अर्थसंक्षेप : सहकारीमा नक्कली ऋणीहरू खडा, शेयर बजार २५०० विन्दुमा झर्‍यो  | Khabarhub Khabarhub

अर्थसंक्षेप : सहकारीमा नक्कली ऋणीहरू खडा, शेयर बजार २५०० विन्दुमा झर्‍यो 


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी समस्याको समाधान गर्न बनेको छानबिन समितिले  सहकारी संस्थाहरूबाट निजी कम्पनीमा लगानी गर्न वा रकम प्रवाह गर्न मिल्ने कानूनी व्यवस्था नभएकाले कानून  विपरीतका सहकारीलाई रोक लगाउनुपर्ने निष्कर्ष निकालेको छ । यता, स्वदेशी विद्युतीय ऊर्जाको खपत बढाइ वातावरण सन्तुलित बनाउनका लागि सुदूरपश्चिम प्रदेशका छ जिल्लामा चार हजार इन्डक्सन चुलो अनुदानमा उपलब्ध गराइने भएको छ ।

हेर्नुहोस आजका प्रमुख आर्थिक समाचार  :

सहकारीमा नक्कली ऋणीहरू खडा, चुक्ता ऋणको लगत कट्टा नगर्ने समस्या 

सहकारी समस्याको समाधान गर्न बनेको छानबिन समितिले  सहकारी संस्थाहरूबाट निजी कम्पनीमा लगानी गर्न वा रकम प्रवाह गर्न मिल्ने कानूनी व्यवस्था नभएकाले कानून  विपरीतका सहकारीलाई रोक लगाउनुपर्ने निष्कर्ष निकालेको छ ।

समितिले सोमबार ९ पृष्ठ लामो प्रतिवेदन सरकारलाई बुझाउँदै सहकारीलाई कानून विपरीतको कार्यलाई रोकी कानूनी प्रबन्धको कडाइका साथ पालना गर्ने र गराउने सुझाव दिएको हो ।

विद्युतीय ऊर्जाको खपत बढाउन इन्डक्सन चुलो उपलब्ध गराइने

स्वदेशी विद्युतीय ऊर्जाको खपत बढाइ वातावरण सन्तुलित बनाउनका लागि सुदूरपश्चिम प्रदेशका छ जिल्लामा चार हजार इन्डक्सन चुलो अनुदानमा उपलब्ध गराइने भएको छ ।

विद्युतीय चुलो प्रवर्द्धन परियोजनाअन्तर्गत सामाजिक चेतना सङ्घ(साडा) नामक संस्थाले चुलो उपलब्ध गराउन लागेको हो ।

सो संस्थाका कार्यक्रम संयोजक शङ्करदत्त अवस्थीले दार्चुलाको महाकाली, शैलशिखर, बैतडीको दशरथचन्द, पाटन, डिलाशैनी, बझाङको केदारस्यु, जयपृथ्वी, डडेल्धुराको अमरगढी, अजयमेरु, भागेश्वर, परशुराम, गन्यापधुरा, नवदुर्गा, कैलालीको धनगढी, गोदावरी र कञ्चनपुरको भीमदत्त बेदकोट, शुक्लाफाँटा, बेलडाँडीलगायत कार्यक्रम सञ्चालनमा रहेका पालिकामा चुलो उपलब्ध गराउन लागिएको जानकारी दिए ।

नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन

गृह मन्त्रालयले नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा आज पाँच सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, कानुन मन्त्रालयको उपसचिव, गृह मन्त्रालयको कानुन महाशाखाका प्रतिनिधि र नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव सदस्य रहने छन् ।

समितिलाई असोज १५ भित्र  अध्ययन प्रतिवेदन पेस गर्न समयसीमा दिइएको छ । समितिलाई वर्तमान समयमा नागरिकले भोगिरहेका समस्याको पहिचान गर्न कार्यादेश दिइएको छ ।

सुनको मूल्यमा नयाँ कीर्तिमान, हालसम्मकै उच्च

अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु पाँच सयले वृद्धि भई कीर्तिमान कायम गरेको छ ।

महसङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ५७ हजार तीन सय निर्धारण भएको छ जबकी आइतबार प्रतितोला एक लाख ५६ हजार आठ सयमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १५ ले वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय १५ निर्धारण भएको छ ।

कसरी गर्दैछ सरकारले चाडपर्वलक्षित अनुगमन ?

सरकारले दशैं, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गरी बजार अनुगमन गर्ने भएको छ । चाडपर्वका बेला बजारमा खरिद बिक्री गरिने वस्तु तथा सेवाको मूल्य र गुणस्तर कायम गर्न सरकारका नियमनकारी निकायले बजार अनुगमन गर्दै आएका छन् ।

यसवर्ष पनि सरकारले चाडपर्वलक्षित बजार अनुगमन सुरु गर्दैछ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोज १ गतदेखि अन्य सरकारी निकायबीच समन्वय गरी संयुक्त वा सघन अनुगमन सुरु गर्दैछ ।

विभागले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधी व्यवस्था विभाग, नापतौल विभाग, उद्योग विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, महानगर, स्थानीय सरकारसँगको समन्वयमा संयुक्त अनुगमन गर्ने योजना बनाएको छ ।

हुन त वाणिज्य र खाद्य विभागले दैनिक रूपमा अनुगमन गर्दै आएका छन् । तर, चाडपर्वका बेला ठूलो ‘भोल्यूम’ मा वस्तु तथा सेवाको खरिद बिक्री हुने, व्यापारीले चलखेल गर्न सक्ने, अखाद्य र मापदण्ड विपरीतका वस्तुहरू बेच्न सक्ने सम्भावनालाई दृष्टिगत गरी सरकारले संयुक्त अनुगमन गर्ने भएका हुन् ।

पाँच लाखसम्मका साना बचतकर्ताको रकम सरकारको जमानीमा फिर्ता गर्न सुझाव

पाँच लाखसम्मको निक्षेप राखेका साना बचतकर्ताको रकम सरकारको जमानीमा फिर्ता गर्न संसदीय छानविन समितिले सुझाव दिएको छ । सहकारीको समस्या समाधान गर्न गठित समितिले पाँच लाखसम्मका साना बचतकर्ताको रकम फिर्ता गर्न सहजीकरण गर्नुपर्ने सुझाव दिएको हो ।

सूर्य थापाको संयोजकत्वमा गठन भएको समितिले बुझाएको प्रतिवेदनले सरकारका तर्फबाट औचित्यपूर्ण हस्तक्षेप भइ पाँच लाखसम्मका साना बचतकर्ताको रकम सरकारको जमानीमा आन्तरिक ऋणपत्र जारी गरि फिर्ता गर्नुपर्ने समितिको निष्कर्ष छ ।  पछि, सरकारले पछि बाँकी सरह असुलउपर गर्ने कार्यक्रमिक रुपमा सुरु गर्न सुझाव दिएको छ ।

न्यादी हाइड्रोपावरको लक–इन अवधि सकिँदै

न्यादी हाइड्रोपावरको लिमिटेडको लक–इन अवधि सकिने भएको छ । आगामी कार्तिक ४ गतेदेखि संस्थापक, कर्मचारी र स्थानी वासिन्दालाई जारी गरेको शेयर लक–इन अवधि सकिने भएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उत्तम अमात्यका अनुसार २०७८ साल असोजमा शेयर बाँडफाँड गरेको थियो । १ करोड २७ लाख ९५ हजार कित्ता शेयर लक–इन अवधि खुल्ला हुने भएको छ ।

जसमध्ये संस्थापक शेयरधनीको १ करोड ९ लाख ५० हजार कित्ता, संस्थापक शेयरधनीका कर्मचारीहरूको ३ लाख कित्ता र कम्पनीका कर्मचारीहरूको ४५ हजार कित्ता को लक–इन अवधि सकिने भएको हो ।

‘उद्योग व्यवसायलाई प्रवर्द्धनका लागि कार्यविधि ल्याउँदैछौँ’

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवर्द्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताएका छन् ।

नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको सोमबार वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उनले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिए ।

‘सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उनीहरूका समस्या समाधान हुन सक्दैन’, मुख्यमन्त्री सिंहले भने। उनले कार्यविधि उद्योगमैत्री भएकाले प्रदेशमा उद्योग तथा व्यवसाय फस्टाउनेमा विश्वास व्यक्त गरे।

केराखेतीबाट वार्षिक १४ लाख कमाउँदै दाङका किसान

दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो ।

राप्ती गाउँपालिका–७ सिसहनिया निवासी विद्याबहादुर चौधरी विगत चार वर्षदेखि केराखेती गर्दै आएका छन् । तीन बिघा जग्गा भाडामा लिएर व्यावसायिक केराखेती  लगाएका उनले वार्षिक १३/१४ लाख बराबरको केरा बिक्री गर्दै आएको बताउँछन् ।

शेयर बजार २५८० विन्दुमा झर्‍यो, कारोबारमा पनि गिरावट

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भारी अंकको गिरावट आएको छ । सोमबार नेप्से ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा पुगेको हो ।

नेप्से घट्दा कारोबार पनि घटेको छ । आइतबार १० अर्बको कारोबार हुँदा सोमबार ७ अर्ब ३६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज प्रि–ओपन सेसनमा करिब २ अंकले घटेर सुरु भएको बजार खुलेदेखि निरन्तर ओरालो लागेको थियो । दिनभरमा बजार ६ पटक उकालो लाग्न खोजेको भएपनि बजार भने बढ्न सकेन । बजार निकै अंकले् घट्दा पनि अन्तिम २ मिनेटमा केही करेक्सन आएकाले बजार ५७ अंकको गिरावट मात्र भयो ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ६ : ५७ बजे

आज संविधान तथा राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– संविधान तथा राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी हर्षोल्लासका

ओमानसँग नेपाल एक विकेटले हारेको खेलमा प्लेयर अफ द म्याच बने गुल्सन झा

काठमाडौं – आईसीसी विश्वकप लिग-२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल असोज ३ गते बिहीबार तदनुसार

आज २०८१ साल असोज ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ३ गते बिहीबार तदनुसार

सेमिकण्डक्टरको क्षेत्रमा अमेरिकाले भारतसँग सहकार्य गर्ने

काठमाडौं – सेमिकण्डक्टर उत्पादनका लागि थप सम्भावना खोज्न अमेरिकाले भारतसँग