हर्क साम्पाङलाई पूर्वजनप्रतिनिधिले पत्रको जवाफ नदिने | Khabarhub Khabarhub

हर्क साम्पाङलाई पूर्वजनप्रतिनिधिले पत्रको जवाफ नदिने

खानेपानी आयोजनामा २ अर्ब १६ करोड खर्च, यस्तो छ एक पाने हिसाब विवरण



सुनसरी – धरान उपमहानगरपालिकाका निवर्तमान मेयर (नगर प्रमुख) तिलक राई र उपमेयर मञ्जु भण्डारीले वर्तमान मेयर हर्कराज राई साम्पाङले आफूहरूलाई काटेको पत्रको जवाफ दिनुको कुनै औचित्य नभएको बताएका छन् ।

एसियाली विकास बैंक (एडीबी)को ऋण तथा अनुदानमा सञ्चालित धरान खानेपानी आयोजनाबारे सात दिनभित्र लिखित जवाफ पेश गर्न वर्तमान मेयर हर्कराज साम्पाङ राईले निवर्तमान मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीलाई वैशाख २७ गते पत्र काटेका थिए ।

निवर्तमान मेयर र उपमेयरको कार्यकालमा खानेपानी आयोजना सफल नै नभई सफल भएको भन्दै नेपाल खानेपानी संस्थान धरान शाखालाई धरान खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गरेको वर्तमान मेयर राईले आरोप लगाएका थिए ।

हर्क साम्पाङ र पूर्वप्रतिनिधिबीच वाकयुद्ध : कागजको बाघ !

सो पत्र मेयर राईले सामाजिक सञ्जालमा सस्तो लोकप्रियता र सार्वजनिक खपत गराउन काटेकाले जवाफ दिनुको कुनै औचित्य नभएको उनीहरूले बताएका हुन्‌ ।

केही दिनअघि राई र भण्डारी लगायत पूर्व जनप्रतिनिधि तथा सांसदहरूको टोली हर्क साम्पाङकहाँ धरानको सर्वाङ्गीण विकास सन्दर्भमा ध्यानाकर्षणपत्र बुझाउन गएका थिए । लगत्तै राईले खानेपानी परियोजनामा पूर्व जनप्रतिनिधिहरूबाट भएको निर्णयबारे स्पष्ट पारिदिन अनुरोध गरेका थिए ।

निवर्तमान मेयर राईले आफूहरूलाई पत्र काट्नु मेयर साम्पाङको गैरजिम्मेवारी र घमण्डीपनको पराकाष्ठा भएको बताएका हुन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै राई र भण्डारीले मेयर हर्क साम्पाङले सस्तो लोकप्रियताका लागि एडीबीको खानेपानी परियोजनाबारे निवर्तमान मेयर, उपमेयरलाई जानकारी मागेको पत्र सामाजिक सञ्जालमा राखेर प्रचारबाजी गरेको आरोप लगाएका छन् ।

एसियाली विकास बैंक (एडीबी)को ऋण तथा अनुदान सहयोगमा धरान खानेपानी परियोजना शुरू भएदेखि अहिलेको आर्थिक कारोबार र प्राविधिक प्रतिवेदनबारे स्पष्ट पार्न मेयर साम्पाङले पूर्वमेयर तिलक र पूर्वउपमेयर मञ्जुलाई पत्र काटेका थिए ।

धरान : तिर्खाएको काकाकुल !

उक्त पत्रको जवाफ दिनुको औचित्य नभएको तथा जनसरोकारको विषय भएकाले जनतासामू सार्वजनिक गरेको नगरका पूर्वप्रमुख/उपप्रमुखले बताए ।

निवर्तमान मेयर राईले भने, ‘उपमहानगरपालिका र धरान खानेपानी व्यवस्थापन बोर्डको कागजात हामीले घरमा लिएर गएको जस्तो सोध्ने केटाकेटीपना देखियो । पदमा हुँदा हामीले गरेको भूमिका सकियो, सबै कागजातहरू अहिले मेयर हर्क साम्पाङसँगै छ ।’

राईले संस्थागत जिम्मेवारीको पदमा रहँदा मात्र कार्यालयका कागजातहरू आफ्नो जिम्मामा हुने र पद सकिएपछि ती कागजात कार्यालयमै हुने कुरा मेयर साम्पाङले बुझ्न नसकेको भन्दै प्रतिप्रश्न गरे, ‘खानेपानी बोर्ड र उपमहानगरपालिका कार्यालयमा डकुमेन्ट नभएका कारण हामीलाई स्पष्ट पार्न लगाइएको हो ? हामीलाई प्रश्न सोध्नुको औचित्य थियो कि थिएन ?’

पूर्वमेयर राईले पत्रकारतर्फ इङ्गित गर्दै भने, ‘बोर्ड अध्यक्ष र मेयर साम्पाङलाई प्रश्न सोध्न आग्रह गर्दछु ।’

पूर्व जनप्रतिनिधिहरू ध्यानाकर्षण पत्र लिएर मेयर साम्पाङलाई नै सहयोग गर्न भन्दै उनलाई  भेट्न कार्यकक्षमा गएको, तर उल्टै खानेपानी योजनाबारे स्पष्ट पार्न भन्दै अपमानजनक पत्र काटेपछि विवादले नयाँ रूप लिएको निवर्तमान मेयर राईले बताए ।

खानेपानी परियोजनाबारे निवर्तमान मेयर राई र उपमेयर भण्डारीले भने, ‘एडीबी आयोजना र खानेपानी संस्थान समायोजन भएपछि आफ्नो कार्यकाल सकिन लाग्दा करिब ७ करोड रुपैयाँ सञ्चिती रहेको थियो । तर हाल मेयर साम्पाङ बोर्ड अध्यक्ष भएपछि कुन विधि र प्रक्रिया अनुसार सो रकम खर्च गरे ? तत्कालीन अभियान्ता हर्क साम्पाङका कारण खानेपानी संस्थान समायोजन र एडीबी परियोजनाको काम ढिलो हुन पुगेको हो । एडीबीको काम समयमा हुन पाएन । हर्क साम्पाङ समूहले सम्पूर्ण कार्य रोके, साम्पाङले नै सर्दुको सतहको मुहान काटेका बेला पनि हामीले उहाँलाई सहजीकरण गरेर उन्मुक्ति दियौँ, मुद्दा लगाएनौँ ।’

धरान खानेपानी आयोजनामा २ अर्ब १६ करोड १८ लाख ३९ हजार १६३ रुपैयाँ खर्च भएको कागजात बोर्डमै रहेको पूर्वउपमेयर भण्डारीले बताइन् ।

उनका अनुसार आर्थिक वर्ष ०७६/०७७ सम्म एकीकृत शहरी विकास आयोजना अन्तर्गतको आयोजना कार्यान्वयन इकाइले त्यसबेला सामुदायिक विकासमा २ करोड ९९ लाख ८ हजार ८०० रुपैयाँ र आदिवासी विकास योजनामा १ करोड ९६ लाख ९६ हजार ९६९ रुपैयाँ खर्च गरेको थियो ।

सवारीसाधन खरिदमा १९ लाख ६६ हजार ९९१ रुपैयाँ, परामर्शदातालाई १३ करोड १० लाख ६१२ रुपैयाँ, खानेपानी आयोजना निर्माणमा १ अर्ब ७४ करोड ७९ लाख ९२ हजार २४२ रुपैयाँ, कार्यालय संचालनमा १० करोड १८ लाख ८६ हजार ६७७ रुपैयाँ खर्च भएको भण्डारीले बताइन् ।

उनले भनिन्, ‘यी खर्च भएका सबै डकुमेन्टको अडिट पछि धरान नगरपालिकाको कार्यालय, खानेपानी बोर्ड, एकफकृत शहरी विकास आयोजना र एडीबी लगायत पाँच कार्यालयमा छन् । हामीसँग स्पष्टीकरण माग्नुको कुनै तुक छैन ।’

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ६ : ०७ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि