युएईमा १९ नेपाली अलपत्र : न कामको ठेगान न मामको « Khabarhub

युएईमा १९ नेपाली अलपत्र : न कामको ठेगान न मामको


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

खोटाङ– जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका राजकुमार राई फेब्रुअरी १० तथा पर्शुराम राई फेब्रुअरी २३ तारिखमा वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका थिए ।

एकाघरका दाजुभाइ (पर्शुराम दाजु र राजकुमार भाइ) धन कमाउने सपनामा ऋण काढेर मेची इन्टरनेसनल ओभर्सिज प्रालि काठमाडौँमार्फत चार महिनाअघि युएई पुगेका हुन् ।

प्रतिव्यक्ति एक लाख ९९ हजार रुपैयाँका दरले एजेन्टलाई धरौटी रकम बुझाएर युएई पुगेका राई दाजुभाइसहित १९ नेपाली युवा तोकिएको काम र दाम नपाउँदा अहिले अलपत्र परेका छन् ।

कामदार करारनामा अनुसारको काम र पारिश्रमिक नपाउँदा उनीहरुसँगै सुर्खेतका भविष्य जिसी, पाल्पा तिनाउका देवसिं सुनारीमगर, उदयपुर गाईघाटका किशोर खत्री, गुल्मी मुसिकोटका हिमाल सरतुङ्गे, कालीकोटका जितेन्द्र शाही, नवलपरासीका सुनिल श्रेष्ठ, मोरङका करन सरदार, तेह्रथुमका लक्ष्मीप्रसाद दुलाल, दैलेखका मनबहादुर शाही, झापाका मिश्रीलाल दास, धादिङका तिलकबहादुर सुनार, सिन्धुपाल्चोकका खड्कबहादुर श्रेष्ठ, उदयपुरका मानबहादुर कार्की, गोरखाका आशबहादुर गुरुङ, मोरङका पदम नेपाल, नुवाकोटका लाक्पा तामाङ र कपिलवस्तुका मनोज थारू चार महिनादेखि अलपत्र परेका हुन् ।

वैदेशिक रोजगारीका नाममा ठगीमा परेका १९ नेपाली युवाले म्यानपावरबाट साँवा–ब्याज फिर्ता हुने गरी उद्धारको पहल गरिदिन सञ्चारमाध्यमलाई अनुरोध गरिरहेका छन् ।

सरसफाइ कर्मचारीका काममा लगाउने भन्दै ती युवालाई फरक–फरक मितिमा युनिक स्टार जेनेरल सेक्युरिटी गार्ड सर्भिस र नुर अल अफसा जेनेरल क्लिनिक सर्भिस कम्पनीमा लगिएको थियो । सम्झौतापत्रमा उल्लेख भएको कम्पनीमा नलगी अन्यत्र राखेर फरक–फरक काममा लगाउने गरेको उनीहरुले बताएका छन् ।

अलपत्र परेका १९ नेपाली युवामध्ये १२ जनालाई सार्जा सेफजोन भन्ने ठाउँमा गोदामजस्तो घरमा राखेको बताइएको छ ।

अन्य सात युवा अन्यत्र राखिएका छन् । म्यानपावर व्यवसायी राजकुमार चौधरी, श्याम विश्वकर्मा, निराजन पाण्डे, सन्दीप वाग्ले, शम्भुदास ताती र कुमार तामाङलाई रु एक लाख ३५ हजारदेखि दुई लाख २० हजार रुपैयाँ तिरेर युएई पुगेको उनीहरु बताउँछन् ।

ऋण काढेर युएई पुगेका युवालाई कहिले स्कूलमा, कहिले मस्जिदमा, कहिले सडक, कहिले सोफा कम्पनीमा ७०/८० किलोको भारी उचाल्ने काम गर्न पठाउने गरिएको छ । नियास नाम गरेका भारतीय र नेपालका सञ्जय थापाले अरू कम्पनीमा काम खोजेर केही दिन काम लगाउने तथा काम नभेटेसम्म कोठामै राख्ने गरेका छन् ।

काम नगरेको दिन आफ्नै खर्चमा खाँदै बस्नुपरेको पर्शुरामले भिडियोमार्फत बताए । पर्शुराम र धादिङका तिलकबहादुर सुनार फागुन ११ गते तथा अन्य युवा चार महिना युएई पुगेका हुन् ।

‘यहाँ हामीलाई गोदामजस्तो ठाउँमा राखेको छ, अनि जता–जता काम पाउँछ, त्यतै सम्पर्क गरेर पठाउँछ, कहिले १० दिन काम गर्न लगाएर बाँकी कोठामै राख्छ’, पर्शुरामले भने, ‘अहिलेसम्म कम्पनी हेर्न पाएको छैन, गुगलमा खोजी गर्दा पनि भेटिन्न, त्यही कम्पनीमा लैजाउभन्दा तिमीहरुलाई पैसा खर्च गरेर ल्याएको हो, जे भन्छु त्यही गर भन्छ, धेरै बोलिस् भने एकान्त बाटोमा लगेर छाडिदिन्छु भन्दै धम्क्याउँछ, नेपालतिर कसैलाई सुनाइस् भने पैसा काटिदिन्छु भन्ने गरेको छ, अलपत्र अवस्थामा रहेको हामीलाई तत्काल उद्धारका लागि सम्बन्धित निकायले पहल गरिदिनुपर्‍यो ।’

काम र दाम नपाउँदा केही दिनअघि मात्रै तीन दिनसम्म भोकै बस्न बाध्य बनेको उनीहरुले बताएका छन् । ‘खर्च माग्दा नेपालबाट मगाएर खाउ भन्ने गरेका छन्, घरमा सम्पर्क गरेको थाहा पायो भने अर्कै ठाउँ लैजान्छ, उनीहरु जीवित छन् या मरिसके अत्तोपत्तो छैन’, पर्शुरामले भने, ‘प्रहरीसँगको सहयोगमा दूतावास जाने तयारी गरिरहेका छौँ, कतिपय युवाले तीन महिनाको तलब पाएका छैनन्, बिरामी परेको समयमा आराम गर्नसमेत नदिई काममा पठाउने गरेका छन्, राहदानी फिर्ता माग्दा पनि दिँदैन ।’

नेपालस्थित म्यानपावरलाई सम्पर्क गर्दा बेवास्ता गर्ने गरेको पीडित युवाको गुनासो छ । पर्शुराम र राजकुमारको धरौटी रकम बुझेका सन्दीप वाग्लेको र समन्वय गर्ने निराजन पाण्डेको मोबाइल बन्द रहेको छ । उनीहरुले फरक–फरक नम्बर प्रयोग गर्दै भाइबरमार्फत आफूहरुलाई धम्क्याउने गरेको पीडित युवाले बताएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ३ : ५० बजे

भोजपुरमा वडाध्यक्षसहित १२३ जना श्रम संस्कृतिमा प्रवेश

भोजपुर– साल्पासिलिछो गाउँपालिका-६ का निर्वाचित बहालवाला वडाध्यक्ष विक्रम वनसहित १२३

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै

कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना पक्राउ

कर्णाली– पलाँता गाउँपालिका–थिर्पु कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण