अर्थसंक्षेप : १६औँ पञ्चवर्षीय योजना सार्वजनिकदेखि गृहमन्त्रीसमक्ष इप्पानको सुरक्षा मागसम्म | Khabarhub Khabarhub

अर्थसंक्षेप : १६औँ पञ्चवर्षीय योजना सार्वजनिकदेखि गृहमन्त्रीसमक्ष इप्पानको सुरक्षा मागसम्म


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८५÷८६ सम्म मुलुकको आर्थिक वृद्धिदर ७ दशमलव ३ प्रतिशत हुने लक्ष्यसहितको १६औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।

यस्तै, आजको शेयर बजारमा ९.५४ अंकको गिरावट भएको छ । जीवन बीमा कम्पनीहरूको नाफा ४४ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक भएको छ भने गत वर्षको तुलनामा यस वर्ष व्यवसाय राम्रो भएको तथ्याकंले देखाएको छ । सिमेन्टको व्यापार गत वर्षको तुलनामा यस वर्ष कमी भएको छ ।

१६औँ योजना : ७.३ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य, उत्पादन र रोजगारीलाई प्राथमिकता

सरकारले आर्थिक वर्ष २०८५/८६ सम्म मुलुकको आर्थिक वृद्धिदर ७ दशमलव ३ प्रतिशत हुने लक्ष्यसहितको १६औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ । राष्ट्रिय योजना आयोगले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै हाल ३ दशमलव ९ प्रतिशत रहेको मुलुकको आर्थिक वृद्धिदर ७ दशमलव ३ प्रतिशत हुने लक्ष्य राखेको जनाएको हो ।

त्यस्तै पाँच वर्षमा प्रतिव्यक्ति आय २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य रहेको योजना आयोगले जनाएको छ ।

हाल प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर रहेको छ । आर्थिक वर्ष २०८५/८६ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँभन्दा माथि पुग्ने लक्ष्य राखिएको छ भने उपभोक्ता मुद्रास्फीति ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिइएको छ ।

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रमअनुसार नै आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आज आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१(८२ को पूर्व बजेट अन्तरक्रियामा अर्थमन्त्री पुनले सरकारको नीति तथा कार्यक्रमले उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, आन्तरिक अर्थतन्त्र सुधार गर्नेलगायत विषयलाई प्राथमिकताका अघि बढाउने उल्लेख गरेको र सोहीअनुसार बजेट विनियोजन हुने बताए ।

आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि विभिन्न क्षेत्रसँग सुझाव लिइएको र कार्यान्वयनयोग्य सुझाव सम्बोधन गरिने प्रतिबद्धता अर्थमन्त्री पुनले जनाए ।

निर्माण आयोजनामा ठेक्का लगाएर दायित्व सिर्जना भइसकेपछि सरकार दायित्वबाट पन्छिन नहुने अर्थमन्त्री पुनको तर्क छ । अहिले उत्पादन र विकास निर्माण क्षेत्र समस्यामा रहेकामा त्यसलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । निर्माण व्यवसायीहरूको भुक्तानी नरोकिएको पनि उनले स्पष्ट पारे ।

आगामी आर्थिक वर्ष बजेटको आकार नबढाउन पनि महासङ्घले सुझाव दिएको छ । आगामी आर्थिक वर्षबाट लगानी प्रवर्द्धन दशक घोषणा गर्न पनि महासङ्घले माग गरेको छ ।

त्यसैगरी मुलुकको सार्वभौम साख मूल्यांकन गर्नुपर्ने, द्विपक्षीय लगानी सम्झौता कार्यान्वयन गर्नुपर्ने, सम्भावित लगानीकर्तालाई भिसा शुल्क नलाग्ने गरी कम्तीमा तीन वर्षका लागि बहु वर्षीय भिसा उपलब्ध गराउनुपर्ने, एकल बिन्दु सेवा केन्द्र प्रभावकारी बनाउनुपर्ने तथा स्वदेशी लगानीकर्ताका लागि खुला गरिनुपर्नेलगायत सुझाव महासङ्घले दिएको छ ।

शेयर बजारमा ९.५४ अंकको गिरावट

बुधबार भएको शेयर कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.५४ अंकले घटेको छ । साताको तीन दिन निरन्तर सकारात्मक भएको पुँजी बजार बुधबार भने ओरालो लागेको हो । आज भएको २४५ वटा कम्पनीको कारोबारमा १७१ वटा कम्पनीको शेयर मूल्य घट्यो भने ६६ वटा बढ्यो । त्यस्तै ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आज ३ अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैयाँ बराबरको ८४ लाख ९० हजार ७२२ कित्ता शेयर कारोबार भएको थियो । जसमा उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

४४ प्रतिशतले बढ्यो जीवन बीमा कम्पनीहरूको नाफा 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरूको नाफा ४४ दशमलव ११ प्रतिशतले बढेको छ । गत वर्षको तुलनामा यस वर्ष व्यवसायमा वृद्धि भएका कारण नाफामा सुधार आएको हो । यो वर्ष बिमा कम्पनीहरूको व्यवसाय बढेकाले खुद नाफामा पनि राम्रो वृद्धि भएको हो ।

१ वर्षको अवधिमा बीमा कम्पनीहरूको खुद बीमा शुल्क आर्जन १२.९६ प्रतिशत र कर्जा तथा लगानीबाट हुने आम्दानी २१.१४ प्रतिशतले बढेको छ ।

सिमेन्ट व्यापार नहुँदा कम्पनीको नाफामा गिरावट 

सिमेन्ट कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । ४ सिमेन्ट कम्पनीमध्ये २ वटा घाटामा छन् । सिमेन्टको व्यापार गत वर्षको तुलनामा यस वर्ष कम देखिएको छ । जसले गर्दा नाफामा प्रभाव परेको हो ।

चालु आर्थिक वर्षको ९ महिनासम्म आइपुग्दा ४ वटा सिमेन्ट कम्पनीमध्ये शिवम् सिमेन्ट २० करोड ४२ लाख र सर्वोत्तम सिमेन्ट १२ करोड ७ लाख रुपैयाँ नाफामा छन् ।

घोराही र सोनापुर सिमेन्ट क्रमशः ६४ करोड २५ लाख र २७ करोड ८० लाख रुपैयाँ नोक्सानीमा देखिएका छन् ।

रिपोर्ट अनुसार सर्वोत्तमको रिटेन्ड अर्निङ वा जगेडा कोषमा ४ अर्ब ९० करोड रुपैयाँ छ । त्यसैगरि, शिवम् सिमेन्ट्सको उक्त कोषमा ३ अर्ब ४७ करोड, सोनापुरको ५५ करोड २६ लाख र घोराहीको २ अर्ब ७६ करोड रुपैयाँ देखिएको छ  ।

च्याङग्रा पश्मिना सम्बन्धी नयाँ निर्देशिका जारी

प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा पस्मिना निर्यात गर्न साना व्यवसायीहरूलाई सहजीकरण गर्ने उद्देश्यले तयार भएको पस्मिना निर्यात सहजीकरण निर्देशिका जारी भएको छ ।

उक्त निर्देशिकालाई युरोपेली आयोगको अन्तर्राष्ट्रिय साझेदारीका लागि महानिर्देशनालय (आइएनटिपिए)की उपमहानिर्देशक मिरियम फेरान, उद्योग, नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जो, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम अधिकारी तथा नेपाल पस्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले आज आयोजित एक कार्यक्रममा उक्त निर्देशिका सार्वजनिक गरेका हुन् ।

उक्त अवसरमा उपमहानिर्देशक फेरान, महामहिम राजदूत लोरेन्जो तथा सहसचिव अधिकारीले  इयू–नेपाल व्यापार तथा लगानी कार्यक्रमको प्राविधिक सहयोगमा सञ्चालनमा रहेको नेपाल फाइबर प्रशोधन सुविधाको संयुक्त रुपमा शुभारम्भ पनि गरे । उक्त सुविधाले च्याङ्ग्रा किसानबाट सङ्कलन गरिएको फाइबर प्रशोधन गरी पश्मिना उत्पादकहरूलाई आपूर्ति गर्दै आएको छ ।

गृहमन्त्रीसमक्ष इप्पानको माग : ऊर्जा सुरक्षा नीति बनाऔँ

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर जलविद्युत लगायतका ऊर्जा आयोजनाको लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन माग गरेको छ ।

बुधवार गृह मन्त्रालयमा भएको भेटमा इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा आयोजनामा धेरै खालका सुरक्षा जोखिम रहेको भन्दै यसको समाधानको लागि छुट्टै ऊर्जा सुरक्षा नीति बनाएर लागू गर्न माग गरेका हुन् ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ७ : १५ बजे

एसिसी महिला यु–१९ एसिया कप खेलेर नेपाली टोली फर्किए  (तस्बिरहरू )

काठमाडौं– एसिसी महिला यु–१९ एसिया कप खेलेर नेपाली टोली आइतबार

सीआइटी र म्याग्दी हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं – नागरिक लगानी कोष (सीआइटी) र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच

राप्रपा कोशी प्रदेश समितिले पौष १३ गते इटहरीमा विरोध सभा गर्ने 

इटहरी– शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवा प्रवाहमा कोशी प्रदेश सरकार

टुक्राइएको हवाई सेवा र नागरिक उड्डयन विधेयक संसदमा पेस हुने

काठमाडौं– सरकारले हवाई सेवा प्रदायक र नियमनकारी निकायलाई अलग–अलग गर्ने

निकिताका सहकारी पार्टनर भरत जंगम पक्राउ

काठमाडौं- सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोपमा भरत जंगम