उत्तर प्रदेशमा मोदी-योगी लोकप्रियताको जाँच | Khabarhub Khabarhub

उत्तर प्रदेशमा मोदी-योगी लोकप्रियताको जाँच

‘क्लिन स्वीप’ गर्ने बीजेपीको महत्वाकांक्षा


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बैशाख ७ देखि हुन लागेको भारतको आम निर्वाचनका सन्दर्भमा खबरहबले यसअघि बिहारपश्चिम बंगालको चर्चा गरेको थियो । तेस्रो श्रृंखलामा यहाँ नेपालसँग सीमा जोडिएको र हिन्दुवादको नारामा झुमिरहेको भारतको सबैभन्दा बढी सिट ओगट्ने उत्तर प्रदेश राज्यका बारेमा चर्चा गरिएको छ ।

भारतको सबैभन्दा धेरै सिट (८० सिट) रहेको उत्तर प्रदेश राज्य नेपालसँग सीमाना जोडिएको मात्र छैन, तराईको भूभागसँग संस्कृति पनि जोडिएको क्षेत्र पनि हो ।

भारतको राजनीतिमा उत्तर प्रदेशका केही फरक विशेषता छन् । राजधानी दिल्लीको गेटवेको रूपमा परिचित भएका कारण सो राज्य भारतको आर्थिक र सांस्कृतिक रूपले महत्त्वपूर्ण मानिन्छ । भर्खरै राम मन्दिर बनेको चर्चित धार्मिकस्थल अयोध्या पनि यहीँ पर्छ ।

अघिल्लो चुनावमा ८० मध्ये ६२ सीट जितेको बीजेपीले यसपालि उत्तर प्रदेशमा सिट थप्छ या घटाउँछ ? यसैबाट प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री योगी आदित्यनाथको लोकप्रियता मापन हुनेछ

भारत स्वतन्त्र भएपछि १६ जनवरी १९५० मा उत्तर प्रदेशको नामकरण भएको हो । उत्तर प्रदेशको सीमामा पूर्वमा बिहार, दक्षिण पूर्वमा छत्तीसगढ र झारखण्ड तथा दक्षिणमा मध्य प्रदेशले घेरिएको छ । युपीसँग पश्चिममा राजधानी दिल्लीसहित राजस्थान र हरियाणा जोडिएका छन् ।

ठूला नेताको भाग्य परीक्षा गर्ने थलो

भारतीय राजनीतिका प्रभावशाली नेताहरुको चुनाव क्षेत्र उत्तर प्रदेशमै पर्छ ।

यहाँको वाराणाशी क्षेत्र प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र हो । उनी लगातार तेस्रो कार्यकाल सोही क्षेत्रबाट निर्वाचित हुने तयारीमा छन् ।

त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दाहिने हात मानिने उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको चुनावी मैदान गोरखपुर हो । मुख्यमन्त्री हुनुअघिदेखि उनी ५ पटक सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार भइसकेका छन् ।

कनौज क्षेत्र पनि चर्चामा रहेको छ । अधिक मुस्लिम बाहुल्य सो क्षेत्रमा समाजवादी पार्टीका अखिलेश यादव उम्मेदवार भएका छन् । सो क्षेत्रमा सीमान्तकृत समुदायका व्यक्तिको बाहुल्य छ ।
परम्परागतरूपमै समाजवादी पार्टीको प्रभाव क्षेत्र मणीपुरीमा विगतमा मुलायम सिंह यादवले प्रतिनिधित्व गरेका थिए । अहिले सो क्षेत्रमा डिम्पल यादवले प्रतिनिधित्व गरेकी छिन् ।

राय बरेली निर्वाचन क्षेत्र काँग्रेसको प्रभाव राख्ने स्थान हो । सो निर्वाचन क्षेत्रबाट विगतमा सोनिया गान्धीले प्रतिनिधित्व गरेकी थिइन् । अहिले सो क्षेत्रमा काँग्रेसले प्रियंका गान्धीलाई उठाउने तयारी गरेको छ ।

