शक्तिखोर–फिस्लिङ सडक : भारी बोकेर नारायणगढ पुर्‍याउनुपर्ने बाध्यता हट्यो | Khabarhub Khabarhub

शक्तिखोर–फिस्लिङ सडक : भारी बोकेर नारायणगढ पुर्‍याउनुपर्ने बाध्यता हट्यो


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– इच्छाकामना गाउँपालिका–२ मायाटारका भीमबहादुर प्रजालाई केही वर्षअघिसम्म गाउँमा सडक आउने कल्पनासमेत थिएन । घन्टौँ हिँडेर भरतपुर र मुग्लिन पुगेका उनले घरै नजिकबाट सवारीसाधन ओहोरदोहोर भएको देख्दा दङ्ग छन् ।

‘घरैमाथि स्कुल जाने सडक, घरमुनि फिस्लिङ–शक्तिखोर सडक छ’, उनी भन्छन्, ‘यतिको सुविधा होला भन्ने कल्पनासमेत गरेका थिएनौँ, अहिले त गाडी दुनुन्न हिँड्छन् आनन्द छ ।’ सडक सञ्जालले यात्रुसहित यहाँका स्थानीयलाई धेरै सहज भएको उनी बताउँछन् ।

‘पहिले निकै कष्टका दिन बितायौँ, ‘दुःखका दिन सम्झँदै उनले भने’, ‘भारी बोकेर नारायणगढ पुर्‍याउनुपर्ने बाध्यता थियो । अहिले घरबाटै गाडीले जति पनि सामान लैजान्छ । उनी बास बस्दै दुई दिनमा नारायणगढ पुगेको बताउँछन् । ‘अहिले बिहान गए बेलुका घरमै आइपुगिन्छ, सडक निर्माणले निकै सुविधा भएको छ’, उनले भने । मोटरसाइकल र साना गाडीमा गाउँ घुम्न आउने बढेको जनाउँदै आफूहरूलाई समेत रमाइलो लाग्ने गरेको सुनाए ।

नौलो मान्छे देख्दा भाग्ने चेपाङलाई अहिले बजारसँग जोड्नका लागि यही सडकले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । ‘अब सरकारले यो बाटोमा पर्ने खोल्साखाल्सीमा पुल हाल्दिने, पिच गर्न बाँकी रहेको ठाउँमा राम्रो बनाउने गर्दिनुपर्छ’, उनले भने, ‘बाटो अलि साँघुरो छ । ठूलो गाडी पनि गुडाउन मिल्ने गरी बढाउनुपर्छ ।’

यो सडकखण्डमा फिस्लिङदेखि उकालो लागेपछि करिब नौ किलोमिटर अझै कच्ची बाटो हिँड्नुपर्छ । माझगाउँबाट कालोपत्रे सुरू भएको बाटो तोलाङ कटेपछि बाँसपुरसम्मको करिब एक÷डेढ किलोमिटर सबैभन्दा जोखिमयुक्त छ , जहाँ मोटरसाइकल चलाउन पनि मुस्किल पर्दछ ।

सडकले गाउँघरमा समृद्धि ल्याएको मायाटारका युवा टीकाबहादुर गुरुङ बताउँछन् । सडक विस्तारपछि उनले घरबास (हामेस्टे) सञ्चालनमा ल्याएका छन् । उनलाई अहिले पाहुनाको स्वागत र सत्कारमा भ्याइनभ्याइ छ ।

गुरुङका अनुसार फिस्लिङ–शक्तिखोर सडकमा यात्रा गर्नेको सङ्ख्या बढ्दै गएको छ । मुग्लिन नारायणगढ सडकमा पुल निर्माणका लागि दिउँसोमा बन्द भएका कारण अझै बढी यो सडक प्रयोग गर्नेको सङ्ख्या बढेको गुरुङ बताउँछन् । यो सडकको विषयमा अझै कतिलाई थाहै नभएको भन्दै उनले अझै प्रचारप्रसारको आवश्यकता रहेको बताए ।

हपनीका किसान शेरबहादुर प्रजा आफ्नो पाखाभित्ताका हरेक उत्पादनलाई अचेल यही सडकको सहायताले बजार पुर्‍याउँछन् । ‘हाम्रा लागि शक्तिखोर फिस्लिङ सडक वरदान बनेर उदायो’, उनले भने, ‘यो सडक नहुँदा हामी बारीमा फल्ने तरकारी बस्तुलाई खोले दिन्थ्यौँ । अहिले बारीमै बिक्छ ।’

उनका अनुसार हिउँद होस् या बर्खा, अचेल तरकारी लिन जाने गाडी टोलटोलमै पुग्छन् । पैसा हातहातै दिन्छन् । ‘सडकले सजिलो बनायो’, उनले थपे, ‘हामीले पनि बाँझो बारीमा तरकारी फलाउन थाल्यौँ, यसले विस्तारै सबैको आर्थिक अवस्थामाथि लाँदैछ ।’

गाउँ–गाउँसम्म विस्तार हुँदै गएको सडक सञ्जालले सर्वसाधारणको जीवनशैलीमा लगातार सकारात्मक परिवर्तन ल्याइरहेको छ । ‘केही वर्षअघिसम्म पनि हातमा रुपैयाँ–पैसा पार्न टाढाको बजार धाएर अन्नपात नै बेच्नुपर्ने बाध्यताका गाउँलेको अहिले बारीमै तरकारी बिक्छ, जसले किसानको क्रयशक्ति पनि बढाएको छ’, उनले भने ।

इच्छाकामना– ३ माझगाउँका किसान होमबहादुर गुरुङले सडक निर्माणपछि यहाँ उत्पादन हुने सुन्तलालगायतका फलफूल र तरकारी बजार लैजान समस्या नभएको बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  १२ : ११ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस