अर्थसंक्षेप : चिनियाँ नाकाबाट दशैंलाई दिनहुँ ५० ट्रक सामान भित्रिँदै, असोजमा ८ बैंकले घटाए ब्याजदर | Khabarhub Khabarhub

अर्थसंक्षेप : चिनियाँ नाकाबाट दशैंलाई दिनहुँ ५० ट्रक सामान भित्रिँदै, असोजमा ८ बैंकले घटाए ब्याजदर


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दशैंतिहार लगायत चाडपर्व नजिकिएसँगै उत्तरी छिमेकी चीनसँगको नाकामा चाप बढ्न थालेको छ । अधिक तरलताको समस्या खेपिरहेका ८ वटा वाणिज्य बैंकहरूले असोज महिनामा बचतकर्तालाई झनै कम ब्याज दिने भएका छन् । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

प्रमुख आर्थिक समाचारहरु :

चिनियाँ नाकाबाट दशैँलाई दिनहुँ ५० ट्रक सामान भित्रिँदै

दशैँतिहार लगायत चाडपर्व नजिकिएसँगै उत्तरी छिमेकी चीनसँगको नाकामा चाप बढ्न थालेको छ । नेपाल–चीन तातोपानी र केरुङ नाका हुँदै मालबाहक ट्रक तथा कन्टेनरहरूमा चाडपर्वलक्षित सामान नेपाल भित्रिने क्रम बढेको हो ।

भदौदेखि नै ती नाकामा नेपाल भित्रिने मालबाहक गाडीहरूको चाप बढेको थियो । मालबाहक ट्रक तथा कन्टेनरहरू तातोपानी भन्सार हुँदै नेपाल भित्रिने क्रम जारी छ । तातोपानी भन्सारका कार्यालयका अनुसार २०८१ को असार–साउनमा १०–१२ वटा मात्रै मालबाहक भित्रिने गरेकोमा अहिले २० भन्दा बढी ट्रक तथा कन्टेनरबाट सामान आइरहेको छ ।

चाडपर्व लक्षित सामानहरू चीनबाट धमाधम आइरहेको र नाकामा थप चाप बढिरहेको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले खबरहबलाई जानकारी दिए । खासगरी चीनको खासातर्फ सुरुङमार्ग पुनःनिर्माणको काम चलिरहेकाले नेपाल आउने मालबाहक कन्टेनर आवतजावत कहिले खुलाउने त कहिले बन्द गर्ने गरिएको छ । तर, मालबाहक ट्रक नेपाल पठाउन चिनियाँ पक्षबाट सहजीकरण भइरहेको काफ्लेले बताए ।

असोजमा आठ वाणिज्य बैंकले कम ब्याज दिने

अधिक तरलताको समस्या खेपिरहेका ८ वटा वाणिज्य बैंकहरूले असोज महिनामा बचतकर्तालाई झनै कम ब्याज दिने भएका छन् । बैंकहरूले निक्षेपमा औसत ब्याजदर व्यक्तिगततर्फ ६.४३ प्रतिशत र संस्थागततर्फ ५.१८ प्रतिशत कायम गरेका हुन् । केही बैंकहरूले भदौको तुलनामा असोजमा निक्षेपतर्फको ब्याजदर घटाएका छन् ।

असोज १ देखि लागू हुने निक्षेपतर्फको ब्याजदरमा २० वाणिज्य बैंकमध्ये ८ वटाले ब्याजदर घटाएका छन् । दुईवटा वाणिज्य बैंकले ब्याजदर बढाउँदा १० वटाले भदौ महिनाकै ब्याजदरलाई यथावत राखेका छन् । असोज महिनाको लागि कायम भएको व्यक्तिगत निक्षेपतर्फको ब्याजदरमध्ये सबैभन्दा धेरै एनआइसी एशियाले ७.१८ प्रतिशत ब्याज दिने भएको छ ।

सुनको मूल्य घट्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ६ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको हो । यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला १९०५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानाएको छ ।

एक सय ५० किलो गाँजासहित दुई जना पक्राउ

रामगोपालपुर नगरपालिका– ५ बाट प्रहरीले  एक सय ५० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राऊ गरेको छ । धादिङ धुनीबेँसी नगरपालिका–६ बस्ने ३० वर्षीय सञ्जीव खत्री र चितवन खैरेनी नगरपालिका– १ बस्ने १८ वर्षीय सुदीप अधिकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

पक्राउ परेका उनीहरु क्रमशः बा प्र ०१–०२६च १३३६ नम्बरको पिकअपको चालक र सहचालक हुन् । उनीहरूले गएराति पिकअपमा त्रिपालभित्र लुकाएर १० पोका गाँजा सदरमुकाम जलेश्वरतिर लैजाँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी र इलाका प्रहरी रामगोपालपुरको संयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई थप कारबाही प्रक्रिया अगाडि बढाइएको प्रवक्ता जैसवारले बताए ।

तीन हजार मेट्रिक टन क्षमताको शीत भण्डार सञ्चालन

जिल्लाको सुुनवल नगरपालिका‐२ मा तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी सञ्चालनमा ल्याइएको छ । संघीय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको सुनवल नगरपालिकाकी अध्यक्ष विमला अर्यालले जानकारी दिइन् ।

डेढ बिघा जग्गामा पाँच वटा चेम्बर भएको शीतभण्डार १९ करोड ४२ लाख लागतमा निर्माण गरिएको  हो । पाँच वटा चेम्बरमध्ये हाल एउटा चेम्बर मात्र सञ्चालनमा छ । त्यसमा किसान र व्यापारीले दुई सय पचास बोरा आलु भण्डारण गरेको जिल्ला सहकारी शीतभण्डारका व्यवस्थापक जय शेषमणि पटेलले बताए ।

उनका अनुसार जिल्ला सहकारी सङ्घ लिमिटेडको सहकारी शीतभण्डार मुलुकमै धेरै क्षमताको शीतभण्डारमध्ये एक हो । शीतभण्डार निर्माणका लागि सङ्घीय सरकारले ६० प्रतिशत अनुदान, स्थानीय सहकारीको २० र स्थानीय सरकारको २० प्रतिशत लगानी रहेको छ । शीतभण्डारको पाँच वटै चेम्बर प्रयोगमा ल्याउन सकिएमा वार्षिक दुई करोड ५० लाख राजस्व संकलन गर्न सकिने व्यवस्थापक पटेलले बताए ।

मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त, १६ प्रतिशत मात्रै प्रगति

मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा डेढ वर्ष बित्दा समेत १६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ ।

पृथ्वी राजमार्गमा पर्ने नागढुङ्गा–मुग्लिन सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नति थालिएको हो । उक्त सडक खण्ड ३९ किलोमिटर छ । नागढुङ्गा–मुग्लिन सडक योजनाको यो पश्चिम खण्ड हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार नक्सांकन परिवर्तन, वर्षात र चाडपर्वका कारण काम लक्ष्यअनुसार हुन नसकेको हो । भारतीय परामर्शदाता कम्पनीले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनमा तथ्यांक गलत भएपछि सुधार गरेर पुनः तयार गर्दा थप छ महिना काम गर्न नपाएको आचार्यको भनाइ छ ।

गोँगबु बसपार्कलाई प्रविधिमैत्री बनाइने
काठमाडौँ महानगरपालिका–२६ गोँगबुस्थित नयाँ बसपार्कलाई प्रविधिमैत्री बनाइने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र पूर्व यातायात व्यवस्थापन प्रालिले विश्वकर्मा पूजाका अवसरमा आज नयाँबसपार्कमा आयोजना गरेको कार्यक्रममा यातायात क्षेत्रको सुधारका लागि गोँगबु बसपार्कलाई प्रविधिमैत्री बनाइने व्यवसायीले बताएका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले नयाँ बसपार्कलाई दसैँअगाडि प्रविधिमैत्री बनाउने गरी महासङ्घले तयारी गरिरहेको जानकारी दिए।
‘नयाँ बसपार्क क्षेत्रमा देखिएको विकृति, विसङ्गति अन्त्य गर्न महासङ्घ लाग्नेछ,’ उनले भने। उनले मुलुकको सार्वजनिक यातायातको क्षेत्रमा १० खर्ब बढी लगानी र चार लाखले प्रत्यक्ष रोजगारी पाएको बताउँदै यसको संरक्षणका लागि यातायात व्यवसायी तथा मजदुर एक भएर अगाडि बढ्नुपर्ने बताए।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ६ : ३६ बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले