काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वउपाध्यक्ष वामदेव गौतमबीच तत्कालीन महासचिव मदन भण्डारीका नाममा दोहोरी चलेको छ ।
तत्कालीन नेकपा विभाजनपछि पार्टीबाट बाहिरिएर बसेका गौतम र प्रधानमन्त्री ओलीबीच चितवनको दासढुंगामा भएको तत्कालीन महासचिव भण्डारी र स्थायी कमिटी सदस्य जीवराज आश्रितको मृत्यु प्रकरणलाई लिएर सार्वजनिक रुपमै दोहोरी सुरु भएको हो ।
नेकपा छाडेपछि राजनीतिबाट करिब करिब किनाराकृत भएका गौतमले एमालेमा फर्किने उत्कट चहाना राखिरहेका बेला ओलीले अनिच्छा देखाइरहेका छन् । गौतम अहिले नेकपा एकता अभियानका संयोजक एवम् राष्ट्रियसभा सदस्यको भूमिकामा छन् ।
गौतमले विगतका सबै गल्तीको पश्चाताप गरेर एमाले फर्किन तयार रहेको बताइरहेको अवस्थामा ओली र उनका निकटहरू अनिच्छुक भएका बेला पूर्वमहासचिव भण्डारीका नाममा दोहोरी सुरु भएको हो ।
खासमा पछिल्लो समय एआईद्वारा निर्मित कतिपय मल्टिमिडिया कन्टेन्टले दर्शक-श्रोता झुक्याइरहेका हु्न्छन् । कयौँ मानिस त डीप फेकको शिकारसमेत भइरहेका छन्।
यही क्रममा एमालेका तत्कालीन उपाध्यक्ष गौतमको मोबाइल फोनमा ओलीको स्वर, ओलीकै शैली र हाउभाउसहित मदन भण्डारी ‘हत्या’सम्बन्धी निष्कर्ष भएको लिङ्क आइपुग्छ ।
उक्त लिङ्कमा देखिएका व्यक्ति र उनको स्वर दुरुस्तै केपी ओलीको जस्तै रहेपछि गौतमले त्यसलाई गम्भीर रुपमा लिन पुग्छन् । उनले सोमबार सार्वजनिक गरेको वक्तव्यअनुसार मदनको ‘हत्या’बारेको कथित निष्कर्षसहितको उक्त भिडियो हेरिसकेपछि तत्कालै अर्थात् गत मंसिर २८ गते ओलीकहाँ सम्पर्क गरिन्छ ।
‘तपाईंको स्वर र तपाईंकै शैलीमा राष्ट्र नेता मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिङ्क मेरो फोन र नम्बरमा आयो । हेरेपछि म छाँगाबाट खसेजस्तो भएँ’, उनले ओलीलाई सम्बोधन गर्दै सोमबार निकालेको वक्तव्यमा भनेका छन्, ‘त्यसपछि मैले आफ्नो पहिलो कर्तब्य तपाईंबाटै जानकारी लिने हो भन्ने ठानेँ। त्यसपछि मैले मेरोमा भएको तपाईंको फोनमा कल गरेँ, तर लागेन। त्यसपछि मैले राजेशलाई उहाँकै फोनमा लिङ्क पठाइदिएर तुरुन्तै कल गरेँ ।’
गौतमले राजेशसँग आफूले उक्त उक्त गम्भीर किसिमको लिङ्क ओलीकहाँ पुर्याइदिन भनेको पनि वक्तव्यमा लेखेका छन् ।
‘त्यसपछि मैले उहाँलाई भनेँ, एउटा सिरियस लिङ्क मेरोमा आयो, केपी कमरेडको फोन उठेन, तपाईंलाई पठाइदिएको छु । तुरुन्त उहाँलाई पठाइदिनुस्’, उनले भनेका छन्, ‘मलाई यो धेरै सिरियस लागेको छ। प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्नु पर्ने हुन सक्छ ।’
उनले योभन्दा बढी एक शब्द बढी आफूले नबोलेको जिकिर गरेका छन् । ओलीका स्वकीय सचिव राजेशकै नम्बरमा आफूले फोन गरेको उनको भनाइ छ । ‘राजेशलाई धुलोमा खेल्ने अवस्थादेखि मैले जान्दछु’, गौतमले भनेका छन्, ‘यसलाई केपी ओलीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोशिश गर्नुहोला भन्ने मलाई लागेको थिएन ।’
गौतमले एमाले अध्यक्ष ओलीलाई उनीसँग आफ्नो कुरा भएको अडिओ सार्वजनिक गर्न पनि चुनौती दिएका छन् । ‘म तपाईंलाई चुनौती दिन्छु, मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनुस्’, गौतमले भनेका छन्, ‘प्रधानमन्त्रीको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ ।’
के भनेका थिए ओलीले ?
गत मंसिर २८ गते शुक्रबार आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलालाई सम्बोधनका क्रममा एमाले अध्यक्ष ओलीले पूर्वउपाध्यक्ष गौतमसँग भएको मोबाइल फोन संवाद भन्दै एउटा विवरण सार्वजनिक गरेका थिए ।
ओलीले उक्त दिन मोबाइलमा फोन गरेर एमालेका पूर्वउपाध्यक्ष गौतमले आफ्नो राजीनामा मागेको खुलाएका थिए ।
सोमबार गौतमले प्रकाशित गरेको वक्तव्यमा आफूले राजेश बज्राचार्यसँग उनकै मोबाइलमा बोलेको जिकिर गरेका छन् । तर ओलीले मंसिर २८ गते आफ्नै नम्बरमा फोन गरेर गौतमले राजीनामा मागेको दाबी गरेका थिए । राजेश लामो समयदेखि ओलीको स्वकीय सचिवका रुपमा कार्यरत छन् ।
उनैले ओलीको पनि फोन उठाउँछन् । तर, यस प्रकरणमा गौतम राजेशसँग उनकै फोनमा बोलेको तर्क गरिरहेका छन्। उता ओली भने गौतमले आफ्नै नम्बरमा फोन गरेपछि राजेश भन्दै बोलेको बताउँछन् ।
गत शुक्रबारत गौतमको नम्बरबाट फोन आएको देखेपछि आफैँले उठाएको दाबी ओलीले गरे । ‘अहिले भर्खर म गाडीमा आउँदै थिएँ, वामदेवजीले फोन गर्नुभयो । अनि के भन्नु भयो भने, मदन भण्डारी कांग्रेसले मारेको हो । मलाई पहिल्यै थाहा थियो, चुप लागेँ । कांग्रेसले मार्छ भन्ने पनि पहिल्यै थाहा थियो । पहिले म चुप लागेँ, अहिले बुढो भइसकेँ, अब जेसुकै भए पनि केही छैन । म कुरा भन्दैछु भनेर मेरै (मेरै स्वरमा छ), अब केपी ओलीले प्रधानमन्त्रीबाट पनि पार्टी अध्यक्षबाट पनि राजीनामा गर्नुपर्छ, यस्तो भनेर पाइन्छ । भन्देऊ तिम्रो ठूलो बालाई भनेर, कुरा मसँग गर्नुभयो’, ओलीले त्यसदिन भनेका थिए ।
शुक्रबार ओलीले वामदेवबाट फोन आएको नम्बर देखेपछि आफैंले उठाएको बताएका थिए । ‘कामरेड के छ हालखबर सोधेँ-सबै ठीक छ भन्नुभयो । कुराको अन्तिममा तिम्रो ठूलोबालाई भन्देऊ, प्रधानमन्त्रीबाट पनि राजीनामा गर्न भन्देऊ, पार्टी अध्यक्षबाट पनि राजीनामा गर्न भन्देऊ । यस्तो अपराध गरेर पनि बस्न पाइन्छ ? भनेर एकछिन वामदेव पड्किनु भयो, हस् हजुर भनेँ मैले, के पड्कने?,’ ओलीले त्यसदिन भनेका थिए ।
वामदेवको फोनबारे ओलीले लामै ब्याख्या गरे । ‘वामदेव र म नङ र मासु जसरी एउटै विचारमा लामो समय अगाडि बढेका हौँ । अचम्म के लाग्यो भने, केपी ओलीकै आवाजमा छ, के हो यो ? छाड्नुपर्यो सबै भनेर उहाँले भन्नुभयो’, उनले भने, ‘मेरो आवाज चिन्नुभयो युट्युबमा बोलेको, तर म उहाँसँग कुरा गरिराखेको छु, त्यो चिन्नु भएन । एआईको जमाना छ, केही बनाएको होला, कांग्रेस र हाम्रोबीचमा लडाईं लगाउने, मलाई डिफेम गर्ने हिसाबले ।’
के थियो प्रकरण ?
नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको दुर्घटनामा ज्यान गएको थियो । एमालेले महासचिव भण्डारी तथा संगठन विभाग प्रमुख आश्रितको सडक दुर्घटनामा नभई नियोजित हत्या भएको दाबी गरिरहेको छ । तर उनीहरूको निधन भएको ३० वर्ष पुग्दासमेत अझै कारण खुल्न सकेको छैन ।
जीप दुर्घटना हुँदा दुई नेताको मृत्यु भएपछि हत्या भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी एमाले आन्दोलित भएको थियो । भण्डारी सवार जीप दुर्घटनामा चालक अमर लामा बाँचेका थिए । उनको पनि २०६० सालमा अज्ञात समूहले हत्या गर्यो ।
लामाका हत्यारा अझै पनि समातिएका छैनन् । त्यसयता एमालेकै तीन बढी नेता प्रधानमन्त्री भइसके । मदन पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति भइसकिन् । तर अझै पनि उक्त प्रकरण सुल्झिएको छैन । कयौँ पटक बनेका छानबिन समितिले पनि यो प्रकरणको गुत्थी सुल्झाउन सकेका छैनन् ।
तत्कालीन सरकारले पूर्वन्यायाधीश प्रचण्डराज अनिलको नेतृत्वमा छानबिन आयोग बनायो । उक्त आयोगको प्रतिवेदनमा एमाले सन्तुष्ट भएन । त्यसपछि तत्कालीन बहालवाला न्यायाधीश त्रिलोकप्रताप राणा नेतृत्वयको आयोग बन्यो । तर उक्त आयोगले पनि दुर्घटना हो वा हत्या खुलाउन सकेन ।
एमालेले आफैं छानबिन गर्न तत्कालीन स्थायी समिति सदस्य एवम् वर्तमान प्रधानमन्त्री केपी ओलीको नेतृत्वको समिति बनायो । पद्मरत्न तुलाधर नेतृत्वमा पनि अर्को समिति बनाइयो । तर अहिलेसम्म यो प्रकरणको रहस्यको गाँठो फुक्न सकेको छैन ।
प्रतिक्रिया