प्रहरीलाई पीडितको प्रश्न- मुद्दाको शीर्षक किन फेरियो ?  | Khabarhub Khabarhub

प्रहरीलाई पीडितको प्रश्न- मुद्दाको शीर्षक किन फेरियो ? 



पटक–पटक जबरजस्ती करणी प्रयासको प्रहरीले अभद्र व्यवहारमा परिणत गरिदिएपछि नुवाकोटकी एक पीडित महिला न्यायको खोजीमा भौँतारिएकी छन् ।

शिवपुरी–१ तलाखुकी ५२ वर्षीया एस थोक्कर (नाम परिवर्तन) लाई गत शनिबार बाख्रा चराउन गएको समयमा गाउँकै राजकुमार फुयाँलले जबरजस्ती करणीको प्रयास गरेका थिए । ५४ वर्षका फुयाँल गाउँमा तीर्थबहादुर केसीका नामले चिनिन्छन् ।

बाख्रा चराउन गएको मौका छोपी फुयाँलले जबरजस्तीको प्रयास गरेका थिए । थोक्करले आफ्नो प्रतिरक्षा गर्दागर्दै पनि उक्त व्यक्तिले बेहोस हुने गरी कुटपिट गरेको थियो । प्रतिरक्षामा थोक्करको दायाँ हात भाँचिएको छ । मुखभरि घाउ चोटपटक छन् । शरीरभर नीलडाम छन् । साथै, उनको गुप्ताङ्गमा पनि चोट लागेको छ ।

यो प्रयास तेस्रो पटक भएको थोक्करका श्रीमान् मोनबहादुर तामाङ (वर्ष ४८) बताउँछन् । उनी भन्छन्, ‘२०७२ साल अगाडि पनि उसले सुनितालाई जबरजस्तीको प्रयास थियो ।’ अघिल्लो वर्ष पनि उसले दोस्रो पटक जबरजस्ती गर्‍यो । त्यतिबेला एसको खुट्टा नै फ्याक्चर भएको थियो ।

‘गाउँले सबै मिलेर मेलमिलाप गरिदिए । गाउँकै मान्छे भनेर मैले माफी दिएँ’ खबरहबसँग उनले भनिन्, ‘मेरो उपचारमा एक लाख ५० हजारको बिल आएको थियो । फुयाँलले एक लाख रुपैयाँ उपचार खर्च र क्षतिपूर्ति भनेर जरिवाना तिरेका थिए ।’

तर उनले उपचार खर्च धेरै लिएको भनेर आरोप लगाइरहने एस बताउँछिन् । ‘खुट्टा फ्याक्चर भएको किन एआइभी जाँच गरिस् भनेर निहुँ खोजिरहन्थ्यो ।’ अस्पतालले एचआइभी, सुगर, प्रेसर लगायत धेरैको परीक्षण गरेपश्चात् नै खुट्टाको अप्रेसन गर्छ । तर उनले सधैँ धेरै पैसा खाइदिएको आरोप लगाउँदै आएका थिए ।

यतिबेला भने उनले तँलाई मारेर लाससँग भए पनि सम्बन्ध बनाउँछु भनेको पीडित बताउँछिन् । एसका श्रीमान् काठमाडौंमा एक माध्यामिक विद्यालयमा पढाउँछन् । र एक २० वर्षीय छोरी पनि जिल्ला बाहिर बसेर पढ्दै छिन् । गाउँमा एस एक्लै बस्दै आएकी छिन् ।

पीडक फुयाँलका परिवार सबै काठमाडौंमा बस्छन् । गाउँमा उनी एक्लै बस्दै आएको एस सुनाउँछिन् । भन्छिन्, ‘उ रिटायर्ड आर्मी हो । गाउँमा सार्वजनिक जग्गा ओगटेर बसेको छ ।’ त्यही जग्गामा बाख्रा गयो भनेर पहिलेदेखि निहुँ खोजिरहने गरेको उनी बताउँछिन् ।

पीडकले लौरो, ढुङगा र बुटले उनलाई कुटेको पीडित बताउँछिन् । उसँग लड्दा–लड्दै आधा तोलाको कानको गहनासमेत हराएको छ । घटना भएका राती नै एसका श्रीमान् काठमाडौंदेखि घर पुगे । श्रीमतीको हालत देखेर अत्तालिएका उनी प्रहरीले कार्यालयले अभद्र व्यवहारको मुद्दा दर्ता गर्न भनेपछि सहमति जनाए ।

उनी भन्छन्, ‘प्रहरीले जबरजस्ती करणी प्रयासको प्रमाण जुटाउन मुस्किल हुन्छ, अभद्र व्यवहारको मुद्दा दर्ता गर्न भन्यो ।’ तर पीडित एस प्रहरीले आफूमाथि अन्याय गरेको बताउँछिन् । आफ्नो सोझो श्रीमान्लाई प्रहरीले ललाइ–फकाइ गरेर मुद्दा कमजोर बनाइदिएको उनको आरोप छ । खबरहबसँग कुरा गर्दै उनी भन्छिन्, ‘पीडित म हो , अभद्र व्यवहारको मुद्दा म मान्दिन ।’

