हर्क साम्पाङ र पूर्वप्रतिनिधिबीच वाकयुद्ध : कागजको बाघ ! | Khabarhub Khabarhub

हर्क साम्पाङ र पूर्वप्रतिनिधिबीच वाकयुद्ध : कागजको बाघ !

पूर्वजनप्रतिनिधिले ध्यानाकर्षण पत्र बुझाएको भोलिपल्टै हर्क साम्पाङले सोधे स्पष्टीकरण



सुनसरी- एसियाली विकास बैंक (एडीबी) को ऋण तथा अनुदानमा सञ्चालित धरान खानेपानी आयोजनाबारे सात दिनभित्र लिखित जवाफ पेश गर्न धरान उमपहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले निवर्तमान मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीलाई पत्र काटेका छन् ।

निवर्तमान मेयर र उपमेयरको कार्यकालमा खानेपानी आयोजना सफल नै नभई सफल भएको भन्दै नेपाल खानेपानी संस्थानको धरान शाखालाई धरान खानेपानी व्यबस्थापन बोर्डमा मर्ज गरेको आरोप लगाउँदै मेयर साम्पाङले पत्र काटेका हुन् ।

उनले पत्रमा भनेका छन्, ‘हालसम्म पनि नगरबासीलाई उक्त आयोजनाबाट पानी उत्पादन गरी वितरण गर्न नसकेको र आयोजना सञ्चालन हुँदा चरम लापरवाही तथा भ्रष्टाचार भएको भनी जनगुनासो आएको सन्दर्भमा उक्त आयोजनासम्बन्धी तपशील बमोजिम के केसो भएको हो, सो विषयमा सात दिनभित्र लिखित स्पष्ट पारिदिन हुन अनुरोध छ ।’

धरानका निर्वतमान र पूर्वमेयर, पूर्वउपमेयर, धरान क्षेत्रबाट प्रदेश र प्रतिनिधिसभाका पूर्वसांसद र तत्कालीन प्रदेश १ का सभामुख लगायतले धरानको सर्वांगीण विकासका लागि कानूनसम्मत विधि र प्रकृया अपनाउन आग्रह गर्दै दुई पन्ने ध्यानाकर्षण पत्र मेयर साम्पाङलाई बुझाएका छन् । पूर्वजनप्रतिनिधिले ध्यानाकर्षण पत्र दिएको भोलिपल्टै मेयर साम्पाङले निवर्तमान मेयर राई र उपमेयर भण्डारीलाई सात दिने स्पष्टीकरण पत्र काटेका हुन् ।

मेयर साम्पाङ धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष पनि हुन् । उनले निवर्तमान मेयर तिलक राई र उपमेयर तथा तत्कालीन कार्यवाहक मेयर मञ्जु भण्डारीलाई नौ बुँदे प्रश्न गर्दै पत्रमा लेखेका छन्, ‘एडीबीको ऋण लिने निर्णय कुन मितिमा, को, कसले गरेको हो ? एडीबीबाट ऋण किन र कति ल्याएको हो ? ल्याएको ऋण कति खानेपानी र अन्य कुनै शीर्षक भए ती शीर्षकहरुमा खर्च गरिएको हो ? एडीबीको प्रोजेक्ट चालु कहिलेदेखि भएको हो ?’

मेयरमा पदासीन भएको दुइ बर्ष पुगेकाले धरानको खानेपानी समस्यासहितको अन्य विकास निर्माणका सन्दर्भमा धरान उपमहानगरपालिकाको तर्फबाट मेयर साम्पाङले स्वेतपत्र जारी गर्दै समन्वय गरेर अगाडि बढ्न पूर्वजनप्रतिनिधिले सुझाव दिएको लगतै साम्पाङले प्रश्न गरेका छन्, ‘तत्कालीन बोर्ड गठन हुँदा के–कस्ता प्रावधान पूरा गरी गठन भएको थियो र सदस्यहरु थपिँदा के कसरी थपिएका थिए ?’

मेयर साम्पाङले पूर्वउपमेयर मण्डारीलाई सोधेका छन्, ‘आइयुडीपी खानेपानी आयोजनाले सम्झौताअनुसार दैनिक १ करोड ५२ लाख २० हजार लिटर पानी उत्पादन गर्ने शर्तानुसार उत्पादन गर्न नसकेको तथ्यलाई लुकाएर आयोजनालाई जिम्मा लिनुपर्ने कारण के थियो ? आयोजना जिम्मा लिन अघि निर्माण कम्पनीको ऋण किन चुक्ता नगरेको ? आयोजना निर्माणको अवधिमा गुणस्तर सम्बन्धी के कस्ता र कति मापदण्ड पूरा गरिएका थिए ? पाइप विस्तार कार्य गराउँदा मूल निर्माण समितिले नै गरेको थियो वा अन्यले गरेको थियो ? अन्य पेटी ठेकदारले गरेका थिए भने कुन कुन ठेकेदारले के कति कारणले गरेका थिए ?’

मेयर साम्पाङले विहीबार काटेको पत्रको लिखित जवाफ निवर्तमान मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीले सात दिनभित्र दिन्छन्, दिँदैनन्, त्यो भने हेर्न बाँकी छ ।

पूर्वजनप्रतिनिधिको ध्यानाकर्षण पत्र

मेयर साम्पाङले स्पष्टीकरण सोध्नुभन्दा अघिल्लो दिन बुधबार मेयर साम्पाङको कार्यकक्षमै गएर पूर्वमेयर, पूर्वउपमेयर र सांसदहरुले साम्पाङलाई मेयरको कर्तव्य र जिम्मेवारीप्रति संवेदनशील हुन ध्यानाकर्षणसहितको सुझाव दिएका थिए ।

पूर्वजनप्रतिनिधिहरुले सार्वजनिक पदमा आसीन भएपछि हुने आत्मकेन्द्रित गतिविधिले समग्र नगर कार्यपालिका र सिंगो समाजले अभिभावकत्व गुमाएको ठहर गर्दै प्रश्नसहितको ध्यानाकर्षण पत्र बुझाएका थिए ।

मेयर साम्पाङलाई ध्यानकर्षण पत्र बुझाउनेहरुमा पूर्वसभासदत्रय मीन विश्वकर्मा, किरण कुमार राई कृष्णकुमार राईका साथै पूर्वसांसदहरु जयकुमार राई र कुन्ता शर्मासमेत छन् । त्यसैगरी कोशी प्रदेशका सभामुख प्रदीप भण्डारी, निवर्तमान प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ, निवर्तमान मेयर तिलक राई, पूर्वमेयर मनोजकुमार मेन्याङबो, पूर्वमेयर कुमारबहादुर कार्की, निवर्तमान उपमेयर मञ्जु भण्डारी र मीनकुमार सुब्बा छन् ।

पूर्वजनप्रतिनिधिहरुले बुझाएको ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘तपाई स्वयं विगतमा अभियन्ता हुँदा विशेषरुपमा उठाएको खानेपानी समस्या समाधान, त्यसबेलाको व्यवस्थापकप्रतिको अभद्र प्रस्तुति र हालको काम कारवाही, योजनाको लागत, खानेपानी संस्थान र बोर्ड बिचको समायोजन, खानेपानी महशुल, खानेपानी ट्यांकीबाट वितरण गर्दा तिर्नुपर्ने बिलको बिषय, भ्रष्टाचारको कुरा, सुशासन र पार्दर्शिताका बिषय तपाईले जिम्मेवारी सम्हालेको दुई वर्षसम्म पनि कुनै तथ्य, प्रमाण वा जानकारी नगरबासीहरुले हालसम्म पाउन सकेको छैन, किन ?’

मतदाताहरुको अपेक्षाअनुसार काम गर्नु, गराउनु एउटा जनप्रतिनिधिको कर्तव्य र जिम्मेवारी भएको स्मरण गराउँदै पूर्वजनप्रतिनिधिहरुले भनेका छन्, ‘तपाई कार्यरत रहेको जिम्मेवारीमा विगतमा हामीले कार्य सम्पादन गरिसकेकै हौं, सहकार्य गरेकै हौं, एउटा जनप्रतिनिधि, त्यो पनि प्रमुखले विगत र वर्तमानलाई समायोजन गर्दै भविष्यको मार्गचित्र कोर्नैपर्ने हुन्छ । आफु मातहतको कार्यालय वा अन्य निकाय, सहयोगी दाता, विभाग, मन्त्रालय, प्रदेश सरकार, संघिय सरकार र दातृ निकायहरुसँगको समन्वय र सहकार्य नगरको विकासको प्रमुख आधार नै हो ।’

धराने मोडलका रुपमा ४०–६० प्रतिशत लागत जनसहभागिताको कुरा र स्थानीय सरकार वा विगतमा भएका कामलाई हाल मेयर साम्पाङले श्रमदानका रुपमा अझ व्यापक बनाउन लागिपरेकोमा पूर्वजनप्रतिनिधिहरुले धन्यवाद दिएका छन् । साथै, खानेपानी व्यवस्थापनका लागि श्रमदानका रुपमा शुरु गरेको अभियानलाई अल्पकालीन र दीर्घकालीनरुपमा व्यवस्थित र योजनावद्ध बनाउन उनीहरुले मेयर राईलाई सुझाव दिएका छन् ।

यो पनि-

धरान : तिर्खाएको काकाकुल !

खानेपानी समस्या समाधानका नाममा विभिन्न दाताहरुबाट संकलन गरेको करोडौं रकमको लेखाजोखा नभएकोप्रति पूवर्जजनप्रतिनिधिले ध्यानाकर्षण गराएका छन् ।

सुझावसहितको ध्यानाकर्षण पत्रअनुसार महत्वपूर्ण र दीर्घकालीन योजना निर्माणमा डीपीआर, सम्भाव्यता अध्ययन गरेर मात्र निर्माण कार्य अगाडि बढाउन जरुरी भएको सुझाव दिइएको छ ।

ज्ञापनपत्रमा लेखिएको छ, ‘पछिल्लो समयमा धरानको खानेपानी समस्या समाधान गर्नका लागि विभिन्न संघ संस्था, दातृ निकाय र सहयोगीदाताहरुले दिनु भएको करोडौंको रकमबाट निर्मित संरचनाहरु भरपर्दो, दीर्घकालीन, सुरक्षित र फलदायी छन् त ? ती कामहरुले अहिलेको अभावलाई समाधान गर्न सक्यो ? कति समाधान गर्‍यो या गरेन ? ती संरचनाहरु निर्माण हुँदा बोर्डमा उपमहानगर पालिकाको बजेट लगानी भयो या भएन, त्यसको यथार्तता सहयोगीदाताहरु र नगरबासीहरुलाई जानकारी गराउनुभयो ?’

खानेपानी व्यवस्थापनको प्रमुख व्यक्ति कार्यकारी अधिकृत खुल्ला प्रतिस्पर्धाबाट नियुक्तिको प्रक्रिया अगाडि नबढाएको र मेयर साम्पाङ आफैं अभियन्ता हुँदा भ्रष्टाचारी भनेर आरोपित व्यक्तिमार्फत नै धरान खानेपानी व्यवस्थापन बोर्ड सञ्चालन भइरहेकोप्रति नगरबासीहरुले उठाएका प्रश्नको जवाफ दिन पनि पूर्वजनप्रतिनिधिहरुले माग गरेका छन् ।

ध्यानाकर्षण पत्रमा थप भनिएको छ, ‘खानेपानीको मुद्दालाई पहिलो प्राथमिकतामा राखेर नगर प्रमुख बन्नुभएको छ । खानेपानी लगायत अन्य समस्या लिएर आउने नगरबासीहरुलाई तपाईले प्रस्तुत गर्नुभएको गैह्रजिम्मेवार व्यवहार र प्रसंगहरु आइरहेको छ । धरानको स्थापनाकालदेखि नै धरान बहुल सांस्कृतिक, बहुल सभ्यताको परिचयका साथ समृद्धिको बाटोमा अगाडि बढिरहेको छ ।’

ज्ञापन पत्रमा अगाडि भनिएको छ, ‘इतिहासदेखि नै शैक्षिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार विकास निर्माणमा सबै पक्षहरुको उत्तिकै सक्रिय सहभागिता रहदै आएको छ । यस्तो अविच्छिन्न सामाजिक सद्भाव र सहिष्णुतामा तपाई नगर प्रमुखबाट अभिव्यक्त विचार र क्रियाकलापबाट विगतदेखि नै एकतावद्ध धरानको सामाजिक, धार्मिक, सांस्कृतिक सद्भाव र सहिष्णुतामा आंच आउनुको साथै नगरबासीहरुले असुरक्षित महशुस गरेको भाव झल्किन्छ ।’

मेयर साम्पाङको यस्तो भावना र विचारले धरानको विकास र समृद्धिमा दीर्घकालीन असर पार्ने देखिएको र यसले नगर प्रमुखको मर्यादामा आँच आएको महशुस पूर्वजनप्रतिनिधिहरुले गरेका पत्रमा उल्लेख छ।

पूर्वजनप्रतिनिधिहरुले सम्पाङलाई प्रश्न गरेका छन्, ‘तपाई प्रमुख रहेको स्थानीय सरकार र सरोकार राख्ने निकायमा तपाईको त्यस निकायसँग सरोकार राख्ने सहकर्मीहरुप्रतिको उदासीनताले गर्दा सेवाग्राही नगरबासीहरुले पाउनुपर्ने सेवा, सुविधाहरुमा ह्रास आइरहेको महशुस तपाईले पनि गर्नुभएकै होला, नेतृत्वको हैसियतले समन्वय गर्ने जिम्मेवारी तपाईको हैन ?’

पूर्वजनप्रतिनिधिले पेश गरेको दुई पन्ने ज्ञापनपत्र र मेयर हर्क साम्पाङले सोधेको एक पन्ने स्पष्टीकरण ‘कागजको बाघ’ मात्र साबित हुनेछ या यसले केही परिणाम पनि निकाल्ने छ ? यसका लागि भने केही समय कुनैपर्ने हुन्छ

विधि, कानुन र संविधानले दिएको अधिकारअनुसार विगतका जनप्रतिनिधिहरुले स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारमार्फत अघि बढाइएका योजनाहरु प्राथमिकताका साथ मेयर साम्पाङले अगाडि बढाउनुपर्नेमा ती कार्यक्रमहरुप्रति साम्पाङ उदासीन भएको पूर्वजनप्रतिनिधिहरुको आरोप छ ।

त्यस्तै, धरानको फोहोरमैला व्यवस्थापन, सुकुम्बासी व्यवस्थापन, बसपार्क व्यवस्थापन र सञ्चालन, औद्योगिक ग्राम, राजमार्ग व्यवस्थापन, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रतिको नगर कार्यपालिकाको समन्वय र समस्या समाधानमा प्रभावकारी भुमिका अपेक्षाकृत नदेखिएको पूर्वजनप्रतिनिधिहरुको आरोप छ । हालको अवस्थामा नागरिक स्तरबाट अझ बढी गुनासोहरु व्यापक रुपमा आइरहेको पनि ज्ञापनपत्रमा स्मरण गराएको छ ।

भनिन्छ, कागजको बाघ केही समयका लागि मानिसहरुलाई तर्साउन काम लाग्छ । पूर्वजनप्रतिनिधिले पेश गरेको दुई पन्ने ज्ञापनपत्र र मेयर हर्क साम्पाङले सोधेको एक पन्ने स्पष्टीकरण ‘कागजको बाघ’ मात्र साबित हुनेछ या यसले केही परिणाम पनि निकाल्ने छ ? यसका लागि भने केही समय कुनैपर्ने हुन्छ । तर, घरानका बिकराल समस्याहरुको साझा समाधान निकाल्नुपर्ने बेलामा देखिएको यो विवादले खासै उत्साहजनक र सकारात्मक परिणाम दिनेमा भने आशंका गर्ने ठाउँ  छ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ८ : ५६ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य