देश/प्रदेश

उपराष्ट्रपति यादव र जापानी राजदूत युताकाबीच शिष्टाचार भेट

By खबरहब

February 15, 2024

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेट गरेका छन् ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध आर्थिक सहयोगलगायत विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा उपराष्ट्रपति यादवले नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको बताए ।

“जापानले नेपाललाई अनुदान, ऋण, बहुपक्षीय निकायबाट आर्थिक एवं प्राविधिक सहयोग गर्दै आएको छ”, उनले भने, “औद्योगिक विकास, कृषि, जलविद्युत्, पूर्वाधार विकासलगायत धेरै क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट हामी लाभान्वित हुन चाहन्छौँ ।”

त्यस अवसरमा जापानी राजदूतले दुई देशबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै जापानबाट नेपाललाई निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सन् १९५६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई मुलुकबीचको सम्बन्ध प्रगाढ बन्दै गएको छ । जापान नेपालको प्रमुख विकास साझेदार पनि हो ।