शरीर मलेसिया र आत्मा नेपाली भएको आख्यान 'निरजोया' | Khabarhub Khabarhub

शरीर मलेसिया र आत्मा नेपाली भएको आख्यान ‘निरजोया’



हङकङ्गे नेपाली साहित्यकार दाजु गुरुङको तेस्रो कृति हो-निरजोया। यसअघि दाजुकृत टाँकीका फूलहरु र लाइ-सी (कथासंग्रह) प्रकाशित छन्। ती अघिल्ला दुई पुस्तक स्थानीय (हङकङ) प्रधान छन्। आफू रहेको परिवेशलाई आत्मसात गरेर ज्ञान चक्षुले हेर्ने, आफैंभित्र आफैंले आफैंसँग विमर्श गर्ने र त्यसबाट मन्थन विषयलाई सर्लक्कै लेख्ने दाजुको लेखकीय क्षमताले हङकङ्गेली नेपाली साहित्यको बेग्लै पहिचान प्रस्तुत गरेको छ।

अधिकांश नेपाली शब्द शिल्पीले करिब तीन दशकको हङकङ बसाईबाट पनि स्थानीय जीवन लेख्दैनन्। यहाँ त शरीर मात्रै त हो, हाम्रो आत्म नेपालमै छ भन्नेको तानाबाना, कनिकुथी रचना नै बढी देखिन्छन् र सुनिन्छन् बजारमा। त्यो अस्वाभाविक पनि होइन। मानिससँग आफ्नो नामको भूगोल, आफ्नाहरूको प्रेमील सम्झनाभन्दा अर्को ठूलो सच्चाई पनि हुन्न।

आजको दुनियाँलाई विज्ञान प्रविधिको आचाक्ली विकास र प्रयोगले एकदमै नजिक बनाइ दिएको छ। यद्यपि मानिसले सशरीर उपस्थिति खोज्छ, स्पर्श खोज्छ, सामिप्य खोज्छ, निर्माण, विनिर्वाण खोज्छ, साक्षात्कार चाहन्छ।

आजको दुनियाँलाई विज्ञान प्रविधिको आचाक्ली विकास र प्रयोगले एकदमै नजिक बनाइ दिएको छ। यद्यपि मानिसले सशरीर उपस्थिति खोज्छ, स्पर्श खोज्छ, सामिप्य खोज्छ, निर्माण, विनिर्वाण खोज्छ, साक्षात्कार चाहन्छ। यी सबैको आन्तरिक खोजी सांस्कृतिक मान्छेका विम्बहरु हुन्। दाजु गुरुङ पनि आफ्नो सम्पूर्णताबाट दुर भएर बाँचेका सर्जक निश्चय नै होइनन्। उनका सिर्जनाहरु पढ्दै जाँदा ती यावत तत्वहरु पाउन सकिन्छ। यति हुँदाहुँदै पनि आफू रहेको श्रमभूमिलाई लेखेर दाजुले हङकङमा छुट्टै नेपाली साहित्यको स्वाद पस्केका छन्।

यसअघि यहाँका नेपाली साहित्यकारले स्थानीय परिवेशलाई प्रमुख बनाएर नलेखेका होइनन्, हङकङको नेपाली साहित्य छुट्टै हुनुपर्छ। दार्जिलिङ, सिक्किम, डुवर्श, भुटान जस्तो अलग पहिचानामुखी हुनुपर्छ भन्ने अभिव्यक्तिको ठूलै स्वर थियो। चर्चित लेखक हाङयुग अज्ञात यसका बढी विषयवादी लाग्थ्यो। उनको त होङकोङ कभरको कविता संग्रह नै प्रकाशित छ। वैचारिक धारणा प्रस्तुत गर्नु र बोल्नु एउटा कुरा हो। तर दाजुले जस्तो गरुङ्गो सिर्जना नै हातमा राखी दिनु चाहिँ सार्थक प्रयास हो।

निरजोया त्यही सेरोफेरोको सगुन हो। तर हङकङ होइन मलेसिया हो। नेपालको राजनीतिक खिचातानीले दिएको चोट हो। बाध्यता र पलायनले निम्त्याएको आख्यान हो। मानवताहिन कुचित्रहरुको पर्दाफास हो। बोल्दाबोल्दै वाक्य बसेको क्षमाहीन आत्मग्लानी हो।

निरजोया नेपालको राजनीतिक खिचातानीले दिएको चोट हो। बाध्यता र पलायनले निम्त्याएको आख्यान हो। मानवताहिन कुचित्रहरुको पर्दाफास हो।

दाजुको यो ‘निरजोया’ रहरे उमेरमा बाध्यात्मक परिस्थितिले वैदेशिक रोजगारीमा गएका युवाले भोगेका कारुणिक कथा हो। यसका मुख्य पात्र ‘निरोज’ पूर्वी नेपालका युवक हुन्। लाउन खानै नै धौ धौ परिवारको केटो पनि होइन। तर जीवनको चन्चले उमेरमा गरेका प्रयासहरुको असफलता र एक दशक बढीसम्म भएको सशस्त्र द्वन्दको प्रभावले वैदेशिक रोजगारीका लागि मलेसिया हानिएका स्वप्नशील ठिटो हो।

‘गाउँघरमा रहँदा जे आउँछ, मज्जाले पचाइन्छ’ भन्ने जस्ता भावले निस्फिक्री जिएका निरोजलाई द्वन्द्वकालमा विद्रोही पक्षले जबर्जस्ती बन्दुक भिराएर जङ्गल लान्छ कि भन्ने त्रासदीले उनको लाहुरे बाउ पिरोलिएको अवस्थाबीच विवाह वन्धनमा बाँधी दिएको प्रसङ्ग छ। पढाइ लेखाईमा पनि माइलो छोरो निरोजले खासै रुचि नराख्नुले पितामा अर्को पिरोलो थपिन्छ।

गाउँमा रुमलिएको माइला विदेशिएपछि उनले खानु परेको हण्डर र ठक्करहरुको महाभारत ‘निरजोया’मा अनुवाद भएको छ। मलेसियामा भोगेका नारकीय जीवन र त्यहाँको प्रशासनले गरेको अमानवीय शैलीको कारवाहीबाट प्रताडित बनेका वैदेशिक कैदीहरुको चित्कार छ। युवा उमेरमा दुई आत्माबीच अङ्कुराएको प्रेममाथि भएको धोखाधडीको कहानी छ।

भूगोल, भाषा, धर्म, संस्कार संस्कृतिले प्रेमलाई रोक्दैन र छेक्दैन भन्ने अभिव्यत्क्तिको सच्चाई सँगै जुनसुकै बेला टुट्न र टुटाउन सकिने प्रकृतिको हुँदो रहेछ जस्तो लाग्ने उदाहरण छ। त्यस्ता प्रेमको आयु एकदमै कम हुने निक्र्योल गर्न सकिने प्रमाण छ।

गाउँमा रुमलिएको माइला विदेशिएपछि उनले खानु परेको हण्डर र ठक्करहरुको महाभारत ‘निरजोया’मा अनुवाद भएको छ। मलेसियामा भोगेका नारकीय जीवन र त्यहाँको प्रशासनले गरेको अमानवीय शैलीको कारवाहीबाट प्रताडित बनेका वैदेशिक कैदीहरुको चित्कार छ।

निरजोया नेपालका निरोज र मलेसियाकी जोयाबाट निर्माण गरिएको व्युत्पति शब्द हो। यस पुस्तकका मुख्य पात्र उनै निरोज हुन् भने अर्का प्रमुख पात्र जोया।

यी दुई बाहेक ‘डम्बर दाइ’ सक्रिय पात्रको रुपमा उभिएका छन्। बीचबीचमा जोडिएका पात्रहरु राम, चित्रबहादुर, झलक, सुन्दर, जीवन, शम्भु, मनकुमार, राजबहादुर, हितकाजी, मिलन, चन्द्रबहादुर, डिकबहादुर, अशोक आदि सबै नेपाली छन्। अनेक सिलसिलालामा भेटिएका नेपाली मूलका बर्मेलीहरु पनि निरजोयामा जोडिएका छन्। उस्तै कथाव्यथा बोकेर वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका ती सबै पात्रको दर्दनाक जीवन भोगाइले निरजोयाका पानाहरु भरिएका छन्।

निरोज नेपालमा हिन्दु परिवेशमा हुर्किएका युवक हुन्। समग्र नेपालीको परिवेश पनि त्यही नै हो। धर्म परिवर्तन गरेका नेपालबासी नेपाली बाहेकलाई हिन्दु धर्म र संस्कार, संस्कृतिले कतै न कतै छुन्छ नै। त्यही धर्मको वरिपरि जीवन घुमिरहन्छ। तर, नेपाल छोडेपछि त्यस्ता अनेक फण्डाहरु आउँछन्। परिस्थिति अकल्पनीय बन्छ। जसलाई स्वीकार्नुको अर्को विकल्प हुँदैन। त्यो अत्यावश्यक भएर अगाडि आउँछ। यद्यपि मुस्लिम धर्मालम्बी मलेशियन जोयालाई त्यो धर्ममा उल्लेख गरिएका तपशीलहरुले बाँधेको देखिंदैन।

एउटी मुस्लिम युवतीले आफ्नै आमाबाबु रहेको घरमा सम्पूर्ण अलग भएको ब्वाइफ्रेन्ड लगेर ‘लिभिङ्ग टुगेदर’ राख्नु साहस हो कि ? क्रान्ति हो कि ? स्वतन्त्रता हो कि ? आघात प्रेम र समर्पण हो ? या आवश्यकता पूर्तिका लागि प्रबन्ध गरिएको अस्थायी सम्बन्ध हो ?

एउटी मुस्लिम युवतीले आफ्नै आमाबाबु रहेको घरमा सम्पूर्ण अलग भएको ब्वाइफ्रेन्ड लगेर ‘लिभिङ्ग टुगेदर’ राख्नु साहस हो कि ? क्रान्ति हो कि ? स्वतन्त्रता हो कि ? आघात प्रेम र समर्पण हो ? या आवश्यकता पूर्तिका लागि प्रबन्ध गरिएको अस्थायी सम्बन्ध हो ? त्यो माथि उनको अयाँ इवु (आमाबुवा) ले पनि छोरीको निर्णयलाई यो सहर्ष स्वागत गर्नु अर्को आश्चर्यको विषय हो। मुस्लिम धर्म स्त्री, पुरुष सम्बन्धको विषयमा त्यति खुल्ला र उदार छ भन्ने कुनै मनमस्तिष्कमा थिएन। यो निरजोयाले आँखाको पट्टि खोलिदिएको छ भने दिमागमा अर्को बत्ती बालिदिएको छ।

‘केटा हो ! मलेसियामा आफ्नो कोठाको ढोकामा केटी मान्छेको चप्पल राख्नु। नत्र केटी त कोठामै आउँछ।’ सानो छँदा काकाबाउहरुले मलेसिया जान लागेकाहरुलाई दिएको अर्ती निरजोयाले याद दिलायो। अहिले सम्झँदा मलेसिया गएर बेपत्ता हुनेहरु र दशकौंपछि याने उमेर ढल्केपछि घर फर्केकाहरु जोयाहरुकै अंगालोको मस्तमस्तीमा हराएका थिए कि क्या हो ? जस्तो लागेर आयो। त्यस्तो त युरोप जस्तो खुल्ला सामाजमा पनि छैन होला। यसरी हेर्दा मलेसिया यौन स्वतन्त्रताप्रति धर्म र संस्कारभन्दा धेरै माथि देखिन्छ। यो उपन्यासले त्यो कुराको पुष्टि गरेको छ।

यसभित्र गैर कानुनी रुपमा मलेसिया छिरेका मान्छेहरुको अनन्त चित्कार पनि छ। भयभीत त्रासदीले आँसु निख्रिएका आँखाको अनिंद्रा छ। मले पुलिसको धरपकड र अमानवीय व्यवहारको चित्र छ। अब जीवन कि मृत्यु पाइन्छ ? भन्ने प्रश्नले छातीभित्र परेड खेलिरहेको अन्तरआत्माको आवाज पनि छ।

‘वर्क परमिट’ चेकजाँचको क्रममा समातिएकाहरुलाई नाङ्गेझार पारेर अव्यवस्थित कोठामा कोचिएको क्रन्दन मात्रै होइन, दुर्गन्धित जेलमा महिनौं महिना सडिएर मरेर बाँचेका प्रत्येक पात्रका सत्य कथाले निरजोया पढ्दापढ्दै गला अवरुद्ध हुन्छ।

‘वर्क परमिट’ चेकजाँचको क्रममा समातिएकाहरुलाई नाङ्गेझार पारेर अव्यवस्थित कोठामा कोचिएको क्रन्दन मात्रै होइन, दुर्गन्धित जेलमा महिनौं महिना सडिएर मरेर बाँचेका प्रत्येक पात्रका सत्य कथाले निरजोया पढ्दापढ्दै गला अवरुद्ध हुन्छ। मलेसियाको घनघोर जंगलमा कन्दमुल र काँचो माछा खाँदै बाँचेको जीवन एक चिम्टी नूनको अभावमा तड्पिएको अवस्था अकल्पनीय लाग्छ। कुनै समय बृटिशको गोर्खा प्लाटुन भएर आफ्नै बाउबाजेले उपनिवेश मुक्त देशका लागि अन्दोलित भएका मलेहरुलाई राइफल ताकेको त्यही मलेसिया हो।

हुन त त्यो भूगोलको राजनीतिक इतिहास हो। त्योसँग आजको परिस्थितिको कुनै सम्बन्ध छैन। समय सँगैसँगै विश्वमानव अघि बढिसकेका छन्। मलेसिया पनि ती सारा परिवर्तनबाट टाढा थिएन र छैन। तथापि निरोजजस्ता पात्रले पाएको यातना साँच्चै पाषण युगको बर्बरता जस्तो लाग्छ। यस्ता अनेक कष्टकर श्रृंखलाहरुको चित्रण गर्ने साहस निरजोयाले गरेको छ।

यति हुँदाहुँदै पनि नारी प्रधान सोचको हिमायती रहेछ मलेसिया भन्ने सन्देश यस पुस्तकले दिएको छ। श्रीमतीले श्रीमानले जस्तो काम गर्नु, कमाएर ल्याउनु, परिवार पाल्नु र मुख्य अभिभावकीय भूमिका निर्वाह गर्नु जस्ता उदाहरण यस उपन्यास भित्र पाइन्छ। यी सबै कुराको जिम्मेवारी उठाएर पनि नारी, प्रेमिका वा श्रीमती हुनुको कर्तव्यमा अलिकति पनि नचुक्नु, कहिं कतै वैभवको घमण्ड नरहनु जोयामार्फत पाइने असली सन्देश हो।

निरजोया अति क्लिष्ट साहित्य लेखेर वरिष्ठ पल्टनेहरुका लागि झापट हो। लेखनका हिसाबले यो एकदमै सरल जगमा उभिएको छ। सामान्य पाठकले पनि यसलाई बुझ्न सक्छन्।

यस अर्थमा यो उपन्यास यथार्थपरक धारबाट बगेको छ। यसबाहेक भाषा, धर्म, सिमाना र इतिहासले गारोसारो परेको बेला कस्तो सजिलो हुन्छ भन्ने अर्को उदाहरण निरजोयाले प्रस्तुत गरेको छ। यस उपन्यासका प्रमुख पात्र निरोजलगायत नेपालीहरु जेलभित्र जीवन र मृत्युको अनिश्चित सोचाइको तापले पिल्सिरहेको बेला इन्डियन मुलका मलेसियन पन्जाबी नयाँ जेलर मनजितसिंह कौरको आगमन हुनु, हिन्दी भाषा बोल्नु, धर्मको विषयमा बोल्दै पशुपतिनाथ दर्शन गर्न नेपाल आउने कुरा गर्नु र नेपाली कैदीलाई देश पठाउने वचन दिनु जस्ता विषय उठान यस उपन्यासले गरेको छ। यस्ता कयौं प्रासाङ्गिकताले पुस्तक रंगिएको छ।

निरजोया अति क्लिष्ट साहित्य लेखेर वरिष्ठ पल्टनेहरुका लागि झापट हो। लेखनका हिसाबले यो एकदमै सरल जगमा उभिएको छ। सामान्य पाठकले पनि यसलाई बुझ्न सक्छन्। यसका पन्नाहरु पल्टाउँदै जाँदा अलिक असमान्जस्य भान हुन्छ। कतै दैनिकी जस्तो, कतै पटकथा, लघुकथा, संस्मरण जस्तो लाग्छ। कतै त विषय प्रसङ्गभन्दा अलग मोडिएको जस्तो लाग्छ। प्रस्तुत भइसकेका घटनाक्रम फेरि फेरि दोहोरिएर हल्का बोर भएको जस्तो पनि आभाष हुन्छ।

वाक्य तन्काएर अलिक बेअर्थको भएको जस्तो लागि रहन्छ। गद्यात्मक शैलीबाट लेखिएको निरजोयामा वाक्यको विश्लेषणात्मक बढी छ। हुन त आजभोलि अनेक बहानामा भाषालाई आफ्नो वशमा राखेर बहस गर्नेहरुको भीड नै छ। तर त्यति हदैसम्म पनि निरजोया लेखनका वाक्यहरुले गरेका छैनन्। हुनसक्छ निकट भविष्यमा नेपाली भाषाविद्ले दाजु गुरुङका लेखन शैलीलाई अर्कै उपमा दिने छन्।

अलिक उहिले प्रसिद्ध उपन्यासकार प्रकाश कोविदको प्रेमिल उपन्यास र लिलाबहादुर क्षेत्रीका सामाजिक उपन्यास पढ्न बानी परेका म जस्ता पाठकका लागि हल्का भाषागत मौनभंग भएको मात्रै हो-निरजोया।

अलिक उहिले प्रसिद्ध उपन्यासकार प्रकाश कोविदको प्रेमिल उपन्यास र लिलाबहादुर क्षेत्रीका सामाजिक उपन्यास पढ्न बानी परेका म जस्ता पाठकका लागि हल्का भाषागत मौनभंग भएको मात्रै हो-निरजोया। अझ उहिले इन्डियन पकेट बुक्सका थ्रिलर उपन्यासहरु पढेर आएका पाठकलाई दाजुको यो उपन्यास बेग्लै लाग्न सक्छ।

यस्ता प्रसङ्गहरु जे सुकै होस् , हङकङ जस्तो अति व्यस्त दैनिकी वावजुद पनि एक श्रमजीवी लेखक दाजु गुरुङले लाइ सी, टाँकीका फूलहरु र निरजोया जस्ता जीवन र जगत छोएका कृतिहरु जन्माउनु सामान्य होइन। देशका लेखक र समीक्षक साथै बौद्धिक पाठकहरुको विदेशमा बसेर लेख्नेहरुप्रति हरिने साँघुरो दृष्टिकोणका सन्दर्भ दाजुका कृतिले परिवर्तनको छनक दिन्छन्। क्षमताको कदर नहुँदाको परिणाम साँठगाँठको जदौ सम्बन्ध र हल्लादारहरुको वर्चस्वबीच स्वघोषित सर्जक हुने परम्पराबाट निरपेक्ष रही अविराम कलम चलाइरहने दाजुको प्रयास स्तुत्य छ। ज्ञान र कुवाको पानी एकै हो यो जति झिके पनि सकिदैन। आखिर मेहनती मान्छेले तीतेपातीबाट पनि मह बनाउन सक्छ। दाजु तिनै कोटीका सर्जक हुन। यिनी सिर्जनाका त पानी हुन जसले कठोर ढुंगालाई चिल्लो र कलात्मक बनाउने हिम्मत राख्न सक्छन्।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ९ : ५५ बजे

मनसुनमा लाग्ने रोगबाट बच्ने उपाय

काठमाडौं– अहिले कति बेला पानी पर्छ । कति बेला घाम

सरकारमा पठाउने मन्त्रीहरुबारे कांग्रेसको कोइराला समूहमा छलफल

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारमा पार्टीका तर्फबाट

पाकिस्तानमा डीएसपी नै लागूपदार्थ तस्करीमा संलग्न, ४५ जनामाथि कारवाही सुरु

काठमाडौँ– पाकिस्तानमा प्रहरी नै लागूपदार्थको तस्करीमा संलग्न रहेको पाइएको छ

२० वर्षीय युवकले हानेका थिए चुनावी र्‍यालीमा ट्रम्पलाई गोली

वासिङ्टन – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० वर्षीय युवकले गोली

युरोकप फाइनल आजराति, स्पेन र इंग्ल्याण्ड भिड्ने

काठमाडौँ– युरोकप फुटबलको फाइनलमा आज राति स्पेन र इंग्ल्याण्डबीच प्रतिस्पर्धा