दलको नेता र प्रधानमन्त्री बनाउने गरी माधवसँग प्रचण्डले राखे एकता प्रस्ताव | Khabarhub Khabarhub

दलको नेता र प्रधानमन्त्री बनाउने गरी माधवसँग प्रचण्डले राखे एकता प्रस्ताव

समाजवादीले हतार नगर्ने, जाँतोलाई भन्दा हातोलाई खसखस !



काठमाडौं– सत्ता सहयात्री नेकपा एमालेले असार १७ गते राति नेपाली कांग्रेससँग समीकरण बनाएपछि असार २८ गते सत्ताबाट बाहिरिन बाध्य नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि शक्ति सञ्चयमा लागेका छन् ।

गत जेठमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएर समाजवादी मोर्चासमेत कमजोर बनेको पृष्ठभूमिमा सत्ता छाडेका प्रचण्डले फेरि पार्टी एकताको कार्ड फ्याँकेका छन् ।

२०८० फागुन २१ गते नेपाली कांग्रेससँगको सत्ता सहयात्रा तोडेर प्रचण्ड एमालेसँग मिल्न पुग्दा एकीकृत समाजवादीलाई धोका दिएका थिए । त्यसबेला समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रचण्डबाट पटक-पटक धोका पाएको भन्दै अब आफ्नै बलमा अघि बढ्ने घोषणासमेत गरेका थिए ।

तर, आफूबाट धोका पाएका उनै माधवकुमार नेपाललाई संसदीय दलको नेता र प्रधानमन्त्रीसमेत बनाउने आश्वासन दिएर प्रचण्डले एकताको कार्ड फ्याँकेका हुन् ।

समाजवादी अध्यक्ष नेपालनिकट श्रोतका अनुसार सत्ताबाट बाहिरिएपछि प्रचण्डले पार्टी एकता प्रस्तावसहित चार पटक छलफल गरिसकेका छन् । पछिल्लो पटक यही सोमबार नेपाल निवास कोटेश्वरमा पुगेका प्रचण्डले बिहीबार खुमलटारमै उनलाई स्वागत गरे।

पछिल्लो समय उपमहासचिव जनार्दन शर्मासहितका नेताहरूबाट बलियो घेराबन्दी खेपिरहेका प्रचण्डका लागि बिहीबार स्थायी कमिटी बैठक सकिएसँगै तत्काललाई संकट टरेको छ । उनले बिहीबार स्थायी समिति बैठकमा भने, ‘उपमहासचिव कमरेडले उठाएका वैचारिक र राजनीतिक सवाललाई दस्तावेजमा समेटेर जान तयार छु ।’

यो पनि-

पेरिसडाँडामा प्रचण्डले भने- माओवादी फुट्दैन, जनार्दन शर्मासँग कुरा मिलिसक्यो

स्थायी समितिमा लिखित दस्तावेजकै सामना गर्नुपरेपछि तनावमा परेका प्रचण्डका लागि अहिलेको खड्गो त टरेको छ तर यो कुरा आगामी केन्द्रीय समिति बैठकमा दोहोरिन सक्ने सम्भावना उत्तिकै छ ।

प्रचण्डले सबै प्रदेशको बैठक सम्पन्न भएपछि व्यवस्थित दस्तावेज तयार पारेर असोज पहिलो साता केन्द्रीय समिति बैठक राख्ने योजना बनाएका छन् । प्रचण्डले आफूमाथिको घेराबन्दीलाई अन्यत्र मोड्ने योजनासहित सदन र सडकलाई सशक्त पार्दै जाने निर्णय गराएका छन्। त्यस्तै माओवादीले जितेका १ सय २२ स्थानीय तहलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय पनि उनले गराएका छन् ।

ती निर्णयसँगै प्रचण्डले आफूमाथिको घेराबन्दी तत्काललाई भत्काउने गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी लगायतसँग एकताको कार्ड पनि फ्याँकेका छन् । अन्य वाम दलसँग एकताका लागि लागि निरन्तर छलफल भइरहेको ब्रिफिङ पनि दाहालले पार्टी बैठकमा गरेका छन् ।

माधवलाई प्रधानमन्त्रीको कार्ड

प्रचण्डले एकीकृत समाजवादीसँग एकताका लागि अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाउने कार्ड फ्याँकेका छन् । त्यही कुरा उनले सोमबार कोटेश्वर र खुमलटारमा नेपालसामु राखेको स्रोतको भनाइ छ ।

यदि माओवादी र एकीकृत समाजवादीसहितका शक्ति एक ठाउँमा आउन सकेमा एमालेसँग मिलेको नेपाली कांग्रेसलाई पनि आफूहरूतिर तानेर नेपाललाई प्रधानमन्त्री बनाउन सकिने हिसाब प्रचण्डले सुनाएका छन् । आफ्नो शक्ति बढाउन सकेमा एमाले र कांग्रेसबीच कुनै पनि बेला समस्या आउने आँकलनसहित प्रचण्डले यो चाल चालेको हुन सक्ने नेताहरूको अनुमान छ ।

पार्टी बैठकमा पनि प्रचण्डले यदि वाम शक्तिहरू नमिलेमा ०८४ को चुनावमा गाह्रो पर्ने ब्रिफिङ गरेका थिए । प्रचण्डले पार्टी बैठकमा गरेको ब्रिफिङको ब्याख्या माओवादी उपाध्यक्ष सापकोटाले पेरिसडाँडामा पत्रकारहरूमाझ गरे ।

‘यो देशमा कम्युनिस्ट पार्टीको अनिवार्य आवश्यकता छ । नेपाली जनताले कम्युनिष्ट पार्टीलाई मन पराउँछन् । मन पराउँछन् भन्ने प्रमाण के भने २०७४ सालमा जब हामीले गठबन्धन गर्‍यौँ, दुई तिहाइ दिए जनताले । फेरि पनि कम्युनिष्ट पार्टीको पुनर्गठन होस् भन्ने जनताको चाहना छ’, बैठकपछि माओ‌वादी प्रवक्ता सापकोटाले भने, ‘त्यस दिशातर्फ छलफल, बहस भइरहेको छ, हामी पहल गरिरहन्छौँ । सबै पक्षसँग हामी संवादमा छौं । माधव नेपालसँग पनि कुरा भएको छ । तपाईंहरूले सुनेको कुरा साँचो हो, कुरा घनिभूत रुपमा अगाडि बढेको छ ।’

०८४ को निर्वाचनमा कांग्रेस–एमाले दुवैले कसैसँग गठबन्धन नगर्ने निर्णय गरेपछि दाहाल दबाबमा छन् । उता नेपाललाई पनि उस्तै तनाव छ । ०८४ मा अहिलेको शक्ति बचाइराख्न पनि यी दुई नेताले मिल्ने विकल्पको खोजी गरेका हुन् । प्रचण्डले एकीकृत समाजवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, र डा. बाबुराम भट्टराईबाट छुट्टिएका महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादीसँग एकताको सम्भावना देखेका छन् ।

धोका पाएका माधवलाई फकाउँदै

खुमलटार र कोटेश्वर दुवैतिरका नेताहरूले पार्टीभित्रको घेराबन्दी र २०८४ को सम्भावित चुनावी परिणामको आँकलन गरेरै प्रचण्डले नेपाललाई फकाउन थालेको बताएका छन् ।

असार २८ मा १९ महिना लामो सत्ता यात्रालाई पूर्णविराम लगाउन बाध्य प्रचण्डले त्यसयता चार पटकसम्म नेपालसँग संवाद गरेका छन् ।

प्रचण्ड सत्तामा हुँदा नै गत जेठमा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपाल नेपाली कांग्रेससँग नजिकिएका थिए । तर त्यसबेला यादव नेतृत्वको जसपा विभाजित भएसँगै माधव नेपालका लागि प्रधानमन्त्रीको ढोका बन्द भएको थियो ।

त्यसबेला माधव नेपाललाई प्रधानमन्त्री बनाउने गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रचण्ड नेतृत्वको सरकार ढाल्ने कोसिस गरेका थिए । तर जसपा फुटाउँदै अशोक राईसहितका सात सांसदले नयाँ यात्रा थालेपछि उक्त योजनामा धक्का लाग्यो ।

अहिले फेरि उनै माधव नेपाललाई प्रचण्डले पार्टी एकता प्रस्ताव मात्रै राखेका छैनन्, दुई दल मिलेपछि संसदीय दलको नेतासँगै प्रधानमन्त्री पनि बनाइदिने आश्वासन दिएका छन् ।

‘अध्यक्ष कमरेडसँगको कुराकानी अनुसार प्रचण्डले माओवादीमा थ्रेट महसुस गरेको हाम्रो निष्कर्ष हो । अर्को चाहिँ ०८४ को चुनावले पनि उहाँलाई पिरोलेको देखिन्छ’, समाजवादी अध्यक्ष नेपालनिकट एक नेताले खबरहबलाई भने, ‘हामी अहिले एकताको पक्षमा छैनौँ तर प्रचण्डलाई आजै भोलि एकता चाहिएको छ । उहाँले कोटेश्वर र खुमलटारमा राखेको कुराको सार पनि त्यही हो । तर उहाँले पूर्वमाओवादीलाई समेत मिलाउन नसकेको अवस्थामा हामीसँगको एकता अहिलेलाई निक्कै परको कुरा हो ।’

आत्मरक्षाका  लागि एकताको कार्ड

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले माओवादी अध्यक्ष प्रचण्डले चाहेर मात्रै एकता नहुने बताएका छन् । उनले प्रचण्डले आफूलाई अनेक किसिमको दबाब र घेराबन्दी महसुस गरेपछि एकताको कार्ड फ्याँकेको बताए ।

‘प्रचण्ड र माओवादीबाट एकोहोर एकताको प्रस्ताव आइरहेको छ’, उनले भने, ‘तर त्यो अहिले सम्भव छैन । प्रचण्डको अहिलेको प्रयास सानो-सानो रुखलाई हल्लाएर आँप झारे जस्तै हो। हामीसँग एकता प्रस्ताव राखेर उनलाई तात्विक फरक केही पर्ने छैन । ठूलो बोटसँग केही कुरा भएको छैन । हामीलाई हल्लाएर कहीँ पुग्दैनन् ।’

खतिवडाले भर्खरै पार्टीको दशौँ महाधिवेशन सकिएर केन्द्रीय समितिसमेत चयन नभइसकेको अवस्थामा एकताको कुरा सम्भव नभएको बताए ।

‘हाम्रो पार्टी केन्द्रीय समिति गठन भइसकेको छैन । पदाधिकारी चयन भइसकेको छैन । केन्द्रीय समितिका सदस्यले सपथ नै लिइसकेका छैनन्’, उनले भने, ‘प्रचण्डलाई मजाका लागि हामी यताउता गरिरहन सक्दैनौँ। भर्खरै हामीलाई धोका दिएका व्यक्तिलाई एकता चाहिएको हो भने माधव नेपालको कार्यकर्ता भएर आए हुन्छ, हामी स्वागत गर्न तयार छौँ ।’

समाजवादीका अर्का नेताले विभिन्न ठाउँमा एकताबारे छलफल भइरहेको खुलाए । उनका अनुसार पछिल्लो समय चार पटकसम्म यसबारे कुरा भएको छ । तर त्यो सबै प्रचण्डकै इच्छा र आग्रहमा भएको हो ।

एकीकृत समाजवादीका एकजना केन्द्रीय सदस्य अशेष घिमिरेले प्रचण्डमा एक प्रकारको असुरक्षा र डर देखिएको बताए ।

‘मा‌ओवादीभित्रको अन्तरविरोध व्यवस्थापन गर्न पनि प्रचण्ड हतारिएको हामीले ठानेका छौँ । अर्कातिर भूराजनीतिक दबाब पनि छ । वाम आन्दोलन कमजोर हुने देखिँदैछ’, उनले भने, ‘आफूभित्रको आन्तरिक चुनौती र बाह्य चुनौतीलाई पनि फेस गर्न एकता गर्दा हुन्छ कि भन्ने प्रचण्डले ठानेको हुन सक्छ । तर हाम्रोतर्फबाट अहिले नै एकताको कुरा अघि बढेको छैन । माओवादीबाट एकतर्फी प्रस्ताव आएकाले छलफल चाहिँ भएको हो ।’

पार्टीको नाम र चुनाव चिह्न फेर्न तयार

प्रचण्डमा एकताको यतिसारो हतारो देखिनुको कारण एक्ला एक्लै चुनाव लड्ने कांग्रेस र एमालेको सहमतिलाई पनि कतिपय नेताले लिएका छन् । यदि कांग्रेस र एमाले एक्लै ०८४ को चुनावमा होमिए उनीहरूकै हाराहारीको शक्ति निर्माणका लागि प्रचण्डलाई दबाब छ ।

समाजवादीका अर्का नेताका अनुसार एकताका लागि प्रचण्डले पार्टीको नाम नै फेर्ने प्रस्ताव पनि राखेका छन् । ‘माओवादीहरूले नाम फेर्छौँ, चुनाव चिह्न पनि फेर्छौँ । विचारमा पनि पुनर्विचार गर्छौँ भनेका छन्’, ती नेताले भने, ‘पार्टीको नाम नेकपा समाजवादी, एकीकृत समाजवादी राख्न तयार हुने देखिएको छ । माओवादी छाडेर समाजवादको लाइनमा जाने गरी नाम फेर्न प्रचण्ड पनि तयार देखिएका छन् ।’

प्रचण्डलाई समाजवादी अध्यक्ष नेपालले पहिले विचारमा एकरुपता हुनुपर्ने जवाफ दिएका छन् । तर प्रचण्डले एकतापछिको पार्टीको संसदीइ दलको नेता र प्रधानमन्त्रीसमेत तपाईं नै हुनुस् भनेर प्रस्ताव राखेको दाबी उनीनिकटहरूको छ ।

समाजवादीले हतार नगर्ने

माओवादीसँग तत्काल पार्टी एकताका लागि एकीकृत समाजवादीका नेताहरु भने हतारो नगर्ने पक्षमा छन् । तर, जाँतोलाई भन्दा हातोलाई खसखस भन्ने आहानजस्तै माओवादी अध्यक्ष प्रचण्ड भने तत्कालै एकता गरिहाल्ने पक्षमा देखिएका छन् ।

एकीकृत समाजवादीका उपमहासचिव खतिवडाले पहिले पनि हतारमा गरिएको एकता नटिकेको बताउँदै विचारमा एकता नभएसम्म कुरा नमिल्ने बताए ।

‘पहिले पनि विचारमा एकता नहुँदा नेकपा टिक्न सकेन । तयारी नगरी गरिएको एकता टिक्दैन, वाम ध्रुवीकरण हुनु राम्रो कुरा हो’, उनले भने, ‘तर अहिले नै माओवादीसँगको एकता असम्भव छ ।’

समाजवादी नेता घिमिरेले माथि नेता नेता जोडिएर मात्रै नहुने बताउँदै कार्यकर्तासम्मै अन्तरघुलित भएमा एकता सम्भव हुने बताए ।

छलफलमा अध्यक्ष नेपालले अहिलेको समाजवादि मोर्चालाई नै अझै बलियो बनाउनुपर्ने बताएका थिए । ‘अहिलेलाई समाजवादी मोर्चालाई बलियो बनाएर जानु राम्रो हुन्छ । अरु वामशक्ति पनि मिसाएर जाऊँ, अहिलेलाई मोर्चा नै मार्फत् अन्तरघुलित गर्दै जाऊँ’, उनले प्रचण्डलाई भने, ‘नेकपा हुँदा पनि लामो अवधि कमिटीविहीन जस्तो भयो । धेरैपछि मात्रै नेकपाका जिल्ला कमिटीहरू बने । त्यसैले हतार गरेर जानुभन्दा समाजवादी मोर्चामार्फत नै अन्तरघुलित भएर अरुलाई पनि मिलाएर जानु उचित हुन्छ ।’

समाजवादीका नेताहरूले प्रचण्डलाई सबै वामशक्ति मिलाउने योजना भए पहिले माओवादी घटकहरूलाई एक ठाउँमा ल्याउन सुझाएका छन् ।

‘माओवादी घटकहरू आफैंमा पनि मिलेका छैनन्। तत्कालको संकट टार्नका लागि एकता गर्ने भन्ने कुरा हुँदैन’, घिमिरेले भने, ‘माओवादी र समाजवादी मात्रै होइन अरु पनि वामशक्ति मिल्नु पर्छ ।’

उता माओवादी उपाध्यक्ष अग्नि सापकोटाले स्थायी समिति बैठकमा प्रचण्डले पार्टीभित्र देखिएको मतभेद अन्त्य गर्दै पार्टीलाई बलियो बनाउदै लैजानुपर्ने ब्रिफिङ गरेको बताए । यसअघि दस्तावेजले प्रचण्डलाई घेरेका उपमहासचिव शर्माले बिहीबारकै बैठकमा केही नरम हुँदै आफूले अहिलेको नेतृत्वलाई नै बलियो बनाउन चाहेको जवाफ दिएका थिए ।

समाजवादीका उपमहासचिव खतिवडाले पनि अहिले कुनै  पार्टीसँग एकीकरण गर्ने गरी कुरा नचलेको जिकिर गरे ।

‘कम्युनिस्ट पार्टीहरूबीचमा समसामयिक राजनीतिक परिस्थितिका विविध पक्षहरूमा समीक्षा गर्न छलफल चालिरहेकै छ । समाजवादी मोर्चाको गतिविधि बढाई वामन्थीहरूबीच न्यूनतम् सहकार्य अगाडि बढाउन पहल गरिरहने हाम्रो नीति हो’, उनी भन्छन्, ‘त्योभन्दा बढी केही छैन । हामीले आफ्नो पार्टी सवल बनाउने हो । कलम चुनाव चिह्न हाम्रो विशेष परिचय हो । यसलाई मेट्ने गरी पार्टीले कुनै काम गर्दैन ।’

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ८ : २४ बजे

प्रधानमन्त्री मोदी र माल्दिभ्सका राष्ट्रपति मुइज्जुबीच भेटवार्ता

काठमाडौं–  प्रधानमन्त्री नरेन्द्र मोदी र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुबीच भेटवार्ता

वैदेशिक रोजगारीमा ठगी, एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै

भोजपुर गइरहेको बस सिन्धुलीमा दुर्घटना, कम्तीमा २ जनाको मृत्यु

काठमाडौं- काठमाडौंबाट भोजपुरतर्फ गइरहेको एउटा यात्रु बस सिन्धुलीमा दुर्घटनाग्रस्त भएको

राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारू आयोगले आर्थिक वर्ष २०८०-८१ मा

यी हुन् एनपीएल अक्सनमा उच्च मूल्य पाएका खेलाडी

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन सम्पन्न भएको छ