त्यस्तै, अमेथी सन् २०१९ मा भएको निर्वाचनमा विशेष कारणले महत्त्वपूर्ण थियो । सो निर्वाचनमा युनियन मन्त्री स्मती इरानीले राहुल गान्धीलाई पराजित गरेका थिए । सो निर्वाचनमा क्षेत्रमा भाजपाले अहिले पनि इरानीलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

यस्तो छ चुनावी गठबन्धन

भाजपा नेतृत्वको एनडीए गठबन्धनमा कुल ८० मध्येका ७४ सिट भाजपाले लिएको छ । अन्य ६ सिट गठबन्धन दलका लागि छाडिएको छ । राष्ट्रिय लोक दलका लागि २, अपना दल सोनेलालका लागि २ र सुहल देवको भारतीय समाज पार्टी र निसाद पार्टीका लागि एक/एक सिट तय भएका छन् ।

राष्ट्रिय लोक दल पनि एनडीए गठबन्धनमा समावेश भएको छ । राष्ट्रिय लोक दलको नेतृत्व चरणसिंह चौधरीका नाति जयन्त चौधरीले गरेका छन् ।

विपक्षी गठबन्धनमा अखिलेश यादवको समाजवादी पार्टीसँगको भागबन्डामा काँग्रेसले १७ सिट लिएको छ । अन्य सिट स्थानीय र प्रान्तीय दललाई मिलाउने गरी समाजवादी पार्टीलाई जिम्मा दिइएको छ ।
पछिल्लो विधानसभाको परिणाम र अहिलेको सर्वेक्षणले उत्तर प्रदेशमा भाजपा नेतृत्वको एनडीए गठबन्धनलाई नै बलियो मानिएको छ । किनभने, विगतदेखि नै उत्तर प्रदेश भाजपाको गढ मानिन्छ ।

केन्द्रीय राजनीतिमा मूल प्रतिद्वन्द्वी मानिएको काँग्रेसका लागि भने यो प्रदेश अत्यन्त कमजोर क्षेत्र हो । यस क्षेत्रमा कांग्रेसभन्दा अखिलेश यादवको समाजवादी पार्टी बलियो छ । आगामी बैशाख ७ देखि हुने चुनावमा काँग्रेसले १७ सिट लिएर अखिलेश यादवको समाजवादी पार्टीसँग गठबन्धन बनाएको छ ।

पछिल्लो मत सर्वेक्षणले उत्तर प्रदेशमा एनडिए गठबन्धनले ७७ स्थानमा जीत हात पार्ने सम्भावना देखाएको छ ।

समाजवादी र काँग्रेस गठबन्धनले दुई तथा एक्लै निर्वाचनमा सहभागी भएको मायावतीको दलले एक सिटमा जीत हात पार्ने सर्वेक्षणले देखाएको छ ।

सो सर्वेक्षणले उत्तर प्रदेशमा भाजपा नेतृत्वको गठबन्धनले ५७ प्रतिशत मत पाउने तथा काँग्रेस समाजवादी गठबन्धनले २६ प्रतिशत मत पाउने देखाएको छ ।

सर्वेक्षण अनुसारको मत परिणाम आएमा यो भाजपाका लागि इतिहासकै सबै भन्दा महत्त्वपूर्ण परिणाम हुने छ । यस अघि सन् २०१४ मा उत्तर प्रदेशमा भाजपाले ७१ तथा अपना दलले दुई सिटमा जीत हात पारेका थिए ।

भाजपाको पुरानो गढ

सन् २०१९ को लोकसभा निर्वाचनमा उत्तर प्रदेशबाट भाजपाले ५० प्रतिशत मतसहित ६२ स्थानमा जीत हात पारेको थियो । कांग्रेस लगायत विपक्षी गठबन्धनले १८ सिट जोगाएका थिए ।

कांग्रेससँगको गठबन्धनमा रहेको मध्ये बहुजन समाज पार्टीले १९.४ प्रतिशत मतसहित १० स्थानमा जितेको थियो । समाजवादी पार्टीले ५ सिट जितेको थियो भने अपना दलले २ सिट जितेको थियो । कांग्रेसले १ सिटमा चित्त बुझाएको थियो ।

सन् २०२२ को विधान सभा निर्वाचनमा भाजपाले ४०३ सिट मध्ये २५५, समाजवादी पार्टीले १११, काँग्रेसले २,बहुजन समाजवादी पार्टीले १ सिट र अन्यले ३४ स्थानमा जीत हात पारेका थिए ।

धार्मिक र जातीय ‘फ्याक्टर’

लोकसभाका कुल ५४३ मध्ये उत्तर प्रदेशसँग ८० सिट छन् । यो नै भारतको सबैभन्दा बढी सिटसंख्या भएको राज्य हो । यसै कारण सो राज्यको चुनाव आफ्नो पक्षमा पार्न सबै दलले चासो दिएका छन् ।

लोकसभामा धेरै सांसद पठाउने उत्तर प्रदेशले समग्र भारतको आन्तरिक राजनीतिमा महत्वपूर्ण प्रभाव राख्दै आएको छ । खासगरी धर्म र जातीय विषयले यहाँको चुनावमा प्रभाव पार्ने गरेको छ ।

सन् २०११ को जनगणनाका अनुसार उत्तर प्रदेशमा करिब २० करोड जनसंख्या छ । नेपालको तुलनामा झण्डै ७ गुणा बढी हो । यहाँ यादव जातिको जनसंख्या १९.४७ प्रतिशत छ भने पिछडिएको वर्गको संख्या ५० प्रतिशत भन्दा बढी छ । यादवपछि कर्मी र पटेलको संख्या छ । यस प्रान्तमा १५ करोड मतदाता छन् । यसपालिको चुनावमा ५२ लाख नयाँ मतदाता थपिएका छन् ।

पछिल्लो समय उत्तर प्रदेशमा भाजपाले जात विभाजनका कारण समस्या भोगेको चर्चा भारतीय मिडियामा हुने गरेको छ । यहाँ विगतदेखि नै माथिल्लो भनिने जातको मत प्रायः भाजपालाई जाने गरेको थियो र यसैका आधारमा भाजपा बलियो बनेको हो । तर, पछिल्लो समय राजपूत, त्यागी र सैनी जातीमा असन्तोष फैलिएको बताइन्छ । उनीहरूको गुनासो जनसंख्याको तुलनामा कम सिट दिइएको भन्ने छ । यो असन्तुष्टिले भाजपामा चुनौती थप्न सक्ने आकलन गरिएको छ । तर, भाजपवा नेताहरुले भने विगतको रेकर्ड तोड्ने र क्लिन स्वीप गर्ने दाबा गर्दै आएका छन् ।

नेपालसँगको साइनो

नेपालको सीमाले सबैभन्दा बढी छोएको भारतीय राज्य बिहार हो । बिहारको सीमाले नेपालको लगभग ७२६ किलोमिटर छोएको छ । उत्तर प्रदेशको सीमाले नेपालका ५५१ किलोमिटर भूभाग छोएको छ ।

उत्तरप्रदेशसँग नेपालका चितवनदेखि कञ्चनपुरसम्मका ७ वटा जिल्ला जोडिन्छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनी र चर्चित सुनौल नाका उत्तर प्रदेशसँग जोडिन्छ ।

विगतदेखि नै नेपालको धर्म, संस्कृति, शिक्षा र रोजगारीसँग जोडिएको क्षेत्रका रुपमा उत्तर प्रदेश परिचित छ । नेपालीहरु इतिहासदेखि नै कामको खोजीमा भारत जाने गरेको पाइन्छ । धेरैजसो नेपालीको भारत यात्रा सुनौली नाका हुँदै नौतनवा–गोरखपुरको बाटो भएर हुने गरेको छ ।

नेपालले धार्मिक पर्यटनका लागि चासो दिने गरेका स्थान र विगतमा संस्कृत संस्कृत पढ्न जाने गरिएको बनारस पनि यसै क्षेत्रमा पर्छ । जीवनको उत्तरार्धमा धेरै नेपालीहरु काशी जाने गर्दथे, जुन यसै प्रदेशमा पर्छ ।

नेपालमा हिन्दु राष्ट्र फर्काउनुपर्छ भन्नेहरु पनि योगी आदित्यनाथसँग निकट रहने गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले समेत मुख्यमन्त्री योगीसँग विगतमा भेट गरेको प्रशंग स्मरणीय रहने गरेको छ ।

सातै चरणमा निर्वाचन

उत्तर प्रदेशमा बैशाख ७ गते देखि सातै चरणमा मतदान हुनेछ । १९ अप्रिलका दिन सहरानपुर, कैराना, मुजफनगर, बिजनोर, नागीना, मुरादावाद, रामपुर र पिलभितमा निर्वाचन हुने छ ।

त्यस्तै, २६ अप्रिलमा अमरोहा, मेरुत, बगवत, गाजीयावाद, गौतम बुद्ध नगर, बुलनसार, अलीगढ र मथुरामा निर्वाचन हुने छ ।

त्यसैगरी ७ मेमा सम्फाल, हथरास, आगरा, फत्तेपुर सिकरी, फिरोजावाद, मणीपुरी, एताह बडाउ, अमला र बरेलीमा निर्वाचन हुने छ ।

चौथो चरणको निर्वाचन १३ मेका दिन हुने छ । सो दिन सहजनपुर, लखिमपुर खेरी, धौराहा, सितापुर, हार्दोइ, मिसकृस, उनाहो, फरिदाबाद, एतावा, कनौज, कानपुर, अकबरपुर र बहराइचमा निर्वाचन हुने छ ।

पाँचौँ चरणको निर्वाचन २० मेमा हुने छ । सो दिन निर्वाचन हुने क्षेत्रमा मोहनलाल गन्ज, लखनउ, राय बरेली, अमेथी जालुन, झाँसी, हमिरपुर, बन्दा, फतेहा पुर, कौसम्बी, बारामबाकी, फइजावाद, कसेर गन्ज र गोन्डा छन् ।

छैटौँ चरणमा सुलतानपुर, प्रताप गढ, फुलपुर, अलाहावद, अमबेदकरन नगर, श्रबस्ती, डुमारियागञ्ज, बस्ती, सन्त कबिर नगर, लालगञ्ज, अजमगन्ज, जाउनपुर, मस्चिलसर र भादोहीमा छैटौँ चरणमा निर्वाचन हुने छ ।

जून १ मा सातौँ चरणमा महारञ्जगञ्ज, गोरखपुर, कुसीनगर, डियोरिया, बंशगाउँ, घोसी, सालेमपुर, बालिया, गाजीपुर, चन्दउली, वाराणसी, मिर्जपुर र रोबर्टगन्जमा निर्वाचन हुने छ ।

जून ४ मा मतगणना हुनेछ ।

अघिल्लो चुनावमा ८० मध्ये ६२ सीट जितेको बीजेपीले यसपालि उत्तर प्रदेशमा सिट थप्छ या घटाउँछ ? यसैबाट प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री योगी आदित्यनाथको लोकप्रियता मापन हुनेछ ।

याे पनि –

पश्चिम बंगालको चुनाव : वामदेखि रामसम्म !

बिहारी गठबन्धन : के पाक्दैछ छिमेकमा ?

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १० : २४ बजे

मेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१