समाचार

प्रधानन्यायाधीशमा प्रकाशमानसिंंह राउत सिफारिस

By खबरहब

September 16, 2024

काठमाडौं– संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंंह राउतलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । 

बैठकमा सहभागी परिषद् सदस्य तथा उपसभामुख इन्दिरा रानामागरले वरिष्ठताका आधारमा सर्वोच्चको प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरिएको बताइन् ।

‘हामीले बैठकबाट प्रधानन्यायाधीशमा प्रकाशमानसिंंह राउतको नाम सिफारिस गरेका छौँ,’ उनले खबरहबसँग भनिन्, ‘सिनियारिटीको हिसाबबाट उहाँ सिफारिसमा पर्नुभएको हो ।’

६५ वर्षे उमेर हदका कारण सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १९ मा अवकाशमा जाँदैछन् । सर्वोच्चका न्यायाधीशहरूको वरिष्ठतामा न्यायाधीश राउत अगाडि थिए ।

त्यसपछि क्रमशः सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चुडाल,  नहकुल सुवेदीको नाम परिषद्मा पठाइएको थियो ।