँदैछ । बोर्डबाट आइपीओे निष्काशनका लागि १७ वटा हाइड्रोपावर कम्पनीले स्वीकृति पर्खिरहेका हुन् । अन्य समूहका नौवटा कम्पनी पनि आइपीओे निष्काशनको स्वीकृति पर्खाइमा छन् ।

ती सबै कम्पनीको आइपीओको मूल्य प्रतिकित्ता १०० रुपैयाँ हो । प्रत्येक कम्पनीको न्यूनतम १० कित्ता शेयरमा आवेदन दिन पाइनेछ । दशैँतिहारमा खर्च कटाएर एक हजार रुपैयाँ मात्र जोगाउन सके एउटा कम्पनीको आइपीओे भर्न पाइनेछ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ३ : ४५ बजे

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-१४ स्थित सडकमा अन टेष्ट लेखिएको रिक्सा र

रुसद्वारा पुटिन–ट्रम्प शिखर सम्मेलनका लागि समयसीमा तय नगरेको पुष्टि

एजेन्सी- रुसले युक्रेन युद्धसम्बन्धी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी

पटकासहित एक जना पक्राउ

पर्सा– वीरगन्ज महानगरपालिका-१ बाट करिब १ लाख ३९ हजार ९ सय

गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ

जेनेभा- संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि

आगलागीबाट दुई घर जलेर नष्ट

त्रिशूली– ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर