रास्वपा राष्ट्रिय भेला : १४ सय प्रतिनिधि सहभागी हुने, विधान र दुई प्रतिवेदन पेश गरिने | Khabarhub Khabarhub

रास्वपा राष्ट्रिय भेला : १४ सय प्रतिनिधि सहभागी हुने, विधान र दुई प्रतिवेदन पेश गरिने

चन्दा नलिने, खर्च धान्न हरेक प्रतिनिधिबाट १५ सय उठाइँदै


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले यही असोज १ र २ गते पहिलो राष्ट्रिय भेला गर्दैछ । गत साउन ३० गते केन्द्रीय कार्यालय बनस्थलीमा बसेको पार्टी सचिवालय बैठकले राष्ट्रिय भेलाको टुङ्गो लगाएको थियो ।

रास्वपाले पहिलो पटक यति ठूलो भेला गर्न लागेको हो । यसलाई ऐतिहासिक भेलाका रूपमा लिइएको रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले बताइन् ।

राष्ट्रिय भेलापूर्व पार्टीले सात प्रदेशमा भेला गरेको थियो । सबै प्रदेशबाट सुझाव प्राप्त भइसकेकाले राष्ट्रिय भेलाले रास्वपालाई अझ विस्तार र सुदृढ बनाउँदै लैजाने सहमहामन्त्री श्रेष्ठ बताउँछिन् । यस भेलाका लागि पार्टीले १५ वटा उपसमिति गठन गरिसकेको छ ।

भेलाको सबै तयारी पूरा भइसकेको रास्वपाले जनाएको छ । भेलामा देशभरबाट १४ सय प्रतिनिधि सहभागी हुने अनुमान छ । त्यसमा अझै थपिन सक्ने पार्टी उपसभापति डोलप्रसाद अर्याल डीपी बताउँछन् ।

‘यो हाम्रो पहिलो राष्ट्रिय भेला हो । यसबाट सिकाई पनि हुन्छ । पार्टीले सुधार्नुपर्ने पक्ष र आगामी दिनका कदमबारे बृहत् छलफल हुन्छ’, खबरहबसँग अर्यालले भने, ‘यो जटिल परिस्थितिमा भेला गरेर पार्टीलाई अझ जनमैत्री बनाउने प्रयत्न गरिरहेका छौँ ।’

कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा हुने दुई दिने भेलामा देशभरका सहभागी व्यवस्थापनबारे तयारी पूरा भएको रास्वपा सांसद तथा पार्टी केन्द्रीय सदस्य गणेश पराजुलीले बताए ।

राष्ट्रिय भेला गरेर पार्टीले २०८२ वैशाख तेस्रो साता महाधिवेशन गर्न तयारी गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

दुई प्रतिवेदन र विधान

भेलामा दुईवटा प्रतिवेदन पेस हुने भएका छन् । रास्वपा सहमहामन्त्री श्रेष्ठका अनुसार राजनीतिक प्रतिवेदन सभापति रवि लामिछानेले प्रस्तुत गर्ने छन् । यस्तै पार्टीको सागठनिक प्रतिवेदन पार्टीका कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गर्ने कार्यक्रम छ ।

राजनीतिक प्रतिवेदन तयार गर्न लामिछानेले उपसभापति डा. स्वर्णिम वाग्ले, रास्वपाका सबै सांसद, अनुशासन विभाग र अन्य विभागका सदस्य तथा विज्ञको सहयोग लिइरहेका छन् ।

प्रतिवेदनलाई अन्तिम रूप दिने काममा पार्टी उपसभापतिद्वय वाग्ले र अर्यालसहित नेताहरू विराजभक्त श्रेष्ठ, मनिष झा लगायतलाई खटाइएको छ ।

सभापतिको राजनीतिक प्रतिवेदनमा पार्टीको विकास, अहिलेसम्ममा दुःख, उपलब्धि र अन्य राजनीतिक दलभन्दा फरक रहेकोसहितका विषय समेटिने छ ।

राजनीतिक प्रतिवेदन बनाउनुअघि सभापति लामिछाने सबै प्रदेशमा पुगेर सुझाव लिएका थिए । ती सुझाव समेटेर प्रतिवेदन लेखिएको सांसद पराजुलीले बताए ।।

यस्तै, कार्यवाहक महामन्त्री बुर्लाकोटीले प्रस्तुत गर्ने संगठनिक प्रतिवेदन पनि सबै केन्द्रीय सदस्य र विभागका सदस्यहरूबीच छलफलपछि तयार गरिएको छ । यसमा संगठन विस्तारका क्रममा देखिएका र भोगको समस्याहरू पनि समावेश हुने छन् ।

संगठन विस्तार र प्रचारमा गर्नुपर्ने काम पनि यो प्रतिवेदमा उल्लेख छन् । २०८० मंसिर ११–१३ गतेसम्म रास्वपाले जलेश्वर बैठक गरेर पार्टीको नीति र विचारको प्रस्तावना पारित गरेको थियो ।

त्यसबेला रास्वपाले नेपाली जनताको उन्नतिप्रति कटिबद्ध भएको र सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुदलवादी लोकतान्त्रिक पार्टी भनेर आफूलाई चिनाएको थियो ।

यसलाई पनि व्याख्यात्मक टिप्पणीसहित मस्यौदामा समावेश गरेर पारित गर्ने कार्यसूची रहेको प्रवक्ता झाले जानकारी दिएका छन् ।

उनले पार्टीको स्पष्ट नीति र कार्यदिशा पनि राजनीतिक प्रतिवेदनले समेट्ने बताए । भने, ‘हामी कस्तो राजनीतिक दल हौँ । किन यस्तो नीति लिएको भन्ने कुराको स्पष्ट खाका आउँछ ।’

भेलामा रास्वपाले विधान संशोधन गर्ने छ । विधानमा व्यापक छलफल भएर सबैको सहमतिमा प्रस्तुत हुने छ । भेलामा प्रस्तुत मस्यौदामाथि पुनः छलफल भएर केन्द्रीय कमिटीले टुङ्गो लगाउने प्रवक्ता झाले बताए ।

पार्टीको विधान सबै केन्द्रीय कमिटीको रायमा बनाइएको छ। शनिबार पनि विधानमा केन्द्रीय सदस्य र विज्ञको टोलीले छलफल गरेको थियो ।

आइतबार ७ : ३० बजेदेखि छलफल भएर विधान केन्द्रीय सदस्यले पास गरेपछि राष्ट्रिय भेलामा प्रस्तुत हुने प्रवक्ता झाले बताए ।

रास्वपाले गत साउन १९ र २० गते क्लोज क्याप चलाएको थियो । त्यसबेला पनि विधान संशोधन गर्नुपर्ने आवाज उठेको थियो । क्लोज क्यापमा संसदीय मामिला समूहभित्र तत्काल संसदीय दलको विधान संशोधन गर्नुपर्ने आवाज एकस्वरमा उठेको थियो ।

उक्त समितिमा चार सांसदहरू सोविता गौतम, निशा डाँगी, विराजभक्त श्रेष्ठ, अशिम शाह र तीन केन्द्रीय सदस्यसहित ७ सदस्य थिए ।

त्यसबेला पार्टी विधान नआएकाले संसदीय दलको विधान बनाउन गाह्रो भएको उनीहरूले बताएका थिए ।

रास्वपा सचेतक डाँगीका अनुसार यो पटक मूल विधान पास गरेर मात्रै संसदीय दलको विधान बनाउने बाटो खुल्ने छ ।

डाँगीले भनिन, ‘विधान पास भएपछि राष्ट्रिय भेलामा प्रस्तुत हुन्छ । त्यहाँबाट पास भएपछि बल्ल पार्टी विधान बन्छ । अनि मात्रै संसदीय दलको विधान बन्छ ।’

विधान संशोधन प्रतिवेदन, राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन सोमबार केन्द्रीय सदस्य बसेर टुङ्गो लगाउने डाँगीले बताइन् ।

रास्वपाले आफ्नो विधानमा स्थानीय तहमा छाया सरकार बनाउने, विदेशका नागरिकलाई भोटको वातावरण सिर्जना गर्ने लगायत समेट्ने तयारी गरेको छ ।

यस्तै, सानो र चुस्त संगठन बनाउने या पार्टी काम जनतामा पुर्‍याउने उपाय र विकल्पबारे पनि टुङ्गो लगाउने छ ।

रास्वपाले संगठन नबन्दा गत वैशाखमा भएको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा हार बेहोरेको एक कारण खुलाएको थियो । त्यसकारण संगठनको संरचना पनि थप्न सकिने रास्वपा सा्रेतले जनाएको छ ।

सबै प्रतिवेदनमा पार्टीको अनुशासन, मूल्यमान्यता र विचार समेटिने सहमहामन्त्री तथा सांसद श्रेष्ठ बताउँछन् ।

१४ सय प्रतिनिधिबाट १५ सय उठाइने

भेलामा देशभरका १४ सय राष्ट्रिय भेला प्रतिनिधिलाई २ दिनको खाना र खाजाका लागि १५ सय रुपैयाँका दरले उठाउने तयारी रास्वपाले गरेको छ । सबै प्रतिनिधिबाट उठेको २ लाख १० हजार रुपैयाँ खाना, खाजा र स्टेशनरीका लागि प्रयोग हुने सांसद पराजुलीले बताए । उनले आवास र आर्थिक जिम्मेवारी सम्हालिरहेका छन् ।

भेलामा काठमाडौंबाहेक देशभरबाट एक हजार प्रतिनिधि उपस्थित हुने रास्वपाको अनुमान छ । उनीहरूको आवासका लागि केन्द्रीय सदस्यले व्यक्तिगत खर्च उठाएर होटेलमा राख्ने व्यवस्था मिलाइएको छ ।

पराजुलीले भने, ‘हाम्रा अतिथि भएको नाताले उपस्थित बाहिरबाट आएका राष्ट्रिय भेला प्रतिनिधिलाई केन्द्रीय सदस्यले आवासको व्यवस्था गरेका छौँ । मध्यमस्तरका दुई तीनवटा होटेलमा राख्ने कुरा भएको छ ।’

भेलाका लागि रास्वपाले कसैसँग चन्दा नलिने जनाएको छ । ‘राष्ट्रिय भेलामा पार्टीलाई स्वतःस्फूर्त माया गर्ने हरूले सहयोग गर्नुहुन्छ’, पराजुलीले भने, ‘कोही व्यापारी र दातालाई मोटो रकम सहयोग गर्नु भनेर चन्दा मागेका छैनौँ ।’

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ८ : १६ बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले