कोदोखेतीले धानेको खोरियागाउँ « Khabarhub

कोदोखेतीले धानेको खोरियागाउँ


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

सिरहा– मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको बसोबास छ । बस्तीमा सानो झुपडी, फुसको छानो, बाँसका भाटाले बेरेका टहरा छन् ।

मिर्चैया नगरपालिका–७ मा पर्ने यस गाउँमा जब प्रवेश सुरु हुन्छ, बारीभरि कोदोखेती देख्न सकिन्छ । यहाँका किसानका लागि यो निर्विकल्प खेती हो । वर्षमा एक पटक मात्रै यहाँका किसानले कोदो उत्पादन गर्छन् । 

चुरेको फेदमा अवस्थित यो गाउँ सुक्खा क्षेत्र भएको र सिँचाइ सुविधा नहुँदा कोदोखेतीको विकल्प नभएको यहाँका किसानको भनाइ छ । 

‘बाउबाजेदेखि यही कोदो रोप्दै आएका छौँ । अन्य बालीका लागि सिँचाइको सुविधा छैन । पिउने पानी त नभएर छ महिना समस्या हुन्छ’, स्थानीय हर्कबहादुर परियारले भने, ‘जेजति उब्जनी हुन्छ यही कोदोको जोहो गर्नुपर्ने बाध्यता छ ।’

यतिबेला कोदो पाकेको छ । किसान बाली भित्र्याउने तयारीमा छन् । परियारले दुई कठ्ठा बारीमा कोदो लगाएका छन् ।

 ‘यो अगौटे बीउको कोदो आजभोलि नै टिप्ने बेला भइसकेको छ । आफ्नो उत्पादनको दुई गेडा अन्न भए पनि स्याहार्नु त पर्यो’, परियारले भने। 

उनले उत्पादन गरेको १०-१२ पाथी कोदोले केही महिना मात्र जोहो टर्छ, बाँकी महिना ज्याला मजदुरी गरेर छ जना परिवारको जीविका चलाउनुपर्छ ।

परियारको जस्तै भनाइ छ सोही बस्तीकी धनसरी विश्वकर्माको पनि । खडेरीले अन्य बाली खाने हुँदा आफूहरूले कोदा रोपेर जीविका चलाउनुपरेको उनको भनाइ छ । 

उनले भने, ‘मान्छे र गाईवस्तुलाई खानेपानीका लागि छ महिना एक घण्टाको बाटो धाएर पानी बोक्नुपर्छ । भएका कुवा र इनार मङ्सिर नलाग्दै सुक्छन् । यस्तो ठाउँमा कोदोबाहेक अन्य अन्नपात उब्जँदैन । मकै रोपे पनि खडेरीले खाइहाल्छ ।’

कोदोबाहेक गहत, बोडी र तिललगायतका अन्नपात लगाउने गरेको उनले जानकारी दिए।

उब्जने त्यही कोदो बालीमा पनि स्थानीय सरकार तथा अन्य निकायले उन्नत बीउ तथा अनुदान सहयोग नगरेको यहाँका किसानको गुनासो छ । उत्तरी भेगका करिब १० प्रतिशत किसानले कोदोखेती गरे पनि नगरपालिकाले हालसम्म कोदोखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने कुनै प्रकारको नीति र योजना नरहेको मिर्चैया नगरपालिका कृषि शाखा प्रमुख नागेश्वर हाथीले बताए। 

उनले भने, ‘यहाँका किसानलाई कोदोखेती विस्तार र संरक्षणमा सम्बन्धित नगरले अहिलेसम्म कुनै नीति बनाएको छैन । आगामी दिनमा नगरका तर्फबाट किसानलाई कोदो उत्पादनका लागि प्रोत्साहन, बजार व्यवस्थापन र व्यावसायीकरणका लागि सहयोग गर्न पहल गर्नेछौँ ।’

 यहाँका कर्जना, मिर्चैया, गोलबजार र धनगढीमाई नगरपालिकाका चुरेफेदका सुक्खा बस्तीका गाउँमा मुख्यगरी कोदोखेती गरिन्छ । 

कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार जिल्लामा करिब छ सय ४५ हेक्टर जग्गामा कोदोखेती गरिने तथ्यांक छ । त्यस्तै नौ सय ६७ मेट्रिक टन कोदो बर्सेनि उत्पादन गरिन्छ । 

प्रमुख महासेठका अनुसार स्थानीय तहले नै कृषिसम्बन्धी हेर्ने भएकाले किसानको प्रोत्साहनका लागि आफूहरूको कुनै विशेष योजना नरहेको उनले बताए।

 उनले भने, ‘पहिले जिल्लाको दक्षिणी भेगमा पनि यहाँका किसानले कोदोखेती गर्ने गर्थे । तर अहिले उत्तरी भेगमा मात्र सीमित छ । स्थानीय तहले कृषि शाखामार्फत प्रत्यक्ष किसानलाई हेर्ने हुँदा अहिले हामी एक हिसाबले अधिकारविहीनजस्तो भएका छौँ । स्थानीय तहसँग समन्वय गरेर भए पनि किसानलाई कोदोखेतीमा आकर्षित गर्नुपर्ने आवश्यकता छ ।’

जिल्लाका  परम्परागत बालीनालीको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए। 

पहिले मुख्य खाना नै कोदाको रोटी, ढिँडो हुने गरे पनि अहिले मुख्य खाना भात भएकाले विभिन्न रोग पनि सँगसँगै आएको खोरिया बस्तीका खड्गबहादुर विश्वकर्माले बताए। 

उनले भने, ‘गाउँघरमा कोदोखेती विस्थापित हुँदै गएको छ । बजारका अन्य खानेकुराले मानिसलाई रोगी बनाउँदै छ । सरकारले कोदोखेतीको संरक्षणमा ध्यान नदिँदा सीमित किसानले आफ्ना लागि आवश्यक पर्ने मात्र कोदोखेती गर्ने गरेका छन् ।’

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ६ : ५६ बजे

इरानसँगको वार्ताप्रति ट्रम्प असन्तुष्ट, सम्झौता नभए पुनः सैन्य आक्रमण गर्ने चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका सर्तप्रति

वैभवको छक्का वर्षा : हैदरावादलाई हराउँदै राजस्थान आईपीएलको दोस्रो क्वालिफायरमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई ४७

बकर इद मनाइँदै : आज सार्वजनिक बिदा

काठमाडौँ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – २०८३ साल १३ गते बिहीबार अधिक जेठ शुक्ल