बारम्बार करणी गर्ने प्रयास गरेको र मलाई मार्ने प्रयास गरेकोलाई अभद्र व्यवहारमा मात्रै मुद्दा लगाउन नपाइने उनी बताउँछिन् । प्रहरीले पीडितलाई सहयोग नगरेको उनको गुनासो छ ।

प्रहरीले मुद्दाको छिनोफानो गर्ने होइन : अधिवक्ता बस्याल

अधिवक्ता विष्णु बस्याल उजुरीको शीर्षक के राख्ने भन्ने सल्लाह दिने काम प्रहरीको नभएको बताउँछिन् । उनी भन्छिन्, ‘पीडित प्रहरी कार्यालयमा आउँदा करणी प्रयासको प्रमाण जुटाउन गाह्रो हुन्छ, अभद्र मुद्दा बनाऊ भनेर सल्लाह दिने काम प्रहरीको होइन ।’ मुद्दा दर्ता गर्न आउँदा पीडितको कुरालाई आधार मान्नुपर्ने बस्याल बताउँछिन् ।

प्रहरी कार्यालयमा करणी प्रयास भन्ने मुद्दा दर्ता हुँदैन । यो तयारी हो कि जबरजस्ती प्रयास मात्रै हो वा करणी हो भन्ने निर्णय गर्ने अधिकार अदालतको भएको उनी बताउँछिन् । ‘प्रहरीमा सुरुमा मुद्दा दर्ता गरेर प्रक्रियामा जानुपर्छ’ उनले खबरहबसँग भनिन्, ‘अनुसन्धान गरेर आएको रिपोर्टको आधारमा जबरजस्ती करणी प्रयास हो वा होइन भन्ने थाहा हुन्छ ।’

करणी प्रयासको उजुरी गर्ने क्रममा अनुमानको आधारमा वा प्रमाण जुटाउन समस्या हुन्छ भन्नु कानुन विपरीत हो । ‘अनुसन्धान नै नगरी मुद्दा यो सजिलो र असजिलो भन्न पाइन्न, ‘महिलाले करणी प्रयासको उजुरी लिएर आएपछि त लिनुपर्छ ।’ बकपत्र लिनुपर्‍यो र साक्षीहरुका कुरा सुन्नुपर्यो । ‘भोलि त्यस मुद्दामा प्रमाण जुटाउन सकिएन भने वा प्राप्त प्रमाणले पुष्टि गरेन भने करणी प्रयासको लागि आधार पुगेन भन्ने हो ।’

करणी प्रयास र अभद्र व्यवहारबीचको मुद्दा धेरै फरक छ । करणी भनेको महिलाको मञ्जुरी विना शारीरिक सम्बन्ध बनाउने प्रयास हो । त्यस्तै, कुनै पनि सार्वजनिक स्थान वा एकान्तमा महिलालाई हातपात गरेर हैरानी गर्ने, जिस्काउने वा छुने प्रयास  अभद्र व्यवहार हो ।

मुलुकी अपराध संहिताको ११८ मा अभद्र व्यवहारमा एक वर्षको कैद र १० हजारसम्मको जरिवाना तोकिएको छ । अभद्र व्यवहारको मुद्दा जिल्ला प्रशासन कार्यालयबाट चल्छ । र करणी प्रयास जिल्ला अदालतमा चल्छ ।

प्रहरीले मुद्दा फेरेको छैन : प्रहरी प्रवक्ता

नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले पीडितलाई मुद्दा परिवर्तन गर्न सल्लाह नदिएको बताए । उनी भन्छन्, ‘एस थोक्करका श्रीमान्लाई प्रहरीले करणी प्रयासको प्रमाण पुग्दैन, अभद्र व्यवहारको मुद्दा चलाउन भनिएको छैन ।

पीडक भनिएको व्यक्तिको बारेमा पीडित भनिएकी थोक्करको बाख्रा पसेर बाली नास गरिदिएपछि उनीहरूको झगडा परेको देखिन्छ । प्रवक्ता खबरहबसँग भन्छन्, ‘थोक्करका श्रीमान्ले बारीमा बाख्रा पसेपछिको झगडा भनेका थिए । ’ उहाँकै कुरा अनुसार अभद्र व्यवहारको उजुरी लिएको उनले बताए ।

फागुन ३ गते उनीहरू फेरि प्रहरी कार्यालय आएको खड्का बताउँछन् । ‘आज पीडित आफैँ आउनुभएको छ, उहाँहरू जबरजस्ती करणी प्रयास र ज्यान मार्ने उद्योगमा उजुरी दिने तयारीमा हुनुहुन्छ ।’

सुरुमा जे उजुरी पर्‍यो, त्यही रहन्छ भन्ने छैन । पीडितको अवस्था हेरेर उजुरी लिने खड्काले बताए । प्रहरी सधैँ पीडितकै पक्षमा रहनेमा विश्वास गर्न उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ५ : ३२ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि