रूपन्देही – रूपन्देहीको मायादेवी गाउँपालिका–७ का १४८ सुकुम्बासी परिवारले १३ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् ।
साविक हाटीबगाई गाविस–६ मा बसोबास गर्दै आएका उनीहरूको जग्गाको नापजाँच विसं २०७० मा सम्पन्न भएको थियो । नापजाँच र नक्साङ्कनको काम सकिए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा प्रमाणपुर्जा वितरण हुन सकेको थिएन ।
लामो समयदेखि रोकिएको प्रक्रिया पूरा भएपछि गाउँपालिकाले १४८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो । गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले लाभग्राही परिवारलाई प्रमाणपुर्जा वितरण गरेका हुन् । जिल्ला नापी कार्यालय रूपन्देहीका अनुसार आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई प्रमाणपुर्जा उपलब्ध गराइएको हो ।
प्रमाणपुर्जा प्राप्त भएसँगै ती परिवारको जग्गामाथिको कानुनी स्वामित्व स्थापित भएको छ । यसबाट जग्गाको स्वामित्वसम्बन्धी कानुनी पहिचान सुनिश्चित हुनुका साथै सम्पत्तिको सुरक्षा र उपयोगमा सहज हुने अपेक्षा गरिएको छ ।

















प्रतिक्रिया