चिचर र घोगी घरबासका पहिचान | Khabarhub Khabarhub

चिचर र घोगी घरबासका पहिचान


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपुरका घरबास (होमस्टे) मा आउने पर्यटकलाई चिचर (अनदीको चामल पानीको बाफले उसिनेर पकाएको परिकार), घोगी र माछाका परिकारले आकर्षित गरेको छ ।

घरबास सञ्चालकले चिचर, घोगी र माछाका परिकारले नै उनीहरूको स्वागत गर्ने गरेका छन् । चिचर, घोगी र माछा अब यहाँको थारू समुदायले सञ्चालन गरेका घरबासको पहिचान बनेको छ ।

नवलपुरमा सञ्चालित अमलटारी, चिलाहा रतवल, पिप्रहर, शिसवार माझी मुसहर सामुदायिक घरबास लगायतका घरबासमा आउने पाहुनाले स्थानीय परिकारमा चिचर, घोगी र माछाका परिकार नै रोज्ने गरेका पाइएको छ ।

‘हाम्रो घरबासमा आउने पाहुना आफैँले चिचर खोज्नुहुन्छ, हामीले दैनिकजसो  चिचर पकाउने गरेका  छौँ’, अमलटारी सामुदायिक घरबासका सञ्चालक नरबहादुर महतोले भने, ‘थारू समुदायले खाने परिकार हिजोआज पर्यटकको रोजाइ बनेका छन् ।’

चिचरसँगै नुमैचा (भुटेर तयार पारिएको नुन खुर्सानीको धुलो) समेत घरबासमा आउने पाहुनाको रोजाइमा पर्ने गरेको महतोले बताए । घरबासमा पर्यटकलाई  बिहानको खाजामा सधैँजसो चिचर, नुमैचा र माछा पस्किने गरिएको छ ।  

अमलटारी घरबास भन्ने बित्तिकै पाहुनाले चिचर, घोगी र माछा सम्झिने अमलटारी घरबासका अध्यक्ष प्रेमशंकर मर्दनिया थारूले बताए । थारू समुदायको प्रचलित परिकार घरबासको समेत पहिचान बनेको उनको भनाइ छ ।

नेपाल घरबास एसोसिएसनका केन्द्रीय अध्यक्षसमेत रहेका मर्दनिया थारूका अनुसार स्थानीय परिकारको संरक्षण र बजारीकरणमा घरबासले सहयोग पुर्‍याएको छ । साथै ती घरबासलाई स्थानीय परिकारले समेत चिनाउन भूमिका निर्वाह गरेको छ ।

चिलाहा रतवल घरबासका अध्यक्ष नन्दप्रसाद महतोका अनुसार घरबासमा आउने सबैजसो पर्यटकले स्वादका लागि समेत नयाँ परिकार मानेर चिचर खाने गरेका छन् । थारू समुदायले सञ्चालन गरेका घरबासमा मात्रै प्रायः  चिचर, नुमैचा, घोगीजस्ता परिकार पाइने हुँदा अन्यत्रबाट आउने पाहुनाका लागि फरक स्वाद हुने उनको भनाइ छ ।

‘थारू समुदायले मात्रै विशेषरुपमा पकाउने परिकार भएकाले अन्यत्र सजिलै पाइँदैन, धेरैका लागि नयाँ परिकार हुन्छ, हामीले त्यही नयाँ स्वाद पाहुनालाई पस्किन्छौँ’, अध्यक्ष महतोले भने । घरबासमा चिचर, घोगी, माछासँगै सोझुवा रोटी, गुन्द्रुकको चटनी, स्थानीय हाँस, कुखुराको मासुलगायतका परिकार तयार पार्ने गरिएको उनको भनाइ छ ।

शरीरमा उर्जा बढाउने हुँदा जाडो मौसममा चिचर खाने चलन रहेकामा अहिले अन्य समयमा समेत चिचर खाने गरिएको छ । मुख्य गरी माघी पर्वमा अघिल्लो दिन पकाउने र माघ १ गते यो परिकार खाने गरिएको छ ।

यसलाई पुसको अन्तिम दिन पकाउने तथा केराको पातमा डल्लो पारेर परालले बाँधेर धानको भुसको मन्द आगोमा राख्ने गरिन्छ । माघीको दिन चिचर निकालेर खाने गरिन्छ । 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ९ : ११ बजे

युरोकप : अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो स्लोभेनिया

एजेन्सी – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गत समूह ‘सी’को

सगरमाथा आरोहणलाई व्यवस्थित बनाउन माग

काठमाडौं – सगरमाथा आरोही सङ्घले सगरमाथा आधार शिविरभन्दा माथि हुने

आइतबारसम्म देशभर मनसुन फैलिने

काठमाडौं । आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल

प्रचण्ड, ओली र रविबीच भेटवार्ता, राजदूत नियुक्तिको विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा

अफगानिस्तानलाई भारतले दियो एक सय ८२ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा भारतले