शरदसिंहलाई फलिफाप राजनीति : २० औँ पटक बने मन्त्री | Khabarhub Khabarhub

शरदसिंहलाई फलिफाप राजनीति : २० औँ पटक बने मन्त्री


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


28.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वि.सं. २०२८ सालदेखि सक्रिय राजनीति गर्दै आएका लोकतान्त्रिक समाजवादीका नेता शरदसिंह भण्डारी २० औँ पटक मन्त्री बनेका छन् ।

गत असार १७ गते नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल असार २८ मा सत्ताबाट बाहिरिएका थिए ।

यस्तोमा एमाले र कांग्रेसको गठबन्धनलाई पनि महन्थ ठाकुर नेतृत्वको लोसपाले साथ दिएको थियो । त्यही साथको गुन तिर्दै नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीले एक मन्त्री पद लोसपालाई दिएका हुन् ।

लोसपालाई ओलीले गुन तिर्दा अध्यक्ष महन्थ ठाकुरले शरदसिंहलाई नै फेरि मन्त्री बनाएका हुन् । उनी फेरि श्रममन्त्री बनेका हुन् । यसअघि प्रचण्ड नेतृत्वको सरकारमा डोलप्रसाद अर्याल श्रम मन्त्री थिए।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीसँगै २१ जना मन्त्रीहरुलाई शपथग्रहण गराएका छन् ।

शीतलनिवासमा सोमबार आयोजित एक समारोहमा उनले नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट मन्त्रिपरिषद् सदस्य बनाइएकाहरुलाई शपथग्रहण गराएका हुन् ।

शपथग्रहण गर्नेमा पहिलोपल्ट मन्त्रिपरिषद्को अनुभव लिन लागेका दर्जन नयाँ अनुहारदेखि दर्जनबढी पटक मन्त्रीको शपथ खाइसकेका शरदसिंह भण्डारीसम्म रहेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी दिइएको छ । उनी विगत ३७ वर्षयता फरक–फरक व्यवस्था र दलको नेतृत्वमा गठन भएका मन्त्रिपरिषद्हरुमा मन्त्री बन्दै आएका छन् ।

शरदसिंहलाई २० औँ अवसर

वरिष्ठ पत्रकार भैरव रिसाल र भरतराज पोखरेलले ‘नेपालका मन्त्री र सांसदहरु’ नामक पुस्तकमा २०७५ सम्म बनेका नेपालका मन्त्रिमण्डलहरुको सूची छ ।

उक्त पुस्तकमा रहेको मन्त्रिमण्डलको सूचीअनसार भण्डारी मन्त्रिमण्डल निर्माण, पुनर्गठन र विस्तारमा गरी २०७५ सम्मै १७ पटक मन्त्री बनिसकेका छन् ।

उनी त्यसयता केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फेरि अहिले ओली नेतृत्वको गरी २० औँ पटक मन्त्री बनेका छन् । भण्डारी पहिलो पटक २०४३ असार २ मा सहायकमन्त्रीका रुपमा मन्त्री मण्डलमा प्रवेश गरेका थिए । त्यसयता उनले ११ वटा मन्त्रालयको नेतृत्व लिइसकेका छन् ।

पञ्चायत तथा स्थानीय विकास सहायक राज्यमन्त्रीबाट सुरु भएको उनको सत्ता २० औँ पटकसम्म आइपुग्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा पुगेको छ । २०७९ चैतमा प्रचण्ड नेतृत्वको सरकारमा पनि उनी यही मन्त्रालयमा थिए ।

उनले यसअघि वाणिज्य राज्यमन्त्री, विनाविभागीय राज्यमन्त्री, युवा खेलकुद तथा संस्कृति, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, रक्षा, उर्जा, जलस्रोत तथा सिचाइँमन्त्रालय सम्हालेका थिए ।

लोसपा नेता भण्डारी एमालेका अध्यक्ष ओली नेतृत्वको यसअघिको सरकारमा ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री थिए । त्यसअघि २०६८ भदौमा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा रक्षामन्त्री थिए ।

भण्डारी पञ्चायत, प्रजातन्त्र र गणतन्त्र गरी तीनैै व्यवस्थामा सरकारमा सहभागी भएका नेता हुन् । उनी पञ्चायती व्यवस्था अन्तर्गत २०४३ असार २ मा मरिचमान सिंह श्रेष्ठ नेतृत्वको सरकारमा पहिलो पटक पञ्चायत तथा स्थानीय विकास सहायकमन्त्री भएका थिए ।

सिंह नेतृत्वको तत्कालीन सरकार पुनर्गठन हुँदा २०४५ कात्तिकमा उनको मन्त्रालय फेरिएको थियो । पुनर्गठित मन्त्रिपरिषद्मा भण्डारी वाणिज्य राज्यमन्त्री थिए ।

प्रधानमन्त्री सिंहले २०४६ भदौ १४ र चैत १९ मा पनि मन्त्रिपरिषद् पुनर्गठन गर्दा पनि भण्डारीले वाणिज्य राज्यमन्त्रीको जिम्मा पाए ।

२०४६ सालको जनआन्दोलनपछि उनी २०५२ मा फेरि मन्त्री बने । २०५२ भदौ २७ मा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा बिनाविभागीय राज्यमन्त्री भए ।

देउवा नेतृत्वको उक्त सरकारमा २०५२ मंसिर २७ मा बिनाविभागीय राज्यमन्त्री बनेका उनी २०५३ जेठ ४, जेठ २८ को पुनर्गठनमा पनि यथावत रहे । तर, २०५३ पुस २४ मा भएको पुनर्गठनमा बिनाविभागीय मन्त्रीमा उनको बढुवा भयो ।

उनी २०५४ असोज २१ मा राप्रपा नेता सूर्यबहादुर थापाको नेतृत्वमा सरकार गठन हुँदा युवा खेलकुद तथा संस्कृति मन्त्री भए । प्रधानमन्त्री थापाले २०५४ कात्तिक २१ र मंसिर १८ मा मन्त्रिपरिषद् पुनर्गठन गर्दा उनले खेलकुदमन्त्रीका रुपमा निरन्तरता पाएका थिए ।

कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा २०५६ जेठ १७ मा सरकार गठन भएको थियो । उक्त सरकारमा पनि भण्डारीले खेलकुद मन्त्रीका रुपमा निरन्तरता पाएका थिए । २०५६ असार १६ मा भएको मन्त्रिमण्डल विस्तारमा खेलकुद मन्त्रालय नै पाएका भण्डारीले त्यसै साल फागुन २७ मा भएको पुनर्गठनमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका थिए ।

२०५८ साउन ११ मा देउवा फेरि प्रधानमन्त्री हुँदा भण्डारीले फेरि स्वास्थ्यमन्त्री बन्ने अवसर पाएका थिए । माधवकुमार नेपाल नेतृत्वमा २०६६ जेठमा गठित सरकारमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका भण्डारी २०६८ भदौमा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा रक्षामन्त्री भए ।

२०७८ असार २९ मा कांग्रेस सभापति देउवा पाँचौँपल्ट प्रधानमन्त्री बन्नुअघि एमाले अध्यक्ष ओली नेतृत्वको तत्कालीन सरकारमा भण्डारी १३ दिनका लागि ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री थिए ।

सबै व्यवस्थामा मन्त्री

भण्डारी २०४३ मा पहिलो पटक सहायकमन्त्री हुँदा पञ्चायती व्यवस्था थियो । पुख्र्याैली थलो पोखराका भण्डारी २०३८ र २०४३ मा महोत्तरीबाट राष्ट्रिय पञ्चायत सदस्य भए ।

२०४६ मा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि भण्डारीले पञ्चायती प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वमा गठन भएको राप्रपा (थापा) रोजेर तत्कालीन महोत्तरी–५ मा त्यही पार्टीबाट प्रतिस्पर्धा गरेका थिए ।

उक्त निर्वाचनमा उनी ९ हजार ४५९ मतसहित दोस्रो भए । उक्त निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका वसन्तकुमार गुरुङ १४ हजार ५ सय २८ मतसहित निर्वाचित भए ।

तर, २०५१ को निर्वाचनसम्म पुग्दा भण्डारीले राप्रपा पनि परित्याग गरिसकेका थिए । २०५१ को मध्यावधि निर्वाचनमा भण्डारीले महोत्तरी–४ बाट स्वतन्त्र उम्मेदवारी दिए । उक्त निर्वाचनमा ११ हजार ३ सय ९५ मतसहित संसदमा आए ।

उनले २०४८ मा आफूलाई पराजित गर्ने कांग्रेस नेता गुरुङलाई पराजित गरेर २०४८ को हारको बदला लिएका थिए । गुरुङले १० हजार ५ सय ८५ मत प्राप्त गरेका थिए ।

२०४८ मा राप्रपा (थापा) र २०५१ मा स्वतन्त्र उम्मेदवारका रुपमा प्रतिस्पर्धा गरेका उनी २०५१–०५५ को ‘हङ पार्लियामेन्ट’ का बेला कांग्रेससँग नजिकिएका थिए । पछि पार्टी नै प्रवेश गरे । त्यसबेला उनी कांग्रेस नेता कृष्णप्रसाद भट्टराईनिकट थिए ।

कांग्रेस प्रवेश गरेपछि उनले २०५६ मा महोत्तरी–३ बाट प्रतिस्पर्धा गरे । उक्त निर्वाचनमा भण्डारी २० हजार ४ सय ८६ मतसहित निर्वाचित भए । राप्रपा उम्मेदवार रामविलास यादवले १२ हजार १ सय ५४ मत ल्याए ।

दोस्रो जनआन्दोलनलगत्तै मधेशमा मधेशवादी दलहरु शक्तिशाली भए । त्यहीक्रममा कांग्रेस परित्याग गरी उनी मधेशी जनअधिकार फोरममा प्रवेश गरे । त्यसयता २०७० बाहेक भण्डारी सदैव मधेशवादी दलबाट निर्वाचित भएका छन् ।

त्यसमध्ये २०६४ मा उनी तत्कालीन फोरमबाट निर्वाचित भए । तर, फोरम विभाजित भएपछि विजयकुमार गच्छदार नेतृत्वको फोरम (लोकतान्त्रिक) मा समावेश भए । उनी माधव नेपाल र डा. बाबुराम भट्टराई नेतृत्व सरकारमा मन्त्री भए ।

२०७० मा फोरम लोकतान्त्रिकको उम्मेदवारका रुपमा महोत्तरीबाट पराजित उनी २०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा)बाट निर्वाचित भए । २०७९ मंसिरमा उनी लोसपाबाट संसदमा आए ।

विगत ३६ वर्षयता पटक–पटक मन्त्री हुँदै आएका उनले मरिचमानसिंह श्रेष्ठ, शेरबहादुर देउवा, सूर्यबहादुर थापा, कृष्णप्रसाद भट्टराई, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ८ जना प्रधानमन्त्रीसँग गरेका छन् । उनले लोकेन्द्रबहादुर चन्द, गिरिजाप्रसाद कोइराला, झलनाथ खनाल र सुशील कोइराला नेतृत्वको सरकारमा अवसर पाएनन् ।

भूलसुधार- यसअघि यसै समाचारमा २० औँ पटक हुनुपर्नेमा असावधानीवश १७ औ‍ँ पटक उल्लेख भएकाले सच्याएका छौँ‍ । -सम्पादक

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १२ : २५ बजे

आज फलफूल तथा तरकारीको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

अमेरिकी चुनावमा विश्वको चासो : रोचक बन्दै ह्यारिस र ट्रम्पको लडाइँ

अमेरिकामा राष्ट्रपति पदको निर्वाचन ५ नोभेम्बरमा हुँदैछ। संसारकै महाशक्तिको कार्यकारी

माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा, प्रधानमन्त्री मोदीलाई भेट्दै

काठमाडौं– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु आफ्नो पहिलो द्विपक्षीय भ्रमणको क्रममा

इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती

चितवन– वृद्धभत्ता रकम लिन माछापुच्छ्रे बैक कुरिनटारमा आइतबार बिहानै पुगेका

खाजामा आफैँ ठगिएपछि…

कास्की– जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य