जब एउटा एनजीओ खाजाको पोको बोकेर संसदीय समितिमा छिर्‍यो | Khabarhub Khabarhub

जब एउटा एनजीओ खाजाको पोको बोकेर संसदीय समितिमा छिर्‍यो

गृहमन्त्रीसहित सांसदहरूले गरे सुशासन समितिको बैठक बहिष्कार


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


16.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा सभापति रहेको संसदीय समितिमा आइतबार अनौठो दृश्य देखियो ।

खतिवडा सभापति रहेको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उपस्थितहरूका लागि खाजा नै गैरसरकारी संस्था (एनजीओ) ले प्रायोजना गरेको भेटिएपछि खैलाबैला भएको छ ।

संघीय संसद् सचिवालयमा खासगरी युरोपिएन एनजीओको लगानी आइरहने कुरा अनौठो होइन ।

ती एनजीओले सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र सांसदहरूलाईसमेत आकर्षक भत्तासहित देश-विदेश घुमाउने कुरा पनि पुरानै भइसकेको छ । सुविधासम्पन्न होटलमा हुने गोष्ठीमा पनि एनजीओकै लगानी हुने गरेको छ ।

तर आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको खाजाको प्रायोजनसमेत एनजीओले गर्न भ्यायो । सभापति खतिवडा व्यक्तिगत तहमा हरेकसँग सम्बन्ध बनाउन माहिर मानिन्छ । उनको यही कला आइतबारको बैठकमा भने उनैलाई घाँडो सावित भयो ।

बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल ’ गर्ने एजेन्डा थियो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत उपस्थित बैठकका सहभागीलाई खाजा प्रायोजना गर्ने संस्था थियो, जनसंख्या र विकाससम्बन्धी विषयमा काम गर्दै आएको एलएक्सपिटीडी नामको संस्था ।

खाजाको प्याकेटमा चना, फलफूल, जाम-पाउरोटी, अण्डा, आलु आदि राखिएको बैठकमा सहभागी एकजना सांसदले बताएका छन् ।

बैठकमा खाजाको विशेष व्यवस्था गरिएकोबारेमा समिति सभापति खतिवडालाई कांग्रेसकै सांसद हृदयराम थानीले प्रश्न गरेका थिए । खतिवडाले हल्काफुल्का रुपमा लिँदै कतैबाट व्यवस्थापन गरिएको जवाफ दिएपछि थानीले यसलाई ठट्टाको विषय नबनाउन भनेका थिए ।

थानीले समितिको बैठकमा यस्तो महंगो खाजाको व्यवस्था कहिलेबाट भएको हो भनेर प्रश्न गरे। यसअघि कहिल्यै नदेखेको खाजा आएको भन्दै उनले यसबारे प्रष्ट जवाफ दिन सभापति खतिवडालाई भने ।

एउटा समितिले यति महंगो खाजा खुवाउन थालेपछि अरु समितिमा पनि दबाब पर्ने भन्दै थानीले धान्न नसकिने यस्ता अभ्यासलाई अघि बढाउन उचित नहुनेमा जोड दिएका थिए ।

थानीसँगै कांग्रेसका अन्य सांसदहरू सरिता प्रसाई र ईश्वरी न्यौपानेले पनि खतिवडालाई खाजाका विषयमा घेरे । उता राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले पनि खाजाबारेमा गम्भीर प्रश्न उठाउँदै स्पष्ट जवाफ चाहिएको धारणा राखिन् ।

उता गृहमन्त्री लामिछानेले पनि खाजामा विशेष व्यवस्था भएको देखेँ भन्दै सभापति खतिवडालाई सोधे । खतिवडाले संसद्भित्रैको कुरा भएको बताउँदै आन्तरिक ढंगले व्यवस्थापन गरिएको जवाफ फर्काए । त्यसपछि खाजा खानका लागि उनले आग्रह गरे । तर सांसदहरू चुप बसेनन्, उनीहरूले सभापति खतिवडाबाट सबै कुरा बुझेपछि बैठक नै बहिष्कार गरिदिए ।

खाजाको विषयमा समिति सभापति खतिवडाले चित्त बुझ्दो जवाफ दिन सकेनन् वा चाहेनन् । त्यसपछि राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरज दुराले खाजा एनजीओले प्रायोजन गरिदिएको खुलाए ।

बिहानै भएको बैठकमा एनजीओबाट खाजा प्रायोजन भएको थाहा पाएपछि गृहमन्त्री लामिछाने र समितिका सदस्य सांसदहरू बैठक बहिष्कार गरेर हिँडेका हुन् ।

एनजीओलाई प्रायोजक बनाउने आफ्नो निर्णय सभापति खतिवडालाई गलपासो बन्यो । त्यपछि उनले समितिको बैठक नै स्थगित गरिदिएका छन् ।

यो बैठकमा गृहमन्त्री लामिछानेसँग छलफल गर्ने तालिका थियो । बिहान ७ बजे सांसदहरू बैठक हलमा छिर्नुअघि नै महँगो दरको खाजा उनीहरूको टेबलमा आकर्षक प्याकिङसहित राखिसकिएको थियो ।

तर उक्त खाजा देखेपछि सांसदहरूले खासखुस गरे। त्यसपछि उनीहरूले मंहगो मूल्यको यस्तो खाजा आजसम्म नआएको हुनाले सोधीखोजी गर्नु स्वभाविक पनि थियो ।

उक्त बैठकमा खाजा मात्रै थिएन, उक्त एनजीओका पदाधिकारी पनि पनि उपस्थित थिए । बैठकमा राज्यको कानुन निर्माण जस्तो गम्भीर विषयमा छलफल गर्ने ठाउँमा एनजीओको खाजा खानु गलत हुने बताउँदै गृहमन्त्री लामिछाने हल छाडेर हिँडे ।

गृहमन्त्री लामिछानेले एनजीओको खाजा खाएर बैठक गर्न‍ नमिल्ने भन्दै समितिका सभापति रामहरि खतिवडालाई प्रश्न पनि गरे । प्रश्न गरेर लामिछाने बाहिरिएसँगै अन्य सदस्य पनि क्रमश: हिँडे । त्यसपछि सभापति खतिवडाले बैठक स्थगित गरिदिए ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  १ : ४५ बजे

विद्यार्थी कम भएपछि पाँच सामुदायिक विद्यालय समायोजन

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ ।

विश्वस्तरीय आँखा स्वास्थ्यसम्बन्धी ‘डिजिटल’ तालिम 

काठमाडौं– उपचारपछि निको हुने अन्धोपना निवारण गर्न आँखा स्वास्थ्यसम्बन्धी विश्वस्तरीय

बजेटमा अदालतको अवहेलनासम्बन्धी रिटको पेसी आज 

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमा अदालतको अवहेलना सम्बन्धी

जसपा कर्णाली अध्यक्षसहितका नेता माओवादीमा प्रवेश

काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) कर्णाली प्रदेशका

रासायनिक विषादीको विकल्प सिकाउँदै कृषि ज्ञान केन्द्र

तनहुँ– कृषि ज्ञान केन्द्रले खाद्यवस्तु, तरकारी तथा फलफूल उत्पादनमा विषादी