एनपीएलमा कस्तो रह्यो ‘मार्की प्लेयर’को प्रदर्शन ? | Khabarhub Khabarhub

एनपीएलमा कस्तो रह्यो ‘मार्की प्लेयर’को प्रदर्शन ?

रोहित बलिङ-ब्याटिङ दुवैमा सफल, चलेन सन्दीप र सोमपालको जादु


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणका सबै २८ खेल सकिएका छन् । यससँगै प्लेअफमा पुग्ने चार टीम पनि टुंगिसकेका छन् ।

लिग चरणको खेलमा सबैभन्दा कम एक मात्रै हार र ६ जितसहित सुदूरपश्चिम रोल्यस् १२ अंकसहित तालिकाको शीर्ष स्थानमा हुँदै प्लेअफमा स्थान बनायो ।

सातमा दुई खेल हारेको जनकपुर बोल्ट्स १० अंकसहित तालिकोको दोस्रो स्थानमा छ । जनकपुरले चितवन राइनोज र सुदूरपश्चिम रोयल्सँग मात्रै हारेको हो ।

चितवन राइनोज तालिकाको शीर्ष स्थानको सुदूरपश्चिमलाई हार चखाउने एक मात्रै टोली हो । चितवनले तालिकामा आफूभन्दामाथिका दुवै टिमलाई सुदूरपश्चिम र जनकपुर बोल्ट्सलाई पराजित गरेको छ ।

सातमा चार खेल जितेको चितवन आठ अंकसहित रनरेटका आधारमा तालिकाको तेस्रो स्थानमा पुग्न सफल भएको हो ।

आठ अंकसहित कर्णाली याक्स तालिकाको चौथो स्थानमा छ । कर्णालीले भने सुदूरपश्चिम, काठमाडौं गुर्खाज र जनकपुर बोल्ट्ससँग हारेको छ । रन रेटका आधारमा यो टोली तालिकाको चौथौ स्थानमा छ ।

तालिकाका शीर्ष चारमा रहेका यी टोली प्लेअफमा पुगेका छन् । अन्य चार टोली लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, विराटनगर किङस र काठमाडौं गुर्खाज प्रतियोगिताबाट बिदा भइसके ।

लिग चरणको सात खेलमा सबैभन्दा बढी हार्ने टोली लुम्बिनी हो । यो टोलीले चितवन राइनोजलाई मात्रै हराउन सक्यो ।

विराटनगर र पोखराले ७ खेलमा समान २–२ जित निकाले । ४ खेलमा जित र ३ खेलमा हार व्यहोरेको काठमाडौं गुर्खाज अंक आठसहित तालिको पाँचौँ स्थानमा पुग्यो ।

तर, रन रेटले कर्णालीभन्दा पछि परेकाले प्लेअफमा पुग्न सकेन ।

अर्थात्, रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल र करण केसी मार्की खेलाडी रहेका टोली घरतिर लागिसकेका छन् ।

प्लेअफको दौडमा दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, कुशल मल्ल र सोमपाल कामी मार्की खेलाडी रहेको टोली छन् ।

लिग चरणका सबै खेल पूरा हुँदा मार्कीको प्रदर्शन :

दीपेन्द्रसिंह ऐरी, सुदूरपश्चिम रोयल्स

प्रतियोगिताका हेभीवेट अलराउन्डर तथा सुदूरपश्चिमका मार्की प्लेयर दीपेन्द्रले सातै खेलमा ब्याटिङ गरे ।

दीपेन्द्रले विराटनगरसँगको खेलमा अर्धशतक पूरा गरे । यही खेलमा उनले सबैभन्दा बढी रन जोडे । उक्त खेलमा उनले ३ चौका र ५ छक्कासहित अविजित ५७ रन जोडे ।

जनकपुरविरुद्ध भने रनको खाता खोल्न सकेनन् । ३ बल सामना गर्दा शून्यमै पवेलियन फर्किए । चितवनसँगको खेलमा दोहोरो रन बनाउन सकेनन् । २ बल सामना गरेर १ रनमै आउट भए ।

काठमाडौंविरुद्ध ४३, कर्णालीविरुद्ध ३८ रन, लुम्बिनीविरुद्ध अविजित ३९ र पोखराविरुद्ध २०, जोडे । सबै खेलमा उनले १९८ रन जोडे ।
उनले ११८ बल सामना गर्दा १४ चौका र ११ छक्का सहित १९८ रन जोडेका छन् ।

उनले पाँच खेलमा मात्रै बलिङ गरे । काठमाडौं र लुम्बिनीविरुद्ध उनले बलिङ गरेनन् ।

विराटनगरविरुद्ध २ ओभर बलिङ गर्दा उनले ९ रन खर्चिए । चितवनविरुद्ध ४ ओभर बलिङ गर्दा उनले ३२ रन खर्चिदै १ विकेट लिए ।

जनकपुरविरुद्ध बलिङ गर्दा भने दीपेन्द्र टिमकै खर्चिला बलर बने । उनले ३ ओभर बलिङ गर्दा २ विकेट लिएर २७ रन खर्चिए ।

त्यस खेलमा ४ ओभर बलिङ गरेका सुदूरपश्चिमका हर्मित सिंहले २ विकेट लिँदै २ रन मात्रै खर्चिएका थिए ।

चितवनविरुद्ध ४ ओभर बलिङ गर्दा उनले १ विकेट लिए भने ३२ रन खर्चिए ।

पोखराविरुद्ध ४ ओभर बलिङ गरेका दीपेन्द्र विकेटविहीन रहँदै १८ रन खर्चिए । कर्णालीसँग पनि ४ ओभर बलिङ गरेका दीपेन्द्रले २ विकेट लिँदै २० रन खर्चिए ।

५ खेलमा बलिङ गर्दा दीपेन्द्रले १७ ओभर बलिङ गर्दा ५ विकेट लिएर १०६ रन खर्चिए ।

आशिफ शेख, जनकपुर बोल्टस्

एनपीएलको अन्य सात टिममा मार्की प्लेयर नै कप्तानको भूमिकामा छन् । तर, टीम जनकपुरको मार्की खेलाडी आरिफ शेख र कप्तान अनिलकुमार साह हुन् ।

नेपाली राष्ट्रिय टिमका ब्याटर एवम् जनकपुरका मार्की प्लेयरसमेत रहेका आशिफले अहिलेसम्म अर्धशतक प्रहार गरेका छैनन् । उनले कर्णालीविरुद्ध सबैभन्दा बढी ३६ रन जोडे ।

उनी विराटनगरविरुद्धको खेलमा खाता खोल्न नसक्ने जनकपुरका ब्याटर हुन् । त्यस खेलमा ३ बल सामना गरेर उनी शून्यमा आउट भए ।

सुदूरपश्चिम र काठमाडौंविरुद्धको उनले दोहारो रन जोड्न सकेनन् । सुदूरपश्चिमविरुद्ध ४ र काठमाडौंविरुद्ध २ रनमा आउट भए ।

पोखराविरुद्ध ३३, चितवनविरुद्ध २३ र लुम्बिनीविरुद्ध उनले १६ रन जोडे ।

लिग चरणको ७ खेलमा आशिफले ११६ बल सामना गरेका उनले ३ छक्का र ११ चौकाको सहयोगमा ११४ रन मात्रै जोडे । उनले सामना गरेको बलभन्दा रन २ ले कमी छ ।

कुशल मल्ल, चितवन राइनोज

नेपाली राष्ट्रिय टिमका अलराउन्डर ब्याटर कुशल मल्ल जारी एनपीएलमा अर्धशतक प्रहार गर्ने खेलाडीको सूचीमा पर्छन् ।

उनले जनकपुरविरुद्धको खेलमा अर्धशतक पूरा गर्दै सर्वाधिक ७२ रन जोडेका थिए ।

कुशलले सबै खेलमा दोहोरो रन बनाएका छन् । काठमाडौं गुर्खाजविरुद्ध उनले सबैभन्दा कम रन ११ रन बनाएका थिए ।

विराटनगरविरुद्ध २५, लुम्बिनीविरुद्ध २०, सुदूरपश्चिमविरुद्ध १३, कर्णालीविरुद्ध २३ र पोखराविरुद्ध ३८ रन जोडे ।

उनले १६० बलको सामना गर्दा ११ चौका र १४ छक्काको सहयोगमा २०२ रन जोडेका छन् ।

कुशलले सातै खेलमा बलिङ गरेका छन् । उनले २५ ओभर अर्थात् १५० बल फ्याँक्दा विपक्षी टिमहरूको ८ विकेट लिए भने १५५ रन खर्चिए ।

सोमपाल कामी, कर्णाली याक्स

प्रतियोगितामा तीव्र गतिका बलर सोमपाल कामीको बलिङ पनि चलेको छैन । उनले कुनै पनि खेलमा दोहोरो विकेट लिएका छैनन् ।

उनी जनकपुरविरुद्धको खेलमा विकेटविहीन रहे । कर्णालीका लागि खर्चालु बलर बने । त्यस खेलमा उनले ३ ओभर बलिङ ३३ रन खर्चिए । त्यही खेलमा चार ओभर बलिङ गरेका कर्णालीका जिशान मकसूदले ३३ रन खर्चिएका थिए ।

सोमपालले लुम्बिनीसँगको खेलमा १ ओभर मेडन फ्याँकेका छन् ।

सात खेलमा २३ दशमलव ५ ओभर बलिङ गर्दा ६ विकेट मात्रै लिए । उनको १४३ बलमा विपक्षी टोलीका ब्याटरले १९५ रन प्रहार गरे ।

करण केसी, काठमाडौं गुर्खाज्

राष्ट्रिय टिमका अलराउन्डर एवम् काठमाडौंका मार्की प्लेयर करण केसीको प्रदर्शन ब्याटिङमा भन्दा बलिङमा राम्रो देखिन्थ्यो ।

उनी चितवनसँगको खेलमा मात्रै विकेटविहीन रहे । लुम्बिनीविरुद्धको खेलमा उनले सर्वाधिक ४ विकेट लिएका छन् । पोखरासँगको खेलमा उनले ३ विकेट लिए ।

करणले २३ दशमलव ५ ओभर अर्थात् १५२ बलिङ गर्दा १२ विकेट लिएर १५२ रन खर्च गरे ।

करणले ७ खेलमै ब्याटिङमा उत्रिएका थिए । उनले ५ खेलमा दोहोरो रन बनाउन सकेनन् । उनी विराटनगरविरुद्धको खेलमा शून्यमै आउट भए ।

कर्णालीविरुद्ध भने उनले १० बलमा सर्वाधिक २८ रन जोडे । ब्याटिङतर्फ विपक्षीको ३९ बल सामना गरेका करणले ३ छक्का र ४ चौका सहयोगमा ५१ रन जोडेका छन् ।

सन्दीप लामिछाने, विराटनगर किङ्स

राष्ट्रिय टोलीका स्पिनर सन्दीप विराटनगरका मार्की खेलाडी मात्रै होइनन्, हेभीवेट बलर पनि हुन् । सन्दीपसँग आईपीएलसँगै चर्चित लिग खेलेको अनुभव छ ।

यद्यपि सन्दीपको बलिङ यस प्रतियोगितामा अपेक्षित चल्न सकेन । उनले तेस्रो खेल अर्थात्, लुम्बिनीसँगको प्रतिस्पर्धामा मात्रै पहिलो विकेट लिए ।

उनी सातमध्ये ४ खेलमा विकेटविहीन रहे । अर्थात्, जनकपुर, सुदूरपश्चिम, कर्णाली र पोखराविरुद्ध उनको बलिङ चलेन ।

