नयाँ बजेट- जीडीपीमा ४० अर्ब घाटा ! | Khabarhub Khabarhub

विचार

नयाँ बजेट- जीडीपीमा ४० अर्ब घाटा !



नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल विवाद अहिलेको जल्दोबल्दो विषय बनेको छ । यसमा सरकारले ‘हिजो भ्याट दिनेले गलत बिल दियो, तिर्नैपर्छ’ भनी दायित्व खडा गरिएको छ । १३ प्रतिशत भ्याट चोरी गरेको हो भनिएको छ । यदि १३ प्रतिशत कर ‘लस’ भएको रहेछ भने त्यसमा जरिवाना वा ब्याज लगाएर हुन्छ कि त्यसलाई सरकारलाई टुंगो लगाउनुपर्छ । त्यस्ता उद्योगको खरिद नै नमान्ने र त्यसको २०/२५ प्रतिशत आयकर थप जरिवाना लगाउने कार्य गर्नुहुँदैन । सरकारलाई क्षति भएको १३ प्रतिशत मात्रै हो । त्यसमा सरकारलाई आयकरमा कुनै पनि लस भएको छैन भन्ने मेरो बुझाइ छ ।

त्यसअघि कुनै शंकास्पद व्यक्ति वा संस्थाले खरिदकर्ताको भ्याट पनि आफैं तिर्छु भन्यो भने विभिन्न किसिमको भ्याट छली पनि हुँदैन । सरकारलाई पनि अग्रिम रूपमा नै कर उठ्छ । अहिले फलाममा स्क्य्राप संकलन गर्ने संस्था नै ठगिने सम्भावना छ । त्यस संस्थाले भ्याट बिल दिन्छ । उक्त भ्याट बिलमा हामीलाई नै विश्वास हुन छाडेको छ । त्यसो गर्नुभन्दा हामीले नै उसको भ्याट हामीले तिरिदिन्छौं । यस विषयमा हामीले हालका अर्थमन्त्री वर्षमान पुनलाई पनि भनेका थियौं । यसमा धेरै नै सकारात्मक हुनुहुन्थ्यो । तर, बजेट र कार्यक्रममा आएन ।

यतिखेर जग्गाको हदबन्दीवाला ‘इस्यू’ जल्दोबल्दो छ । गिरिबन्धु टी-स्टेट लगायतमा पनि यो विषय उठिरहेको छ । म पनि चियाको ठूलो बगान चलाएको मान्छे हुँ । मैले २०५४/०५५ सालमा प्रतिविघा जग्गा १/१ लाख रुपैयाँ  बुझाएरै किनेँ । त्यो जग्गा किनेकै ३० वर्ष भइसक्यो । आफैँले पैसा हालेर किनेको हो भने ३० वर्षपछि बेच्न पाउने नियम छ । मेरो उद्योगमा पनि अहिले ३८ विघा जमिन छ, तर त्यो जग्गा बेच्न नपाउने अवस्था छ ।

यसको मतलब- बेच्नै पाउने अवस्था नभएपछि किन्नु नै भएन । आधुनिक कृषि नै गर्न नसकिने भयो । केही दिनअघि पवन गोल्यानको कृषि फार्ममा पुगको थिएँ । तपाईंले यत्रो जग्गा किन किन्नुभयो भनेर सोध्दा ‘१२ वटा कम्पनी बनाएर ११/११ विघा किनेँ’ भन्नुभयो । किनेको जग्गा ३० वर्षसम्म राखेर त्यसपछि मात्र बेच्छु भनेर कस्ले जग्गा किन्छ ? त्यसका लागि केही समाधानको विकल्प खोज्नुपर्छ होला ।

कच्चा पदार्थ र तयारी वस्तुमा कम्तिमा १० प्रतिशतको भिन्नता हुनुपर्छ भन्ने कुरा औद्योगिक ऐनले पनि बोलेको छ । अहिले स्पन्ज आइरनकै विषय छ । यो कुरा हामीले तत्कालीन अर्थमन्त्री युवराज खतिवडा हुँदा उहाँसँग निकै लामो समय छलफल गरेर अघि बढेको विषय हो । तर, उहाँ अर्थमन्त्रीबाट बाहिरिनुभयो र कोभिड महामारी पनि आयो । अघि बढ्न सकेको थिएन् । विष्णु पौडेल अर्थमन्त्री हुँदाताका पनि हामीले यो विषय उठाएकै हौं ।

उद्योगले कुनै वस्तु निर्यात गर्न चाहन्छ भने लगानीको बाटो खोलिदिनुपर्छ । अहिले सिमेन्ट निकासीको ठूलो सम्भावना छ । क्लिंकर स्वदेशमै छ । हामीले नै गर्न सक्यौ भने उत्पादन लागत अझै सस्तो हुन्छ । त्यसको आम्दानी स्वदेशकै उद्योगले पाउने हो

त्यसपछि जनार्दन शर्मा अर्थमन्त्री हुँदा हामी उद्योगी डेलिगेसन गएका हौं । हामीले लगाइसकेका उद्योग पनि छन्‌ र लगाउने उद्योगहरू पनि छन् । यसमा ठूलो समस्या छ । १० प्रतिशत दिएन भने ब्याकवार्ड इन्डिकेसन कसरी गर्छ ? कपडा पनि गार्मेन्टका लागि कच्चा पदार्थ हो । धागो पनि कपडाकाा लागि कच्चा पदार्थ नै हो । हामीले अर्थमन्त्रीज्यूसमक्ष पनि भनेका हौं । त्यसमा धेरै विवाद पनि भयो । सार्वजनिक लेखा समितिमा पनि यसबारे छलफल भएको थियो । कम्तिमा पनि १० प्रतिशत अन्तर गरिएन भने जुत्तामा पनि भन्सार, तलुवामा पनि एउटै भन्सार कर जस्तो हुन्छ ।

अर्को विषय- बिजुलीको प्रिमियम शुल्क विवाद हो । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बरमा आवद्ध उद्योगीहरूको हाम्रो एउटै माग थियो कि खाएको विष लाग्छ, तिर्नुपर्छ । तर, नलिएको विद्युत् सेवाको प्रिमियम तिर्न सकिँदैन भन्ने हाम्रो माग थियो । हाम्रो मागलाई सुनेर सरकारले एउटा उच्चस्तरीय आयोग गठन गरिदियो । आयोगले गरेको निर्णयलाई फेरि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङज्यू कार्यान्वयन नगराउन लाग्नूभएको छ । जसमा आयोगले लोडसेडिङ अघि र लोडसेडिङ अन्त्य भइसके पछिको प्रिमियम लिनु नपर्ने र बीचको अवधिको महसुलमात्रै लिने निर्णय लिनुपर्ने निस्कर्ष आयोगल निकालेको थियो । तर, अहिले आयोगको निर्णय कार्यान्वयन गर्नुभन्दा उल्ट्याउने खेल भइरहेको छ ।

उद्योग र कृषिसम्बन्धी करका दर परिवर्तन गर्नुछ भने उद्योग मन्त्रालयसँग सल्लाह लिनुपर्ने व्यवस्था ऐनमै गरिएको छ । तर, त्यो सल्लाह र राय अधिकांश विषयमा लिएको देखिँदैन । सम्बन्धित मन्त्रालयबाट कर परिवर्तन गर्ने सुझाव नआउँदासम्म हामीले परिवर्तन गर्दैनौं भन्ने व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ । यसले अनावश्यक विवादहरू पनि ल्याउने थिएन ।

स्पन्ज आइरनको हकमा एउटालाइ १० प्रतिशत कर लगाउँदा अर्कोलाई २० प्रतिशत लगाए भइहाल्यो नि ! सरकारलाई पनि राजश्व आयो । हामीले २०७६ सालदेखि अर्थ मन्त्रालय र अन्य निकायलाई त्यही १० प्रतिशतको भिन्नता चाहियो भनेका हौं । केही वस्तुमा त्यस्तो भिन्नता यस अघिका अर्थमन्त्री जनादर्न शर्माले गरिदिनु भएको थियो । तर, अहिले त्यो भिन्नता ब्रेक भएर १/२ प्रतिशतमा आयो ।

कुन वस्तुले कति भ्यालु एडिसन गरेको छ, त्यो कुरा नबुझी निर्णय भएको छ । यसले निजी क्षेत्रको ३६ अर्ब  रुपैयाँ लगानी भएका उद्योगहरू समस्यामा परेका छन्

त्यस्तै: उत्पादनमूलक उद्योगको ब्याजदरमा पनि भिन्नता कायम गरिदिनुपर्छ । सरकारले लगानी गरेर या सहुलियत दिएर होइन, बैंकको बेसरेट नै ११ प्रतिशत छ भने न्युनतम ८ र अधिकतम १४ प्रतिशतसम्म ब्याजदरको सीमा तोक्नुपर्छ । सरकारलाई पनि घाटा नहोस् र बैंकले पनि घाटा खानु भएन । नेपाल राष्ट्र बैंकमार्फत नै यस्तो व्यवस्थाको परिपत्र गर्न जरुरी छ । ४/५ प्रतिशत भिन्नतामा ब्याजदर हुने अवस्था भएमात्र उद्योग लाग्छ । ८/९ प्रतिशत ब्याजदरमा हामीले उद्योग लगाउँछौं । पछि त्यो बढ्दै गएर १३ प्रतिशत पुग्छ । अहिलेको अवस्थामा गाडी किन्न वा अन्य कुरालाई भन्दा उद्योग लगाउँदा २ देखि ३ प्रतिशत ब्याजदर बढी लाग्छ ।

त्यस्तै, उद्योगले कुनै वस्तु निर्यात गर्न चाहन्छ भने लगानीको बाटो खोलिदिनुपर्छ । अहिले सिमेन्ट निकासीको ठूलो सम्भावना छ । क्लिंकर स्वदेशमै छ । हामीले नै गर्न सक्यौ भने उत्पादन लागत अझै सस्तो हुन्छ । त्यसको आम्दानी स्वदेशकै उद्योगले पाउने हो । वर्षभर १ अर्ब रुपैयाँ बराबरको सिमेन्ट निकासी गर्दा कम्तिमा २५ प्रतिशत रकम त्यहाँ उद्योग लगाएबापत बच्ने थियो । प्रत्यक्ष रूपमा त्यस्तो उद्योग लगाउन लगानी खोलिदिनुपर्छ । अब स्वदेशी उद्योगको वस्तु बाहिर पनि जानुपर्छ । त्यसका लागि हामी सक्षम छौं ।

सरकारले निर्यातमा नगद प्रोत्साहन (क्यास इन्सेन्टीभ) तोकेको छ । त्यसपछि निर्यात पनि बढेको छ । तर, त्यो इन्सेन्टिभ ३ वर्षदेखि पाएको छैन । मेरो एउटा धागो उद्योगको मात्र २६ करोड रुपैयाँभन्दा बढी प्रोत्साहन पाउन बाँकी छ । आज हामीले ९८ प्रतिशत धागो उत्पादन गरेर भारतमा निकासी गरिरहेका छौं । २ प्रतिशत मात्र स्वदेशमा विक्री हुन्छ । ९८ प्रतिशत निकासी गर्ने उद्योग त प्रोत्साहनमा आश्रित छौं । तीन वर्षदेखि प्रोत्साहन नपाएकाले यो पनि पाइँदैन कि भन्ने शंका भएको छ । त्यसका लागि ६ महिनाभित्र प्रोत्साहन दिने मापदण्ड बनाउनुपर्‍यो । सकिँदैन भने प्रोत्साहन रकम नै घटाउनुपर्‍यो । ८ प्रतिशत प्रोत्साहन छ भने ४ प्रतिशतभन्दा दिन सकिँदैन भन्न सक्नुपर्‍यो । प्रोत्साहन भन्ने तर, नपाउने कुराले उद्योगीहरू मर्कामा परिरहेका छौं ।

