सुनसरी- कुनै बेला उदास र निराश बनेर भविष्यप्रति चिन्ता गर्दै पुर्पुरोमा हत्केला राखेर अल्लाह पुकार्ने असगर अली अहिले छरछिमेकीका लागि प्रेरणाका स्रोत बनेका छन्। सुनसरीको सीमावर्ती स्थानीय तह कोशी गाउँपालिका(५ हुड्कीटोलका अली अहिले कोशी गाउँपालिकाकै अगुवा किसान बन्न सफल भएका हुन्।
०६५ साल भदौ २ गते आएको कोशीको बाढी पसेर गाउँपालिकाका करिब ७० प्रतिशत खेतीयोग्य जमिन बालुवामय बनाइदियो। ‘अब कसरी परिवारको जीविका चलाउने र भविष्य बनाउने’ भन्ने तनावमा रुमल्लिँदै अलीले आठ वर्ष जसोतसो कटाए। चिन्ता र तनाव बिर्सिएर भविष्य अँध्यारो भएको सम्झेर हतासिनेहरू अली जस्तै कोशी गाउँपालिकामा ४० हजार जना थिए। त्यसबेला आएको बाढीको मारमा परेकामध्ये कतिपय अझै पनि तङ्ग्रन सकेका छैनन्।
अली भने निराशालाई आशामा, सपनालाई वास्तविकतामा बदल्न लागे। बालुवा थुप्रिएर मरुभूमि भएको आफ्नो जमिनलाई खेतीयोग्य बनाउन अनेक उपाय खोजे। १६ वर्ष अघिको त्रासदी सम्झँदै अलीले खबरहबसँग भने, ‘मेरा बाउबाजेले जोगाएर राखेको जमिन हेर्दाहेर्दै बालुवामय भयो। बाढीको कारण हामीलाई ज्यान बचाउन समेत गाह्रो भएको थियो। पानीको सतह सुकेपछि खेतबारी हेर्दा चारफुटसम्म बालुवाले ढाकिएको थियो। त्यसबेला सबैको मन रोएको थियो।’
छोराले वैदेशिक रोजगारीबाट पठाएको रेमिट्यान्सले घरपरिवारको जीविका चल्न थालेपछि उनले बालुवाले पुरेको जमिनलाई पनि खेतीयोग्य बनाएको सपना देख्न थाले।
कोशी नदीले पूर्वी तट फुटाउनुअघि अलीले आफ्नो १५ बिघा खेतबारीमा धान, मकै, गहुँ, तोरी, सनपाट र आलु लगायत परम्परागत खेती गर्दै आएका थिए। बाढीले जमिन नै बालुवामय बनाइदिएपछि उपायविहीन भएर केही वर्ष अलमलिएर समय कटाए। यताउति गरेर आफ्ना उमेर पुगेका दुई छोरालाई वैदेशिक रोजगारीमा पठाए। छोराले वैदेशिक रोजगारीबाट पठाएको रेमिट्यान्सले घरपरिवारको जीविका चल्न थालेपछि उनले बालुवाले पुरेको जमिनलाई पनि खेतीयोग्य बनाएको सपना देख्न थाले।
बालुवा अथवा मरुभूमिमा केही पनि उब्जाउन सकिँदैन भन्ने आमधारणा छँदैथियो। स्रोतसाधन बिहीन अवस्थामा ०७६ पुसमा पालिकाको सहयोगमा भारतको राजस्थान जाने टोलीमा उनी पनि परे।
उनले भने, ‘किसानले लगाएको अन्नबाली, फलफूल र तरकारी खेती अवलोकन गर्दा नयाँ ज्ञान सिक्न पाइयो। पानी कम हुने र बालुवामिश्रित जमिनमा कस्ता अन्नबाली र फलफूल उब्जाउन सकिन्छ भनी जान्नेबुझ्ने मौका पाइयो। त्यसपछि अलिअलि भए पनि मनमा आशा पलायो।’
राजस्थानका किसानले बालुवामा कागती खेतीबाट प्रशस्त आम्दानी गरेको देखेर आएपछि सोही मोडलमा उनले कागती खेती सुरु गरे। अलीले भने, ‘परम्परागत धान, मकै, गहुँ र जौ खेती गर्नमात्र जानेकोमा बालुवाले ढाकेको जमिनमा अब त्यो सम्भव थिएन। सुरूमा पालिकाले बालुवा फाल्न सहयोग गर्यो । तर कोशी गाउँपालिकाका ४, ५, ६ वडाका पूरै र ३ र ७ वडाका आंशिक गरी करिब तीन हजार तीन सय बिघा जमिनमा ३ देखि ४ फुटसम्म थुप्रिएको बालुवा फाल्न सम्भव थिएन।’
राजस्थानका किसानले बालुवामा कागती खेतीबाट प्रशस्त आम्दानी गरेको देखेर आएपछि सोही मोडलमा उनले कागती खेती सुरु गरे।
उनले वैदेशिक रोजगारीमा गएका छोरालाई बोलाएर राजस्थान मोडलको कागती खेतीमा लगाए। रैथाने कागती पनि लगाए, तर सप्रिएन। राजस्थानमा जुन जातको कागती लगाइएको थियो– सोही जातको मात्र सप्रिएपछि एकैपटक तीन हजार बिरुवा लगाएर केही आम्दानी गरे। त्यसो त उनले पहिले एक बिघा जमिनमा फैलिएको बालुवा सोहोरेर एकातिर राखे। जति फाले पनि करिब ५० प्रतिशत बालुवा त खेतमै रह्यो। अर्को वर्ष एक बिघा गर्दै आठ वर्ष लगाएर आठ बिघा जमिनबाट अधिकांश बालुवा फाल्न सफल भएपछि बालुवा मिश्रित जमिनमा अरू कुनै अन्नबाली उत्पादन गर्न सकिन्छ कि भनी खोजीनीति सुरु गरे।
जहाँ अभाव त्यहाँ उपाय
खोजेपछि पाइन्छ भन्ने नेपाली उखानलाई सावित गर्दै अलीले बालुवाले ढाकिएको जमिनलाई आखिरमा सदुपयोग मात्र गरेनन्, उच्चतम बिन्दुमा धान र आलु उत्पादन गर्न सफल भए।
छरछिमेकी अझै अलमलिइरहेका बेला उनले भने भारतको हैदरावाद, राजस्थानबाट धेरै महँगोमा धान र आलुका बीउहरू ल्याएर गत वर्ष पहिलोपटक आफ्नो जमिनमा प्रयोग गरे। एमसी १३ र वायर कम्पनीको ६४०४४ गोल्ड जातको धान रोपेर करिब एक बिघामा परीक्षण गरे। पानी कम भएको बालुवामिश्रित जमिनमा लगाउन सकिने ती उन्नत जातका हाइब्रिड धानमध्ये एमसी १३ जातको धान प्रतिकट्ठा साढे पाँच मन अर्थात २२० किलो उत्पादन भयो। ६४०४४ गोल्ड प्रतिकट्ठा पाँच मन अर्थात २०० किलो उत्पादन भएको उनले बताए।
जब कि परम्परागत धानबालीका खेती गर्दा सरदर प्रतिकट्टा तीन मनदेखि साढे तीन मनसम्म उत्पादन हुँदै आएको अवस्था छ।
नेपालमै उन्नत जातको धान मलिलो ठाउँमा खेती गर्दा पनि प्रतिकट्ठा चार मनभन्दा बढी उत्पादन हुन सकेको छैन। पहिलो परीक्षणको नतिजाले उत्साहित बनाएपछि अलीले यो वर्ष आठ बिघामा लगाउनेगरी प्रतिकिलो ७ हजार रुपैयाँका दरले पेनियार कम्पनीको २७ पी ३७ र जेके २०८२, वायर कम्पनीको ६४४४ गोल्ड, धनिया कम्पनीको एमसी १३ जातका धानको बीउको ब्याड राखेर खेती गरेका छन्। ब्याग राखेर बाला पाकेपछि काट्ने समय चार महिना अर्थात् १२० दिन लाग्ने उनको भनाइ छ।
उनले भने, ‘यी धानका बीउबारे मैले अनेकतिर खोजी गरें। युट्यूबमा पनि हेरेँ। आफैँ खोजीनीति गर्दै बालुवामिश्रित जमिनमा उब्जाउन सकिने धान लगायत अन्य अन्नबाली, फलफूल र तरकारीबारे खोजेँ। अझै पनि खोज्दैछु। यो वर्ष खेतमा रोपिएका धान सरदर प्रतिबिघा ११० मनका दरले उत्पादन हुन्छ भन्ने विश्वास छ।’
धानमात्र नलगाएर उनले श्रीराम ३०३ जातको गहुँ खेती पनि जारी राखेका छन्। गत वर्षमात्र उनले दुई बिघामा दुई सय मन गहुँ उत्पादन गरेको बताए। बालुवामय जमिनमा उनले नयाँ जातको भिण्डी खेती पनि लगाएका छन्। भिण्डीको एक केजी बीउलाई १० हजार रुपैयाँ लगाएर ५ कट्ठामा व्यवसायिक खेती सुरु गरेको बताए। उनले रोपेको भिण्डी टिप्ने बेला भएको छ। सोचेभन्दा बढी उत्पादन हुनेमा उनी ढुक्क छन्।
पोखराज जातको उन्नत आलु एक कट्ठा बलौटे जमिनमा परीक्षण गर्दा ११ सय किलो उत्पादन भएपछि थप हौसिए।
उनले भने, ‘आलु र भिण्डीमात्र नभएर आलु रोपेर निकालिसकेपछि त्यही खेतमा पेरियार कम्पनीकै ३३५५ जातको मकै पनि लगाएँ। चार सय किलो फल्यो।’
हुन त उनले ५० प्रतिशत बलौटे जमिनमा सबैभन्दा पहिले उखु खेती गरेका थिए। इस्टर्न सुगर मिलका सञ्चालकले सुझाव दिएका थिए। सुगर मिलले नै बीउ उपलब्ध गराएपछि चार बिघामा उखुखेती गरे।
उखु उत्पादन भएपछि मिलले खपत गरे पनि त्यसको मूल्य पाउन भने एक वर्ष नै पर्खनुपर्ने नियम बनाएकाले पछिल्लो समय उखुखेती बन्द गरेर धान, मकै, गहुँ, कागती, आलु र भिण्डी खेती गर्न थालेको अलीले बताए।
उनको बाँकी ७ बिघा जमिन बालुवाको बाक्लो तहले ढाकिएको छ। बलौटे जमिनलाई सम्याएर ५० प्रतिशत बालुवा फालेर खेतीयोग्य बनाउने अलीले बताए।
उनले भने, ‘मैले पछिल्लो समयमा आफ्नै तरिका र उपाय अपनाएर बलौटे जमिनमा उन्नत जातको अन्नबाली र फलफूल तरकारी खेती गरेँ। अरू छरछिमेकीले भने खासै सिको गर्न सकेका छैनन्। सिक्नेहरूमा हुड्कीटोलका इस्लाम मिया र इकरा मुलहक मात्र छन्। इस्लाम मियाले डेढ बिघा र इकराले एक बिघामा मैले जस्तै उन्नत जातको धान, मकै र गहुँ खेती गरिरहेका छन्।’
उनका अनुसार कोशीको बाढी पसेर बनेको बलौटे जमिन रुँगेर बस्ने स्थानीय किसानहरू धेरै छन्। अरूले पनि बलौटे जमिनमा आफूले जस्तै खेती गर्न सके आर्थिक रूपमा आत्मनिर्भर बन्न सकिने उनको सुझाव छ।
‘सरकारले हेरेन’ : पालिका अध्यक्ष अन्सारी
कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीले पर्याप्त बजेट अभावले कोशी बाढीपीडित स्थानीय बासिन्दाका लागि खास केही गर्न नसकेको बताए। उनले मुलुकमै सबैभन्दा पिछडिएको पालिका नै कोशी भएको र वार्षिक आन्तरिक आम्दानी दुई करोड रुपैयाँमात्र रहेको बताए।
०७८ को जनगणना तथ्याङ्कअनुसार कोशीको कुल जनसंख्या ४८ हजार पुग्छ। सबैभन्दा बढी मुस्लिम समुदाय रहेको कोशीमा दोस्रो बाहुल्यता यादवको छ।
१६ वर्षअघि कोशी नदीले पूर्वी तट फुटाएर बाढी पस्दा ४, ५, ६, र ७ वडामा जमिन बालुवामय बनेको अवस्थामा ३४ सय घरधुरीका ४० हजार परिवार प्रभावित भए । विस्थापित परिवार अहिलेसम्म तंग्रिन पाएका छैनन् ।
१६ वर्षअघि कोशी नदीले पूर्वी तट फुटाएर बाढी पस्दा ४, ५, ६, र ७ वडामा जमिन बालुवामय बनेको अवस्थामा ३४ सय घरधुरीका ४० हजार परिवार प्रभावित भए । विस्थापित परिवार अहिलेसम्म तंग्रिन पाएका छैनन् ।
उनले भने, ‘०६५ भदौ २ गते बाढी आएपछि सरकारले लगातार तीन वर्षको लागि बालुवा व्यवस्थापन गर्ने र जग्गा सम्याउने योजना ल्यायो। तर, तीन वर्षमा सबैको जग्गा सम्याउन र बालुवा फाल्न नसकेर योजना स्थगित भयो। गाउँपालिकाले सुरुमा निःशुल्क रूपमा डोजरमार्फत बालुवा फालिदियो। तर यो वर्षदेखि भने इन्धन उनीहरू आफैँले हालेर गाउँपालिकाको डोजर प्रयोग गर्न सक्ने भनेर निर्णय गरिएको छ।’
उनका अनुसार एक बिघा जमिनको बालुवा तह लगाउन करिब दुई लाख रुपैयाँ खर्च हुन्छ। त्यत्रो रकम पालिकाले सहयोग दिने अवस्था नरहेको पनि अन्सारीले बताए। प्रदेश र संघीय सरकारले हेर्नुपर्ने अवस्था हुँदाहुँदै पनि यस पटकको बजेट, नीति तथा कार्यक्रममा कोशी गाउँपालिकाका कोशी बाढी पीडितका लागि एक शब्द नपरेको अन्सारीले बताए।
उनले भने, ‘०६६ सालमा सरकारको मन्त्रिपरिषदले बाढीपीडित ३४ सय घरधुरीलाई ५० क्यूफिटका दरले निःशुल्क काठ अनुदान दिने निर्णय गरेको थियो। अहिलेसम्म १६ सय घरधुरीले मात्र सरकारले दिने भनेको काठ अनुदान लिएका छन्। बाँकीले पाउन सकेका छैनन्। बाँकीले किन नपाएको हो, बुझ्नै सकिएको छैन।’
बालुवाले पुरिएको तीन हजार ३३३ बिघामध्ये हालसम्म स्थानीय तह र जग्गाधनीको पहलमा करिब ३० प्रतिशत जमिनलाई मात्र सामान्य खेतीयोग्य बनाउन सकिएको उनले बताए। यो एक वर्षमा ५० प्रतिशत जमिनलाई खेतीयोग्य बनाउने लक्ष्य राखिएको पनि उनले जानकारी दिए।
प्रतिक्रिया