तस्बिरः क्रिकइन्फो

क्रिकेट

महिला टी-२० विश्वकप : न्युजिल्यान्ड सेमिफाइनलमा, भारत र पाकिस्तान बाहिरिए

By खबरहब

October 15, 2024

यूएई – न्युजिल्यान्ड महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा पाकिस्तानलाई ५४ रनले हराउँदै न्युजिल्यान्ड सन् २०१६ पछि पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो।

न्युजिल्यान्डले दिएको १११ रनको लक्ष्य पछ्याएको पाकिस्तान ११.४ ओभरमा ५६ रनमा सीमित भएको हो। पाकिस्तानलाई कम योगफलमा सीमित गर्ने क्रममा एमेली केरेले २.४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए।

यसैगरी एडन कारसनले ३ ओभरमा ७ रन खर्चेर दुई विकेट लिए। उनी खेलको उमन अफ द म्याच समेत घोषित भइन्। पाकिस्तानकी फतिमा सानाले २३ बलमा २१ रन बनाइन्।

यसैगरी मुनिबा अलीले १५ रन प्रहार गरिन्। यसअघि दुबईको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेटको क्षतीमा ११० रनको योगफल खडा गरेको थियो।

न्युजिल्यान्डका लागि सुजिया बेट्सले सर्वाधिक २९ तथा ब्रकी हेलीडले २२ रनको योगदान गरिन्।

यसैगरी सोफिया डिभाइनले १९ रन जोडिन्। पाकिस्तानकी न्रासा सन्धुले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिइन्।

समूह ‘ए’ बाट यस अघि नै अस्ट्रेलिया पहिलो हुँदै सेमिफाइनल प्रवेश गरी सकेको छ। यसैगरी, न्युजिल्यान्डले दोस्रो हुँदै सेमिफाइनल प्रवेश गर्दा समूहमा रहेका भारत, पाकिस्तान र श्रीलङ्का बाहिरिएका छन्।