विकास बजेट खर्च पनि बढ्न सकिरहेको छैन । देशको विकास निर्माणकार्य अघि बढ्ने भएन । निर्माण व्यवसायीलाई कामको भुक्तानी दिन सरकारले सकिरहेको छैन । भोलिका दिनमा यसले मुलुकको कुल गार्हस्थ उत्पादन(जीडीपी)मा नै असर गर्ने देखिन्छ

कर, बैंकिङ, चेक बाउन्स र सम्पत्ति शुद्धीकरण हेर्ने एजेन्सीहरू थुप्रै भए । सीआइबीदेखि अख्तियार, राजश्व अनुसन्धान विभाग लगायत क-कसले बोलाउँछ, थाहा हुँदैन । अर्थ मन्त्रालय मातहत एजेन्सी छ भने त्यसले नै विशेष किसिमले हेर्नुपर्ने व्यवस्था गर्नुपर्छ । सीआइबीले नै हेर्ने हो भने पनि त्यसलाई नै जिम्मा दिऔं । हामी उद्योगीहरू एउटै केस वा मुद्दाका लागि अख्तियारमा, त्यही केसका लागि सम्पत्ति शुद्धीकरणमा र त्यही केसका लागि सीआइबीमा पनि जानुपरेको छ । सबै प्रकृया एकीकृत ढंगले एउटै एजेन्सीमार्फत हुनुपर्छ भन्ने हाम्रो माग हो ।

अहिलेको बैंकहरूले ८ प्रतिशत ब्याजदरमा ऋण दिँदा पनि उद्योगमा लगानी गर्न उद्योगीहरू डराउनुपर्ने अवस्था छ । अस्थिर सरकार, नीति परिवर्तन भइरहने र सरकारले उद्योगलाई लगानीमैत्री वातावरण नबनाइदिँदा हामी उद्योगीहरू लगानी गर्न डराएका हौं । धेरैजसो उद्योगहरू निकै अप्ठ्यारो अवस्थामा छन् ।

सरकारले साँच्चै नयाँ उद्योग स्थापना गर्ने हो भने स्पष्ट रूपमा विगतमा लिएका नीतिगत व्यवस्थाहरू के गर्ने भन्ने निर्क्यौल गर्नुपर्छ । स्पष्ट नीतिगत व्यवस्था नगरेसम्म उद्योगमा थप लगानी आउन सक्ने अवस्था छैन ।

यसअघि ५० अर्ब रुपैयाँको स्पन्ज आइरन आयात गरेर १ खर्ब रुपैयाँको डन्डी बन्थ्यो । जीडीपीमा ५० अर्ब रुपैयाँको योगदान हुन्थ्यो । तर, अहिलेको बजेटले एउटै वस्तुबाट जीडीपीमा ४० अर्ब रुपैयाँसम्म थप नोक्सान पुर्‍याएको छ ।

कुन वस्तुले कति भ्यालु एडिसन गरेको छ, त्यो कुरा नबुझी निर्णय भएको छ । यसले निजी क्षेत्रको ३६ अर्ब  रुपैयाँ लगानी भएका उद्योगहरू समस्यामा परेका छन् ।

(सौरभ ग्रुपका अध्यक्ष न्यौपानेले खबरहब बहसमा व्यक्त गरेका विचारको सम्पादित अंश ।)

प्रकाशित मिति : १ असार २०८१, शनिबार  १ : २८ बजे

अर्थसंक्षेप : नेप्सेमा दोहोरो अंको गिरावटदेखि समस्याग्रस्त सहकारीको छानबिनसम्म 

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले ओरालो लागेको

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन

हेटौंडा– मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६० मेगावाट

पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी

काठमाडौं– जलवायु वैज्ञानिक र खेलाडीहरूद्वारा समर्थित एउटा नयाँ प्रतिवेदनले मंगलबार

८२५ शिक्षकले राजनीतिक दलको सदस्यता त्यागे : शिक्षामन्त्री श्रेष्ठ 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ८२५ जना शिक्षकहरूले

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन

काठमाडौं– संघीय संसद् सचिवालयले संस्थागत जानकारी एवं अनुमतिबिना गैरसरकारी संस्थाको