पोखराका प्रेमप्रसादको एकीकृत कृषि  « Khabarhub

पोखराका प्रेमप्रसादको एकीकृत कृषि 


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिका–२४ लौरुकका किसान प्रेमप्रसाद अधिकारीका फार्ममा उत्पादन भएका कृषिजन्य वस्तु लेकसाइड आसपासमा खरिद गर्नेको घुइँचो हुन्छ । बजार पुर्‍याइएका तरकारी बिक्री हुँदैन की भन्ने उनलाई चिन्ता लाग्दैन ।

बजारमा जितिरहेको विश्वास उनको एकीकृत कृषिप्रतिको लगाव र मेहनत हो । पहिचान अर्ग्यानिक कृषि फार्म सञ्चालन गरिहरेका अधिकारीले फार्ममा एकीकृत रूपमा पशुपालनसँगै तरकारी खेती पनि गरिरहेका छन् । गोठमा भैँसी पालन गरिहरेका अधिकारीले दैनिक ४५ लिटर दूध बेचिरहेका छन् भने तिनै भैँसीको मलले चार वटा टनेलमा विभिन्न किसिमका मौसमी तथा बेमौसमी तरकारी लगाइरहेका छन् ।

सुरुमा गाउँका स्थानीयकोसमेत दूध सङ्कलन गरी सात सय लिटरसम्म बजारमा बिक्री गर्न लैजाने गरेको अधिकारीले बताए  । फार्ममा पालिएका भैँसीको मल आफ्नै तरकारी खेतीमा प्रयोग गरी अर्ग्यानिक उत्पादनमा जोड दिएको उनको भनाइ छ । उनले भने, ‘विषादीरहित मल प्रयोग भएकाले उत्पादित तरकारीको माग पनि बजारमा बढी छ ।’

आफ्नो जीवनकालमा विभिन्न अनुभव पनि सँगालेको बताउँदै अधिकारीले सन् २००० देखि २००५ सम्म कतारमा वैदेशिक रोजगारी गरेको जानकारी दिए । त्यसयता लेकसाइडमा होटेल सञ्चालन गरेका उनले २०७२ सालको भूकम्पपछि कृषितर्फ लागेको जानकारी दिए ।

अर्ग्यानिक खेतीका लागि चाहिने मल गोठबाट उपलब्ध हुने गरेको भन्दै अधिकारीले गोठमा अहिले १८ वटा भैँसी रहेका उल्लेख गरे । लोकल कुखुरापालन पनि गरिरहेका उनले बजारको माग अनुसार कृषिजन्य उत्पादन पुर्‍याउन नसकेको बताए । आफैँ बजारीकरणमा लाग्नुका साथै र परिवारका सदस्यले पनि सहयोग गर्दा काम गर्न सहज भएको अधिकारीको भनाइ छ ।

व्यावसायिक कृषिमा परिवारजनबाट सहयोग पाएको बताउँदै उनले एकीकृत कृषिबाट जोकोही लाभान्वित हुनसक्ने अनुभव सुनाए । परिवारको सहयोगसँगै उनले अन्य दुई जनालाई दैनिक ज्यालादारीमा रोजगारीसमेत दिँदै आएका छन्।

‘मेरो व्यावसायिक कृषिमा श्रीमती, छोराछोरी, आमा सबैको निरन्तर साथ र सहयोग छ’, उनले भने, ‘एकीकृत रूपमा पशुपालन र तरकारी खेती गरेकाले उपभोक्तालाई शुद्ध प्राङ्गारिक उत्पादन पुर्‍याउन सकेको छु ।’

उत्पादित वस्तुको बजार लेकसाइड रहेको बताउँदै अधिकारीले धेरै उत्पादन हुँदा पोखरा महानगरपालिकाद्वारा सञ्चालित कृषि एम्बुलेन्स सहयोगी बन्ने उल्लेख गरे । सुरुमा १० लाख रुपैयाँबाट व्यावसायिक कृषिमा लगानी सुरु गरेको जनाउँदै उनले त्यसयता टनेल निर्माण, गोठलगायत पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगेको बताए । उत्पादित वस्तुको सहज बजारीकरणका साथै आम्दानी पनि प्रशस्तै भइरहेकाले सन्तुष्ट रहेको उनको भनाइ छ ।

अघिल्लो वर्ष एक लाखको साग, एक लाखको काँक्रो बिक्री गरेको अधिकारीले जानकारी दिए  । धनियाँ, गोलभेडालगायत उत्पादनबाट पनि सोहीअनुसार फाइदा भएको उनले अनुभव सुनाए । गत वर्ष राँगा बिक्रीबाट सबै खर्च कटाएर एक लाख ५० हजार  रुपैयाँ आम्दानी भएको उनले जानकारी दिए ।

अधिकारीले गर्नुभएको एकीकृत कृषि अरूका लागि पनि अनुकरणीय भएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए । ‘पशुपालनसँगै तरकारीजन्य उत्पादन गर्दै आउनुभएका अधिकारीले एकीकृत रूपमा कृषिकर्म गर्नुभएको छ’, उनले भने, ‘घरमा पशु पालन भएकाले खेतबारीमा पशुमल प्रयोग भएकाले अर्ग्यानिक तरकारी उत्पादनमा सहयोग पुगेको छ ।’

‘हाम्रो परिवेशमा एउटै किसानको सयौँ रोपनी जग्गा हुने अवस्था पनि छैन’, कडरियाले भने, ‘थोरै जग्गामा अधिकतम लाभ लिन अब अधिकारीले जस्तै अरूले पनि एकीकृत कृषि प्रणाली अपनाउनु जरुरी छ ।’

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ५ : ५६ बजे

नेपालमा सन् २०३० सम्ममा औसत आयु ३.७ वर्षले बढ्न सक्ने अनुमान 

काठमाडौं– नेपालमा सन् २०३० सम्ममा ६० लाख मानिसको ज्यान बच्न

पुराना एम्बुलेन्स सञ्चालन रोक्दा अभाव हुने चिन्ता

चितवन– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन

तनहुँमा एक करोड बराबरको धानबालीमा क्षति

तनहुँ– हालैको वर्षाले तनहुँमा एक करोड बराबरको धानबालीमा क्षति भएको

फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि

काठमाडौं महानगरः पहिलो चौमासिकमा गएको वर्षभन्दा पाँच करोड ६५ लाख बढी राजस्व संकलन

काठमाडौं – चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाले तीन