बेलबारीको जंगलभित्र बेवारिस भेटिए वृद्ध, छोराबुहारीले छोडेर हिँडेको आशंका | Khabarhub Khabarhub

बेलबारीको जंगलभित्र बेवारिस भेटिए वृद्ध, छोराबुहारीले छोडेर हिँडेको आशंका

जेठा छोराबुहारी गायब भएपछि खोज्दै प्रहरी


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


17.9k
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको बेलबारीस्थित घना जंगलबीचमा मंगलबार एकजना वृद्ध भेटिएका छन् । उमेरले ७० काटिसकेका ती ७० वर्षीय वृद्धलाई हात्ती ओहोरदोहोर गर्ने जंगलबीचबाट उद्धार गरिएको हो ।

मोरङको सुन्दरहरैँचा नगरपालिका-१ निवासी ती ७० वर्षीय वृद्धले मागेर गुजारा चलाउने गरेका थिए । जामुनलाल झागड बताउने ती वृद्धलाई उनका छोराबुहारीले बेलबारी-चिसाङ साझेदारी वन क्षेत्रको जंगलमा छाडेको आशंका स्थानीयले गरेका छन् ।

बेलबारीस्थित जनप्रतिनिधिहरूका अनुसार उनलाई जेठा छोराबुहारीले चार दिनअघि उक्त जंगलमा लगेर छाडेको बताएका छन् ।

जंगलको बीचमा छाडिएका उनलाई हात्तीको निगरानी गर्न पुगेको उक्त वनको गस्टी टोलीले भेट्टाएको थियो । बोल्न नसक्ने अवस्थाका उनलाई मंगलबार नै उद्धार गरेर बेलबारीको नगर अस्पतालमा भर्ना गरिएको वडा नम्बर ७ की अध्यक्ष सुनिता चौधरीले खबरहबलाई बताइन् ।

‘उहाँको घर बेलबारी होइन, मोरङकै सुन्दरहरैंचा नगरपालिका-१ रहेछ । उहाँ सुन्दरहरैंचामा जेठा छोराबुहारीसँग बस्नु हुँदो रहेछ । तर अधिकांश समय घरबाहिरै डुल्ने बानी रहेछ’, उनले भनिन् ‘उहाँलाई उद्धार गरिएको छ । बोल्न नसकेकाले थप कुरा खुल्न सकेको छैन । तर राम्ररी हिँडडुल गर्न मुस्किल पर्ने वृद्ध घना जंगलबीचमा कसरी पुग्नु भयो भन्ने शंकास्पद छ ।’

यो घटना बेलबारीस्थित चिसाङ साझेदारी वनका अध्यक्ष दिनेश गिरीले बाहिर ल्याएका हुन् । उनले यी वृद्धको फोटोसहितको विवरण सामाजिक सञ्जालमा राखेका छन् ।

गिरीले भने झागडलाई उनका छोराबुहारीले नै जंगलको बीचमा लगेर छाडेको दाबी गरेका छन् ।

‘यी वृद्धलाई उनका छोराबुहारीले बाइक (मोटरसाइकल) मा हाली बेलबारी-चिसाङ साझेदारी बनको इलाका बीच जंगलमा ४ दिनदेखि फ्याँकेको खुलेको छ’, उनले भनेका छन्, ‘उनलाई बेलबारी-चिसाङ साझेदारीको गस्ती टोलीले भेटेर सब-डिभिजन वन कार्यालयबाट गणेश कार्की, राजेन्द्र घिमिरे, बेलबारी-चिसाङ साझेदारीको कमान्डर मुररी काफ्ले लगायतले उद्धार गरेपछि उपचार भइरहेको छ ।’

अहिले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको छ। गिरीले उक्त जंगलको बीचमा एक्लै जोकोही पुग्न नसक्ने बताए । ‘जंगलबीचमा लगेर छाडिएको रहेछ। जोकोही पुग्नै नसक्ने स्थानमा वृद्ध भेटिनु भयो’, उनले भने, ‘वनको गस्ती टोलीले हात्तीको निगरानी गर्न जाँदा उहाँलाई बीच जंगलमा देखे । सोधखोजपछि छोराबुहारीले त्यहाँ छाडेको खुलेको छ ।’

गिरीका अनुसार गस्ती टोलीसँग छोराबुहारीले जंगलमा ल्याएर छाडेको बताएका हुन्। गिरीले उनलाई जंगलमा बाइकबाट ल्याएर छाडेको पुष्टि हुने आधार रहेका बताए ।

‘जंगलमै लगेर छाडेको कुरामा सत्यता छ । गस्ती टोलीले मोटरसाइकलको डोब जंगलतिर देखेका छन्’, उनले भनेका छन्, ‘उहाँलाई हामीले जंगलबाट निकालेपछि अस्पताल भर्ना गरिसकेका छौँ ।’

बेलबारी-७ की अध्यक्ष चौधरीले ती वृद्ध करिब साताअघि सुन्दर हरैंचाबाट बेलबारी आएको पुष्टि गरिन् । ‘उहाँ साताअघि पनि सुन्दरहरैंचाबाट बेलबारी आउनु भएको थियो । केही दिअघि मात्रै उहाँलाई नातिनीले घर जाऊँ भनेकी रहेछन्’, उनले भनिन्, ‘उहाँ जंगलमा कसरी पुग्नु भयो भन्ने ठोस आधार खोज्दैछौँ । बोल्न नसकेका कारण उहाँले पनि सबै कुरा भन्न सक्नु भएको छैन। अहिले उहाँका परिवार र नातागोता खोजिरहेका छौँ ।’

चौधरीका अनुसार यी वृद्धका दुई भाइ छोरा छन् । जसमध्ये कान्छा भारतको पञ्जाबमा बस्दै आएका छन् । बुवा जंगलमा वेवारिस भेटिएपछि उनलाई बोलाइसकिएको चौधरीले बताइन्। उनी भारतबाट हिँडिसकेको उनले जानकारी दिइन् ।

तर बुवालाई जंगलमा फ्याँकेको आरोप लागेका जेठा छोरा भने गायब भएका छन् । बेलाबारीस्थित प्रहरीले सुन्दरहरैँचास्थित प्रहरीसँगको समन्वयमा जेठा छोराबुहारीको खोजी गरिरहे पनि भेट्टाएको छैन ।

‘वृद्धलाई जंगलमा छाडेको आरोप लागेका जेठा छोराबुहारीलाई मंगलबार दिनभर खोजी गर्दा पनि भेटिएका छैनन्। त्यहीकारण उनीहरूकै संलग्नताको आशंका बलियो भएको छ,’ उनले भनिन्, ‘भारतमा भएका छोरा सम्पर्कमा आइसके तर यहाँ भएका जेठा छोराबुहारी गायब भएकाले घटना रहस्यमय भएको छ। उनीहरू सम्पर्कमा आएपछि यसबारे विस्तृत विवरण खुल्न सक्छ ।’

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ७ : १६ बजे

अमेरिकामा डोनाल्ड ट्रम्प विजयी भएको औपचारिक घोषणा

वासिङ्टन- अमेरिकामा रिपब्लिकन उम्देवार डोनाल्ड ट्रम्पको जितको औपचारिक घोषणा भएको

कोशीका दर्जन सहकारीद्वारा बचतकर्ताको एक अर्बभन्दा बढी अपचलन

काठमाडौं- कोशी प्रदेशका एक दर्जन बढी सहकारीहरूले बचतकर्ताको एक अर्बभन्दा

रास्वपाले बिहीबारबाट उपनिर्वाचनका उम्मेदवार छान्न थाल्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि (बिहीबार) देखी स्थानीय तहको उपनिर्वाचन

भरुवा बन्दुकसहित एक जना पक्राउ

 कैलाली– कैलालीको गोदावरी नगरपालिका-४ तखरे गाउँ बस्ने ६५ वर्षीय लाल

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : बेनीमा सात जना सडकापेक्षीको उद्धार

म्याग्दी– मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान टोलीले