यस्तो छ कांग्रेस महामन्त्रीद्वयको प्रतिवेदन (पूर्णपाठ) | Khabarhub Khabarhub

यस्तो छ कांग्रेस महामन्त्रीद्वयको प्रतिवेदन (पूर्णपाठ)

गगनले औँल्याए दुई धार, शर्माले भने ‘लोकतन्त्रको विकल्प, समुन्नत लोकतन्त्र’


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रको दुई धार सङ्गठनका लागि घातक भएको बताएका छन् । पार्टीको महासमिति बैठकमा प्रस्तुत हुने सांगठनिक प्रतिवेदनमा उनले पहिलो आत्मनिन्दा र दोस्रो आत्मश्लाघा रहेकोसमेत उल्लेख गरेका छन् ।

यी दुवै अतिवादी प्रवृति सङ्गठनका निम्ति अत्यन्तै घातक रहेको उनको प्रतिवेदमा उल्लेख छ । उनको प्रतिवेदमा भनिएको छ, ‘पाटीले जे गरिरहेको छ वा जे भइरहेको छ ठीक भइरहेको छैन भन्ने ठहर्छ । अब पनि केही हुँदैन कि भन्ने भय र चिन्ताले उसको आत्मविश्वास खस्किएको छ । विगतमा पार्टीले गरेका निर्णय र पछ्याएको बाटोका सन्दर्भमा पनि उसमा भएको लघुताभासका कारण प्राप्त उपलब्धिको समेत अपनत्व लिन ऊ धकाइरहेको छ । यो पङ्क्ति एकदमै द्विविधा, निराशा र आत्मनिन्दाले ग्रसित छ ।’

दोस्रो धारबारे महामन्त्री थापाले भनेका छन्, ‘भर्खरै सम्पन्न निर्वाचनहरूमा विजय हासिल गरेर सबैभन्दा ठूलो पार्टी भएका छौँ, हामी अभेद्य छौँ, हाम्रा चुनौती साना छन् भन्ने अतिरिक्त आत्मश्लघाले ग्रसित देखिन्छ । ऊ पार्टीका आन्तरिक समस्यालाई उपेक्षा गर्छ, बाहिर आएका कुरालाई विरोधीहरूको प्रपोगण्डा मान्दछ र मूलतः पार्टीमा सबै ठीकठाक छ भन्ने ठहर गर्छ । पार्टीको सुदूर भविष्यसमेत सुनिश्चित भएकोमा ऊ ढुक्क छ ।’

महामन्त्री थापाले आफ्नो सांगठनिक प्रतिवेदनमा पार्टीको अनुशासनमा पनि जोड दिएका छन् । उनले भनेका छन्, ‘पार्टी संगठनलाई विधिसम्मत चलाउन पार्टीको प्रत्येक सदस्य र समितिले विधिअनुसार आफ्नो कर्तव्य एवं जिम्मेवारी पूरा गर्नुपर्दछ र पार्टी अनुशासन पालना गर्नुपर्दछ । पार्टीको विधानले अनुशासन पालनाका सन्दर्भमा केही विधि र संयन्त्र निर्धारण गरेको छ । पार्टी अनुशासन उल्लङ्घन गर्ने कुनै पनि प्रयासलाई पार्टीले छुट दिनु हुँदैन । सबैले आफ्नो कर्तव्य, जिम्मेवारी र अनुशासनको पूर्ण पालन गर्नुपर्दछ ।’

महामन्त्री थापाले विधानअनुसार २०८२ मंसिरसम्ममा पार्टीको महाधिवेशन गर्नुपर्ने भन्दै त्यसभन्दा अगाडि २०८१ मा विधान अधिवेशन–महासमिति बैठक गर्ने पनि उल्लेख गरेका छन् ।

यस्तै, अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रतिवेदनमा कांग्रेसले ‘हरेक विषयमा स्पष्टता, हरेक मुद्दामा अग्रता’ हुनुपर्ने बताएका छन् । महासमिति बैठकमा प्रस्तुत गर्नुपूर्व परिमार्जनका लागि केन्द्रीय कार्यसमितिमा प्रस्तुत १९ पृष्ठ लामो प्रतिवेदनमा लोकतन्त्रको विकल्प, समुन्नत लोकतन्त्र हुनुपर्नेमा उनले जोड दिएका छन् ।

महामन्त्री शर्माको प्रतिवेदनमा गठबन्धनलाई फरक मतको चुनौतीपूर्ण सहकार्यको संज्ञा दिइएको छ । गठबन्धनबाट प्राप्त गणितको समिक्षा गर्दै उनले यसकै बलमा पार्टी पहिलो दल बनेका तर्क गरेका छन् । तर, अन्य पार्टीको मत पाएर पहिलो दल बनिरहँदा आफ्नो वास्तविक मत गुमाएको वास्तविकता तर्फ सचेत हुनुपर्ने महामन्त्री शर्माको राय छ । गठबन्धनमा रहेर स्वतन्त्र गतिविधि गर्न कांग्रेसलाई कति सहज हुन्छ भन्ने विषयमा गम्भिर हुनुपर्नेमा उनको जोड छ ।

महामन्त्री शर्माले कांग्रेस सरकारमा सहभागिता भइरहँदा संविधान रक्षाको विषय मूल हुने भएपनि यो विषयमा चुकेको र नागरिकको भावना अपेक्षित गतिविधि सम्बोधन हुन नसकेको बताएका छन् । महामन्त्री शर्माले नेपालमा सुशासन, नागरिकमा असन्तुष्टि, राजनीतिको साझा कार्यभार र राजनीतिले चिन्नुपर्ने, चिर्नुपर्ने र सहकार्यमा गाँस्नुपर्ने नेपाली समाजको बहुआयामिक मनोविज्ञान गरी सात विषयलाई आफ्नो प्रतिवेदमा समेटेका छन् । यस्तै उनले नीति, विधि र थितीको जगमा १५ वर्षे योजना बनाउनुपर्ने भन्दै महासमिति बैठकमा यो विषयमा छलफल हुनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ७ : २१ बजे

नेप्सेको सीईओका लागि पाँचजनाको नाम सार्वजनिक, बुधबार अन्तर्वार्ता

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत

पिएम कप : कोशीको आक्रामक बलिङ, १९ रन बनाउँदा गण्डकीले गुमायो ७ विकेट

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत

चन्दा सङ्कलन गरेर पदमार्गको नक्शा

म्याग्दी– समुदायस्तरबाट चन्दा सङ्कलन गरेर म्याग्दीको मौरिस हर्गोज र अन्नपूर्ण–धौलागिरि

स्यूचाटारमा आगलागी, १५ लाख बढीको क्षति

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका–७ स्युचाटारस्थित एक कच्ची घरमा गएराति आगलागी

हाउथीलाई निसाना बनाउँदै ट्रम्प: अमेरिकाले गर्‍यो हवाई आक्रमण

काठमाडौं – यमनको हाउथी समुदायलाई लक्षित गरी अमेरिकाले हवाई आक्रमण