धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नति गरिँदै « Khabarhub

धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नति गरिँदै


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिलाई अगाडि बढाइएको छ ।

सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त सडकलाई दुई खण्डमा विभाजन गरेर स्तरोन्नति थालिएको हो ।

प्रदेश सरकार र गाउँपालिकाको ५०/५० प्रतिशत लागत साझेदारीमा धाप्लाङघाटदेखि बिचशङ्खे–खाकरगैरा तथा चेकेथुमखण्डको सडक स्तरोन्नतिको काम सुरु गरिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए ।

बराहपोखरी गाउँपालिका–२ सुन्तलेमा पर्ने दुवै सडकखण्डमा ग्याविन (तारजाली प्रयोग गरेर निर्माण गरिने पर्खाल), मेसिनरी वाल (सिमेन्ट, बालुवा र ढुङ्गा प्रयोग गरेर निर्माण गरिने पर्खाल), ड्रेन निर्माण, आरसिसी ढलान, ग्राभेल, माटो फिलिङलगायतका काम भइरहेको छ ।

धाप्लाङघाटदेखि बिचशङ्खे–खाकरगैरासम्मको सडक स्तरोन्नति गर्न ६२ प्रतिशत सम्पन्न भइसकेको गाउँपालिकाले जनाएको छ । विसं २०८१ वैशाख मसान्तसम्ममा सक्नेगरी उक्त ठेकेदार कम्पनीले गत पुस ८ गते सडक स्तरोन्नतिको ठेक्का सम्झौता गरेको थियो ।

मूल्य अभिवृद्धि करसहित एक करोड ७२ लाख ४१ हजार २४४ मा कार्यादेश लिएको ठेकेदार कम्पनीले रनिङ बिलमार्फत गत माघ १५ गते एक करोड छ लाख ९७ हजार ६२३ भुक्तानी लिइसकेको गाउँपालिकाका सूचना अधिकारी प्रशासन सहायक रमेश पोखरेलले जानकारी दिए ।

सो सडकखण्डमा दुई हजार पाँच सय आठ घनमिटर माटो कटिङ, ४३ दशमलव ३८ घनमिटर ब्रेकर, ३१३ दशमलव २३ घनमिटर ढुङ्गा सोलिङ, छ सय ८४ घनमिटर ग्याविन वाल, एक सय ६० मिटर ढलानलगायतका काम गर्ने सम्झौतामा उल्लेख छ ।

ढलानको काम भइरहेको यो सडकखण्ड यही फागुन मसान्तभित्र सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको स्थानीयस्तरमा निर्माणको जिम्मा लिएको सुन्तले कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि बराहपोखरीका प्रबन्ध निर्देशक कृष्णप्रसाद बञ्जराले जानकारी दिए ।

यस्तै, सङ्घीय सरकारसँगको लागत साझेदारीमा सुरु गरिएको सोही सडकको चेकेथुमखण्ड स्तरोन्नतिको काम ९० प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । मूल्य अभिवृद्धि करसहित ७७ लाख ११ हजार नौ सय ४० मा सक्नेगरी निर्माण कम्पनीले चेकेथुमखण्डको सडक स्तरोन्नतिको काम लिएको हो ।

विसं २०८० वैशाख मसान्तसम्ममा सक्ने गरी गत मङ्सिर २२ गते ठेक्का सम्झौता गरिएको सडक फागुनभित्रै सम्पन्न गर्ने योजनामा रहेको ठेकेदार कम्पनीले जनाएको छ ।

निर्माणाधीन दुवै खण्डको सडक तोकिएको मितिमा सम्पन्न गर्न तथा गुणस्तर निर्धारणमा खबरदारी गर्ने काम भइरहेको गाउँपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक भूबलराज राईले बताए ।

धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिको काम गरिएपनि सुनकोशीस्थित धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माण सम्पन्न नहुँदा तराईसँगको सीधा यातायात सञ्चालन हुन सकेको छैन ।

खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका– १४ साउने जोड्ने सुनकोशी नदीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको काम रोकेर सात वर्षपछि डिजाइन (ढाँचा) परिवर्तन गरेर पुनर्निर्माण थालिएको छ ।

विसं २०७६ असार २९ गतेभित्र सम्पन्न गर्नेगरी विसं २०७३ असार ३० गते रसुवा–एसएनएस–पप्पु जेभी निर्माण कम्पनीले धाप्लाङघाट पुल निर्माणको जिम्मा लिएको थियो । वेल फाउन्डेसन प्रविधिको मोटरेबल पुल निर्माण सुरु गरिएको धाप्लाङघाटमा ढाँचा परिवर्तन गरेर पाइल फाउन्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको हो ।

भ्याटबाहेक २२ करोड ५० लाखमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको पुलको दुईवटा पिलर तथा बीच भागमा एउटा वेलमात्र निर्माण गरिएको छ । ठेक्का सम्झौता भएको सात वर्षपछि ‘डिजाइन’ परिवर्तन गरिएको पुलको लम्बाइ दुई सय मिटर लामो छ ।

निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापार्वाहीले तोकिएको समयमा मोटरेबल पक्की पुल नबन्दा दुई जिल्लाबीचको सिधा यातायात सञ्चालन हुन सकेको छैन ।

धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माण नहुँदा सवारीसाधनमा करिब एक दिनको यात्रापछि गाईघाट पुग्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

धाप्लाङघाटबाट उदयपुरको बेल्टार आधा घण्टा तथा गाईघाट डेढ घण्टामा पुग्ने गरिएको छ । लामो समयसम्म अलपत्र अवस्थामा रहेको धाप्लाङघाटको मोटरेबल पक्की पुल चाँडोभन्दा चाँडो सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रतिनिधिसभा सदस्य एवं कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार राईले जानकारी दिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ९ : ४० बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