भारत- जहाँ दलितले चिहान पनि पाउँदैनन्… « Khabarhub

भारत- जहाँ दलितले चिहान पनि पाउँदैनन्…


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ‘हामी आफ्नी हजुरआमाको शव लिएर श्मशान पुग्नासाथ केही मानिसहरू लठ्ठी लिएर मलाई कुट्न आए । हामीलाई त्यहाँ आफ्ना आफन्तको अन्तिम स‌ंस्कार गर्न छुट नभएको उनीहरूले बताए । गाउँको सार्वजनिक श्मशानमा प्रवेश गर्न समेत दिइँदैन । आफ्नै जमिनमा शव जलाउने अनुमति पनि छैन । अब हामी कहाँ जाने ?’

२१ वर्षीय माउली साबले हतास हुँदै यो सवाल सोध्छन्‌ । यो समस्या माउली साबलेको मात्रै होइन ।

महाराष्ट्रको बीड जिल्लास्थित पालवनमा बसोबास गर्ने दलित परिवारलाई केही वर्षयता आफ्ना परिवार र छिमेकीको मृत्युपश्चात्‌ शव कहाँ अन्त्येष्टि गर्ने भन्ने चिन्ताले पिरोलिरहेको छ ।

सन्‌ २०११ को जनगणनाअनुसार भारतमा दलितको जनसङ्ख्या २० करोड १३ लाख थियो । जुनस भारतमा कुल जनङ्ख्याको १६.६ प्रतिशत हो ।

भारतको स‌ंविधानले दलितमाथि कुनै पनि भेदभाव प्रतिबन्धित गरेको छ । संविधानमै यस्तो व्यवस्था भए पनि त्यहाँका लाखौं दलितहरूले जीवनमा कैयन पटक जातिगत भेदभाव झेल्नुपर्छ । कतिपटक त यस्तो भेदभाव दलितहरूले मृत्युपश्चात पनि भोगिरहनुपर्छ ।

दलितमाथि भेदभाव भइरहेका कयौं खबर अहिले पनि मिडियाहरूमा देख्नुपर्छ । जहाँ कहिले दलित युवक दुलहा भएको जन्तीलाई मुख्य सडकबाट हिँड्न दिइँदैन । कहिले घोडामा बसेकै कारण दलित बेहुलाको हत्या हुन्छ ।

कहिले सार्वजनिक धारामा पानी पिएकै कारण भारतमा दलितहरूमाथि कुटपीट हुन्छ त कहिले गाउँको सार्वजनिक श्मशानमा दलितहरूको शवलाई अन्तिम संस्कार गर्न दिइँदैन ।

यस्तै प्रकारको घटना १३ मे, २०२४ मा पालवनमा घटेको थियो । गाउँका सरपञ्‍च रहेका मालनबाई साबलेको शव अन्तिम संस्कार गर्न दिइएन ।

घटनाबारे मालनबाईका नाती माउली साबलेले भने, ‘त्यो दिन गाउँमा मतदान चलिरहेको थियो । मेरी हजुरआमाको त्यही दिन देहान्त भयो । उहाँको शवलाई श्मशान घाट पुर्‍याउनासाथ माउली म्हस्के, भरत म्हस्के र रुक्मिणी म्हस्केले हामीलाई रोके । हाम्रो जातिलाई इङ्गित गर्दै उनीहरूले त्यहाँ शवदाह गर्न रोके ।

पालवन गाउँको सरकारी रेकर्डअनुसार हरिजन अर्थात्‌ दलित नागरिकहरूका लागि श्मशान घाटको एक हिस्सा छुट्याइएको छ । तर पञ्‍जीकृत स्थान हुँदाहुँदै पनि मालनबाई साबलेको अन्तिम संस्कार गर्नबाट रोकियो ।

महाराष्ट्रका हजारौं गाउँमा सार्वजनिक श्मशान छैन । केही गाउँ यस्ता पनि छन्‌- जहाँ दलित समुदायका परिवारलाई श्मशान प्रवेश गर्न अनुमति छैन ।

पालवनमा बसोबास गर्ने दलित परिवारहरूले दशकौंदेखि दलित श्मशानका रूपमा छुट्याइएको जमिनमा आफन्तको अन्तिम संस्कार गर्ने गरेका थिए । तर, पछिल्ला केही वर्षदेखि यस्तो जमिनमा पनि दलितहरूलाई अन्तिम संस्कार गर्न रोक लगाउने काम भइरहेको छ ।

माउली भन्छन्‌, ‘हाम्रो गाउँमा एउटा सार्वजनिक श्मशान छ । हामीलाई त्यहाँ आफन्तको शव जलाउने अनुमति छैन । त्यसैले हामीले शवलाई आफ्नो जमिनमा लग्यौं । त्यही जमिनमा मेरा पूर्वजहरूको अन्त्येष्टी गरिएको थियो । तर, अहिले त्यहाँ हामीले शव जलाउन नै पाउँदैनौं । अब हामीले आफन्तको शव कहाँ लगेर अन्तेष्टि गर्ने ?’

