गठ्ठाघर दुर्घटना : उत्तमले १२ दिनअघि मात्रै माहिली छोरीलाई पठाएका थिए अमेरिका | Khabarhub Khabarhub

गठ्ठाघर दुर्घटना : उत्तमले १२ दिनअघि मात्रै माहिली छोरीलाई पठाएका थिए अमेरिका


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा ज्यान गुमाएका पुरुष ओखलढुंगा घर भई काठमाडौंको बूढानीलकण्ठ-१० कपन निवासी उत्तम कोइराला भएको खुलेको छ ।

बिहीबार दिउँसो गट्ठाघरमा काठमाडौंतर्फबाट जाँदै गरेको बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा ओखलढुंगाका ६५ वर्षीय उत्तम ज्यान गएको थियो ।

भक्तपुर प्रहरी परिसरले मृतकलाई सुरुमा महिला भएको बताए पनि बिहीबार साँझ उनी पुरुष भएको पुष्टि भएको थियो । उत्तमको पुर्ख्यौली घर ओखलढुंगाको चिशंखुगढी-५ रातमाटे रहेको कुरा उनका भतिजा नवराज कोइरालाले खुलाएका छन् ।

बिहीबार कपनबाट भक्तपुरस्थित भतिजाको घर जान्छु भनेर स्कुटी लिएर हिँडेका उनलाई ट्रकले गठ्ठाघरमा ठक्कर दिँदै घिसारेर ज्यान लिएको थियो ।

उत्तम सहिद परिवारका सदस्य रहेको पनि खुलेको छ । उनका नातेदारसमेत रहेका वरिष्ठ पत्रकार हरिहर विरहीले उत्तम सहिद महेश कोइरालाका भाइरहेको पुष्टि गरे ।

महेशको २०३१ सालमा नेपाली कांग्रेसले पञ्चाती शासकविरुद्ध थालेको सशस्त्र आन्दोलनका क्रममा राज्य पक्षबाट ओखलढुंगामै मारिएका थिए ।

कांग्रेसले टिम्मुरबोटे काण्डका रुपमा सम्झिने उक्त घटनालाई नेपाली राजनीतिमा ओखलढुंगा काण्डका रुपमा चिनिन्छ । कोइरालासहित तत्कालीन आन्दोलित १९ जना मुक्ति सेनालाई गुफामा सुतेको अवस्थामा तत्कालीन शासकका सुरक्षाकर्मीले घेरा हालेर हत्या गरेका थिए ।

उत्तमले हाँकेको स्कुटीसँगै उत्तम कोइराला, ओखलढुंगा रातमाटे- ५ लेखिएको सवारी लाइसेन्स र बिलबुके भेटिएको थियो। त्यसपछि प्रहरीले खोजीका क्रममा आफन्तसम्म पुगेको थियो। आफन्तहरूले उत्तमलाई सनाखत गरिसकेका छन् । उनको शव अहिले त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । शव आजै आफन्तको जिम्मा लगाइँदैछ ।

तर उत्तमका आफन्तले दुर्घटनाको छानबिनका लागि समिति नबनेसम्म शव नबुझ्ने बताएका छन् ।

उता स्कुटरलाई ठक्कर दिएका ट्रक चालक सर्लाहीको मलंगवा नगरपालिका-२ बस्ने ३२ वर्षीय मलङ सतेन्द्र श्रेष्ठलाई पक्राउ गरेर बानेश्वर वृत्तमा राखिएको छ ।

१२ दिनअघि गरेका थिए छोरीलाई बिदाइ

उत्तमका तीन छोरी रहेको खुलेको छ । पुर्ख्यौली घर ओखलढुंगा भए पनि करिब २० वर्षदेखि काठमाडौंमै बस्दै आएका उत्तमकी जेठी अस्ट्रेलिया छिन् । कान्छी छोरी भने उनीसँगै बसेर काठमाडौंमा पढिरहेकी थिइन् ।

उत्तमले माहिली छोरी आस्थालाई पनि गत साउन २१ गते राति अमेरिकाका लागि बिदाइ गरेका थिए । उनी आफैं त्रिभुवन विमानस्थल पुगेर माहिली छोरी आस्थालाई पढ्नका लागि बिदाइ गरेका थिए ।

माहिली छोरी आस्थालाई एलएलएम अध्ययनका लागि अमेरिकाको क्यान्सस पठाएको १२ दिन नबित्दै उनले नेपालमा ज्यान गुमाएका छन् ।

तीनैजना छोरीहरू देशबाहिर रहेपछि अहिले उत्तमको शव बुझ्न ओखलढुंगाबाट उनका भतिजा नवराजसहितका आफन्त आउँदैछन् । तर छोरीहरू विदेशबाट नआएसम्म शव बुझेर दाहसंस्कार नगर्ने पक्षमा उनका आफन्तहरू देखिएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  २ : २१ बजे

विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुको बैठक

फैलिँदो निराशा : एक वर्षमा झण्डै ७० हजार नेपालीले सधैँका लागि छाडे देश

काठमाडौं– वर्षेनी रोजीरोटी र सुरक्षित जीवनको खोजीमा लाखौँ नेपालीले देश

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

बुटवल– लुम्बिनी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

विपक्षी दलहरुको बैठक सिंहदरबारमा बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ ।

इन्जुरी समयको गोलले चेल्सीलाई एक अङ्क

काठमाडौं – चोटबाट फर्किएर मैदानमा उत्रेका कप्तान रिस जेम्सले इन्जुरी