मेयर साम्पाङले उपकुलपतिलाई कारवाही गर्न मन्त्रालयमा लेखे पत्र « Khabarhub

मेयर साम्पाङले उपकुलपतिलाई कारवाही गर्न मन्त्रालयमा लेखे पत्र

‘घिसार्दै निकाल्ने’ सामाजिक सञ्जालमा चेतावनी



सुनसरी– धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीलाई कारवाही गर्न माग गर्दै धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरेका छन् ।

वीपी प्रतिष्ठानको संचालक परिषद (सिनेट) सदस्य समेत रहेका मेयर साम्पाङले कामु उपकुलपति प्राडा कार्कीको कार्यकक्षमा तालाबन्दी गरेको भोलिपल्ट बुधबार स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेका हुन् ।

मेयर साम्पाङले मन्त्रालयमा पठाएको पत्रमा वीपी प्रतिष्ठानका कामु उपकुलपति प्राडा कार्कीले कार्यकारणी समिति (कास) को बैठक डाक्न नसकेको, शिक्षक, कर्मचारी, चिकित्सकका माग सम्बोधन गर्नु पर्नेमा लुकिछिपी बसेको आरोप लगाइएको छ ।

त्यसैगरी आफू नभएको अवस्थामा प्रतिष्ठानको अख्तियारी पाएका उपकुलपतिको सम्पूर्ण अधिकार फिर्ता लिएको र आफू अनुकूलका व्यक्ति तयार गर्न प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई जिम्मेवारीबाट हटाएको र प्रतिष्ठानमा अराजक गतिविधि गर्दै आएको साम्पाङले पत्रमा उल्लेख गरेका छन् ।

मेयर साम्पाङले मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, ‘नेपालको स्वास्थ्य क्षेत्रमा नेतृत्वदायी भूमिकासहित समग्र देशको स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा गुणस्तरीय, विश्वासिलो सेवा दिने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल केही दिनदेखि प्रतिष्ठानको कायम मुकायम उपकुलपतिका कारण गतिरोध उत्पन्न भएको छ ।’

उनले कामु उपकुलपतिकै कारण वीपी प्रतिष्ठानमा दिनहुँ आन्दोलन भई स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा ओपिडी बन्द भई बिरामीको उपचार प्रभावित भएको, प्रतिष्ठानमा हुँदै गरेको पठनपाठन र परीक्षासमेत ठप्प भएकाले प्राडा कार्कीलाई तुरुन्त उपस्थित गराएर हाल देखिएको विद्यमान समस्याको निकास दिनका लागि आवश्यक कारबाही अघि बढाइदिन हुन अनुरोध गरेका छन् ।

उनले आफ्नो फेसबुक पेजमा भने कामु उपकुलपतिले राजीनामा दिएर निकास दिनुपर्ने नत्र खोजेर घिसार्दै निकाल्ने चेतावनी दिएका छन् ।

साम्पाङले लेखेका छन्, ‘वीपी अस्पतालको भिसी नलुकी बाहिर निस्केर निकास दिनु कि राजिनामा दिनु । नत्र खोजेर घिसार्दै निकाल्न नपरोस् । नाम नबिर्सनु है ।’

यसैबीच, उपकुलपति कार्कीले वीपी प्रतिष्ठानको प्रवक्ता समेत परिवर्तन गरेका छन् । उनले डा अन्जु प्रधानको कार्यकाल १ वर्ष नपुग्दै कासमा सल्लाह नगरी एकल निर्णय प्रयोग गरी प्राडा पारस पोखरेललाई दुई वर्षका लागि प्रवक्ताको जिम्मेवारी दिएको पत्र थमाइदिएका छन् ।

कार्की आफ्नो कार्यकक्षमा भने जान सकेका छैनन् । आन्दोलनरत शिक्षक चिकित्सक र कर्मचारीले उपकुलपति परिसरलाई कामु उपकुलपति निषेधित क्षेत्र घोषित गरेका छन् ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ९ : ५१ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन