काठमाडौंका सडकमा ढलको ढकनीको धराप (तस्बिरहरू) | Khabarhub Khabarhub

काठमाडौंका सडकमा ढलको ढकनीको धराप (तस्बिरहरू)



काठमाडौं –  वर्षभर मुस्किलले ६ महिना सवारीसाधन चलाउन सकिने ग्रामीण मौसमी कच्ची र ग्राभेल सडकमा यात्रा गरिरहेकाहरूलाई लाग्न सक्छ – देशका शासक/प्रशासकहरूले आफू बस्ने र सवार हुने शहरका सडकमात्रै चिल्लो बनाउँछन्‌ ! देशकाे दूरदराजका सडक अलपत्र छाडिदिन्छन्‌ ।

अझ; मर्मतको अधिकांश बजेट राजनीति र प्रशासनको केन्द्र सङ्घीय राजधानी काठमाडौंकै सडकमा खन्याउँछन्‌ ! तर काठमाडौंमा सडक अवस्था कल्पना गरिएजस्तो छैन ।

काठमाडौंका मुख्यदेखि भित्री सडकका जताततै केही मिटरको फरकमा धरापयुक्त खाडल र उबडखाबड भेटिन्छन्‌ । सडक निर्माणमा गरिएको हेल्चेक्य्राइँ र सडकको सतहभन्दा कि तल या माथि पारेर राखिएका म्यानहोल ढकनीको धरापले सवारीलाई निकै कष्टकर बनाउने गरेको छ ।

दुईपाङ्ग्रे सवारीसाधन चढेर दैनन्दिन कामकाज गरिरहेकाहरूले त सडकमा निस्कनसाथ सास्ती खेप्नुपर्छ । सडकको सतहसँग नमिलाइ अव्यवस्थित छाडिएका म्यानहोलका ढकनीमा देख्नासाथ आत्तिएर सवारीसाधन अन्यत्र मोड्नुपर्छ । समयमै आँखाले ठम्याएन भने त त्यस्ता उबडखाबडमा सवारीसाधनसहित उछिट्टिएर दुर्घटना ब्यहोर्नुपर्छ ।

काठमाडौं उपत्यकाभर वार्षिक हुने गरेको करिब १० हजार सडक दुर्घटनामध्ये झण्डै ३० प्रतिशतमा सडक दूरावस्था प्रमुख कारक हो । काठमाडौं उपत्यकामा ढल र खानेपानीका अधिकांश नाला र पाइप सडकभित्रै बिछ्याइएको छ । खानेपानी तथा तथा ढल निकासका ती संरचना मर्मतसम्भार गर्न सडककै ट्रयाकमा पर्नेगरी जताततै म्यानहोल राखिएको छ ।

हाल खानेपानी तथा ढल व्यवस्थापन विभाग खानेपानी मन्त्रालयअन्तर्गत छ । अनि, सडकमा म्यानहोलको ढकनीको धराप थाप्न चाहिँ विभागसँगै अन्य आधादर्जन निकाय र समितिहरूको तँछाडमछाड हुने गरेको देखिन्छ । तर, निर्माण र मर्मतको त्यस्तो हतारोले सडकलाई सुरक्षित बनाउनुको साटो ‘मृत्युमार्ग’ बनाइरहेको छ ।

म्यानहोलको ढकनी नमिलाएकै कारण सडकको दूरावस्था देखेपछि तत्कालीन शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले त नेपालका इञ्जिनियरहरू गाउँका सुब्बादाइ जत्तिको पनि नभएको भन्दै आक्रोशयुक्त व्यङ्ग्य गरेकी थिइन् । मन्त्री हुँदा गाडी चढे पनि आफू स्कूटरको यात्री भएको र यात्रा गर्दा ढलको बिर्कोका कारण पटकपटक लडेको उनी बताउँदै थिइन् ।

उनले भनेकी थिइन्‌, ‘कहाँबाट के-के भएर म मन्त्री बनेँ, म साढे दुई महिनादेखि गाडी नै चढिरहेकी छु, तर म स्कुटर चढ्ने मान्छेलाई ढलको बिर्कोले जहिल्यै दुःख दियो । म पटक-पटक लडेँ । यो देशका इञ्जिनियरले ढलको बिर्को मिलाउने दिन कहिले आउला भन्ने मेरो व्यावसायिक चुनौती हो ।’

त्यतिखेर मन्त्री झाँक्रीले नै चासो राखेपछि सडकको बीचमा राखिएका म्यानहोलका ढकनी मिलाउन सम्बन्धित निकायले चासो देखाएका थिए । तर, रामकुमारीले सरकार छाडेको २८ महिना बितिसक्दा सडकको दूरावस्था उस्तै छ । सडक मर्मत गर्ने निकायले धुलो र हिलो हुन नदिन कालोपत्रेको काम मात्रै लगाउने र अन्तरनिकाय समन्वय नहुँदा यो समस्या यथावत्‌ रहेको उनको भनाइ छ ।

आफू मन्त्री हुँदा सडक सुधार र त्यसअन्तर्गत ढलका ढकनी मिलाउन खोजे पनि सरकारबाट हटेपछि काम अघि बढेको झाँक्री बताउँछिन्‌ । खबरहबसँग कुरा गर्दै उनले भनिन्‌, ‘अस्फाल्ट प्रविधि भित्रिएपछि ३०/४० वर्ष अघिदेखि नै काठमाडौंमा विभिन्न ठाउँमा सडक कालोपत्रे हुन थाल्यो । तर हामीले पीचमाथि पीच थपिरहेका छौँ । ढलका ढकनीमात्र होइन, सडकभन्दा दुई/तीन फिट अग्ला घरहरू पनि पीचमाथि पीच थप्दा होचा भइसके ।’

ढलको बिर्को मिलाउने काम शहरी विकास मन्त्रालयअन्तर्गतको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, सिँचाइ, ढल, खानेपानी र शहरी विकास विभागले संयुक्त जिम्मेवारी काम गरिरहेका हुन्छन् । भित्री सडकहरूमा सम्बन्धित नगरपालिकाले पनि ढल र खानेपानी व्यवस्थापनका काम गर्छन्‌ ।

उसै पनि समयमा मर्मत नहुँदा पीच उप्किएका सडक, त्यसमाथि ढलको ढकनी नमिलाउँदा कतै डाँडा त कतै खाडलले काठमाडौंका सडक दुर्घटनाग्रस्त छन्‌ । कतै ढलको बिर्को राखिएकै स्थानबाट सडकको पीच उप्किएको छ त कतै खाडल नै खाडल भेटिइन्छ ।

कतै सडकभन्दा माथितिर म्यानहोलको ढकनी उठेको छ र कतै कालोपत्रे थप्दाथप्दा त्यसैले घेरिएर बिर्को राखिएको स्थान खाडल बनेको छ । इञ्जिनियरहरूले भरिएको केन्द्रीय सडक विभाग, सडक बोर्ड, इञ्जिनियर बालेन शाह नै मेयर भएको महानगर र प्राविधिक कर्मचारी नै भर्ना गरिएका हरेक नगरका योजना शाखाले पनि काठमाडौं‌को सडकका यस्ता धराप हटाउन सकेका छैनन्‌ ।

सडकमा यात्रा गरिरहँदा सवारीसाधनको टायर कतै टुटुल्को उठेजस्तो म्यानहोलको ढकनीमाथि उफ्रन्छ त कतै सडकको सतहभन्दा एक फिट तल भासिएको खाल्डोमा बजारिन्छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ९ : ३८ बजे

‘सरकारले विचौलिया तत्वको स्वार्थमा काम गर्दा जनता निराश’ 

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले गठन

चितवनमा रगतको अभाव, रक्तदान गर्न दाताहरूलाई आग्रह

चितवन– जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान

आरएसडिसी लघुवित्तले १० प्रतिशत बोनस दिने 

काठमाडौं– आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–०८१ को

बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला

जलेश्वर– बिजुलीको झिलीमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौ‌ं– काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको