विद्युत महसुल विवाद : किस्ताबन्दीभन्दा आयोगको प्रतिवेदन कार्यान्वयनमै उद्योगीको जोडबल | Khabarhub Khabarhub

विद्युत महसुल विवाद : किस्ताबन्दीभन्दा आयोगको प्रतिवेदन कार्यान्वयनमै उद्योगीको जोडबल


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गएको असार २७ गते नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकले ट्रंक तथा डेडिकेटेड फिडरबाट विद्युत् सेवा उपभोग गरेको उद्योगले किस्ताबन्दी सुविधामा महसुल तिर्ने गरी निर्णय गर्‍यो ।

प्राधिकरणले निर्धारण गरेको महसुलबापतको बक्यौता तिर्न उद्योगहरूलाई सहजीकरण गर्न खोजेर उक्त निर्णय गर्‍यो । महसुल बक्यौता १५ दिनभित्र तिर्न ताकेता गरेको उद्योगहरूले उक्त समयसीमाभित्र नतिरेपछि प्राधिकरणले किस्ताबन्दीको सुविधा दिने निर्णय गरेको हो ।

प्राधिकरणले यसअघि पुरानै महसुलसहितको बिल पठाएपछि उद्योगीहरूले महसुल तिर्न नसक्ने बताइरहेका बेला प्राधिकरणले किस्ताबन्दीको सुविधा दिने निर्णय गरेको थियो ।

प्राधिकरण स्रोतका अनुसार, उद्योगीले महसुल बक्यौता तिर्न २८ महिनाका लागि किस्ताबन्दीको सुविधा दिने निर्णय गरेको थियो । त्यसअघि प्राधिकरणले ट्रंक तथा डेडिकेटेड फिडरबाट सेवा लिएका उद्योगहरूलाई १५ दिनभित्र बक्यौता तिर्न ताकेता गर्दै आएको थियो ।

उक्त समयसीमा गुज्रिएपछि प्राधिकरणले ५ वटा उद्योगको लाइन समेत काटिसकेको छ । खास गरी, प्राधिकरणले रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक र हुलास स्टील उद्योगको लाइन काटिसकेको छ ।

महसुल बक्यौता नतिर्ने अन्य उद्योगहरूको पनि लाइन काट्ने प्राधिकरणको तयारी छ । किस्ताबन्दीको सुविधाअनुसार महसुल तिर्न आउने उद्योगको बिजुली नकाटिने र काटिएका उद्योगको पनि लाइन जोडिने प्राधिकरण स्रोतले जनाएको छ ।

१५ दिनको समयसीमा भित्र महसुल बक्यौता नतिरेको भन्दै प्राधिकरणले ती उद्योगहरूको लाइन काटिसकेको छ । तर, उद्योगीहरूले भने प्राधिकरणले लाल आयोगको सिफारिस र सरकारको निर्देशन विपरीत धम्काउन र तर्साउने नियतले अघि बढेको दाबी गरिरहेका छन् ।

उद्योगीहरूले केही दिन अघि पत्रकार सम्मेलन गर्दै प्राधिकरणले न्यायिक समितिको निर्देशन विपरीत प्राधिकरणले औद्योगिक वातावरण बिगार्नेगरी अघि बढेको गुनासो गरेका थिए ।

प्राधिकरणले ताकेता गरे अनुसारको महसुल तिर्न अहिले पनि उद्योगी/व्यवसायी तयार छैनन् । लाल आयोगले सिफारिस गरेअनुसार स्पष्ट प्रमाण ल्याएको खण्डमा महसुल बक्यौता तिर्न तयार रहेको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल बताउँछन् ।

‘प्राधिकरणले एकतर्फी हचुवाका भरमा उद्योगमा बिल पठाएर हुँदैन । न्यायिक समितिको सिफारिसअनुसार तथ्यगत प्रमाण ल्याए उद्योगीहरू महसुल तिर्न अहिले नै तयार छन्,’ उनले भने, ‘तर, उद्योगीलाई धम्क्याउने र तर्साउने ढङ्गले बिना प्रमाण महसुलको बिल पठाएर उद्योगीले तिर्न सक्दैनन् ।’

प्राधिकरणले तोकेको महसुल किस्ताबन्दीमा समेत तिर्न नसकिने अर्का उद्योगीको भनाइ छ । ‘प्राधिकरणले नै तोकेको महसुल तिर्न सकिँदैन । चाहे किस्ताबन्दीमै होस् तिर्न सकिँदैन,’ ती उद्योगीले भने, ‘लाल आयोगले नै तोकेअनुसार प्राधिकरण प्रमाण दिए तिर्न तयारै छौँ ।’

प्राधिकरणले दिएको किस्ताबन्दीको सुविधाप्रति उद्योगी सन्तुष्ट छैनन् । उनीहरूको जोड लाल आयोगको प्रतिवेदन र सिफारिस कार्यान्वयनमै छ ।

आयोगले डेडिकेटेड तथा ट्रंक लाइनको महसुललाई तीन चरणमा उठाउन सिफारिस निर्णय गरेको छ । आयोगले २०७२ साउनदेखि २०७२ पुससम्म तत्कालीन अवस्थामा विद्युत् महसुल निर्धारण आयोगले निर्णय गरेकाले त्यस बेलाको महसुल लिनु नपर्ने र २०७५ जेठपछि मुलुकमा लोडसेडिङ अन्त्य भएकाले त्यस बेलाको महसुल लिन नमिल्ने आयोगको निष्कर्ष छ ।

वि.सं. २०७२ माघदेखि २०७५ वैशाखसम्म अवधिमा लोडसेडिङ रहेको अवस्थामा सेवा लिएका उद्योगको टाइम अफ डे (टीओडी) मिटरको डाटा अनिवार्य रूपमा प्राधिकरणले उपलब्ध गराउनुपर्छ । अर्थात्, उद्योगले कुन समयमा ? कति विद्युत् खपत गरे ? र, त्यसको महसुल कति ? लगायतको स्पष्ट डाटा अभिलेख प्राधिकरणले उपलब्ध गराउनुपर्नेछ ।

आयोगको प्रतिवेदन कार्यान्वयन हुँदा प्राधिकरणले दाबी गरेअनुसारको विद्युत् महसुल उठ्दैन । मन्त्रालय स्रोतका अनुसार, आयोगको प्रतिवेदन कार्यान्वयन हुँदा महसुलबापत ६ अर्ब रुपैयाँ मात्र बक्यौत असुल हुने अनुमान छ । तर, त्यस बेला प्राधिकरणसँग उद्योगमा खपत बिजुलीको मिटर रिडिङको डाटा हराइसकेको हुन सक्ने पनि आकलन गरिएको छ ।

तर, प्राधिकरणले भने पुरानै महसुल बिलिङका आधारमा लिँदै पत्र काटेकाले महसुल बक्यौता तिर्न नसक्ने उद्योगीको गुनासो छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाल आयोगको प्रतिवेदन कार्यान्वयनमा भन्दा प्राधिकरणले नै निर्धारण गरेको महसुल बक्यौता उद्योगबाट असुल गराउन ताकेता गरिरहेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ७ : ३२ बजे

पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु

काठमाडौं – पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एक

सुकेधारामा बन्यो पाँचतारे मर्क्योर होटल, प्रधानमन्त्रीले गरे उद्घाटन (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको मर्क्योर होटेलको

पत्रकार सम्मेलन गरेर अध्यादेश सार्वजनिक गर्दै प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पत्रकार सम्मेलन गरेर अध्यादेश

विपक्षी दलको बैठक : राष्ट्रिय मुद्दामा एकजुट हुने, मोर्चाबारे कुरै भएन

काठमाडौं– सिंहदरबारमा बसेको प्रतिपक्षी दलको बैठकले सरकारले बुधबार संसद् नबोलाए

सरकारको कामबारे समीक्षा गर्न देउवाले बोलाए मन्त्रीसहितको बैठक 

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको