अन्तर्राष्ट्रिय

भारतको महाराष्ट्र र झारखण्डको विधानसभाको चुनाव मिति घोषणा

By खबरहब

October 15, 2024

काठमाडौं– भारतको महाराष्ट्र र झारखण्डको विधानसभाको चुनावको मिति घोषणा गरिएको छ । भारतीय निर्वाचन आयोगले मंगलबार दुई राज्यको चुनावको मिति घोषणा गरेको हो ।

पत्रकार सम्मेलन गर्दै मुख्य निर्वाचन आयुक्त राजीव कुमारले महाराष्ट्रमा एकै चरणमा नोभेम्बर २० मा चुनाव हुने जानकारी दिएका छन् भने अर्को राज्य झारखण्डमा दुई चरणमा चुनाव हुने छ ।

झारखण्डमा पहिलो चरणको मतदान नोभेम्बर १३ मा हुनेछ र दोस्रो चरणको मतदान नोभेम्बर २० मा हुनेछ । दुवै राज्यको मतगणना नोभेम्बर २३ मा हुने आयोगले जानकारी दिएको छ ।

महाराष्ट्र विधानसभाको कार्यकाल २६ नोभेम्बरमा समाप्त हुँदै छ भने झारखण्ड विधानसभाको कार्यकाल जनवरी ५, २०२५ मा समाप्त हुँदै छ ।

२८८ सदस्यीय महाराष्ट्र विधान सभामा अहिले भारतीय जनता पार्टी, एकनाथ सिंधे नेतृत्वको शिव सेना र  अजित पावर नेतृत्वको एनसिपीको गठबन्धनको सरकार रहेको छ ।

त्यस्तै ८१ सदस्यीय विधानसभा रहेको झारखण्डमा भने झारखण्ड मुक्ति मोर्चा, कांग्रेससहितको गठबन्धनको सरकार रहेको छ ।