केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेसँग सत्ता साझेदारी गरेको नेकपा माओवादी केन्द्र १८ महिनामा असार २८ गते सत्ताबाट धकेलिएको छ । २०७९ को निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरे पनि पुस १० गते ओलीको पहलमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा पुगेका थिए । तर ओली र दाहालको सत्ता सहयात्रा तीन महिनामै टुंगियो । फेरि २०८० फागुन २१ गते सत्ता सहयात्रामा जोडिएका प्रचण्ड र ओलीको सहयकार्य चार महिना पनि टिकेन । ओलीकै कारण सत्ताको नेतृत्वमा पुगेका दाहाल फेरि उनकै कारण बालुवाटारबाट खुमलटार फर्किसकेका छन् । ओलीले कांग्रेससँग काँध मिलाएको परिणाम प्रचण्डले आकस्मिक बहिर्गमन गर्न बाध्य बाध्य हुनुपरेको छ । एमाले र कांग्रेस दुवै शक्तिलाई संसदीय राजनीतिको अंकगणितमा प्रयोग गर्दै अगाडि बढेका प्रचण्डलाई यस पटक भने झट्का लागेको छ । एमाले–कांग्रेसले सत्ता समीकरणमा साझेदारी गरिदिएपछि अब प्रचण्डलाई सत्तामा पुनरागमन सजिलो छैन । अहिले माओवादी प्रतिपक्षी बेन्चमा पुगेको छ । माओवादीको अबको बाटो र रणनीति के त ? अब माओवादी कसरी अगाडि बढ्छ ? शान्ति प्रक्रियापछि का अधिकांश समय सत्तामा बिताएको माओवादीले प्रतिपक्षमा आफूलाई कसरी प्रस्तुत गर्ला ? यिनै कुराबारे माओवादी केन्द्रका सचिव गणेश साहसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानी :
आकस्मिक रुपमा सत्ता गुमेपछि माओवादीको अबको रणनीति के होला ?
हो, हामी लामो समय सत्तामा बसेका हौँ । सरकारमा बस्दा कम्युनिस्ट पार्टीले कस्तो भूमिका निर्वाह गरे ? हामी त्यो भूमिकामा खरो उत्र्यौँ कि उत्रिएनौँ यो समीक्षाको विषय हो । सरकारमा हुँदा पार्टी कसरी चल्यो भन्ने कुरा पनि अब समीक्षाको विषय भएको छ ।
२०७९ को चुनावअगाडि नेपाली कांग्रेससँग ५ दलीय गठबन्धन थियो, त्यसले सबैलाई संरक्षण गर्दै चुनाव लडेको थियो । त्यो गठबन्धनको बहुमत पनि करिब आएको थियो । त्यसबेला पहिलो चोटि प्रचण्ड प्रधानमन्त्री हुने र दोस्रो पटक शेरबहादुर देउवा हुने सहमति थियो । दोस्रो चोटि प्रधानमन्त्री बनेर देउवाले नै २०८४ को चुनाव गराउने सहमति थियो ।
तर चुनावपछि कांग्रेसले हामीलाई दिएको बचन र समझदारी परिपालन गर्न सकेन । उनसले सहमतिबाट पछि हट्दा एमालेसँग मिलेर सरकार बनाउनु पर्यो, तर लगत्तै हामी कांग्रेससँग जानु पर्यो । मूलरुपमा यो मुलुकमा अहिले पनि एमाले र कांग्रेसबीच प्रतिस्पर्धा छ । र, कहिलेकाहीँ एक-अ र्कालाई कमजोर बनाउन हाम्रोसहितका पार्टीलाई अगाडि सार्नु भयो ।
तर अहिले त्यो स्थिति उल्टिएर प्रधानमन्त्री एमाले केपी शर्मा ओली बनिसक्नु भयो । संविधानले गठबन्धन वा संयुक्त सरकार बनाऊ भनेको छ तर त्यसमा हाम्रा नेताहरूको बुझाइ कम भएको जस्तो लाग्छ, किनकि संविधानले एउटा कुरा गर्न भन्छ तर नेताहरूले त्यो अनुसार चलाउन नसक्दा १९ महिनामा प्रधानमन्त्रीलाई ६ चोटि विश्वासको मत लिनुपर्ने अवस्था आयो । अहिले ओली नेतृत्वको सरकार बनेपछि पनि त्यसैगरी विश्वासको मत लिनु पर्ने हो कि ! यस्तो नहोस् भन्ने त हाम्रो शुभकामना छ ।
अब नेकपा माओवादी केन्द्रको भूमिकाबारेमा जुन कुरा आएको छ, सरकारमा नहुँदा आफ्नो कार्यकालमा जे जस्ता काम र अग्रसरताहरू देखाएका छौँ, तिनलाई पूरा गर्न हामीले संघर्ष जारी राख्छौँ ।
संसद्को अंकगणित त्यस्तै छ। तर पटक पटक सत्तामा रहँदा पनि आफ्ना एजेन्डा लागू गर्ने अवसर हामीले गुमायौँ कि भनेर समीक्षा गर्नु पर्दैन ?
हामीले १९ महिना सरकारमा रहँदा मुलुकमा व्याप्त भ्रष्टाचार हटाएर सुशासन कायम कोसिस गरेका छौँ । यसबीचमा धेरै काण्डहरू आए । ललिता निवासको जग्गा हिनामिना र सुन तस्करीको जालो तोड्ने हाम्रो प्रयास थियो । देशलाई सुशासन दिने कोसिस भएको छ । सुशासन र समृद्धिका कुरा गर्दा केपी ओलीले हामीले भन्दा बढी गर्नुहोला । हामीले गरेका कोसिसलाई कार्यान्वयन गराउन सक्रिय हुन्छौँ ।
समावेशी न्याय (दलित, उत्पीडित) का लागि वा मुलुकका हरेक समस्या समाधानका लागि पहिलो आवश्यक सुशासन नै हो । समावेशीता र संघीयताबारे नकारात्मक भाष्य निर्माण हुनुमा केही दोष त हाम्रो पार्टी नेतृत्वको पनि छ । किनकि समावेशीता जुन प्रयोजनका लागि आयो, त्यो परिवारवादतिर या नातागोता र निकटहरूसँग जोडियो । अहिले बिचौलियातिर मुलुक जाँदै छ ।
तपाईंका पार्टी अध्यक्षले पनि बिचौलियाको घेरामा बसेर सरकार चलाउनु भएको हो नि । बिचौलिया शब्दको प्रयोग पनि दुरुपयोग होला, पार्टी राजनीतिभित्र तपाईंहरू पनि त्यसबाट मुक्त त हुन भएन ?
अङ्ग्रेजीमा यसलाई कुनै कम्पनीको एजेन्ट हो भन्ने किसिमले हेरिन्छ । अधिकार लिएर गर्ने काम हो । अर्को बिचौलिया भनेको आफू देखा नपर्ने, अरुलाई खेलाउने र बीचमा फाइदा लिने चरित्रको हो । राजनीतिमा मात्रै होइन, बिचौलिया सानो-सानो कुरामा पनि हुन्छ । जग्गा बेच्न पनि बिचौलिया चाहियो भनेको सुनिन्छ ।
मुलुकको बिचौलिया समस्या र भ्रष्टाचारको रोगलाई कानुन व्यवस्थामार्फत वा हाम्रो पार्टीको अनुभवका आधारमा हटाउँदै जाने हो ।
हामीले संसदीय राजनीति अपनाएपछि त्यसको मर्म र भावनालाई पनि बुझ्नु पर्छ । तर हाम्रोमा त एकले अर्कोलाई कमजोर बनाएर अगाडि जाने काम भएको छ । हामीलाई पनि कसैले तेस्रो पार्टी भएकोले किन सरकार चलाउनु पर्यो भनेका छन् । किनकि त्यो जनताले दिएको म्यान्डेट होइन, तर भएको भनेको यो गठबन्धनबाट आएको हो र यसमा गठबन्धनले नेतृत्व गर्ने हो कि प्रधानमन्त्रीले हो त । प्रधानमन्त्री जो भए पनि नेतृत्व समग्र गठबन्धनको थियो। तर नेतृत्वलाई तोड्ने काम भयो ।
सुशासन र भ्रष्टाचारबारे पनि प्रतिपक्षमा उठेर प्रश्न गर्ने नैतिक धरातल बाँकी रह्यो र ? छानबिनका क्रममा बलियाका दैलामा पुगेपछि लम्पसार भएर फर्किएको भन्ने एउटा भाष्य त स्थापित भयो यो १८/१९ महिनाबीचमा ?
समीकरणबाट सत्तामा हाम्रा जुन जुन सहयोगी हातहरू थिए, तिनीहरूको सहयोग नपाइ एक्लैले काम गर्न सकिँदैन। हाम्रा सहयात्रीले हामीलाई सक्दो सहयोग नगरेकोले त्यसो गर्न सकेनौँ । प्रयास त गरेका हौँ । प्रधानमन्त्री हुँदैमा सबै हुँदैन, किनकि सरकारको नेतृत्व मात्रै प्रधानमन्त्रीले गरेको हो । सबैले देखेकै कुरा हो, एमाले-कांग्रेसका मान्छेले असहयोगको वातावरण सिर्जना गरेको ।
उनीहरूले असहयोग गरेको भनेर त्यतिबेलै सरकार छोडेर जनतालाई भनिदिएको भए हुन्थ्यो नि ! अहिले सबै गुमाइसकेपछि आरोप लगाएर त भएन ?
आरोपका आधारलाई लिएर हामीले संसद्मा पनि भूमिका खेल्छौँ । अहिले हाम्रो पार्टी जे हुन्छ राम्रो हुन्छ भने सरकारबाट बाहिरिएको छ । अब हामी पार्टी बलियो बनाउँछौँ । त्यसैले अबको नेतृत्व सरकारको अनुभवको लागि संसद्मा जाने साथीहरूको बढी भूमिका होला ।
हाम्रो पार्टी नेतृत्व र अध्यक्षहरूले अब पार्टीलाई वैचारिक रुपमा, संगठनात्मक रुपमा, आमजनतामाझ पार्टीलाई स्थापित गर्न मेहनत गरे, समर्पणका साथ लागे पार्टी उठ्ने सम्भावना छ । नत्र हामी संसदीय अभ्यासमै त्यसको सङ्क्रामक रोग लागेर थला पर्ने अवस्था आउन सक्छ ।
२०७२ पछि पार्टीलाई थिलथिलो बनाएर, कार्यकर्तालाई रुखमा भोट हाल, सूर्यतिर हाल भनेर खेल मैदान बनाउने काम त भयो नि । वैचारिक हिसाबबाट केन्द्रमा विचलन आउने तर तल्लो तहका कार्यकर्तालाई पार्टी बलियो बनाऊ भनेर पार्टीको शुद्धीकरण सुरु हुन्छ ?
पार्टीको शुद्धीकरण गर्नुपर्ने माथिबाटै हो । त्यसैले माथिल्लो नेतृत्वले पाठ सिकेर कम्युनिस्ट आचरणमा वामपन्थी आन्दोलनलाई अगाडि बढाए पार्टी सप्रिन्छ । अन्यथा ०७५ वर्ष राज गरेको सोभियत कम्युनिस्ट पार्टी पनि ढलेको इतिहास हामीसामु छ ।
करिब ३०/३५ पश्चिम बंगालमा वर्ष शासन गरेका कम्युनिष्टहरूको नामो निशाना मेटिएको छ। त्यसैले अहिले सूचना प्रविधिको, औद्योगिक क्रान्तिको चौथो चरणको क्रान्ति भइरहेको छ । राजनीतिक क्रान्तिसँगै विश्वमा ठूला संस्थागत क्रान्तिहरू भइरहेका छन् । यो सबैले नेपालका मार्क्सिस्टहरू सबै वामपन्थी शक्तिलाई मिलाएर अगाडि बढे कम्युनिष्ट आन्दोलन टिक्ला नत्र नयाँ सिराबाट आएर अरुले नै उछिन्छ । यो चुनौती हाम्रो लागि मात्रै होइन, एमाले र कांग्रेसका लागि पनि हो ।
अब तपाईंहरूले आत्मसमीक्षा कहिले गर्ने ? अन्तरसंघर्ष कहिले पार लगाउने, वर्गसंघर्षका कुरा कसरी कुन नैतिकताले बोकिरहने ?
हरेक राजनीतिक पुस्ताहरूको एउटा जिम्मेवारी हुन्छ । नेपाल आफैंमा पनि परिवर्तन आएको छ । सूचना प्रविधिको विकास भएको छ । विदेशबाट फर्किएको मानिसको चेतनाको विकास कति छ । यो सबैलाई विश्लेषण गरेर अगाडि बढ्नु पर्छ । विगतमा जे गरे पनि अब पार्टी नेतृत्वले कम्मर कसेर हिजोका कामलाई जनताबीच राखेर पार्टीको शुद्धीकरणसहित सङ्गठन सुधार गर्नुपर्छ । माओवादी केन्द्रले राम्रो काम गर्छ भनेर देखाउन सके पार्टी पलाएर आउँछ ।
समाजवादी मोर्चाले ठूलो अर्थ राख्छ कि युद्धकालीन माओवादी शक्ति एक हौँ भन्ने भन्ने कुराले प्रभाव पार्छ माओवादीको पार्टी जीवनमा ?
माओवादी मात्रैले अब पुग्दैन । अब वाम–लोकतान्त्रिक मोर्चा बन्छ । जस्तो : अहिले हामीले भनेको समाजवादी मोर्चा पनि बृहत् वाम लोकतान्त्रिक मोर्चा बन्ने सम्भावना छ । किनकि सरकारबाहेक साना दल र अरु विभिन्न उत्पीडितका साना आन्दोलनहरू सबैलाई मोर्चा बनाएर अगाडि बढेका थियौँ । आगामी दिनमा कम्युनिष्ट पार्टीहरू, वाम लोकतान्त्रिक शक्तिहरू, प्रगतिशील शक्तिहरू र प्रगतिशील आन्दोलनलाई सँगै लिएर भ्रष्टाचारविरुद्ध संघर्ष गर्छौँ । पहिला हामीलाई धेरैले पत्याउँथे तर अहिले धेरैले पत्याउन छाडिसके । त्यसमा कसरी विश्वास जगाउने भन्ने पनि हामीलाई चुनौती छ ।
यो बीचमा तपाईंहरूको पार्टी छिन्नभिन्न भएर कोही एमाले वा अन्त गएर मिल्ने सम्भावनालाई कसरी टार्ने ?
पार्टीभित्रको असन्तुष्टि साथीहरूमा छ । त्यो शुद्धीकरण गर्ने सन्दर्भमा भएको भन्ने बुझ्छु । शुद्धीकरण गर्ने बेलामा जो जो निस्किनु हुन्छ, त्यो चाहिँ असन्तुष्टि वा अरु कारणले हो । त्यसैले अहिले पार्टी छिन्नभिन्न हुने अवस्थातिर जाँदैन । केही साथीहरू जाने-आउने त होला । अब हामी प्रतिपक्षमा बसेर संसद्बाहिरका शक्तिहरूलाई पनि लिएर जान्छौँ । हामी फेरि शक्ति आर्जन गरेर अगाडि बढ्छौँ । नेताले धैर्य गरेर सुद्धीकरण गरे पार्टी बलियो हुन्छ, हिजोको शक्ति फर्किन्छ ।
प्रतिक्रिया