उनले काठमाडौंविरुद्ध सर्वाधिक ३ विकेट लिए । चितवनविरुद्ध २ र लुम्बिनीविरुद्ध १ विकेट लिए । उनले एक ओभर पनि मेडन फ्याँक्न सकेनन् ।

सन्दीपले सातै खेलमा चार–चार ओभर बलिङ गरे । उनले गरेको १६८ बलिङमा विपक्षी ब्याटरले १९१ रन प्रहार गरे । सन्दीपको खातामा ६ विकेट मात्रै छ ।

कुशल भुर्तेल, पोखरा एभेन्जर्स

राष्ट्रिय टोलीका ओपनर तथा पोखराका मार्की प्लेयर कुशल भुर्तेलको ब्याटिङ एनपीएलमा चल्न सकेन ।

पोखराको सात मध्य ६ खेलमा मात्रै उनले ब्याटिङ गरे । लुम्बिनीविरुद्ध उनी ब्याटिङमा उत्रन नपाउँदै पोखराले जित निकाल्यो ।

सुदूरपश्चिम र चितवनविरुद्ध उनले खाता पनि खोल्न सकेनन् । जनकपुर र काठमाडौंविरुद्ध उनले दोहोरो रन बनाउन सकेनन् ।

कुशलले जनकपुरविरुद्ध ६ र जनकपुरविरुद्ध ७ रन मात्रै जोडे । विराटनगरविरुद्ध उनले सर्वाधिक ३२ रन जोडे । कर्णालीविरुद्ध उनले मात्र १० रन जोडेर पवेलियन फर्किए ।

अर्थात् कुशलले ६५ बलमा २ छक्का र ४ चौकाको सहयोगमा ५४ रन मात्रै जोडेका छन् ।

रोहित पौडेल, लुम्बिनी लायन्स

राष्ट्रिय टोलीका कप्तानसमेत रहेका लुम्बिनीका मार्की प्लेयर एवम् कप्तान अलराउन्डर ब्याटर रोहितले जारी प्रतियोगितामा बलिङ र ब्याटिङ दुवैमा आफ्नो कौशल देखाए । तर उनले टिमलाई लगातारको हारबाट जोगाउन सकेनन् ।

रोहित एनपीएलमा दुई अर्धशतक प्रहार गर्ने खेलाडीको सूचीमा छन् । उनले पोखराविरुद्धको खेलमा सबैभन्दा बढी ९५ रन जोडे । चितवनविरुद्ध उनले ८० रन जोडे ।

सुदूरपश्चिम र काठमाडौंविरुद्धको खेलमा भने उनले दोहोरो रन बनाउन सकेनन् । सुदूरपश्चिमविरुद्ध उनले ५ र काठमाडौंविरुद्ध केबल ८ रन जोडे ।

रोहितले २०९ बलको सामना गर्दा ११ छक्का र २६ चौकाको सहयोगमा २८२ रन जोडेका छन् ।

रोहितले ६ खेलमा बलिङ गरे । चितवनविरुद्ध उनले सर्वाधिक ४ विकेटसम्म लिए । पोखरा र काठमाडौंविरुद्ध भने उनी विकेटविहीन रहे ।

रोहितले ६ खेलमा १९ ओभर बलिङ गरे । उनले फ्याँकेको ११४ बलमा विपक्षी टिमका ब्याटरले १०७ रन प्रहार गरे । रोहित ८ विकेट लिन सफल भए ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ८ : ०२ बजे

बाढी पहिरोले बन्द माथिल्लो तामाकोशी जलविद्युत आयोजना सञ्चालनमा

दोलखा– गत असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको

वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने जापानको लक्ष्य

टोकियो – जापान सरकारले ऊर्जा र खाद्य क्षेत्रहरूमा आपूर्ति शृङ्खलाहरू

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

पर्साको पोखरियामा मालपोत कार्यालय स्थापना गर्ने निर्णय

पर्सा– पर्साको पोखरिया नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना हुने

विपन्न परिवारलाई चुलो वितरण

चितवन– चितवनको सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले