बङ्गलादेश विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक उपलब्धि : ऊर्जामन्त्री खड्का | Khabarhub Khabarhub

बङ्गलादेश विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक उपलब्धि : ऊर्जामन्त्री खड्का


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालबाट बङ्गलादेश विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।  नेपालमा उत्पादित विद्युत् आजदेखि बङ्गलादेश निर्यात शुभारम्भ कार्यक्रममा बोल्दै उनले भने, ‘दक्षिण एसियामा दिगो ऊर्जा भविष्यका लागि आजको दिन ऐतिहासिक हो ।’

उनले नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपीसी विद्युत् व्यापार निगम लिमिटेडबीच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौतामा भएको हस्ताक्षरले यस उपलब्धिको लागि मार्ग प्रशस्त गरेको उल्लेख गरे ।

बङ्गलादेशमा विद्युत् निर्यातमा सहजीकरण गर्ने भारत सरकार र विद्युत् आयत गर्ने बङ्गलादेश सरकारलाई उनले धन्यवाद दिए ।  उक्त निर्यातले ऊर्जा सुरक्षा, आर्थिक वृद्धि र वातावरणीय दिगोपनलाई सहयोग पुगेको उनको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले सम्झौता र निर्यातले दुई देशबीचको आर्थिक विकासलाई सहयोग पुग्नुका साथै एकताबद्ध हुन सहयोग पुग्ने बताए ।

नेपाल–भारत र बङ्गलादेशबीच गत असोज १७ (अक्टोबर ३)का दिन त्रिपक्षीय सम्झौता भई भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यातको अनुमति दिएको थियो ।

आजदेखि ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात सुरु गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल खट्टर र बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिर खानले भर्चुअल माध्यमबाट बङ्गलादेश विद्युत् निर्यातको स्वीच अन गरेर औपचारिक शुभारम्भ गरेका हुन्  ।

कार्यक्रममा भारतका विद्युतमन्त्री खट्टरले भारतको प्रसारण लाईन प्रयोग गरेर दक्षिण एशियाली मुलुकमा विद्युत् विस्तार गर्ने काम सराहनीय भएको बताए । उनले नेपालका विभिन्न जलविद्युत् परियोजनामा भारतले लगानी गरेको बताउँदै उक्त परियोजना सम्पन्नताले विद्युत् विस्तारमा थप सहजीकरण हुने विश्वास व्यक्त गरे ।

मन्त्री खट्टरले नेपालको विद्युत् उत्पादन विकासमा भारत सरकार सहयोग गर्न तयार रहेको बताए  । हरित ऊर्जाको दिगो विकासका लागि यस्ता सम्झौताले सहयोग पुग्ने उनको भनाइ थियो ।

बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार खानले क्षेत्रीय ऊर्जा समन्वयका लागि यस्ता सम्झौताले ठूलो सहयोग पुगेको बताए ।

यस्ता सहकार्यले एकीकृत ऊर्जा विकासमा दक्षिण एशियाली देशलाई समृद्ध बनाउँदै दिगो विकासलाई सहयोग पुग्ने उनको भनाइ थियो ।

उनले कार्बन उत्सर्जनलाई शून्यमा झार्ने नीति लिएको बङ्गलादेशलाई नवीकरणीय ऊर्जाको बाटोमा जान नेपालका जलविद्युत्ले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले त्रिदेशीय ऊर्जा सम्झौता र निर्यात दक्षिण एशियाको इतिहासमा लामो समयसम्म स्मरणीय हुने बताए ।

सम्झौता अनुसार नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्नेछ ।

नेपालले निर्यात गरेको बिजुली ४०० केभी प्रसारण लाइन हुँदै ढल्केबरबाट भारतको मुजफ्फरपुर–बहरामपुर हुँदै बङ्गलादेशको भेरमारासम्म पुर्‍याइनेछ । यो यामका लागि आज एक दिन मात्र बिजुली निर्यात हुनेछ  ।

कार्यक्रममा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, ऊर्जा मन्त्रालयका सहसचिवद्धय चिरञ्जीवी चटौत र जीवछ मण्डल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ५ : १८ बजे

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष

‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’