मालनबाई साबलेको अन्तिम संस्कार विरोधबीच बल्लतल्ल गरिएको थियो । जुन स्थानमा विवाद भएको थियोः त्यहाँ २०औं शताब्दीको चिहान छ । दलित पूर्वजहरूले त्यहाँ आफूहरूका लागि ६०० वर्गमिटर जमिन रहेको बताएका थिए । तर, अब सरकारी डिजिटल रेकर्डमा जम्मा २०० मिटर जमिनमात्रै देखिन्छ ।

आफूहरूको घाट र त्यहाँ आवतजावत गर्ने सडक मासेर अन्य समुदायका लागि एक सार्वजनिक शवदाह गृह बनाइएको, तर आफूहरूलाई त्यहाँ जान रोक लगाइएको दलित नागरिकहरू बताउँछन्‌ ।

दलितहरूले प्रयोग गर्दै आएको श्मशान अतिक्रमण गरेपछि बीडका अतिरिक्त जिल्ला मजिष्ट्रेट शिवकुमार स्वामीले तहसीलदार र खण्ड विकास अधिकारीविरुद्ध अनुसन्धान र कारबाही गर्न आदेश दिएका थिए । तहसीलदार सुहास हजारेले मूल रेकर्डअनुसार पालवनमा दलितलाई श्मशानका लागि कति जग्गा छ भनी जाँच गर्ने तथा दलित परिवारलाई न्याय गर्ने जनाएका थिए ।

तर, साबले परिवारका सञ्‍जय साबलेले ७ जुनमा आफूले भोक हड्ताल गरेपछि पनि कुनै अधिकारी जमिन नाप्न या सोधपुछ गर्न नआएको बताए ।

माउली साबलेले दायर गरेको उजुरी बमोजिम पालवनका ज्ञानेश्वर उर्फ माउली म्हस्के, भारत म्हस्के र रुक्मिणी म्हस्के विरुद्ध दलित अत्याचार प्रतिबन्ध कानून बमोजिम मुद्दा दर्ता गरिएको छ ।

महाराष्ट्रमा ६७ प्रतिशत गाउँमा दलितहरूले श्मशान नपाउने समस्या बढ्दो छ । त्यहाँका २८ हजार २१ गाउँमध्ये कम्तिमा पनि १८ हजार ९५८ गाउँमा श्मशान घाटको रेकर्ड राजस्व विभागसँगै छैन ।

बाँकी ९ हजार ६२ गाउँमा श्मशान पञ्जीकृत भए पनि त्यसका लागि छुट्याइएको जमिन अतिक्रमण भइसकेको छ । अर्थात्‌, महाराष्ट्रको २८ हजार गाउँमध्ये २० हजार गाउँमा अहिले पनि श्मशान भूमिलाई लिएर विवाद छ ।

(बीबीसी हिन्दीबाट ।)

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ९ : ४५ बजे

मतपत्रसहितका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा पठाइँदै

सुदूरपश्चिम– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज कैलालीका लागि मतपत्रसहितका निर्वाचन

फिल्म ‘लालिमा’को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक

काठमाडौं – फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’

सब इन्जिनियर हत्या घटना : सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध

मलङ्गवा– सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब

२.५ करोड रुपैयाँ बुझाएपछि जेलबाट बाहिरिए अभिनेता राजपाल यादव

काठमाडौं– बलिउडका हास्य कलाकार  राजपाल यादवलाई ठूलो कानुनी राहत मिलेको

इरान-अमेरिका सम्बन्धमा नयाँ पहल, दोस्रो चरणको वार्ता सुरु

जेनेभा– इरानका परराष्ट्रमन्त्री अब्बास अराघची अमेरिकासँग हुने दोस्रो चरणको अप्रत्यक्ष