सहकारीको एक अर्ब ठगीमा पक्राउ तेजबिक्रम टेलिभिजनदेखि अस्पतालसम्मका मालिक | Khabarhub Khabarhub

सहकारीको एक अर्ब ठगीमा पक्राउ तेजबिक्रम टेलिभिजनदेखि अस्पतालसम्मका मालिक

एकसाथ १० संस्थाको अध्यक्ष थिए, श्रीमती पनि मतियार !


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


16.1k
Shares
  • change font
  • change font
  • change font

ललितपुर- सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठित संसदीय छानबिन समितिको कार्यादेशमा समेटिएका सहकारीमध्ये एउटा हो ललितपुरको कुमारीपाटीस्थित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था ।

जुन सहकारीबाट आफूहरूको करिब एक अर्ब रुपैयाँ ठगी भएको भन्दै ५६६ जना बचतकर्ताले प्रहरीका विभिन्न इकाइमा उजुरी दिएका थिए ।

दुई हजार भन्दा बढी बचतकर्ताको उजुरीका आधारमा छानबिनका क्रममा उक्त सहकारीका सञ्चालकहरूले २ अर्ब ८० करोड निक्षेप रहेको यस सहकारीबाट ९४ करोड २३ लाख ४२ हजार हिनामिना गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

नेकपा एमालेका सांसद सूर्यबहादुर थापा संयोजक रहेको संसदीय छानबिन समितिको समेत दायरामा आएको यो सहकारीका अध्यक्ष थिए तेजबिक्रम थापा ।

यो सहकारीलाई २०८० मै समस्याग्रस्त सूचीमा राखिएको थियो । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत माघमा यसलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी प्रक्रिया अघि बढाएको थियो ।

समस्याग्रस्त घोषित भएपछि सहकारी व्यवस्थापन समितिको कार्यालयमा २ हजार ५३१ जना बचकर्ताले २ अर्ब ८२ करोड २७ लाख ८८ हजार रुपैयाँ मागदाबीसहित निवेदन दिएका थिए ।

उपत्यका अपराधन कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार यो सहकारीमा थापाले २०५६ मा इन्ट्री गरेका थिए ।

२०५६ सालमा तेजबिक्रम यो सहकारीमा लेखा प्रमुख र संस्थापक सदस्यका रुपमा प्रवेश गरेका थिए ।

संसदीय समितिको कार्यदेशको अनुसूची १ मा थापा नेतृत्वको यो सहकारीसहित २० वटाको नाम छ । जहाँ समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका सहकारीलाई समावेश गरिएको छ ।

१७ वर्षकै उमेरमा लेखा प्रमुख र संस्थापक सदस्यका रुपमा प्रवेश गरेका थापा यो सहकारीमा २०६० सालदेखि २२ वर्षसम्म निरन्तर अध्यक्षका रुपमा रहेका छन् ।

२२ वर्षसम्म लगातार अध्यक्ष रहेका थापाकै कार्यकालमा झन्डै ६ सय जना बचतकर्ताको करिब एक अर्ब रुपैयाँ डुबाइएकोछ । यो सहकारी संस्थाको बचत हिनामिना आरोपमा अध्यक्ष थापासहित पक्राउ परेका चारजनालाई अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको छ । अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गर्दा अध्यक्ष थापासहित चारै अभियुक्तको हातमा हतकडी थियो ।

अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष थापा, व्यवस्थापक सजना राजकर्णिकार तथा सदस्यहरू भीमसेन महर्जन र सञ्जय सापकोटालाई सार्वजनिक गरेको थियो । व्यवस्थापकका रुपमा रहेकी सजना भने तेजबिक्रमकै श्रीमती हुन् ।

यो बहुउद्धेश्यीय सहकारीमा २ अर्ब ८० करोड रुपैयाँ निक्षेप थियो । जसमध्ये ९४ करोड २३ लाख ४२ हजार ठगी भएको पत्ता लागेको एसपी जिसीले बताए ।

रकम अपचलन भएको निष्कर्षसहित सहकारी विभागले यसबारे अनुसन्धान अघि बढाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई २०८० असोजमै पत्र पठाएको थियो ।

त्यसपछि अनुसन्धान अघि बढाएर अध्यक्ष थापासहित १३ जनाविरुद्ध २०८० पुस १९ गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । ती १३ मध्ये अध्यक्ष थापा उनकी श्रीमतीसहित चारजना समातिएका हुन् ।

अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउपुर्जी जारी भएकामध्ये एकजनाको यसअघि नै मृत्यु भएको छ । पुर्जी जारी भएका अर्का व्यक्ति बिरामी परेर उपचारमा छन् । तर बाँकी भने फरार छन् ।

एकसाथ १० संस्थाका अध्यक्ष तेजबिक्रम

तेजबिक्रम उमेरले ४३ वर्षका भएका छन् । तनहुँको व्यास नगरपालिका-११ का स्थायी बासिन्दा उनी काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७ मा बस्दै आएका थिए । तर उनले सहकारी भने ललितपुरको कुमारीपाटीमा खोलेका थिए ।

सहकारीको संस्थापक सदस्यका रुपमा छिरेका उनले ४३ वर्षको उमेरमा एकपछि अनेक संस्थाको नेतृत्व हाँके ।

त्यसक्रममा उनले यही सहकारीको पैसा अन्य संस्थामा लगानी गरेका थिए। दुईवटा टेलिभिजनदेखि अस्पतालसम्ममा सहकारीबाट अपचलन गरेको पैसा लगानी गरेको खुलेको छ ।

कृषि र गोर्खा टेलिभिजन तथा लोकन्थलीको समिट अस्पतालमासमेत थापाले उक्त सहकारीबाटै हिनामिना गरेको करोडौँ बचत रकम लगानी गरेको तथ्य प्रहरीले फेला पारेको छ ।

उनी सहकारी मात्रै होइन, अस्पतालदेखि टेलिभिजनको अध्यक्षसमेत बने । उनी भक्तपुरको लोकन्थलीमा रहेको समिट अस्पतालको अध्यक्षका रुपमा २०६६ देखि रहेको एसपी जिसीले बताए ।

उनै तेजबिक्रम टेलिभिजन च्यानलका पनि अध्यक्ष थिए । उनी २०७१ सालदेखि कृषि टेलिभिजनको संस्थापक अध्यक्ष रहेको पनि प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । पक्राउ पर्दासमेत उनीसँग टेलिभिजनकै परिचयपत्र थियो ।

त्यसैगरी तेजबिक्रम २०७३ सालदेखि गोरखा टेलिभिजन (साझा संसार मिडिया नेटवर्क)को संस्थापक अध्यक्ष पनि बनेका थिए । २०७४ सालदेखि यति हर्ब्स प्रालिका अध्यक्ष पनि उनै तेजबिक्रम थिए ।

थापाविरुद्ध यसअघि नै बैंकिङ कसूरमा मुद्दा चलिसकेको विवरण पनि भेट्टिएको छ । उनीविरुद्ध २०७९ चैतमा जिल्ला प्रहरी परिसर काठमाडौंमा २६ लाख ६६ हजार रुपैयाँको बैंकिङ कसुर मुद्दा अघि बढेको थियो ।

त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंमै थापाविरुद्ध २०८० वैशाखमा २६ लाख ६६ हजारकै अर्को बैंकिङ कसूर मुद्दा पनि परेको थियो । त्यसैगरी अरु तीनवटा बैंकिङ कसूरका मुद्दामा पनि थापा अभियुक्तका रुपमा रहेका छन् ।

तेजबिक्रमले नेतृत्व गरेका संस्था

२०५६ सालदेखि १७ वर्षको उमेरमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको लेखा प्रमुख र र संस्थापक सदस्य ।
२०६० सालदेखि निरन्तर कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको कार्यकारी अध्यक्ष ।
२०६६ सालदेखि समिट अस्पताल, लोकन्थली, भक्तपुरको अध्यक्ष ।
२०७० सालदेखि अन्नपूर्ण किसान फिड एन्ड फर्टिलाइजेशन उद्योगको अध्यक्ष ।
२०७१ सालदेखि कृषि टेलिभिजनको संस्थापक अध्यक्ष ।
२०७३ सालदेखि गोरखा टेलिभिजन (साझा संसार मिडिया नेटवर्क)को संस्थापक अध्यक्ष ।
२०७४ सालदेखि यति हर्ब्स प्रालिको अध्यक्ष ।
२०७१ सालदेखि इन्टेन्सिभ मल्टिप्रपोज एग्रिकल्चर कम्पनि प्रालि ललितपुरका अध्यक्ष ।
२०६६ सालदेखि कृषि इन्भेष्टमेन्ट प्रालि ललितपुरका अध्यक्ष ।
२०७० सालदेखि कृषि फ्रेस प्रालि (जसको काठमाडौं उपत्यकाका १४ स्थानमा मार्ट/बिक्री केन्द्र छ) को अध्यक्ष ।
२०७६ सालदेखि यति टेक्निकल प्रालिको संस्थापक अध्यक्ष ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ६ : ४४ बजे

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युरोकप २०२४ : अष्ट्रिया अन्तिम १६ मा

काठमाडौं– युरोकप फुटबलमा अष्ट्रिया प्रि–क्वार्टरफाइनल (अन्तिम १६) मा प्रवेश गरेको

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असार १२ गते बुधबार सन्

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असार १२ गते बुधबार तदनुसार

आज २०८१ साल असार १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार १२ गते बुधबार तदनुसार