अन्तर्राष्ट्रिय

स्पेनका फुटबलर लमिन यमालका पितामाथि चक्कु प्रहार

By खबरहब

August 15, 2024

काठमाडौं– स्पेनका १७ वर्षिय फुटबल स्टार लमिन यमालका पितामाथि चक्कु प्रहार भएको छ ।

उनलाई कार पार्किङमा चक्कु प्रहार भएको हो । यामलका पिता मोउनिर नसराओईलाई तटीय सहर मतारोमा बुधवार आक्रमण गरिएको स्पेनका मिडियाहरूले उल्लेख गरेका छन् ।

मोउनिरलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको र अहिले अवस्था स्थिर रहेको बताइएको छ ।

आक्रमणकारीले आक्रमण गर्नु एक दिनअघि उनीसँग कुरा पनि गरेका समाचारमा उल्लेख छ । प्रहरीले आक्रमणमा संलग्न तीन जनालाई पक्राउ गरिसकेको छ ।

यसवर्ष म्युनिखमा सम्पन्न युरो कप फुटबलको सेमिफाइनलमा स्पेन फ्रान्ससँग १–० ले पछि रहेको अवस्थामा यमालले डि–बक्स बाहिरबाट शानदार गोल गरेका थिए ।

उक्त गोल पश्चात यमालको नाम चर्चामा आएको थियो । १६ वर्ष ३६२ दिनको उमेरमा उनी युरो कपको इतिहासमा स्कोर गर्ने सबैभन्दा कम उमेरका खेलाडी बन्न पुगेका थिए ।