‘पुजार सार्की’ जो हुन्, ‘कास्कीकोटका अधिकारी ठूलाबा’ | Khabarhub Khabarhub

‘पुजार सार्की’ जो हुन्, ‘कास्कीकोटका अधिकारी ठूलाबा’


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्युजिक भिडियो निर्देशनमा कहलिएको नाम हो, विकास सुवेदी । अञ्जु पन्तको ‘तिमी आफैँ पग्लिएर’देखि शिव परियारको ‘हल्लै हल्लामा माया बस्यो’सम्म आइपुग्दा उनले पाँच सयभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसके ।

उनले नायक पल शाहसँग मात्रै एक सयभन्दा बढी गीतका म्युजिक भिडियो काम गरेका छन् । पत्रकारिता गर्दा गर्दै म्युजिक भिडियो निर्देशक बनेका सुवेदीको परिचय अहिले फिल्मी लेखकका रुपमा विस्तार भएको छ ।

चल्तीका स्टारलाई फरक धारको फिल्म खेलाउने उनको कलम सफल भएको छ । अर्थात्, उनले लेखेको पहिलो फिल्म ‘प्रकाश’बाट प्रदीप खड्काको परिचय ‘लभर बोइ’बाट विस्तार भयो । प्रदीपले ‘ग्याल्मर’बाहेक अन्य धारका फिल्ममा ‘फिट’ भएको प्रमाणित गर्ने अवसर सुवेदीकै लेखनको फिल्मबाट पाएका हुन् ।

देशका ६० जिल्ला घुम्ने क्रममा उनले ‘प्रकाश’को कथा भेट्टाए । अहिले उनकै लेखनको दोस्रो फिल्म ‘पुजार सार्की’ प्रदर्शनको संघारमा छ । यो फिल्म उनको जन्मथलो कास्कीकोटकै ‘अधिकारी ठूला बा’को कथामा आधारित छ । यसको छायांकन नै त्यहीँ गरिएको छ ।

‘पुजार ठूलाबा जस्ता महान् सोच भएकालाई हामीले इतिहासमा स्थान दिएका छैनौँ । उनलाई मैले स्थान दिइनँ भने कसैले दिँदैन जस्तो लागेर फिल्म लेखे’, उनले भने ।
‘प्रकाश’ र ‘पुजार सार्की’को कथा लेख्न झक्झकाउने सुवेदीको लेखन यात्रा :

कास्कीकोटको बाल्यकाल

सुवेदीको बाल्यकाल कास्कीकोटकेन्द्रित छ । उनका बाल्यकालको यादगार क्षण विशेषतः दुईवटा छन् । पहिलो फिल्म हेर्न गरेको बदमासी र दोस्रो, ठूलो घर त्यागेर ‘सुकुमबासी’ शैलीमा झुप्रोमा जीवन बिताएका ‘पुजार ठूलाबा’ ।

फिल्म हेर्न बुवाको पैसा चोरेर डेढ घण्टा पैदल हिँडेर पोखरा झर्ने उनलाई अहिलेज चलचित्रकर्ममै लाग्दा ती दिन याद आउने नै भए । ‘पुजार ठूलाबा’ उनका लागि कति विशेष छन् ? फिल्म लेख्नै बाध्य भएबाट अनुमान लगाउन सकिन्छ । जसबारे यस सामाग्रीको अन्त्यमा चर्चा गरेका छौँ ।

सुवेदी फिल्म लेखनमा त्यसै होमिएका होइनन् । बाल्यकालदेखि नै फिल्मप्रतिको प्रेम गज्जबको थियो । जुन प्रेमले उनलाई बुवाको पैसा चोर्नदेखि डेढ घण्टा पैदल हिँडेर पोखरा झर्नसम्म सामान्य बनाइदियो ।

‘मेरो घरबाट बागलुङ–पोखरा सकडखण्डको नौडाँडामा पाँच किलोमिटर टाढा थियो । त्यहाँ ठूलो पोस्टर टाँसेको हुन्थ्यो । कुन फिल्म चलेको छ, थाहा पाउन बिहान जुरुक्क उठेर हेरेर फर्कन्थेँ,’ उनी बाल्यकाल स्मरण गर्छन्, ‘नयाँ फिल्म लागेको थाहा पाएपछि पैसा व्यवस्थापनमा लाग्थेँ । बुवा स्कुलमा लेखापाल भएकाले पैसा चोर्न सजिलो थियो ।’

पैसा चोरेको थाहा पाएर बुवाको गाली कति खाइयो, उनलाई पत्तो छैन । तर फिल्म हेरेपछि साथीभाइलाई कथा सुनाएर पैसा लिएको उनी बिर्सिन सक्दैनन् । उनी भन्छन्, ‘स्कुलबाट भागेर, पैसा चोरेर, डेढ घण्टा पैदल हिँडेर फिल्म हेर्नु मेरो लगानी थियो । फिल्मको कथा भनेको १ रुपैयाँ लिन्थेँ । पैसा नहुनेले अण्डा दिन्थे ।’

तर, क्याम्पस पढ्न पोखरामै डेरा बस्न थालेपछि फिल्म हेर्न कष्ट भएन । ‘पोखरा झरेपछि मैले एउटै फिल्म पाँच पटकसम्म हेरेँ । प्रायः सिनेमाहल वरपर नै हुन्थेँ । बस्दै जाँदा सुरक्षागार्ड र हल मालिकसँग चिनजान भयो,’ उनी भन्छन् ।

पत्रकारिताले जुराएको निर्देशन यात्रा

पोखराबाट काठमाडौंका राष्ट्रिय दैनिक प्रत्रिकामा काम गरेको अनुभव पनि उनीसँग छ । पत्रकारितामा आइसकेपछि उनले ‘हिमचुली’ एफएममा समाचार प्रमुख भएरसमेत काम गरे ।

एफएममा काम गर्ने क्रमा चलचित्रलाई रेडियोसँग जोड्न पहल गरेको उनले सुनाए ।

‘रेडियोमा हिन्दी गीत धेरै बज्थे, मैले नेपाली गीत बजाउनुपर्छ भनेँ । दिउँसो उत्साह दिने चटपटे गीत र राति पुराना भावानात्मक गीत बजाउन थालेँ,’ उनी भन्छन्, ‘सँगै फिल्मका कालाकारहरु देशदौडाहा गर्दा हाम्रो रेडियोमा अन्तर्वार्ता दिनुपर्छ भनेर लबिङ गर्न थालेँ । त्यसले चलचित्रकर्मीसँग सामिप्यता बढ्यो ।’

सानै उमेरमा स्थानीय रेडियोमा मिलेको सफतलाले काठमाडौंमा आएर थप निखारिने लोभ पलाएर काठमाडौं छिरेको उनी सम्झन्छन् ।

‘पहिलोपटक कार्यक्रम चलाउँदा बिग्रिएर रेडियोमा काम पाएको थिइनँ । पछि त्यही रेडियोमा समाचार प्रमुख भएँ,’ उनले सुनाए्, ‘सानै उमेरमा ठूलो जिम्मेवारी र धेरै अनुभव लिएपछि काठमाडौं आएर थप प्रगति गर्ने लोभ पलायो ।’

अकास्मत राजीनामा दिएर काठमाडौं आएपछि कठीन समय बिताउनु परेको उनी सम्झन्छन् । ‘यहाँ पैसा नै भएन । एउटा रेडियोमा काम गर्थेँ, साताको पाँच सय तलब थियो । पैसा नभएर सरकारी कार्यालयका चमेना गृहमा भात खाएका घटना धेरै छन्’, उनले विगत स्मरण गरे ।

यद्यपि, एक कार्यक्रममा निर्देशक जनकदीप पराजुलीसँगको भेटले भने काठमाडौंको जीवन सहज हुने अवसर मिलेको उनी सम्झिन्छन् । ‘उहाँहरु तराई टेलिभिजनलाई काठमाडौंमा ल्याउने तयारीमा हुनुहुँदो रहेछ । मैले कार्यक्रममा बोलेको देखेपछि उहाँ प्रभावित भएर काम गर्ने मौका दिनुभयो’, उनले भने ।

पराजुलीले काठमाडौंमा नाम कमाएका पत्रकारको टिममा काम गर्ने मौका दिएको क्षणलाई उनी करिअरकै महत्त्वपूर्ण बिन्दु मान्छन् । भन्छन्, ‘टेलिजिभनबाट मलाई पहिलो तलब सात हजार रुपैयाँ दिनुभएको थियो । त्यो पैसा मेरो जीवनका लागि महत्त्वपूर्ण छ ।’

तराई टेलिभिजनमा जोडिएर समाचार वाचक हुँदै मनोरञ्जन समाचारमा आधारित ‘ई न्युज’ कार्यक्रम चलाउन थालेपछि निर्देशकसमेत बने ।

‘राजनीतिक समाचारबाट वितृष्ण भयो, समाचार वाचकको काम छोड्ने निर्णयमा पुगेँ । धेरै पटक राजीनामा अस्वीकृत भयो,’ उनी भन्छन्, ‘राजीनामा अस्वीकार गर्ने हो भने मलाई प्राइम टाइममा मनोरञ्जनका समाचारको कार्यक्रम चलाउन दिनू भनेपछि उहाँहरुले मान्नुभयो ।’

यही कार्यक्रम हिट भएपछि निर्देशन यात्रा सुरु भएको उनको बुझाइ छ । भन्छन्, ‘त्यसबेला मनोरञ्जन कार्यक्रम चलाउनेलाई टिभीमा गीत बजाइदिन्छ भनेर निर्देशन गर्न दिँदा रहेछन् । एउटा कम्पनी त्यसरी नै मसँग ठोक्किन आइपुग्यो । अञ्जु पन्तको गीत भएकाले म पहिलो कामबाटै सफल निर्देशक बनेँ ।’

निर्देशन छोडेर लेखन

टेलिभिजन कार्यक्रमका दौरान निर्देशक राउतसँगको चिनजानले चलचित्रकर्म जोडिएको उनी बताउँछन् ।

‘मनोरञ्जन समाचारको कार्यक्रम चलाउँदा बलिउडको नक्कल गरेर फिल्म बन्छन् भन्ने सोचाइ हाबी थियो । भाषा हाम्रो भए पनि नेपाली जीवनशैलीका फिल्म बनेनन् भन्ने थियो,’ उनले सुनाए, ‘दिनेश राउतको ‘नोभेम्भर रेन’ फिल्म हेरेपछि उहाँबारे छुट्टै सोच पलायो । कथा मन नपरे पनि कथा भन्ने शैलीले मन तान्यो ।’

त्यहीकारण दिनेश राउतसँग ‘क्लासिक’, ‘पर्व’ र ‘प्रसाद’ फिल्ममा ‘एसोसिएट’ निर्देशक भएर उनले काम गरे । यी तीन फिल्ममा काम गरेपछि म्युजिक भिडियो निर्देशन छोड्ने मनस्थितिमा पुगे ।

‘टेलिभिनजको समय सकिएपछि हामीलाई कसले काम दिने ? दर्शकको इच्छा फेरिएपछि मैले पनि सोच परिवर्तन गरेँ ,’ उनी भन्छन् ।

त्यसपछि नेपाल घुम्ने क्रममा जुम्लामा ‘प्रकाश’ फिल्मको कथा भेटेको उनले बताए । ‘मलाई फिल्ममा काम गर्न नेपाली जीवनको कथा नै लेख्नुपर्छ भन्ने थियो । नेपाली जीवनकै कथा खोज्न देशाटनमा निस्किएको थिएँ,’ उनी भन्छन्, ‘६० जिल्ला पुगेपछि कोरोनाले भ्रमण रोकियो । सरकारी शिक्षक बन्न संघर्ष गरेको केटाको कथा पाएँ । अनि काठमाडौं आएर फिल्म बनाउने निर्णय भयो । दिनेश राउत पनि निर्देशन गर्ने तयार हुनुभयो ।’

अनि पुजार सार्की

सुवेदीको लेखन रहेको दोस्रो फिल्म हो– पुजार सार्की । यसमा उनका छिमेकी ‘अधिकारी ठूला बा’को कथा छ । जो ‘सार्की’ थरकी युवतीसँग विवाह गरेपछि गाउँबाट निस्केर झुप्रोमा बसेका थिए रे !

‘उहाँ पुजारीको सन्तान हुनुहुन्थ्यो, तर अन्तरजातीय विवाह गरेकाले गाउँबाट अलग्गै झुप्रोमा राखिएको थियो’, उनले सुनाए ।

बाल मनस्थितिमा ती ‘पुजार ठूलाबा’लाई घृणाको नजरले हेरे पनि चेतना आएपछि उनीप्रति सम्मान बढेकाले फिल्म लेखनसम्मको यात्रा तय भएको उनी बताउँछन् ।

‘बिहेकै कारण ठूलो घर छोडेर उहाँ छाप्रोमा बस्नुभएको थियो । उहाँको जीवनकालसम्म हामीले अन्तरजातीय विवाह गर्नेलाई घृणाले हेर्यौं‍,’ उनी भन्छन्, ‘आर्थिक रुपमा सम्पन्न, शासक र उनीहरु वरिपरीकालाई महान् बनायौं । तर पुजार ठूलाबा जस्ता महान् सोच भएकालाई स्थान दिएका छैनौं भन्ने लाग्यो ।’

‘पुजार ठूलाबा’ले विद्रोह गर्दा नतिजामा घृणा दिने समाजको तर्फबाट फिल्मको सुरुमै माफी मागेको उनी बताउँछन् ।

साथै, ‘पुजार ठूलाबा’मा आधारित कथामा छुवाछुतको साहित्यलाई फरक दृष्टिकोण दिएर फिल्म बनाइएको उनले बताए । उनी भन्छन्, ‘पुजार सार्की सारा दलितको कथा होइन । हामीलाई छुन देऊ भन्ने होइन, हामी छुन थाल्छौं भन्नेहरुको कथा हो । यो दलितहरुको दृष्टिकोण होइन । यो ब्राम्हणले सार्की बन्न आँट गरेको कथा हो ।’

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ८ : २२ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः