कोशी प्रदेशका १०९ स्थानमा डढेलो, अभिलेखसम्म राख्दैन प्रदेश सरकार  | Khabarhub Khabarhub

कोशी प्रदेशका १०९ स्थानमा डढेलो, अभिलेखसम्म राख्दैन प्रदेश सरकार 



विराटनगर– दुई दिनअघि भोजपुरको हतुवागढी ७ पिप्लेमा भएको आगलागीमा एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु भयो ।

प्रहरीका अनुसार आगलागीमा ५ वर्षका प्रनिष कार्की, ७ वर्षीय बालिका दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्कीको मृत्यु भएको हो ।

उनीहरू एकै परिवारका हुन् । घरको खोल्मामा बालबालिका खेलिरहेको ठाउँमा अचानक आगलागी हुँदा उनीहरूको मृत्यु भएको थियो । प्रहरीको तथ्याङ्कले पनि एक महिना यता आगलागीमा ५ जनाको मृत्यु र घाइतेको संख्या १६ पुगेको छ । त्यसैगरी गएको शनिवार मोरङको रंगेली नगरपालिका–३ बावुसाहेब टोलका २० घर जलेर खरानी भयो । आगलागीले कोशी प्रदेशका धेरै जिल्ला प्रभावित छन् ।

गर्मी बढेसँगै पछिल्लो समय कोशी प्रदेशमा दैनिक जसो आगलागी घटना बढ्न थालेका छन् । तर नियन्त्रण चुनौतीपूर्ण बनेको छ । विभिन्न कारण हुने आगलागीका यस्ता घटनाले बस्ती नै जल्दा मानवीय र भौतिक क्षति पनि उत्तिकै बढेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार फागुनयता मात्रै आगलागीबाट १८६ बढी घर जलेर खरानी भएका छन् । जसका कारण ती घरमा आश्रित करिब २ सय बढी परिवार बिचल्ली भएको छ भने घर आगलागी हुँदा २१ करोड बढी क्षति भएको अनुमान प्रहरीले गरेको छ । आगलागीका घटनामा बढोत्तरी भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङले बताए ।

डीआईजी कुबेरका अनुसार फागनु महिना लागेसंगै प्रदेश भर दैनिक जसो आगलागी र डढेलोका घटना बढ्न थालेका छन् । तर यसको नियन्त्रण अहिले मुख्य चुनौतीको रूपमा देखिएको उनले बताए । पहाडी जिल्लामा वनमा लागेको डढेलो बस्तीमा फैलिँदा मानवीय र भौतिक क्षति हुने गरेको छ ।

तथ्याङ्क संकलनको सुरसारमा मन्त्रालय

आगजनी र डढेलो नियन्त्रणका लागि कोशी प्रदेशमा विपत् व्यवस्थापन कोष तयार पारिएको छ । यसले सम्बन्धित जिल्लाको विपत् व्यवस्थापन समितिले क्षतिको विवरण प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा पठाएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई बजेट उपलब्ध गराउँछ । योबाहेक आगलागी र डढेलोको जोखिम न्यूनीकरणका लागि पूर्वतयारीका लागि प्रदेश स्तरमा कुनै व्यवस्था नै छैन ।

कोशी प्रदेशमा विपत् व्यवस्थापनका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत रहने गरी विपत् व्यवस्थापन कोष बनाइएको छ । तर प्रदेश विपत् व्यवस्थापन कोषमा अहिलेसम्म डढेलोले पुर्‍याएको क्षतिको विवरण नै उपलब्ध छैन ।

शान्ति सुरक्षा तथा विपत् व्यवस्थापन महाशाखा प्रमुख कमलबहादुर थापाले आगलागीको तथ्याङक संकलन हुने कार्य जारी भएकाले अहिले नै यकिन गर्न नकिने बताए ।

जसका कारण प्रदेशका जिल्लामा यतिका आगलागीका घटना भइरहँदा पनि सरकारी संयन्त्रबीचको समन्वय कति कमजोर छ भने यो घटनाले उजागर गरेको छ ।

मन्त्रालयले विपत् व्यवस्थापनको पूर्वतयारीका लागि कुनै काम गरेको देखिँदैन । जिल्लाको विपत् व्यवस्थापन समितिले क्षतिको विवरण मन्त्रालयमा पठाएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई बजेट उपलब्ध गराउने गरिएको शान्ति सुरक्षा तथा विपत् व्यवस्थापन महाशाखा प्रमुख थापाले बताए ।

विपत् व्यवस्थापन समितिको कोषमा अहिले ६ करोड ५० लाख ४९ हजार रुपैयाँ मौज्दात छ ।

प्रमुख थापाले कर्णाली प्रदेशमा भूकम्पका कारण भएको क्षतिमा कोशी प्रदेशले सोही कोषमा रहेको १ करोड रुपैयाँ प्रदान गरेको छ भने  कोशी प्रदेशमा चालु आवमा विभिन्न समयमा भएको विपतका घटनामा कोषमा रहेको रकमबाट १५ लाख क्षतिपूर्ति र राहतमा खर्च भएको छ ।

कोशी प्रदेशका पहाडी र तराईका मोरङ, सुनसरी र झापासहित १० जिल्ला आगलागीबाट आक्रान्त बनेको प्रहरीको तथ्याङ्कले देखाउँछ । पहाडी जिल्लामा डढेलोको प्रभाव बढिरहेको छ ।

पूर्वसचेतना अपनाउन विज्ञको सुझाव

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीन दिनयता कोशी प्रदेशका १०९ स्थानका वनमा डढेलो लागेको छ । आगलागीका घटनाका आधारमा कोशी प्रदेशमा मोरङ, ओखलढुंगा र तेह्रथुममा बढी आगलागी भएको छ ।

शनिबारयता कोशी प्रदेशको मोरङ, सुनसरी, तेह्रथुम, ताप्लेजुङ, ओखलढुंगा, झापा, धनकुटा, खोटाङ, भोजपुर, इलाममा वन डढेलो र आगलागीका घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलमा उल्लेख छ ।

यसपाली हिउँदमा पानी कम परेकाले पनि देशभर सुख्खा बढेकाले आगलागीका घटनामा बृद्धि भएको  जनाइएको छ । यो मौसम हावाहुरी, आगलागी, डढेलो, चट्याङ र असिनापानी पर्ने समय भएपनि मनसुन भने सुरु हुन सकेको छैन ।

आगलागीका घटना बढेसगै पूर्वसचेतना र नियन्त्रणका लागि आवश्यक तयारीमा बढी ध्यान जानुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डढेलो धेरैजसो मानवीय कारणले फैलिने गरेको भन्दै सचेत हुन आह्वान गरेको छ ।

प्राधिकरणका उपसचिव एवं डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले आफ्नो बस्तीतिर आगो नसल्कियोस् भनेर अर्को बस्तीतिर आगो सल्किने गरी जंगलमा डढेलो लगाइदिने गरेका कारण जोखिम बढेको बताए ।

वन डढेलो लागिहालेको अवस्थामा जोखिम क्षेत्रमा अनिवार्य रुपमा सुरक्षा रेखा बनाउन र सुख्खा मौसम भएकाले आफ्नै खरबारीमा पनि आगो नलगाउन उनले सुझाव दिएका छन् । शर्माका अनुसार मानवीय लापरबाहीका कारण नेपालमा ६७ प्रतिशत बढी डढेलोका घटना हुने गरेका छन् ।

पछिल्ला दुई वर्ष डढेलो तुलनात्मक रूपमा कम भए पनि यो वर्षको सुरुवाती समयमै देखिएका घटनाले बढ्न सक्नेतर्फ सचेत हुनुपर्ने बताए । आगलागीका घटना बढेपछि जंगली जीवजन्तुहरू मर्न सक्ने र त्यसबाट पर्यावरणीय सन्तुलन खलबलिने वातावरणविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागले यस पटकको हिउँदमा सरदर भन्दा कम पानी परेकाले सुक्खा भएको र सुक्खामा डढेलोको जोखिम देखिएको जनाएको छ ।

प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले आगलागीको जोखिमबाट बच्न सचेतनाका काम सुरु भइसकेको बताइन् । उनले पछिल्लो दुई–तीन दिनमा डढेलो र आगलागी एकदम बढेको बताउँदै तीनै तहको सरकार र सबै निकायसँगको समन्वय गर्दै सचेतनाको काम अघि बढाउनु पर्नेमा जोड दिइन ।

जोखिम बढेको भन्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले समेत पूर्वसचेतना अपनाउन आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १ : ०५ बजे

इजरायली धम्कीपछि इरानका तेलमन्त्रीद्वारा प्रमुख स्थलको भ्रमण

दमास्कस– इरानको तेल सुविधा जस्ता महत्त्वपूर्ण स्थललाई लक्षित गर्ने सम्भावित

प्रधानमन्त्रीलाई माओवादी केन्द्रले बुझायो ध्यानाकर्षणपत्र

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र) ले बाढी,

खाद्य कम्पनी र खुला बजारमा खसीबोकाको मूल्य उस्तै, च्याङ्ग्रा ८० रुपैयाँ सस्तो

काठमाडौं- सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वलक्षित गरेर

सेनाले राख्न थाल्यो खुर्कोटको सुनकोशीमा बेलिब्रिज

काठमाडौं– खुर्कोट र रामेछाप जोड्ने बेलिब्रिज निर्माणको काम सुरु भएको