विश्लेषक झाको सुझाव– बहुमत नपुग्नेले झ्यालबाट छिर्ने काम बन्द गरौँ | Khabarhub Khabarhub

विश्लेषक झाको सुझाव– बहुमत नपुग्नेले झ्यालबाट छिर्ने काम बन्द गरौँ



सत्ता स्वार्थले दलहरू भित्र मच्चिएको रडाकोले व्यवस्था माथि प्रश्न उठिरहेको छ । चुनावपछि दलहरूले पाएको पाँच वर्षको म्यान्डेट डेढ वर्षमै लथालिंग भताभुंगको अवस्थामा पुग्न लागेको छ । सत्ताको आरोह, अवरोहले दल टुक्रिने क्रम बढ्दो छ । यसको प्रभाव राष्ट्रिय राजनीतिमा कसरी पर्छ ? सत्ताको गठबन्धनमा गाँसिएर पनि पृथक् अस्तित्वमा हिँड्न उनीहरू किन लालायित छन् ? यिनै लगायत विषयमा जोडिएर विश्लेषक देवेश झासँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

अहिले राष्ट्रिय राजनीतिमा स्थापित भएका राजनीतिक पार्टीभित्र बढ्दो विग्रहको रहस्य के हो ?
राजनीति वा अन्य कुनै क्षेत्रमा सकारात्मक र नकारात्मक दुई पाटो हुन्छ । प्राकृतिक दिशामा कार्य प्रारम्भ भयो भने त्यसले सकारात्मक परिणाम दिन्छ र अप्राकृतिक दिशामा भयो भने नकारात्मक बढाउँछ । अहिले सदनमा त्यसकै प्रतिध्वनि सुनिएको हो ।

पछिल्लो आमनिर्वाचनको सन्दर्भमा कांग्रेस, माओवादी, जनता समाजवादी पार्टीलगायतका दलको गठबन्धन थियो । उनीहरूले जनता सामु गएर ५ वर्षको लागि मत मागेका थिए । एमालेको जसपासँग प्रत्यक्ष गठबन्धन थियो । राष्ट्रिय स्वतन्त्र र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग अप्रत्यक्ष गठबन्धन थियो । जुन हिसाबमा जनतासँग मत मागिएको थियो, त्यसको निरन्तरता अनिवार्य थियो । त्यसलाई परिवर्तन गर्न पाइँदैन । किनकि त्यो जनादेश हो ।

कांग्रेसले माओवादी र माओवादीले कांग्रेसलाई भोट दिएको थियो । तर संसद् गठन भए लगत्तै परिस्थिति अलग भयो । एमालेसँग मिलेर माओवादीले सरकार गठन गर्‍यो । त्यहाँबाट अप्राकृतिक राजनीतिको थालनी भयो । यस बीचमा संशोधन भएर एउटा ट्र्याक लिएको थियो । त्यसलाई पनि फेरि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले गठबन्धन भत्किनुको कुनै कारण दिन सक्नु भएको छैन । गठबन्धनबाट कसैले समर्थन फिर्ता लिएको थिएन । सरकार अल्पमतमा परेको थिएन । राज्य सञ्चालनमा कुनै अराजकता देखिएको थिएन । बजेटमा कुनै समस्या थिएन । नेपालको राजनीतिमा जनताको असन्तुष्टि र त्यसमा जन्मिएको आक्रोश त्यो त यथावत् नै छ ।  हामीले अहिले जे जति देखिरहेका छौँ, त्यो अप्राकृतिक गठबन्धनले निर्माण गरिदिएको प्रतिध्वनि मात्रै हो ।

यसको मतलब चुनावअघि भएको गठबन्धन आफैँमा अप्राकृतिक थियो भन्न खोज्नु भएको हो ? 
हामी विभिन्न खाले राजनीतिक विचारधारा लिएर अगाडि बढिरहेका छौँ । एउटा सैद्धान्तिक सोच, प्रजातान्त्रिक विचार धारा एक प्रकारको हुन्छ र वामपन्थी विचार धारा फरक प्रकारको हुन्छ ।  त्यस कारण प्रजातान्त्रिक शक्तिहरूको एउटा र वामपन्थीहरूको अर्को गठबन्धन बन्नुपर्छ । त्यो अभ्यास संविधान जारी भइसके पछिको पहिलो निर्वाचनमा एमाले र माओवादीले मिलेर एउटा गठबन्धन बनाएका थिए । पछि गएर पार्टी नै खण्डित भइसकेको छ ।

नेपालको राजनीतिमा प्रस्ट रूपमा न प्रजातान्त्रिक, वामपन्थी धार नै देखिन्छ । गठबन्धन निर्माण भएर जनतामा गएर जनताले मत दिएपछि त्यसलाई वैधानिक मान्नु पर्छ किनकि जनता निर्णायक हुन् ।

राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसभित्र अहिले देखिएको समस्या के हो ?

नेपाली कांग्रेसले स्थापना कालदेखि नै टु पिलर सिस्टम लिएको देखिन्छ । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको मूल सिद्धान्तबाट स्थापित भएको पार्टी हो यो ।  राणाहरूको शासन विरुद्धमा त्यो पार्टीको स्थापना भएको थियो । पछिल्लो समयमा यो गणतान्त्रिक धारमा गयो । यसभित्र एउटा प्रजातान्त्रिक विचार धारालाई निरन्तरता दिने क्रममा सुविधा र कठिनाइ दुवै सँगसँगै चल्ने देखिन्छ । सुविधामा यसको प्रजातान्त्रिक अनुहार आज पनि कायम नै छ । तर यो प्रजातान्त्रिक अभ्यासले गर्दा त्यहाँ विभिन्न खाले गुटहरू उत्पन्न भएको अवस्था छ । यसभित्र अहिले वैचारिक मत भिन्नता धेरै बढेको देखिन्छ ।

कांग्रेसले स्थापनाको समयमा लिएको दिशालाई लिएर अगाडि बढ्नुपर्ने हुन्छ । तर त्यसको सुगन्धित पक्ष भनेको आन्तरिक विवाद भएर निर्णय भएपछि त्यसमा सबै एकजुट हुनुपर्छ । तर अहिले रवि विरुद्ध एक भएका छन् ।

०६ सालदेखि विभिन्न कालखण्ड पार गर्दै आएको कांग्रेसमा द्विविधा र अलमल एजेन्डा कै कारणले भएको हो ?

कांग्रेसले ०६३ पछि जुन गणतान्त्रिक धार अवलम्बन गर्‍यो, त्यहाँभित्र बहु आयामिक बाछिटा देखिए । कतिपयले  कांग्रेस जन्म कालदेखि नै गणतन्त्रवादी भएको जिकिर गरे । उसले माओवादी विद्रोहलाई समाप्त पार्न सेना परिचालन गर्ने सम्मको कारबाही त गरेकै हो ।

जब उसले संवैधानिक राजतन्त्र छोड्यो, त्यसपछि मार्गचित्रमा यो समस्या आयो कि माओवादीको माओवादी प्रभावमा परेर आफूलाई त्यसरी लिएर जाने कि आफ्नै धारा बनाउने ? तर अहिले समाजवादको पक्षमा नै छ ।
यो सबै कुरामा प्रस्ट मार्गचित्र लिन नसक्दा कांग्रेसले पनि सत्तालाई नै प्राथमिकतामा राख्न खोजेको जस्तो देखिन्छ ।

कांग्रेसका एजेन्डा राजनीतिक भन्दा बढी सत्ता केन्द्रित रहेको जस्तो लाग्दैन ?

३० वर्षको पञ्चायती शासनमा प्रतिबन्धित अवस्थामा बसेको पार्टी हो । त्यसलाई स्मरण गरेर सत्ता हैन, आफ्नो विचार धारालाई प्रस्तुत गरेर जाने हो भने राम्रो हुन्छ ।

यति बेलाको एमालेभित्रको समस्या चाहिँ के हो ? 

एमालेको लागि सत्ता भनेको रहर र बाध्यता दुवै हो । एमाले सत्ता बाहिर बस्न सक्ने अवस्था नै हुँदैन । ऊभित्र सधैँ सत्ताको भोक हुन्छ । वामपन्थी दलहरूमा त्यसको नेतृत्वको विरुद्धमा जाने हैसियत कसैको हुँदैन ।  एमाले भित्र पनि त्यसको निरन्तरता छ । एमाले सबैभन्दा बढी खर्च गर्ने महँगो दल पनि हो । त्यसको लागि अर्थ संकलन महत्त्वपूर्ण हुन्छ । यसका लागि सत्ता सजिलो साधन हो ।

यस पटकको संसदीय निर्वाचनमा जनताले प्रतिपक्षको भूमिका निर्वाह गर्ने दायित्व एमालेलाई दिएको थियो । तर पनि एमालेले दुई पटक गठबन्धनमा प्रवेश गरेर सत्तामा पुगेको यो दोस्रो पटक हो । यहाँ पनि आज माधव नेपाल एउटै गठबन्धनमा हुँदा कति आलोचित हुनुहुन्छ ।

जसपा विभाजनको आरोप एमालेमाथि नै आइरहेको छ । प्रचण्डलाई कति बेला एमालेले तह लगाउँछ भन्ने कुराको ठेगान छैन । किनकि ओलीले बारम्बार ७६ को उपधारा ३ को चर्चा गरिरहनु भएको छ । त्यस कारण एमालेको एक मात्र लक्ष्य सत्ता प्राप्तिमै केन्द्रित देखिन्छ ।

यति बेला नेपालको राष्ट्रिय राजनीतिमा माओवादी कहाँ छ ?

माओवादी नेपालको राष्ट्रिय राजनीतिको केन्द्रमा छ । तर वैचारिक रूपमा लगभग अन्तिम तिर पुगिसकेको अवस्था छ । उसले ०५२ मा माओवादी विद्रोह र उठाएका विचार आफैले त्यागेको छ । अहिले  माओवादीले पञ्चायतकालीन प्रशासनिक संरचनाको निरन्तरतालाई सघाइरहेको छ । उसले परिवर्तन गर्न खोजेको विषय राजा निकालेर बिदा र गणतान्त्रिक व्यवस्थाको रूपमा राष्ट्रपतिलाई शीतल निवासमा राख्ने बाहेक आफ्नो कुनै निर्णय गरेको जस्तो देखिँदैन ।
नेतृत्वले अहिले उथलपुथलको कुरा गर्छ । क्रमभंग गर्दैन । क्रमभंग एउटा सकारात्मक शब्द थियो । समाजमा भएका विकृति भत्काएर भंग गर्ने हो । तर अहिले नकारात्मक शब्द उथलपुथल प्रयोग भइरहेको छ ।  प्रधानमन्त्री स्तरको व्यक्तिले उथलपुथलमा लागे भने त राष्ट्रको अवस्था के होला ?

नयाँ उदाएका राजनीतिक शक्तिसंग भरोसा गर्ने ठाउँ छ ?

नयाँ राजनीतिक शक्ति वा व्यक्तिको रूपमा पनि केही परिदृश्यमा केही अनुहार देखिराखेका छौँ । तर यी कुनै पनि अनुहार कुनै आन्दोलन वा संवैधानिक परिवर्तन वा जनताको लागि ठूलो उपलब्धिको मार्गचित्र लिएर राजनीतिमा आएका छैनन् । यिनको प्रवेश स्थापित दलहरूको वितृष्णाको उपज हो । स्थापित दलहरूले जे गरे जसरी भ्रष्ट्राचार बढ्यो, अराजकता बढ्यो, रोजगारीको समस्याको परिणाम यी नयाँ अनुहारले प्रवेश पाएको हो ।

भ्रष्ट्राचारी विरोधी नाराको कुरा गर्ने हो भने यो अन्तर्राष्ट्रिय स्तरको कुरा हो । त्यस कारण यिनीहरूले जुन परिपक्वता देखाउनुपर्ने त्यो देखिएन । राजनीति गर्नेले मूलभूत रूपमा ४ वटा विषयलाई मात्रै हेर्ने हो । कर संकलन, पूर्वाधार निर्माण, शिक्षा स्वास्थ्य, परराष्ट्र र राष्ट्रिय सुरक्षा सहजीकरण गर्नु हो । तर यहाँ एसपीलाई कहाँ ट्रान्सफर गर्ने, मन परेका व्यक्तिलाई कता पठाउने भाग खाने लगायतका कुराले गर्दा रास्वपाले ‘नो नट अगेन’ भन्ने नारा लिएर आएको थियो । त्यसमा उसले के के नट अगेन गरे त ? यही गरिरहेको छ, जे पहिलेका दलहरूले गरेका थिए ।

मधेशवादी राजनीतिक पार्टीहरूको यो हबिगत हुनुको कारण चाहिँ के हो ? 
अन्य दलकै जस्तो अवस्था उनीहरूको पनि भयो । मधेश केन्द्रित दलका नेतालाई यो शब्द भन्यो भने रिसाउँछन् । राष्ट्रिय राजनीतिका नेता भन्न रुचाउँछन् । भोट बैंक मधेश हो, मधेश आन्दोलन गरेर मधेशको पहिचानको लागि राजनीतिक गर्छौँ भनेर स्थापित भए । तर भोट लिएर सबै काठमाडौंमा बसेर सुविधा भोगेर सत्ताको राजनीतिक गर्न थाले । प्रादेशिक राजनीति कुनै कमजोर वा छायाँको राजनीति हैन । स्थानीय जनताको स्थानीय समस्या जति मधेशका नेताले बुझेका छन् , त्यति काठमाडौं का नेताले नबुझेका होलान् । यी नेताले आफ्नो क्षेत्रमा नै बसेर वा आफ्नो क्षेत्रलाई प्राथमिकतामा राखेर त्यसको विकास उन्नतिको लागि काम गरिदिएको भए यो अवस्था नै हुने थिएन ।

आशा जगाउने राजनीतिक कोर्स के त ? 
हामीसँग संसद् छ, रहन्छ । तत्कालको लागि कुनै पनि राजनीतिक दललाई एकल बहुमत आउँदैन । गठबन्धन गर्नुपर्ने बाध्यता छ । इलाम र बझाङको उपनिर्वाचनबाट पनि जनताले अझै एमाले र कांग्रेसलाई नै प्राथमिकतामा राखेको देखिन्छ । यी दुई दलले जिम्मेवारी बहन गरेर दुई स्थिर गठबन्धन चुनाव भन्दा पहिलेको गठबन्धन बाचासहित जनताबाट मत मागेर आएर जुन  गठबन्धनको बहुमत छ, त्यसले ५ वर्ष स्थिर सरकार चलाउने र अर्कोले झ्यालबाट छिर्ने बानी छोडेर आफ्नो गठबन्धनबाट स्थिर राजनीति गरेर जानु पर्छ । तब स्थिर सरकार बन्छ र निराशा कम हुँदै जान्छन् ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ५ : १२ बजे

धरानेको पीडा : सर्दु जलाधारका नाममा कहिलेसम्म सास्ती खेप्ने ?

सुनसरी- राज्य र कर्मचारी तन्त्र अस्पष्ट भएमा सर्वसाधारणले अनावश्यक रुपमा

कारागारका कैदीबन्दी आयआर्जनमा

चितवन– जिल्ला कारागार कार्यालय चितवनका कैदीबन्दीमध्ये २३२ कैदीबन्दी घरेलु इलममा

मेलम्चीको पाइप फुट्दा थापाथलीको सडकमा खाल्डो : पानी बन्द भएपछि मर्मत सुरु

काठमाडौं – बबरमहलमा जस्तै थापाथलीमा मेलम्चीको खानेपानीको पाइप फुट्दा सडकमा

अल्लोको कपडा बुनेर स्वरोजगार बन्दै महिला

मकवानपुर– मकवानपुरको थाहा नगरपालिका दामनका महिलाले स्वरोजगार बन्ने उद्देश्यले अल्लोको

असिना पानीले कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरिँदै

सुनसरी– सुनसरीमा आइतबार र सोमबार हावाहुरीसँगै आएको असिना पानीबाट कृषि