पार्टी एकताका लागि माधव नेपालको टीम जस्तोसुकै त्याग गर्न तयार छ | Khabarhub Khabarhub

पार्टी एकताका लागि माधव नेपालको टीम जस्तोसुकै त्याग गर्न तयार छ



नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले पार्टीको पहिलो महाधिवेशन गरिसकेपछि सत्ता र विपक्ष कतै आफ्नो परिचय स्थापित गर्न सकेको छैन । कांग्रेस र माओवादीलाई सत्ता र शक्तिमा अवतरण गराउन ‘सुपर ग्लू’को भूमिका निर्वाह गर्नकै लागि एमालेबाट चोइटिएर बनेको एकीकृत समाजवादी संसदको पहिलो र दोस्रो दल कांग्रेस–एमालेले सत्तारोहणपछि पार्टीको भूमिकाका विषयमा विभिन्न प्रश्न उठेका छन् । माओवादीसँग पनि विलय हुन नसकेको, एमालेको धङधङे पनि कायमै रहेको स्थितिमा पार्टी नेतृत्वले नेताहरूको कार्य विभाजन गर्न सकेको छैन । यस स्थितिमा पार्टीको आगामी रोडम्याप के हो ? सत्ता र शक्तिको च्याप्टर तत्कालका लागि ब्रेक भएको अवस्थामा पार्टी नेतृत्व के गर्दैछ ? पार्टी सचिव पूर्वमन्त्री सोमप्रसाद पाण्डेसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईँहरूको स्थायी कमिटी बैठक नेताहरूको कार्य विभाजनको सकसमै अल्मलिएको हो ?

हामीले भर्खरै महाधिवेशन सम्पन्न गरेका छौँ । त्यसपछि कार्य विभाजनको निम्ति तयारी गर्ने कुरा गरेर ७ जनाको कार्यदल बनायौँ । त्यो कार्यदलले ‘होमवर्क’ गर्ने भनेर म्यान्डेट दिएको थियो । त्यही अनुसार अरु अरु छलफल पनि गरेका छौँ ।  सँगसँगै महाधिवेशनमा जे प्रस्तावहरू पारित गरेका छौँ, त्यसलाई पूरा गर्न योजना बनाउने म्यान्डेट कार्यदललाई प्राप्त भएको हो । त्यसै अन्तर्गत बसेर सात जनाको कार्य विभाजन लगायत महाधिवेशनले पारित गरेका प्रस्तावलाई अगाडि बढाउने विषयमा केही होमवर्क भइरहेको छ ।

कार्य विभाजनको जिम्मेवारी कसले पाउने, नपाउने भन्ने विषयमा अप्ठ्यारो परेर कार्य विभाजन रोकिएको हैन । यसमा चाहिँ सहज छ कि विगतदेखि नै हाम्रा नेताहरूले त्यो कार्य विभाजनमा बनाएर चाहे त्यो संगठन विभागको होस् , विदेश विभागको होस् , चाहे त्यो स्कुल विभागको होस् , यी सबै विषयमा हाम्रो निर्णय लगभग टुंगो लागिसकेको छ ।

हामीले बाहिर ल्याएका छैनौँ किनकि सबै जिल्लाको  अरु थप मान्छेहरूको व्यवस्थापन गर्नुपर्ने कारणले पनि हो । ७ वटै प्रदेशमा इन्चार्ज र सह इन्चार्जहरू खटाउनुपर्ने हुन्छ । त्यसैले अलिकति समय लाग्यो । यही कारण भित्र भागबन्डाको विषयले रोकिएको त हैन भन्ने हल्लाले काम गर्दै गयो । पछिल्लो समय सरकारको निम्ति पनि पार्टीले केही छलफल गर्नुपर्ने भयो । काम गर्दागर्दै केही ढिला चाहिँ भएको छ । हामी यसलाई छिट्टै टुंग्याउँछौँ ।

भागबन्डा नमिल्ने भन्दा पनि पार्टीप्रतिको अरुचिले कतै यो समस्या बढेको हो कि ?

केही असन्तुष्टि रह्यो, मिडियामार्फत ती विषय आए । कतिपय केन्द्रीय समितिका सदस्यहरूले एउटा ज्ञापन पत्र पनि दिनु भयो । त्यसबाहेक अरु पनि केही असन्तुष्टिका शब्दहरू पनि देखेपछि उहाँहरूसँग अध्यक्ष, सम्मानित नेता, महासचिव र वरिष्ठ उपाध्यक्षले बसेर सबैसँग कुरा गरिसकेपछि अब काममा फर्किने भनेर असन्तुष्टहरूले आफ्नो बचनबद्धता व्यक्त गरिसक्नु भएको छ ।

अहिले पार्टीभित्र जति बाहिर मिडियामा ७१ जनाको टिम राजेन्द्र पाण्डेको नेतृत्वमा पार्टी विभाजनमा अगाडि बढेको छ, पार्टी फुटको सँघारमा भनेर आयो, कहिले रामकुमारी झाँक्रीको नाम जोडेर पनि आयो । तर त्यसभित्र कति पनि सत्यको अंश छैन ।

पार्टी संगठनलाई बलियो बनाउने सन्दर्भमा जुन भूमिका देखिनुपर्ने त्यो पनि देखिएन । अनि प्रश्नबाट भाग्ने शैलीबाट पनि आरोपलाई पुष्टि गर्छ नि हैन र ?

बाहिर पन्छिने कुरा एउटा होला । तर   जसरी पार्टी विभाजनको सँघारमा पुग्यो भन्ने मिडियामा आएको सर्वथा हल्ला हो । केही नेताहरू पदाधिकारीको पदमा हारिसकेपछि उहाँले चुनावमा भाग लिनुभयो । प्रतिस्पर्धामा गएपछि हार जित त हुन्छ नै ।

सचिवको कुरा गर्दा म सचिवमा उठेपछि हामी सबै जना सचिवमा उठेका थियौँ । १९ जनाले हार्नु भयो, ७ जनाले जित्यौँ । हार जित त हुन्छ तर प्रचार गरे अनुसारको पार्टी विभाजनको बाटोमा गएका छैनौँ । हामी पार्टी विभाजन गरेर कतै जाने पक्षमा छैनौँ । पार्टीभित्र छलफल गर्दा सबैले हाम्रा केही असन्तुष्टिहरू थिए, त्यो व्यक्त गर्‍यौँ ।

अब एक भएर अगाडि बढ्छौँ भन्नु भएको छ । हाम्रो पार्टीभित्र अहिले विभाजनको तहसम्म पुग्ने असन्तुष्टि छैन । तर हामीले कामलाई व्यवस्थित गर्न सबैलाई समेटेर अगाडि बढ्ने र हिजो जसले पार्टीमा भूमिका निर्वाह गर्‍यो, उसको अनुभव क्षमता योग्यता हेरेर कामको जिम्मा दिन्छौँ र पार्टी चल्छ ।

हाम्रो पार्टी २०४९ मा नेकपा एमाले हुँदा हामीले नेकपा एमालेको पाँचौँ महाधिवेशनले जनताको बहुदलीय जनवादलाई कार्यक्रमको रूपमा ल्याएका थियौँ । पछि त्यो मार्गदर्शन सिद्धान्तसम्म पुग्यो । यसलाई पार्टी तहका सबैले सिद्धान्तको रूपमा पनि स्वीकार्‍यौँ । त्यही कारण नेपालको कम्युनिष्ट आन्दोलन यहाँ आइपुगेको हो ।

नेकपा एकीकृत समाजवादीको दसौँ महाधिवेशन सम्पन्न गरेका छौँ । हुन त २०७२ असोज ३ गते नेपालको संविधान आएको हो । संविधानको प्रस्तावनामा नै हामीले समाजवादमा पुग्ने भनेर लेखेका छौँ ।

त्यसपछि कुनै पनि पार्टीले समाजवादमा पुग्ने लक्ष्यको निम्ति कार्यक्रम बनाएर जाने हाम्रो पार्टी  पहिलो हो, जसले समाजमा सम्पूर्णको निम्ति कार्यक्रम अगाडि बढाउने नेपाली विशेषतामा आधारित समाजवादमा पुग्ने भनेर कार्यक्रम पास गरेका छौँ ।

प्रमुख एजेन्डाको रूपमा समाजवादमा पुग्ने कुरा र मुलुकको समृद्धिको लागि पनि प्रस्ताव राखेका छौँ । अबको क्रान्ति भनेको आर्थिक क्रान्ति हो । अबको लडाइँ भनेको समृद्धिको लडाइँ हो भनेर दोस्रो एजेन्डा पास गरेका छौँ ।

तेस्रो एजेन्डाको रूपमा हामीले नेपालको कम्युनिष्ट आन्दोलन छ । २०६४ सालको निर्वाचनमा ६२ प्रतिशत मत कम्युनिष्टहरुको पक्षमा खसेको थियो । अहिले घटेर ४८ प्रतिशतमा पुगेको छ । अहिले पनि हामी झन्डै आधा  भोट नेपालका कम्युनिष्टहरुलाई मन पराउनेको मत रहेको छ । त्यसलाई जोगाउन अर्को एजेन्डा पास गरेका छौँ ।

विक्रम संवत् १९९७ सालदेखि नै राजनीतिक नेतृत्वले देखाउँदै आएको समृद्धिको सपना दस्ताबेजमै सीमित भए । तपाईँहरूको विकास, लोकतन्त्रप्रतिको प्रतिबद्धता आफ्नै कार्यकर्ताले त पत्याउँदैनन् भने जनतालाई कसरी आश्वस्त बनाउनु हुन्छ ?

कपिलवस्तुमा नेकपा एमालेको मान्छे वडाध्यक्षमा हाम्रो पार्टीबाट उठ्नु भयो । दैलेखमा हाम्रोबाट गएर एमालेबाट उठ्नु भयो । यो आउने जाने त सर्वत्र छ । हाम्रो पार्टीमा अहिले प्रदेशको संख्या हेर्दा प्रवेशको लहर त्यतिकै छ । तर हामी जुन गतिका साथ अगाडि बढेका छौँ, महाधिवेशन पछिको हाम्रो कार्यक्रम सबैले स्वीकारेका छन् । हामीले ठाउँ ठाउँमा तेस्रो स्थानसम्मको भोट आएको छ । हामीले यो चुनावलाई मात्र हेरेर पार्टी कुन ठाउँमा छ भनेर भन्न सक्दैनौँ । तर पनि नियालेर हेरेका छौँ । कम्युनिष्ट पार्टीको पक्षमा नै मत धेरै छ ।

जनमतको हिसाबबाट हेर्ने हो भने आजको मितिसम्म मूलधारको कम्युनिष्ट पार्टीको प्रतिनिधित्व एमालेले गर्छ । तपाईँहरू एमालेलाई सिद्धान्तहीन, विचारहीन भन्नुहुन्छ । कम्युनिष्टप्रति कम्युनिष्टकै यस्तो पूर्वाग्रह देखिएपछि कम्युनिष्टको मतमा गर्व गर्नुको औचित्य के रह्यो ?

नेकपा एमालेभित्रको क्रियाकलाप हेर्दा आज ‘म वाद’ रहेको छ । नत्र नेकपा एमाले बनाउन माधवकुमार नेपालको कुन भूमिका थियो त ? २०५० साल जेठ ७ मा जब मदन भण्डारीको हत्या भयो, त्यसपछि महासचिव बन्दा २ लाख ४० हजार पार्टी सदस्य थिए । उहाँ १४ वर्ष नौ महिना महासचिव बन्नु भयो । त्यो अवधिमा ७ लाख बढी सदस्य संख्या पुर्‍याइयो ।

झलनाथ, भीम रावल, बामदेव गौतमलगायतको भूमिका यो पार्टीमा थिएन र ? तर उहाँहरूले स्विकार्नु भएको छैन । यसले त एक खालको प्रश्न जन्माइ राखेको छ । एमालेले यदि नेपालको कम्युनिष्ट आन्दोलनलाई एकाकार गर्ने कोशिस गर्ने हो भने सबै हिजो एमालेमै भएका मान्छेहरू नेताहरू हुनुहुन्छ,  त्यो गर्न सक्थ्यो । त्यस्तो पहल गरेको देखिँदैन । मूलधारको रूपमा आफूलाई स्थापित गरेको आत्म गौरव एमालेले गर्ने हो भने उसले कम्युनिष्ट आन्दोलनलाई एकाकार गर्नुपर्‍यो नि ।

हिजो महासचिव भएर वर्षौं पार्टी चलाएको, संगठनमा योगदान गरेको व्यक्ति अभिभावक भएर बसिदिँदा के फरक पर्थ्यो ? जसरी पनि नेतृत्वमै पुग्नुपर्ने कस्तो भोक हो त्यो ? 
अभिभावक निम्ति त त्यहाँ पनि वातावरण चाहिन्छ । नेतृत्व तहले पनि त्यो खालको व्यवस्थापन गर्नुपर्छ । माधव नेपालको कुरामा त उहाँ त एउटा संस्था भइसक्नु भएको छ । एउटा पार्टी बनिसक्नु भयो छ । यो देशमा कमै मान्छे पार्टी बनेका छन् ।

पुष्पलाल एउटा संस्था बनेको मान्छे हो । । यसैगरी विश्वेश्वरप्रसाद कोइरालालाई हेर्‍यो भनेदेखि एउटा संस्था बनिसकेको व्यक्ति हो, नाम नै एउटा पार्टी हो । नेपाली कांग्रेस भन्ने बित्तिकै उहाँकै नाम आउँछ ।

अहिलेको हाम्रो १० औँ महाधिवेशनले नेपालको कम्युष्स्टि आन्दोलनलाई एक बनाउन हाम्रो विशेष भूमिकामा अगाडि बढ्ने भनेका छौँ । त्यो कुरा अर्को पार्टीले पनि महसूस गर्नु पर्‍यो । नेपालमा कम्युनिष्ट आन्दोलन कमजोर हुने हो भने मुलुकको भविष्य धेरै ठूलो दुर्भाग्यमा पर्ने स्थिति आउँछ ।

कम्युनिष्ट पार्टीका शीर्ष नेतृत्वको काम नै आफ्ना समकालीन साथीको तेजोबधमा उत्रने छ । यस्तो अवस्थामा कम्युनिष्ट आन्दोलन र सिंगो कम्युनिष्ट पार्टीको औचित्यका विषयमा बहस गर्नु कति उचित हो ?

हाम्रो पार्टीले अहिले सबै पार्टीमा कम्युनिष्ट आन्दोलन बचाउन जे खालको प्रस्ताव गरेको छ, त्यो प्रस्तावबाट हामी सबैलाई समेटेर लैजान चाहन्छौँ । म वाद भन्ने हामीमा छैन । तर इतिहास मेट्ने गरी कसैलाई मानमर्दन गर्ने गरी कुरा गर्नु हुँदैन । त्यसैले हामीले सबैले गरेको त्याग र भूमिकाको सम्बोधन गर्दै अगाडि बढ्यो भने आन्दोलन बच्न सक्छ भन्ने हाम्रो मान्यता हो ।

केपी ओली पार्टीको महाधिवेशनको हलबाट अध्यक्ष चुनिएर आउनु भएको हो । तपाईँकै नेतृत्वमा पार्टी एकता गरौँ भोलि महाधिवेशनको हलमा गएपछि फेरि प्रतिस्पर्धा गरौँला भन्ने आँट माधव नेपालमा देखिएन नि ?

अपमान गरेपछि अपमान भयो भन्ने शब्द त प्रयोग हुन्छ नै । तर हाम्रो पार्टीले २०७५ भदौ ९ गते निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरेको हो । माधव नेपालसँग परामर्श गरेर नै अन्तिमसम्म नै पार्टी विभाजन नहोस् भनेर ०७८ भदौ ७ सम्म हामी ओलीको घरमा थियौँ । त्यतिबेला माधव नेपालको राय लिएर पार्टी एकताको निम्ति अझै पनि सम्मानजनक ढंगले जसरी माओवादीसँग एमालेको एकता भयो, त्यो बेला एउटै जहाजका दुई पाइलट भए । अब त्यो परिस्थिति छैन ।

नवौं महाधिवेशन भएपछि त धेरै पानी बगिसक्यो । २०७१ साल असारमा हामीले महाधिवेशन गर्‍यौँ । ०७५ साल जेठ ३ गते त नेकपा बनायौँ । त्यसपछि धेरै घटनाक्रमहरू भइसके त्यसैले त्यही बेलाको अध्यक्ष बनेको मत आएको कुरा गरेर हुँदैन । त्यसैले अब सबै एक हुन आवश्यक छ ।

विगतको पृष्ठभूमिमा फर्किने हो भने पार्टी फुट्नुको प्रधान कारण सैद्धान्तिक विषय नभएर लोलुपताको मात्रा बढी देखिन्छ नि हैन ?
नेपालको कम्युनिष्ट आन्दोलन बचाउन माधव कुमारलगायतको टीम कुनै पनि त्याग गर्न तयार छ ।

एमालेसँग एकता गर्न पनि तयार हो ?

अहिले एकताको कुरा भएको छैन । पहिला कोशिस भएको थियो । अहिले माधव नेपाल र ओलीको लामो समयदेखि छलफल पनि भएको छैन ।  कुनै कुराकानी पनि भएको छैन । त्यसैले अहिले कुनै राय परामर्श भएको छैन । एमाले र अरु पार्टीसँग पनि एकताको कुरा छलफल भएको छैन । एकताको निम्ति लाग्ने भनेको म पनि हो । तर मेरो चिन्ता भनेको मुलुक र जनताको हितका निम्ति कम्युनिष्ट आन्दोलन बच्नु पर्छ भन्ने हो ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ४ : ४१ बजे

गौतमबुद्ध विमानस्थलमा एक महिनामा छ हजार यात्रु आगमन

काठमाडौं – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९

उत्पीडित समुदायको अधिकार स्थापित गर्न सदैव लागिपरेका छाैं : प्रचण्ड

धनुषा – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसीलगायत

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर – भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको

सांसद मन्त्री हुन नपाउने व्यवस्था आवश्यक : लिङ्देन

सुदूरपश्चिम – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशको

अवरुद्ध नाग्म–गमगढी सडक खुल्यो

मुगु – हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक तीन दिनपछि आज