अर्थसंक्षेप : मौद्रिक नीतिको समीक्षा सार्वजनिकदेखि त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ उद्घाटनसम्म | Khabarhub Khabarhub

अर्थसंक्षेप : मौद्रिक नीतिको समीक्षा सार्वजनिकदेखि त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ उद्घाटनसम्म


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गर्दै ऋण प्रवाहदेखि, घरजग्गा धितोमा ऋण प्रवाह, बैंक तथा वित्तीय संस्थाको पुँजीकोष लगायतका विषयहरूमा खुकुलो नीति लिएको छ । आजै त्रिशुली ‘थ्री बी हब सबस्टेसन’को उद्घाटन भएको छ भने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

विस्तृतमा हेर्नुहोस् आजका मुख्य आर्थिक समाचारहरू :

राष्ट्र बैंकको मौद्रिक नीति समीक्षा : सवारी साधनको जोखिम भार घट्यो

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गर्दै हायर पर्चेज कर्जामा विद्यमान रहेको १२५ प्रतिशत जोखिमभारलाई घटाएर १०० प्रतिशतमा कायम गरेको छ ।

त्यस्तै, घरजग्गामा प्रवाह हुने ऋणमा खुकुलो नीति लिँदै ऋण भुक्तानी आम्दानी अनुपातलाई घटाइएको छ । घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने समीक्षामा उल्लेख गरिएको छ ।

राष्ट्र बैंकले आन्तरिक तथा वाह्य आर्थिक स्थिति र परिदृश्य समेतका आधारमा विद्यमान ५.५ प्रतिशतको नीतिगत दर, ब्याजदर करिडोर अन्तर्गतको ३.० प्रतिशतको निक्षेप संकलन दर र ७.० प्रतिशतको बैंक दरलाई यथावत राखिएको जनाएको छ ।

उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै देशको उत्पादन र निर्माण क्षेत्र ऋणात्मक भएको र चालु आर्थिक वर्षको अन्त्यसम्म पनि ऋणात्मक नै हुनसक्ने अनुमान गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा ऋणात्मक रहेको उत्पादन र निर्माण उपक्षेत्रको वृद्धिदर चालु आर्थिक वर्षमासमेत ऋणात्मक नै रहने अनुमान रहेको राष्ट्र बैंकले अनुमान गरेको छ । उत्पादनमूलक वस्तुको वृद्धि हुन सकेमा मात्रै धनात्मक हुन सक्ने राष्ट्र बैंकको विश्लेषण रहेको छ ।

मौद्रिक नीतिको समीक्षाप्रति शेयर लगानीकर्ताको धारणा : ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ 

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षाले पुँजी बजारलाई सम्बोधन नगरेको भन्दै लगानीकर्ताले ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भन्दै प्रतिक्रिया दिएका छन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको ८ पेजको ८ पृष्ठ लामो समीक्षामा पुँजीबजारको विषयमा कहीँ कतै सम्बोधन भएको देखिँदैन । राष्ट्र बैंकले समीक्षामा शेयर बजारको विषयलाई एक शब्दले पनि पनि सम्बोधन नगर्दा बजारमा नकारात्मक असर पर्ने लगानीकर्ताहरूको धारणा छ ।

पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले मौद्रिक नीतिको समीक्षालाई लिएर सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि पोखेकी छिन् । ‘सन्दर्भ ः सेयर बजारका लागि मौद्रिक नीतिको त्रैमासिक समीक्षा ! ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात !’ अध्यक्ष पोखरेलले लेखेकी छिन् ।

अर्का लगानीकर्ता छोटेलाल रौनियारले पनि मौद्रिक नीतिको समीक्षामा शेयर बजारलाई ‘क’ पनि उच्चारण नगरिएको भन्दै शेयर बजारसँग सम्बन्धित बजेट र मौद्रिक नीतिको तालमेल नमिलेको बताएका छन् ।

अर्का शेयर बजार विश्लेषक दिनेश आचार्यले भने मौद्रिक नीतिले शेयर बजारको समीक्षा नगर्ने धारणा राखेका छन् । ‘२० प्रतिशतसम्म बिक्री गर्ने पाउने व्यवस्थाले त शेयर बजारमा सकारात्मक असर पर्छ’, आचार्यले भने, ‘पुँजी बजारमा राष्ट्र बैंकले लिएको बाटो ठिक छ ।’

चालु आर्थिक वर्षमा सेवा क्षेत्र ४.५ प्रतिशतले वृद्धि हुने

मौद्रिक नीतिको समीक्षामा चालु आर्थिक वर्षमा सेवा क्षेत्रको समग्र वृद्धि ४.५ प्रतिशतले हुने प्रक्षेपण गरिएको छ । सेवा क्षेत्रतर्फ यातायात तथा भण्डारण उपक्षेत्रको वृद्धिदर उच्च रहने एवम् थोक तथा खुद्रा व्यापार लगायत सवारी क्षेत्रको वृद्धिमा समेत सुधार भएको राष्ट्र बैंकले समीक्षामा उल्लेख गरेको छ ।

पछिल्लो समय कोभिड पूर्वभन्दा पर्यटक आगमन संख्यामा उल्लेख्य विस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक गतिविधि सुस्तताका कारण निष्क्रिय कर्जा बढ्यो : राष्ट्र बैंक

राष्ट्र बैंकले आर्थिक गतिविधि सुस्तताका कारण निष्क्रिय कर्जा बढेको बताएको छ । शुक्रबार चालु आर्थिक वर्षको तेस्रो मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले यस्तो बताएको हो ।

‘आर्थिक गतिविधिमा देखिएको सुस्तताको कारण बैंकिङ प्रणालीमा कर्जा असुली प्रभावित भई निष्क्रिय कर्जा अनुपात केही बढेको छ’, बैंकले मौद्रिक नीतिको समीक्षामा भनेको छ, ‘२०८० चैतमा बैंक तथा वित्तीय संस्थाहरुको औसत निष्क्रिय कर्जा कुल कर्जाको ३.९८ प्रतिशत पुगेको छ ।’

यसैबीच, पछिल्लो समय केही ठूला बचत तथा ऋण सहकारी संस्थाहरू समस्याग्रस्त हुँदा औपचारिक वित्तीय मध्यस्थतामा पनि प्रभाव परिरहेको राष्ट्र बैंकको आंकलन छ ।

तथापि, बैंकिङ प्रणालीको खुद निष्क्रिय कर्जा न्यून रहेको, खुद तरल सम्पत्ति नियामकीय व्यवस्थाभन्दा उच्च रहेको, समग्रमा पुँजी पर्याप्तता कायम रहेको एवम् पछिल्लो समय लागू गरिएका सुधारका कार्यक्रमहरूको फलस्वरुप वित्तीय क्षेत्र स्थायित्व सबल रहेको राष्ट्र बैंकको भनाइ छ ।

ब्याजदर घट्दै गएको र पर्यटक आगमन बढिरहेका अवस्थामा राजनैतिक स्थिरता सहित तीनै तहका सरकारको पुँजीगत खर्च बढेमा आर्थिक गतिविधिहरूमा सुधार भई कर्जा माग बढ्ने एवम् कर्जा असुलीमा समेत सुधार आउँदै जाने राष्ट्र बैंकको अपेक्षा छ ।

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालन

चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंंसीमा निर्माण गरिएको त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेसन उद्घाटन गरिएको छ ।

आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमबाट किस्पाङ गाउँपालिकाकै भाल्चेमा निर्माण गरिएको ३३/११ केभी विद्युत वितरण सबस्टेसन पनि उद्घाटन गरिएको छ ।

करिब १०४ रोपनी जग्गामा निर्माण गरिएको त्रिशूली थ्री बी हब सबस्टेसनको लागत १ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

हाम्रो ध्यान नीति तथा कार्यक्रम अनुरूपको बजेट निर्माणमा छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको ध्यान नीति तथा कार्यक्रमअनुरुपको बजेट निर्माणमा रहेको बताएका छन् । शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २२औँ साधारण सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

‘नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत निजी क्षेत्रलाई पर्याप्त सम्बोधन गरिएको छ’, दाहालले भने, ‘अब हाम्रो ध्यान नीति तथा कार्यक्रमअनुरुपको बजेट निर्माणमा छ । यसपटकको बजेटले नीति तथा कार्यक्रमको लक्ष्य र प्राथमिकतालाई केन्द्र राख्ने कुरा पनि म जानकारी गराउन चाहन्छु ।’

प्रधानमन्त्री दाहालले ढुक्क भएर ऊर्जा आयोजनामा लगानी आग्रह गर्दा ऊर्जा व्यावसायीकालागि संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागि सरकारले सम्भव भएसम्म सहयोग गर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

इप्पानको २२औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले २२औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार काठमाडौंमा इप्पानले साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभाको उद्घाटन् प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । सभासँगै इप्पानले नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ । खोज र अनुसन्धानमूलक कार्यद्वारा इप्पानलाई थिंक ट्यांकको रुपमा विकास गर्न तथा आफ्नै भवनबाट इप्पानका गतिविधि सञ्चालन गर्ने उद्देश्यसहित कोष स्थापना गरिएको इप्पानले जनाएको छ ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ६ : १७ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः