अर्थतन्त्र शिथिल छ, तर सङ्कटमा छैन : अर्थमन्त्री पुन « Khabarhub

अर्थतन्त्र शिथिल छ, तर सङ्कटमा छैन : अर्थमन्त्री पुन


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र केही शिथिल देखिएको भए पनि सङ्कटको अवस्थामा भने नपुगेको बताएका छन् । नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले अर्थतन्त्र सङ्कट बाहिर रहेको दाबी गरे ।

नेपालको बाह्य क्षेत्रमा निकै सुधार देखिएको अर्थमन्त्री पुनको भनाइ छ । यद्यपि सार्वजनिक वित्तको क्षेत्रमा भने केही संरचनागत समस्या अझै बाँकी  रहेको उनले स्वीकारे । मुलुकको अर्थतन्त्र धराशायी भएको भनेर नकारात्मक प्रचार बढी हुँदा बजारमा त्यसको असर देखिएको उनको भनाइ छ ।

‘एक वर्षभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति हामीसँग छ । विप्रेषण आप्रवाह राम्रो छ । बैंक वित्तीय संस्थामा पर्याप्त तरलता छ । अब बिस्तारै लगानी पनि बढ्छ’, अर्थमन्त्री पुनले भने । बाह्य क्षेत्र र खास गरी भुक्तानी सन्तुलन बिग्रिँदा केही समयअघि नेपालको अर्थतन्त्रलाई श्रीलङ्काको जस्तै धराशायी हुन लागेको भनेर आलोचना भइरहेकामा अहिले बाह्य क्षेत्र निकै मजबुत बनेको उनले बताए ।

‘गत वर्ष सात महिनाका लागि मात्रै आयात धान्ने विदेशी मुद्रा सञ्चिति नहुँदा हामी श्रीलङ्का जस्तै हुन्छौँ भनिएको थियो । सो समयमा पनि सरकारले हामी त्यति खराब अवस्थामा छैनौँ भनेर आश्वस्त पारिरहेको थियो’, अर्थमन्त्री पुनले भने । अर्थतन्त्रका सूचक सकारात्मक भए पनि बजारको मानसिकता अझै सुध्रिन नसकेकामा उनले चिन्ता व्यक्त गरे ।

सकारात्मक सोच र आत्मविश्वास हुने हो भने लगानी बढ्ने र त्यसले अर्थतन्त्र वृद्धिमा सहयोग पुर्‍याउने अर्थमन्त्री पुनको भनाइ छ । सरकारले यसअघि अवलम्बन गरेका र पूर्वअर्थमन्त्रीले ल्याएका सकारात्मक नीति तथा योजनालाई आफूले पनि निरन्तरता दिने उनले विश्वास दिलाए ।

विगतमा अर्थतन्त्रमा देखिएका सङ्कुचनका कारण लिइएका कडा नीतिलाई बिस्तारै खुकुलो बनाउँदै लगिने धारणा अर्थमन्त्री पुनले राखे । यसबारे विषयगत मन्त्रालय र विभिन्न निकायसँग छलफल भइरहेको उनले जानकारी दिए । पछिल्लो समय धितो पत्र बजारमा सुधारका सङ्केत देखिएको भन्दै यसले बजार चलायमान गर्न सहयोग पुर्‍याउने उनको भनाइ छ ।

सेवा प्रवाहमा सहजताका लागि सबै पक्ष र निकाय जबाफदेही हुनुपर्नेमा मन्त्री पुनले जोड दिए । ‘राजनीतिक नेतृत्वका समस्या छन् । राजनीतिक शुद्धीकरण जरुरी छ भनेर हामी आफैँले पनि ठानेका छौँ । हाम्रा सार्वजनिक निकायमा प्रशासनिक सुधारको आवश्यकता छ’, पुनले भने।

नागरिक लगानी कोषलाई थप व्यावसायिक बनाउन र कोषमा जम्मा भएको रकमलाई उत्पादनमूलक क्षेत्र, ठूला पूर्वाधार निर्माण र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न पनि मन्त्री पुनले निर्देशन दिए । कोषको रकम उत्पादन, उत्पादकत्व र रोजगारीको अवसर सिर्जना गर्ने क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणका लागि काम गर्न सक्नुपर्ने उनको भनाइ छ ।

कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषले बचत परिचालन गरी राष्ट्रिय पुँजी निर्माणको आधार तय गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए । कोषले आफ्नो व्यवसाय विस्तार, प्रतिफल योग्य लगानी, जोखिम व्यवस्थापनलगायतका क्षेत्रमा योजनाबद्ध ढङ्गले काम गरिरहेको उनको भनाइ छ ।

लगानीलाई विविधीकरण गर्ने, जोखिम विश्लेषण गर्दै प्रतिफल योग्य क्षेत्रमा लगानी विस्तार गर्ने, राज्यले प्राथमिकतामा राखेका पूर्वाधारका क्षेत्रमा लगानी बढाउने, कोषका कामलाई थप प्रविधिमैत्री बनाउने र सेवा प्रवाहलाई सहज बनाउँदै लैजाने गरी काम गरिरहेको कार्यकारी निर्देशक कार्कीले दाबी गरे ।

वैदेशिक रोजगारीमा रहेका नागरिकलाई कोषका कार्यक्रममा आबद्ध गराउन अध्ययन सुरु भएको कार्कीले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कोषको खुद मौज्दात रु दुई खर्ब ४० अर्ब ५१ करोड रहेको छ भने यो अवधिमा कोषले विभिन्न क्षेत्रमा रु दुई खर्ब ३५ अर्ब पाँच करोड बराबर लगानी गरेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  २ : १९ बजे

कांग्रेस-नेकपा गठबन्धनविरुद्ध उभिएका झलनाथको छुट्टै तयारी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल नेपाली कांग्रेससँगको गठबन्धनको

विश्वकप फाइनलअघि मेस्सीको भावुक सन्देश, ‘उपाधिभन्दा सुन्दर हाम्रो यात्रा हो’

काठमाडौं- अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले विश्वकपको फाइनलअघि सम्पूर्ण अर्जेन्टिनी समर्थक

इन्डोनेसियामा डुबेको डुङ्गाका पाँच यात्रुको तीन दिनपछि समुद्रबाट जीवित उद्धार

जाकार्ता– पूर्वी इन्डोनेसियाको समुद्रमा डुबेको यात्रुवाहक डुङ्गाका पाँच यात्रुलाई तीन

भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः सञ्चालन

चितवन– चितवनको भरतपुर अस्पतालमा प्राविधिक समस्याका कारण अवरुद्ध रहेको सिटी

प्रहरीले कुलेश्‍वरमा गोली हानेर लागु औ‍षधसहित दुई जनालाई समात्यो

काठमाडौं- प्रहरीले काठमाडौंको कुलेश्वरमा आइतबार दिउँसो गोली हाने दुईजनालाई पक्राउ