राष्ट्रियसभा निर्वाचन : कृष्ण सिटौला कति सुरक्षित ? | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचन : कृष्ण सिटौला कति सुरक्षित ?



काठमाडौं– राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुँदैछ । कोशी प्रदेशको हकमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला मतभारको हिसाबले बहुमतमा छन् । तर, गणितले साथ दिँदादिँदै पनि उनी केही जोखिममा देखिएका छन् ।

गठबन्धनमा तर्फबाट कोशीमा कांग्रेसका कृष्णप्रसाद सिटौला उम्मेदवार छन् । राप्रपाले बिरानगरका पूर्वउपप्रधानपञ्च समेत रहेका उद्धव पौडेललाई उम्मेदवार बनाएको छ । एमालेले पर्शुराम अधिकारीलाई उम्मेदवार बनाएको छ । तर, एमालेले आफ्नो उम्मेदवार उठाए पनि कृष्ण सिटौलालाई राष्ट्रियसभामा रोक्न राप्रपालाई सहयोग गर्नेमा अध्यक्ष लिङ्देन आशावादी देखिन्छन् ।

राप्रपा अध्यक्ष लिङदेनले केही दिन अगाडि खबरहबसँगको कुराकानीमा निर्वाचनको अन्तिम तयारीसम्म परिदृश्य फेरिने संकेत आएको बताएका थिए । तर, एमाले र राप्रपाले बेग्लाबेग्लै उम्मेदवार उठाए । निर्वाचन आयोगले तोकेको पुस २९ भित्र कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् । राप्रपा र एमाले बेग्लाबेग्लै लड्दा सिटौलाको जित लगभग निश्चितजस्तै छ ।

कुनै राजनीतिक परिवर्तन नभए सिटौलालाई जित्न सहजै छ । तर, कोशीको राजनीति हो, गत साल पनि राष्ट्रियसभाको चुनावमा गठबन्धनका उम्मेदवार हेमराज राई हारेर एमालेका सोनाम ग्याल्जेन शेर्पाले जितेको नजिर छ । यही कारणले गर्दा कांग्रेस नेता सिटौला अहिले विभिन्न जिल्लाको दौडधूपमा लागेका छन् ।

कसको कति मतभार ?

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्छन् । एकजना प्रदेशसभा सदस्यको मतभार ५३ गणना गरिन्छ । कोशी प्रदेशमा ९३ सांसद छन् । उनीहरुको कुल मतभार ४ हजार ९ सय २९ हुन जान्छ ।

(प्रदेशसभाका मतदाताहरुको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्)

कोशी प्रदेशसभामा एमाले सबैभन्दा ठूलो दल हो । उसित ४० सिट छ । राप्रपासँग ६ सिट छ । गठबन्धनतर्फ कांग्रेससँग २९, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जनता समाजवादीसँग १ सिट छ ।

हेर्नुहोस् प्रदेशसभाको सिट र मतभार–

स्थानीय तहको कुरा गर्दा कोशी प्रदेशमा १३७ वटा पालिका छन् । ती पालिकाका प्रमुख र उपप्रमुख गरी २७४ जनाले मतदान गर्न पाउँछन् । स्थानीय तहका एक जनाको मत बराबर १९ मतभार गणना गरिन्छ । यसो गर्दा कोशी प्रदेशमा स्थानीय तहका मतदाताको कुल मतभार ५ हजार २ सय ६ हुन जान्छ ।

(प्रदेशसभाका मतदाताहरुको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्)

कोशी प्रदेशका स्थानीय तहमा कांग्रेस र एमालेको पोजिसन लगभग बराबरजस्तै छ । स्थानीय तहका २७४ मतदातामध्ये कांग्रेससँग ११३ जना छन् भने एमालेसँग ११२ जना छन् । त्यस्तै, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४, जसपासँग ४ र राप्रपासँग ३ जना मतदाता छन् । स्थानीय तहमा धरानका हर्क साम्पाङसहित ३ जना स्वतन्त्रको मतभार ५७ रहेको छ ।

स्थानीय तहका एकजना मतदाताको मतभार १९ तोकिएको छ ।

हेर्नुहोस् कोशीमा स्थानीय तहको मतभार–

कोशीमा प्रदेशसभा सदस्य र पालिका प्रमुख–उप्रमुखको कुल मतभार १० हजार १ सय ३५ हुन जान्छ । यसमा जसले बहुमत ल्याउँछ, उसैले राष्ट्रिय सभा सदस्य पदमा जित हात पार्छ ।

कोशीको समग्र दलीय मत भार हेर्दा गठबन्धन दलसँग ५ हजार ४३६ मत छ । यता एमालेसँग ४ हजार २४८ मात्रै मत छ । राप्रपासँग ३ सय ९४ र स्वतन्त्रसँग ५७ मतभार छ । एमाले, राप्रपा र स्वतन्त्रको सबै जोड्दा पनि गठबन्धनको भन्दा कमै हुन्छ ।

हेर्नुहोस् कोशीको कुल मतभार–

सिटौला सुरक्षित कि जोखिममा ?

अब प्रश्न उठ्छ, गणित नै यस्तो राम्रो साथ दिएको अवस्थामा गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला ‘डेञ्जर जोन’मा छन् भनेर दाबी गर्न सकिन्छ ? कि उनी सुरक्षित जोनमा छन् ?
एकपटक गणितको जोखिम हेरौं ।

प्रदेशसभामा गठबन्धनको भन्दा एमालेको मतभार ३७१ कम छ । राप्रपासँग ३१८ छ । एमाले र राप्रपा मिल्दा गठबन्धनको मतभार ५३ बढी हुन्छ, अर्थात् एकजना सांसदको भोट पुग्दैन । यो अवस्थामा गठबन्धनतर्फका एकजना सांसद अनुपस्थित रहँदा वा क्रस भोटिङ यताउति भइदिँदा प्रदेशसभामा कृष्ण सिटौलालाई बहुमत नपुग्न सक्ने जोखिम देखिन्छ ।

स्थानीय तहतर्फ एमालेसँग गठबन्धनको भन्दा ८१७ मतभार कम छ । यो भनेको ४३ जना स्थानीय जनप्रतिनिधिको मत हो । प्रदेशसभाबाट यसलाई कभर गर्ने हो भने १६ जना सांसद बराबरको मत हो यो । तर, नेपाली कांग्रेसभित्रको अन्तरविरोधका कारण कांग्रेसका ११३ जनप्रतिनिधि मध्ये ४३ जनाले गठबडी गरे, या केही अनुपस्थित रहिदिए भए यसले सिटौलालाई जोखिममा पार्न सक्छ । तथापि ४३ जना जनप्रतिनिधि भनेको ठूलो संख्या भएकाले सिटौलालाई प्रदेशबाट भन्दा स्थानीय तहबाट जोखिम कम हुने देखिन्छ ।

तर, स्थानीय तहमा माओवादीका ३१, एकीकृत समाजवादीका ७ र जनता समाजवादीका ४ समेत गरी ४२ जनप्रतिनिधि छन्, उनीहरुको विश्वास सिटौलाले कति जित्न सक्छन्, त्यसैमा उनको जित भर पर्छ । गठबन्धनको विश्वास मात्र होइन, आफ्नै पार्टीभित्रको अन्तरघातबाट पनि उनले जोगिन जरुरी देखिन्छ ।

अब राजनीतिक जोखिमको चर्चा गरौं ।

कांग्रेस नेता सिटौला राष्ट्रियसभाको अध्यक्ष बन्ने रणनीतिक योजनाका साथ कोशी प्रदेशबाट राष्ट्रियभाको उम्मेदवार बनेका हुन् । त्यसैले उनलाई हराइयो भने राष्ट्रियसभाको अध्यक्ष बन्नबाटै रोक्न सकिन्छ भन्ने विपक्षीले सोच्नु स्वाभाविकै छ । ०७९ मा उनलाई प्रतिनिधिसभामै आउन नदिन झापा क्षेत्र नम्बर ३ मा एमाले र राप्रपाले गठबन्धन गरेका थिए । एमाले अध्यक्ष ओलीले सिटौलालाई हराएर राजेन्द्र लिङदेनलाई जिताइदिएका थिए । त्यसर्थ अहिले पनि ओली र लिङदेन मिलेर सिटौलालाई पहिलेजस्तै गर्छन् कि भन्ने अनुमान लगाउने गरिएको छ । कम्तिमा लिङदेनले ओलीबाट यही कुराको आशा गरेर उद्धव पौडेललाई सिटौलासँग भिडाएका छन् ।

तर, यहाँ ४२४८ मतभार रहेको एमालेले ३९४ मतभार भएको राप्रपालाई सघाउँछ भन्ने सम्भावना त्यति बलियो देखिँदैन । यो अवस्थामा राजेन्द्र लिङदेनले झापाका आफ्ना प्रतिद्वन्दी सिटौलालाई रोक्न एमालेका उम्मदेवार पर्शुरामलाई सघाउलान् त ? त्यो सम्भावना पनि पुस २९ देखि लगभग टरेको छ ।

कृष्ण सिटौला अन्य दलबाट मात्र होइन, आफ्नै पार्टीभित्रबाट पनि जोखिममा छन् । कोशीमा रहेको कांग्रेसभित्रैको उनीविरोधी गुटले मतदान गरेन भने सिटौला जोखिममा पर्न सक्छन् र त्यो अवस्थामा उनको राष्ट्रियसभा अध्यक्षको यात्रा रोकिन सक्छ ।

अर्कोतर्फ कोशी प्रदेशका माओवादीहरु सिटौलाप्रति खासै सकारात्मक छैनन् । सिटौला राष्ट्रियसभाको अध्यक्ष बनेपछि संवैधानिक परिषदको सदस्यसमेत बन्ने अवस्थामा माओवादीले पनि उनलाई तलै रोक्ने हो कि ? किनभने, ०७४ मा पनि झापामा माओवादीले सिटौलालाई नभएर राजेन्द्र लिङदेनलाई भोट हालेको स्थिति छ । यो पाटोबाट पनि सिटौला जोखिममा देखिन्छन् ।

खास गरी गणतन्त्र ल्याउन सिटौलाले गरेको योगदानका कारण राजावादीहरु उनीप्रति बढ्ता नकारात्मक छन् । कम्युनिष्टले साथ नदिँदा सिटौला २०७९ मा झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग पराजित भएका थिए ।

कोशीमा महिला र अन्य गरी दुई वटा क्लष्टरमा उम्मेदवार छन् । मतदाताले दुईजनालाई मतदान गर्नुपर्ने हुन्छ । खुला अर्थात अन्यतर्फ गठबन्धनबाट कृष्णप्रसाद सिटौला, एमालेबाट पर्शुराम अधिकारी र राप्रपाबाट उद्धव पौडेलबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिला कोटाका लागि एमालेकी रुकमणि कोइराला र माओवादीकी चम्पादेवी कार्कीबीच प्रतिस्पर्धा हुनेछ ।

एमाले र राप्रपाको साइनो

झापा एमाले अध्यक्ष शर्मा ओली, कांग्रेस नेता सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसमेतको गृहजिल्ला हो । कांग्रेस महान्त्री विश्वप्रकाश शर्माको गृहजिल्ला पनि झापा नै हो । यहाँ यी नेताहरुले आफू सुरक्षित हुनका लागि विभिन्न गठबन्धनको प्रयोग गर्दै आएका छन् ।

झापामा आफ्नो राजनीति सुरक्षित बनाउन ओली र लिङ्देन दुबैलाई तालमेल चाहिने गरेको छ । ओलीको निर्वाचन क्षेत्रमा राप्रपाले सहयोग गर्दै आएको छ भने लिङदेनको क्षेत्रमा एमालेले राप्रपालाई सघाउँदै आएको छ । ०७९ को प्रतिनिधि सभा निर्वाचनमा ओलीलाई क्षेत्र नम्बर ५ मा राप्रपाले सघाएको थियो । त्यस्तै, लिङदेनलाई क्षेत्र नम्बर ३ मा एमालेले सघाएको थियो । तर, ०७९ को स्थानीय चुनावमा भने ओलीको गृहनगर दमक नगरपालिकामा कांग्रेस र राप्रपाबीच तालमेल भयो र एमाले पराजित हुन पुग्यो ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपा अध्यक्ष लिङदेनको एउटै निर्वाचन क्षेत्र हो । २०७९ को निर्वाचनमा त्यहाँ सिटौला र लिङदेनबीच प्रतिस्पर्धामा भएको थियो । लिङदेनले सिटौलालाई ३ हजार २७६ मतान्तरले हराएका थिए । लिङदेनले ४० हजार ६४८ मत ल्याउँदा सिटौलाले ३७ हजार ३७२ मत पाएका थिए ।

त्यसो त सिटौला राष्ट्रियसभामा निर्वाचित हुँदा राजेन्द्र लिङदेनलाई पनि फाइदा नै हुने देखिन्छ । किनभने, सिटौलाले अहिले जिते भने ०८४ को चुनावमा लिङदेनका लागि झापा क्षेत्र नम्बर ३ को मैदान खाली हुनेछ ।

यसैबीच, कांग्रेस नेता सिटौला माघ ११ को निर्वाचनमा जित निकाल्न कोशी प्रदेशका १४ जिल्लाको दौडधूपमा लागेका छन् । विभिन्न जिल्लामा पुगेर उनले उम्मेदवारहरु भेटेका तस्बिर सामाजिक सञ्जालमा आइरहेका छन् । सिटौलाको सचिवालयका अनुसार उनी कोशीका सबै जिल्लाहरुमा पुग्ने योजनामा छन् ।

दुईवर्षअघि भएको राष्ट्रियभाको चुनावमा कोशीबाट राप्रपाका अमरबहादुर विष्ट (वर्तमान सभामुख) ले १६८ मतभार पाएका थिए । तर, त्यसबेला एमालेका सोनाम ग्याल्जेन शेर्पाले ४७५२ मतभारका साथ गठबन्धनका उम्मेदवार हेमराज राईलाई आश्चार्यजनक रुपमा हराउँदै विजयी बने । गठबन्धनका हेमराजको ४३६८ मत मात्रै आयो ।

त्यसबेला एमाले नेता गुरु बरालले पनि झण्डै जितेका थिए, तर गठबन्धनका उम्मेदवारसँग मत बराबर भएपछि गोला तान्दा कांग्रेसका गोपालकुमार बस्नेत विजयी घोषित भए । अहिले पनि कोशीमा ०७८ सालकै इतिहास दोहोर्‍याउने रणनीतिमा एमाले नेताहरु लागेका छन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवाली भन्छन्, ‘निर्वाचन हो विभिन्न विकल्पको प्रयोग हुन्छ, अहिले यसै हुन्छ नभनौँ ।’

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  १२ : ५१ बजे

शेखरले बेलायतमा उठाए जलवायु परिवर्तन र भूपू गोर्खा सैनिकलाई विभेदको मुद्दा

लण्डन- बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले

कर विवादमा महानगरले भन्यो- बागमतीका मन्त्रीले कुरै नबुझी गैरजिम्मेवार अभिव्यक्ति दिए 

काठमाडौं– काठमाडौं महानगरपालिकाले बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र

अब मेलम्चीकाे पानी बन्द हुँदैन : खानेपानीमन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानीको आपूर्ति अब बन्द नहुने

बडूको संयोजकत्वमा कांग्रेसले बनायो संसदीय दल अनुशासन समिति

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा संसदीय

मेलिना राईले शुक्रबार विवाह गर्दै, को हुन् दुलहा ?

काठमाडौं – गायिका मेलिना राई शुक्रबार विवाह बन्धनमा बाँधिने भएकी