काठमाडौं – केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ले आज (आइतबार) ५१ दिन मनायो ।
यस सुखद अवसरमा यसका लेखक, निर्देशक एव् कलाकार सुलक्षण भारीतले खुसी साट्नुभन्दा बढी तितो पोखेका छन् ।
भारतीले सामाजिक सञ्जाल फेसबुकमार्फत् निर्माता पक्षलाई १३ प्रश्न गरेका छन् । यी प्रश्नको मूल सार आफूलाई सर्जकका रुपमा खडा गराउन निर्माता पक्ष असमर्थ रहेको भन्ने बुझिन्छ ।
भारतीले फिल्म आफ्नो कृति भएको स्मरण गराउँदै लेखक, निर्देशक र अभिनय प्रशिक्षकका रुपमा सार्वजनिक कार्यक्रममा सहभागी नगराएकामा निर्माता टिमसँग असन्तुष्टि जनाएका छन् । उनले निर्माताहरूलाई प्रश्न गरेका छन्, ‘यो बौद्धिक चोरी भनेको के हो ?’
उनले उक्त स्ट्याट्स चार जनालाई ट्याग गरेका छन्, जसमा निर्माताहरू छैनन् । तर, कसैप्रतिको आक्षेप होइन भनी उनले उठाएको प्रश्न केकी अधिकारीप्रति लक्षित देखिन्छ ।
किनभने यो फिल्म केकी अधिकारीको ब्यानरमा बनेको हो । यसका निर्माता केकी र उनका बुबा बद्री अधिकारी हुन् । केकीले यसअघि खबरहबसँगको कुराकानीमा भनेकी थिइन्, ‘निर्माणका क्रममा खर्चको आकार बढेपछि बुबा निर्माताका रुपमा भित्रनु भएको हो ।’ यस फिल्मको सार्वजनिक कार्यक्रममा निर्माण पक्षबाट केकी नै हाबी छिन् ।
निर्माता पक्षसँगबाट कामको उचित मूल्यांकन नगरेकामा भारती असन्तुष्ट रहेको उनले उठाएको प्रश्नबाट बुझ्न सकिन्छ ।
उनले स्ट्यासमा ‘काम गर्ने कालु, माम खाने आफू’ उखान समेटेका छन् । यसको अर्थ आफ्नो मिहिनेतको फल निर्माताले पक्षले लिएको भन्ने बुझिन्छ ।
भारतीको स्ट्याट्स :
मलाई जुन माया दर्शकहरूले दिनुभयो, त्यसका लागि हार्दिक आभार व्यक्त गर्न चाहान्छु । तपाईंहरुको मायाले आज चलचित्र ‘बोक्सीको घर’ले ५१ दिन मनाउन सफल भएको छ ।
यस चलचित्र मुख्य कलाकार, लेखक, निर्देशक तथा अभिनय प्रशिक्षकको भुमिकामा म सुलक्षण भारतीले काम गरेको छु ।
यहाँ आफ्नो लागि आफैँले बोल्नु पर्ने रहेछ र लड्नु पर्ने रहेछ ।
यी मेरा प्रश्नहरू हुन्, कसैप्रति आक्षेप भने होइन ।
प्रश्न गर्न पाउनु मानिसको नैसर्गिक अधिकार पनि हो ।
यो ५१ दिनमा मैले गरेको अनुभवबाट उब्जिएका मेरा केही प्रश्नहरू हुन् ।
‘काम गर्ने कालु माम खाने भालु’ के यो उखानले सार्थकता राख्छ र ?
यो नितान्त मेरो कृति हो, निर्माता पक्षले यसमा ध्यान नदिनुले के प्रश्न खडा गर्छ ?
‘बोक्सीको घर’को कुनै पनि कार्यक्रम भएको ठाउँमा लेखक र निर्देशकको उपस्थिति नहुनु र वास्ता नगरिनुले के सार्थकता राख्छ ?
म सर्जक भएर हेर्दा आफ्नो मृत्यु भएको अनुभव गरेको छु, के यो अनुभव स्वभाविक हो ?
जस्ले जे काम गरेको छ, त्यसको उचित मूल्याङ्कन हुन पनि जरुरी छ वा छैन ?
लेखक–निर्देशक आर्थिक तथा सामाजिक रुपमा कमजोर छ भन्दैमा उसलाई बेवास्ता गर्नु न्यायोचित होला र ?
के लेखक तथा निर्देशकलाई यसरी बेवास्ता गर्न मिल्छ र ?
बौद्धिक चोरी भनेको के हो ?
‘बोक्सीको घर’ आखिरमा कसले बनाएको चलचित्र हो ?
अब फेरि जीवनमा म जस्ताले चलचित्र किन र के का लागि बनाउने ?
दर्शक र सर्जकबीचको पुल भनेको अहिलेको समयमा सञ्चारमाध्यम हो । यस विषयमा कसले ध्यान दिने ?
एउटा सर्जक र उसको कामको मूल्याङ्कन के आवश्यकताको बिषय होइन र ?
‘हिपोक्रेसी अन इट्स टप ?’
प्रतिक्रिया